+
+
मुगु डायरी-३ :

छोट्टी खेलको नूतन अनुभव !

लौ ! इष्टमित्र आउँदाखेरि पनि गीत गाउन जाँदैनौ ? यिनीहरूसँग नगए कोसँग जाउली त केटी हो ! भनी छोरी र उनका साथीलाई छोट्टी खेल्नका लागि छोट्टेहरूसँग जान अह्राइन्। ‘हिंड्दैछ बाटो मेट्दैछ’ नगरी आफूले हिंडेको आफ्नो बैंसालु समयको स्मरणले छोरा-छोरीहरूमा पनि बन्देज हैन खुला छाडिदिने परिपाटी – एक प्रकारको डुङ्गा विरोधी नीति !

तिलक पौडेल तिलक पौडेल
२०७८ माघ २९ गते १८:१६

आईएस्सी पढ्दाका साथीमध्ये रनिङ कोर्स सकिंदा पास हुने ७/८ जनामा मेरो नाउँ पनि थियो। रुड्की गएर हाइड्रो इलेक्ट्रीसिटीको इञ्जिनियर बन्नुको तुक छैन भन्ने अग्रजहरूको कुरा/सुझावले मलाई कोलम्बो प्लानमै जाने रहरले गाँज्यो । हुन पनि २०३५ चैतदेखि हड्ताल सुरु भई २०३७ मा जनमत सङ्ग्रहको नतिजा आउञ्जेल क्याम्पस पढ्ने वातावरण पनि थिएन। लगत्तैजसो अर्थात् नतिजा ननिस्कँदै आफैँले पढेको विद्यालयमा शिक्षकका रूपमा भर्ति गराइयो । सोही पञ्चवर्षीय योजनामा भारतसँग २५० जना जलविद्युत् सम्बन्धी इञ्जिनियर तयार पार्ने सम्झौता भएको चर्चा थियो । जसअनुसार हाम्रो लटका अधिकांश साथी इञ्जिनियरिङ्ग विषय छात्रवृत्तिको सुविधामा भारत गई अध्ययन गरे । २०३८ सालमा मात्र क्लियर गरेका भारतमा पढेर पनि जम्मा ५२ प्रतिशत अङ्क ल्याएका साथीहरू पनि उपर्युक्त सरकारी प्रावधानबाट लाभान्वित भए।

मलाई पनि सनक चलेर देशदर्शन एवम् साथीहरूलाई सहयोग हुने देखी कर्णाली प्रवेश गरेको थिएँ। त्यसमाथि २०३९ साललाई जीवनको “अँ ! वर्ष (यस पिरियड)” अर्थात् कसैले केही खाइरहेको छ र मलाई पनि खान अनुरोध भएमा नाइँ/अहँ ! नभन्ने चाहे त्यो विषै किन नहोस्। यही घोषणा अनुसार गाँजा, रक्सी, चुरोट, चरेस, खैनी, सुर्ती आदि हुँदै एकपटक त धतुरो समेत खाएँ। सँगै धतुरो खाएको साथीलाई त ढोकामै साँचो लगाएर थुन्नु परेथ्यो। मलाई भने अद्भुतको अनुभव भयो। पाँचपाण्डवले निर्माण गरेको लाक्षागृह जस्तै – सम्म ठाउँ भीर जस्तो, अनि भीर सम्म भूभाग जस्तो।

दुर्गम क्षेत्रमा अध्ययन/अध्यापनप्रतिको हेलचेक्रयाईंको प्रतिफल !

जगतमाला प्रस्तावित माध्यमिक विद्यालयको गणित/विज्ञान विषयको अध्यापन गर्ने शिक्षकको रूपमा भर्ना भएपछि ९ कक्षामा पढ्ने ७ जना विद्यार्थीलाई गणित÷विज्ञान सिकाउन थालें। दोस्रो दिनमै विद्यार्थीले जोड, घटाउसम्म पनि स्पष्ट नबुझेको पाएँ। अनि विद्यार्थीको मस्तिष्कमा गणितको जग खन्न थालें – जोड, तेर्सो जोड, दशमलवको जोड, भिन्नको जोड अनि त्यस्तै घटाउ, गुणन, भाग, लघुत्तम समापवर्त्य, महत्तम समापवर्तकका इँटा चिन्दै गर्दा वार्षिक अध्यापनको अवधिरूपी घर पूरा भयो ।

संयोग वार्षिक परीक्षा सञ्चालन भइरहेको बेलामा गमगढीबाट तत्कालीन जिल्ला शिक्षा अधिकारी दोलखबहादुर गुरुङ्ग विद्यालय निरीक्षणका क्रममा धैनमै पुगे। अर्को संयोग भोलिपल्ट गणितको परीक्षा परेको थियो। जम्मा ७ वटा सेट प्रश्न तयार पार्नुपर्ने भएकाले मैले अग्रिम प्रश्न बनाएको थिइनँ। सोही दिन १० बजे नै विद्यालय पुगेर एक छेउमा बसी प्रश्न तयार पार्दै थिएँ । ध्यानमग्न मेरा समीपमा शिक्षा अधिकारीज्यू पाल्नुभई प्रश्न हेर्नुभएछ।

कक्षा : ९, विषय : गणित, पूर्णङ्क : १००, समय : ३ घण्टा, सबै प्रश्नहरू अनिवार्य छन् भन्ने व्यहोराका साथ जोड गर, घटाउ गर, गुणन गर, भाग गर … … जस्ता प्रश्नहरू देखेर “के गर्दै हो पौडेलजी ! प्रश्न निकाल्दै हो कि क्या हो ? कति कक्षाको हो ? …  भनी प्रश्न गर्नुभयो।

मैले शीर्षभागमा छुटेछ कि ? जस्तै नियालेर कक्षा ९ को भनी उत्तर दिंदो भएँ। “अनि जोड, घटाउ …. भन्नु हुँदा “सर ! परीक्षा भनेको पाठ्यपुस्तकमा भएका पाठहरूमध्येबाट खँदिला प्रश्नहरू विद्यार्थीका सामु तेर्स्याउनु हो भने त गल्ती भयो, हैन परीक्षा भनेको त दिएको समयावधिमा शिक्षकले सिकाएको व्यहोरा विद्यार्थीले कतिको बुझेछन् भनी कसीमा घोट्नु हो भने म यहाँ सरुवा भैआउँदा विद्यार्थीको स्तर शून्य थियो र अहिले लस., मस., भिन्नको जोड-घटाउ, दशमलवको गुणन-भाग जस्ता गणितीय प्रसङ्गहरू सिकाइएको अवस्था भएकाले सोही व्यहोरा कत्तिको सिकेछन् भनी थाहा पाउन यस्ता प्रश्नहरू निकाल्न विवश छु सर … भनी उत्तर दिएथें। दुर्गम क्षेत्रमा शिक्षक एवम् पाठ्यपुस्तकको सामयिक आपूर्तिको कमी अनि अध्ययन/अध्यापनप्रतिको हेलचेक्र्याईंको प्रतिफल !

लौ ! इष्टमित्र आउँदाखेरि पनि गीत गाउन जाँदैनौ ? यिनीहरूसँग नगए कोसँग जाउली त केटी हो ! भनी छोरी र उनका साथीलाई छोट्टी खेल्नका लागि छोट्टेहरूसँग जान अह्राइन्। ‘हिंड्दैछ बाटो मेट्दैछ’ नगरी आफूले हिंडेको आफ्नो बैंसालु समयको स्मरणले छोरा-छोरीहरूमा पनि बन्देज हैन खुला छाडिदिने परिपाटी – एक प्रकारको डुङ्गा विरोधी नीति !

परम्परागत सोचाइमै जकडिएको परिवेश !

वास्तवमा असार साउन महिनाको काज स्वीकृत गराएर म धैनमै बसें। बझाङका कठायत साथी धैन हेल्थपोष्टका इञ्चार्ज हुनुहुन्थ्यो। प्रधानपञ्च कर्मे जैसीका भाइ, हाम्रा सहकर्मी देवप्रसाद जैसीको घरको छतमा रहेको पाँडघरमा हेल्थपोष्ट राखिएको थियो। एकदिन गाउँमुनि खेतमा रोपाईं चलिरहेको थियो। लामा-लामा दाँती भएको मोहीबाट नजोतिकन साहेर मात्रै धान रोपिएको थियो। हामी थाडाबाट अवलोकन गरिरहेका थियौं। प्रधानजी हामी भएको ठाउँमा आउनुभयो। मैले भनेँ “यत्रो धैनको फाँट भएर पनि किन भातै (धानैका चामलको) खान पुग्दो रहेनछ भनेको त नजोतिकनै साहेर रोप्ने गरेर पो रहेछ त! हँ प्रधानदाइ? तब प्रधानजीले “आऽऽऽ कुडा गद्दाहौ र! हेरी राख प धैं, हाम्मा घरमुनि नजोत्याको र तलीकाख जोतेर रोपेको, कहाँ भौति धान फल्दो भ’ह? (ओहो के कुरा गर्नुहुन्छ र! हेरी राख्नुहोस् है त! हाम्रो घरमुनि नजोतिकन रोपेको र तलतिर जोतेर रोपेकोमा कहाँ बढी धान फल्दो रहेछ!)

तपाईंको घर नजिक त गाउँको पोर्सनी÷मलिलो पानी गएको हुँदा त्यसो भएको हो। वास्तवमा २÷४ दिन पानी डम्क्याएर, हलोले जोतेर हिल्याउने र साहेर रोप्ने हो भने, अझ धेरै धान फल्नेछ, बुझ्नुभयो ? भनी कठायतजीले भन्नुभयो। तर कर्मेदाइले आफ्नो अड्डी छाडेनन्। प्रसङ्गवश धान कुट्ने ढिकीको कुरा चलाइयो र नमूना देखाइयो पनि। प्रधानले त झन् ढिकीको प्रयोगले अनिकाल लाग्ने व्यहोरा जनाए। हामीले त्यहाँ ढिकीको सिद्धान्त बाहेक व्यवहार भित्र्याउन सकिएन।

मनोरञ्जनको निर्वैकल्पिक साधन मैथुन

एकदिन त्यही हेल्थपोष्ट मुनिको घरबेटीले बिरामी छोरा लिएर आए। कठायतजी र म थाडामा घाम तापेर बसिरहेका थियौं। हेर्दा राम्रो केटाको छाती हप्याक-हप्याक गरेको प्रष्ट देखिन्थ्यो र घ्यार-घ्यार सुनिन्थ्यो। कठायतजीले जाँच गरेर भन्नुभयो “यहीं घर भएर र जान्ने बुझ्ने मान्छे भएर पनि हिजो अस्ति किन नदेखाउनुभएको छोरालाई?

आऽऽ डाङ्डरसा‘प! रोपाईंको माचो छियो, देख्नु भएन बेली अइथीसम्म।अँदेइ, कहिले मरिजाला पन स्होच्यौं, जातक धेरै छन् अँझ कति हुन्या हुन्, मर्‍यापन क्या चाड्नेछ? भनिकन ल्याइस्हकेनौँ हेन्नुहोस्। बेली रोपाईं पन स्हकियो, यो पन मडेन, अँदेइ आइत ल्यायाँ हजुर! राम्मो ओक्तो गड्दिनुहोस् प, कैले बाँचे पै बाँचला! (ओहो डाक्टरसाहेब! हिजो, अस्तिसम्म धान रोपाइँको आत्तुरी थियो है! फेरि कतै मरी पो जान्छ कि भन्ने सोच्यौं, केटाकेटी पनि धेरै छन्, अझै कति हुने हुन्? मरे पनि के नापिनेछ र भनेर ल्याइसकेनौं हेर्नुहोस्। हिजो रोपाइँ पनि सकियो, यो पनि मरेन, अनि आज ल्याएँ त हजुर! राम्रो औषधि गरिदिनु पर्यो कतै बाँचे बाँचिहाल्ला कि हजुर!) भन्दा भए। कठायतजीले औषधि दिएर उनीलाई बिदा गरी पठाएपछि मलाई भन्नुभयो हेर्नुहोस्, अस्ति-झन् अस्तिसम्म यहाँ ल्याएको भए केटो बाँच्ने थियो। न्यूमोनियाको चरमावस्था (क्रिटिकल केस) हो- अब बाँच्ने आशा साह्रै थोरै छ।” मनोरञ्जनको निर्वैकल्पिक साधन मैथुन र त्यसको नतिजा सन्तान! अस्तित्वको लडाइँको सिद्धान्त, धेरै जन्माउँदा आमाहरूको ज्यानमा समेत खतरा! परम्परागत सोचाइमै जकडिएको परिवेश!

डुङ्गा विरोधी नीति– छोरा-छोरीहरूलाई खुला छाडिदिने परिपाटी !

संयोग जिल्ला शिक्षा कार्यालयले मलाई मिनपचासे बिदामा काजमा बस्ने स्वीकृति दियो। सोही क्रममा धैनभन्दा माथि कोट भन्ने गाउँमा मल्लबाडा बाउसाहेबको घरमा मेरो बसाइ थियो। बाहिरी कोठामा मेरो सुत्ने ठाउँ थियो। एकदिन हफल्ला स्हाहीबाडा (माथिल्लो शाही टोल) का ठिटाहरू छोट्टी खेल्न (गीत गाउन) भनी त्यही मल्लबाडातिर आएछन्। मेरा घरपट्टिको छोरी पियौंरी पनि बैंसालु भैसकेकी थिइन्। छोट्टी खेल्ने निम्ता दिन आएका ठिटाहरूको घरपट्टि आमैसँग जम्काभेट भएछ। कुराकानीको प्रसङ्गमा पियौंरीहरूले गीत गाउन नमानेको व्यहोरा जनाएछन्। अनि आमै घरभित्र पसेर “दे स्हुनपुन आया भएपछि जाँदिनौ ए छोट्टिअ! यिनी’थि नगए कोइ’थि जालिऊ त …. (लौ! इष्टमित्र आउँदाखेरि पनि गीत गाउन जाँदैनौ? यिनीहरूसँग नगए कोसँग जाउली त केटी हो!) भनी छोरी र उनका साथीलाई छोट्टी खेल्नका लागि छोट्टेहरूसँग जान अह्राइन्। ‘हिंड्दैछ बाटो मेट्दैछ’ नगरी आफूले हिंडेको आफ्नो बैंसालु समयको स्मरणले छोरा-छोरीहरूमा पनि बन्देज हैन खुला छाडिदिने परिपाटी – एक प्रकारको डुङ्गा विरोधी नीति!

छोट्टीको नूतन अनुभव !

सर्पानन्द भन्ने सरले एकपटक मलाई पनि छोट्टी खेल्न जाऊँ भन्नुभयो। मेरो पनि डेउडा गीतहरू सुन्ने तीव्र इच्छा थियो। आफूहरू बस्ने ठाउँभन्दा मुनि – भुर्इंतलामा गाईबस्तु बाँध्ने/राख्ने गोठमा ठिटाठिटी जम्मा भएर गीत गाउने, ठट्टा मस्करी गर्नेलाई नै छोट्टी खेल्ने भनिंदो रहेछ। चुरोट तमाखु खाने, डेउडा गाउने, रात घर्कंदै जाँदा विपरीत लिङ्गीबीचको आकर्षण पनि बढ्दै जाँदो रहेछ। अँध्यारोले एकापसका कृतहरूलाई लुकाइदिने हुँदा आ-आफ्ना मनमिल्दा जोडीहरू सम्साँझै बस्दाखेरी मिल्ने हिसाबले बसिंदो रहेछ। म पनि बैंसालु उमेर अवस्थाको हुँदा मनमा कौतूहल जाग्नु स्वाभाविकै थियो। संयोग अङ्कमाल गर्दै स्तनस्पर्शको प्रयास गर्दा रुपैयाँको माला लगाउने भएकाले स्तन हैन पैसा मुठ्याएजस्तो भयो। नवानुभवले होला प्रयास अघि बढेन। बरु अँध्यारोमै चित्तबुझेका डेउडाहरू कपीमा टिप्ने काम गरेँ।

पूर्व लाल् नपड्डास्हम्म, रातको रातैछ।सुवाचडी उडी बाइगो, पिंजरा हातैछ।।

कालो मल्मल् काशीपुर्को, कटराइ् बम्मैको।कइको प्रिति रँदो होला, मरञ्जा सम्मैको।।

माछापीठ् म तर्काइ्जाँदो, कन्नाली जाल्पुग्या।घर्को घर्बार न्यैंथी रँदो लैजान्याँ काल्पुग्या।।

दाउरा काट्न्या बुन्चरीले, सालपन रुटियो।बाटो पन बिरानियो, कोलपन छुटिगो।।

आइ् भुइ्सी बिहाने छैन, जनी भुटे बौर।मन्को मान्ठ नभेटिञ्जा मन्बैथैन ठौर।।

क्रिनज्यूले केई् हुन्यानाई्ं, मन्नु त मन्नैछ।जोवन् ढल्की बाइ्गयाछ, मन्को सुधाड्नैछ।।

पोर्को बाछो कोलडीको, ऐले बाछो गाईको।सिंयाला बेल्बुड्याजन माया मरी आइ्गो।।

कर्मले विन्दाबुन् खोज्यो, मक्या धाउ्ँलाइ्नक्या।लाइगयो जेठको मैना घर जाउ्लाइ्नक्या।।

खाँ भनी जलेवा आयो, माछा पस्यो चरा।लाग् बयल् उडाई लैजा, सुवा र’ने दरा।।

दाउरा काट्न्या बुन्चरीले, घाँस्पन काटियो।बइ्ने हार्मिनीको बाजो, स्हुन्ने काँबाटिहो।।

कोइ् भन्दा आमकी डाली, कोइ् भन्दा औंलाकी।छुटियौँ छुट्छुटै भयौँ, काईं स्हाथ हौंला कि ??

चैतका चिल्किँदा धूप, भैंसा बस्यो खाल।एक्मरी झुराउ्नु नगड् दुवै लैजा काल।।

दाजू दैलेख सुबिदार, भाइ् सिम्लेका मेठ।कैले जाला जेठ्को मैना, कैले होला भेट।।

बाटा’थि आँमकी डाली, खाउँ भन्या खाइ्जाया।म अमन् लागेकी बेला, दइ् भेट्न आइ्जाया।।

स्हाउ्न भैंसा मालिकाँडा, भदूअ मौभेरी।स्हम्झन्छौं अठारबेरी, रुँदो छौं नौबेरी।।

पटेलो कन्नाली कन, नाउ्लो भेरी कन।बाज्परेइ् बिजौरी थला मौका हेरीकन।।

दिउ्ँसको पद्दन्नी मेडो, रात्को फेरी खान्याँ।दइ्को मेरो भेट् हुँदैन, कर्म तेरी खान्याँ।।

लामा लाँइ्दो घाँट्घुँघुरी, परेउ् लाँइ्दो पाउ्टी।जा प कौवा डुली आइ्ज काँ छ दइ्को राउ्टी।।

मालुवाको बगालौंदो, परेवाकै घाँइ्की।रन्बनै अँध्याडो मान्दो, रानी चडी नाइ्की।।

आइ्गया भोलि’नि गया, गया मैना गया।दइ् अब बाइ्गयौ पोइला, झल्का मात्रै रह्या।।

लाल्बाइ्गई लाल्साबुन् लैगई्, लाल्टाला धुन गै।दिन दिन रानी चडी, पराय हुन गै।।

नसुकेइ् पानीका नाउ्ला, बाह्र वर्ष रहेई्।जैले म देश् घुमी आउँला, उइ्लेइ् चलन भएई्।।

सालीका थैलाउँदो रह्या, दुई् बइ्ने विनाया।एक् त मेडो मुन्बैरागी, उइ् लामा दिन्आया।।

बाजा देइ् बजाइ्ने राम्रो, बजाउ्नेकी जोइ्नाइ्।आफ्ना त स्हबै छिन् आफ्ना मेडो भन्नु कोइ्नाइ।।

क्रमागत:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?