+
+
मुगु डायरी–६ :

परदेशको ठाउँ, नाक जोगाउने काम !

तिलक पौडेल तिलक पौडेल
२०७८ फागुन २१ गते १२:००

स्याङ्जाका देहलीराज पाण्डे, सिरहाका चन्द्रकुमार दास अनि पाल्पाका झवीन्द्र ज्ञवाली र मेरो सुताइ एउटै कोठामा थियो। चिसो ठाउँ, नेपालगञ्जदेखि बोकेर यहाँ पुर्‍याइएका सिरकहरू एकट्ठा गरी संयुक्त सुताइले मात्र न्यानो गराउँथ्यो।

पराललाई खाद्य संस्थानबाट चामल ओसारेका बोरा उधारेर त्यसैमा मिलाएर गद्दा/डसना बनाएका थियौँ। एकुन्टा राडी किनेर त्यसमाथि ओछ्याइएको थियो। तन्नाले ढाकेर पट्याउन नमिल्ने स्तरीय विस्तारा तयार हुन्थ्यो। अनि दुईजनाका सिरक खापेर त्यहाँभित्र जोल्टिएर सुत्ने गरिन्थ्यो। राति कोल्टो फर्किंदा ज्ञवालीदाइले लौ अब, अर्कोतिर फर्कँदै भनेर भनेको क्षण अद्यापि स्मरणीय छ। किनभने तातिरहेको पाटोबाट शरीर कोल्टे फर्काउँदा सिरकदेखि सबै मिलाउनुपर्थ्यो।

पाण्डेजी तास खेलेर सबै पैसा हारेका कारण तीन÷चार वर्षदेखि घर गएका थिएनन्। ज्ञवालीदाइको घर र उनको घर, पाल्पा र स्याङ्जाको वारिपारि पर्दोरहेछ। फेरि म पनि स्याङ्जाकै हुनु, मुगुमा गणित विज्ञानका सीमित शिक्षक हुनु, म सम्पर्क विस्तारप्रति रहरालु हुनुले सदरमुकाम गमगढीतिर प्रायःले पाण्डेलाई भन्दा मलाई नै चिन्दथे। अनि त्यतातिर पाण्डे, पौडेल जस्ता थरहरू नभएकाले दुवैलाई एकै जस्तो मानिन्थ्यो। त्यसैले पाण्डेजीका कुकृत्यहरू धैनालहरूले खुट्याए पनि गमगढीसम्म पुग्दा स्याङ्जाको धैनमा कार्यरत शिक्षक पौडेल बन्दथ्यो। परिणामस्वरूप मेरो माथामा टाँसो लाग्ने अवस्था विद्यमान थियो एकातर्फ भने अर्कोतर्फ एकजना युवक स्याङ्जादेखि मुगुको धैनकोटसम्म पुगेर मास्टरी जागिर गर्नु, तास खेलेर पैसा हारेर बाटाखर्च समेत नहुँदा घरपरिवारसँग भेट हुने इच्छा हुँदाहुँदै भेटघाट हुन नसकेको परिस्थिति मनन गर्दा निजको तलबभत्ता जम्मा पारी आगामी दशैंमा घर पठाइदिनु साथीभाइको कर्तव्य ठहरिन्थ्यो।

त्यसैले आउने दशैंमा ज्ञवालीदाइले नै पाण्डेलाई समेत घर पुर्‍याइदिने निर्णय गर्‍यौं। सोही बमोजिम कारबाही अघि बढिरहेको थियो, पाण्डेजीलाई तास खेल्न बन्देज लगाइएको थियो र खेलिरहेका पनि थिएनन्। तर म गमगढी गएको बेलामा दास र पाण्डेले पैसा थापेर लुडो खेलेछन्। पाण्डेले रु.५०० हारेछन्। अब तिलक आएपछि गाली गर्छ, मैले पैसा तिर्दिनँ क्यारे ! भन्दारहेछन् पाण्डेजी, तिमीले नतिरेर के भो त ! यसपालि सबैको तलब मिलाएर तिलकले मकहाँ टिटी गरेर पठाइसके, अब म नै तिमीलाई फिर्ता गर्दिनँ नि ! भन्दोरहेछन् दासजी। तिनताका साथीहरूको तलबभत्ता समेत मिलाएर आलोपालो घर पठाइने गरिन्थ्यो र त्यसपटक दासजीकहाँ नै पठाइएको थियो। प्रवेशिका पास गरेको शिक्षकको तलब रु.२५५ र भत्ता ११० प्रतिशत अर्थात् रु.२८० गरी जम्मा रु.५३५ हुन्थ्यो र पाण्डेजीले त्यति नै पाउँथे। तब त पाण्डेजी दाससँग बोलचालै बन्द गरेर सँगैको विस्तारा समेत परित्याग गरी पागल जस्तै भौंतारिएर गाउँ चाहार्ने, गाउँलेहरूसँग दासले यसो गर्‍यो, अब तिलकले गाली गर्दछ, त्यसो गर्न पाइन्छ त ! भन्दै हारगुहार गर्दै हिंड्ने गर्न थालेछन्।

म गमगढीबाट उपर्युल्लिखित परिस्थिति झेल्दै धैन फर्केको थिएँ। धैन पुग्दा उल्लिखित परिवेश अवगत भएपछि हामी चारैजना बसेर सल्लाह गर्‍यौं। मैले भनें अबदेखि पुनः दासजी र पाण्डेजी पूर्ववत् सँगै सुत्नुपर्ने, पाण्डेजी गाउँलेहरूसँग गएर हामीहरूको आन्तरिक व्यहोरा प्रकट गर्न नपाइने, आपसी मनमुटाव आजैबाट हल गर्ने, यदि यसो गर्ने हो भने हाललाई एकजनाले नलिई नछाड्ने, अर्कोले ज्यान गए नतिर्ने, भनिएको रु.५०० म आफ्नो तलवबाट मिलाउँछु/मिलाइदिन्छु …।” ज्ञवाली दाइको रोहबरमा यस्तो मध्यस्थता गरियो। यसबाट एकातिर धैनकोटमा काम गर्ने स्याङ्जाको मास्टरले केटाकेटीलाई गणित गणना सिकाउने प्रयोजनको शैक्षिक सामग्रीलुडोको दुरूपयोग गरी बाजी थापेर खेली रु.१०००/५०० को लिनुदिनु गरे रे ! भन्ने हल्लाबाट आफू जोगिने अर्कोतर्फ दुईजना विपक्षी बनेका साथीहरूबीच मित्रता कायम हुने सोचियो। हुन पनि दुवैजनामा पूर्ववत् मित्रता कायम हुने बित्तिकै दासजीले आऽऽ लुडो खेलेको न हो, मोरा पाण्डेले नदिएपछि किन तिलकको पैसा लिने ? भनेर मेरो मध्यस्थतामा उपयोग गरिएको पैसा फिर्ता गर्नेछन् अथवा पाण्डेजीले लुडो खेलेर हारेको त मैले पो हो ! दासजीले नलिई नमानेपछि किन पो तिलकलाई पैसा तिराउनु र ! … भनेर पाण्डेजीले फिर्ता गर्ने अवस्था पनि सिर्जना हुनसक्ने ठानी उल्लिखित मध्यस्थता गरिएथ्यो। प्रदेशको ठाउँ, नाक जोगाउने काम !

सरकारी विकास गर्ने भन्दा बाँड्ने सोचको प्रचलन !

प्रायःजसो गमगढी जाँदा प्रधानपञ्च – कर्मेदाइ पनि साथै हुन्थे। ३÷४ जनाको टोली बनाएर बाटोमा कुरा गर्दै हिंड्दा दुईदिनको बाटो पनि सजिलै काटेको महसुस हुन्थ्यो। गम पुगेपछि झण्डै एक जिस्ता सेतो कागज किनेर विभिन्न अड्डाहरूका लागि निवेदनहरू लेख्न लगाउँथे – कर्मेदाइ। कुनै कुलो मर्मत, कुनै पानी मर्मत, कुनै बाटो मर्मत, कुनै पुल मर्मत … …। कुनै जिल्ला पञ्चायतमा, कुनै कृषि विकास कार्यालयमा, कुनै खानेपानीमा। अनि मेरो स्वाभाविक जिज्ञासा उठ्थ्यो, हैन कर्मेदाइ ! यतिका निवेदनहरूको कारबाही किनारा लाग्छ त ? नत्र दिनुको औचित्य के ? आऽऽऽ तु पनि अनमोलाऽऽऽ कुडा गद्दोहै, नाऽऽऽ रकुम गद्दिएपै भलै भयो भन, नगडेपै अठबाइजाला, निवेदन त गन्नै पड्यो त ! (ओहो तिमी पनि अचम्मका कुरा गर्दछौ। थोरै बजेट हालिदिए भने राम्रै भयो, नभए पनि के बिग्रन्छ र ! निवेदन त गर्नै पर्‍यो नि !) भनी सदरमुकाम आउँदा हरेक अड्डामा निवेदन गर्नै पर्ने व्यहोरा सुध्याउँथे। कहिलेकाहीं धैनबाट गमतिर हिंडेको बेला कहाँसम्म हो ऽऽऽ कर्मेदाइ÷पध्धानौ ! भनी सोध्दा, गुम विकास आया छ गरे, नापा ल्याउनु पड्यो, नापा लड्काउनु पड्यो देखेनौ ?(कहाँसम्म जाँदै हुनुहुन्छ कर्मेदाइ – प्रधानजी ! भनी सोध्दा, गमगढी विकास बजेट आएको छ अरे ! अलिकति ल्याउनु पर्‍यो, अलिकति आफैँले प्रयोग गर्नुपर्‍यो बुझेनौ।) भनेको अद्यापि ताजै छ। सरकारी विकास गर्ने भन्दा बाँड्ने सोचको प्रचलन !

हुन पनि बिहान स्कूल जाँदा खाली रहेको बाटो साँझ फर्कंदा गेडुल्का ढुङ्गाले भरिएको पाइन्थ्यो। यस्तरी बारीका ढुङ्गा सोहोरेर हिंड्ने बाटोमा किन फाल्नु भएको भन्दा आऽऽ स्हरकारी बाटोम्मो नफालेर घर लैकन ठौर्‍याऊँ क्या ? (ओहोऽऽ सरकारी बाटोमा नफालेर घर लगेर थन्क्याऊँ कि क्या हो ?) भनी उत्तर दिन्थे। सरकारी संसाधनप्रतिको तत्कालीन बुझाइ !

वैकल्पिक पोशाकको अभावले सिर्जेको बाध्यता !

सायद २०४० सालको दशैंतिरको कुरा हो। हेडसर बलराम नेउपाने र म घरतिर नगै खास मुगु गाउँ भ्रमण गर्ने निर्णय गरी कार्याग्रसर भयौं। गमबाट उकालो लागेपछि माँग्रीसम्म त खाना नै खाइयो। तर दाउरातिर लागेपछि वर्तनको सफाइका कारण भातादि खाना नखाई आलु उसिनेर छा-मच्चा-गोक्पा (नून-खुर्सानी-लसुन) सँग खाने निधो गर्‍यौं। नापा छाङ् र आलु आफ्नै हातले छोडाएर खाने गरियो ताकि ती फोहोर ठहरिएका भाँडाहरूको प्रत्यक्ष सम्पर्कमा खानु नपरोस्।

खास मुगु गाउँमा पुगेर तत्कालीन जिल्ला सदस्यको घरमा बस्ने चाँजो हेडसरले मिलाउनुभएको रहेछ र सोही बमोजिम बसियो। साँझ खाना भने पूर्ववतै कायम गरियो। बुढी आमै, तीनजना करिब समवयी तरुनी नानीहरू, एकजना सानी बालिका थिए। मलाई थकाइ र छाङ् लागेर चाँडै नै निद्रादेवीले काख लिइछन्। राति बिउँझिदा अति तिर्खा लागेको रहेछ। पानीको जोहो गर्न आमा-आमा भनी पानीको सोधनी गरें। आमैले “त्यहीं रोच्यामा छ, आफैँ निकाली खाऊ” भन्नुभयो। अति प्यास लागेका कारण पानीको प्राप्ति र उपयोग मेरो लागि पहिलो प्राथमिकता बनेको थियो। रोच्याबाट पानी निकाली एक अङ्खरा पानी घट-घट पिएपछि बल्ल आँखा देखेझैं भयो। अङ्खरा रोच्याको ढकनीमाथि राखेर प्यास मेटिएकोमा बहुत आनन्द मान्दै सुत्ने ठाउँतिर फर्कें। आनन्दतिरेक अवस्थामा यसो वरिपरि टर्च बाल्दोभएँछु। ती बुढीआमा पल्तिरपट्टिको खाट (अनाज राख्ने काठ्को मदुस) मा नातिनी लिएर सुत्नुभएको रहेछ। ठूलो अँगेनाको एकापट्टि हामी दुईजना सुतेका रहेछौं। अर्कोपट्टि तीनजना युवतीहरू सुतेका रहेछन्। त्यहाँतिर सुत्दाखेरि सर्वाङ्ग नाङ्गै भएर सुत्ने चलन रहेछ क्यारे ! ओढ्ने आवश्यक नठहर्दा निद्रावस्थामै अन्यत्र फालिन पुगेकोले तरुनी नानीहरूका पुष्ट वक्षस्थल, सफेद तन स्पष्टिए। कतै म भ्रममा त छैन जस्तो लाग्यो। मस्तिष्कले मनन गर्दानगर्दै हातले टर्च बन्द गरें र पुनः प्रकाश त्यतातिर फालेन। म सरासर आफ्नै सुत्ने झोलाभित्र घुस्रें। किशोरावस्थाको मेरो मन विविधतामा चञ्चलिंदै पुनः निदायो।

भोलिपल्ट बिहान सबैजना उठ्ने बेलामा हेडसर पनि बिउँझिनुभएछ। चिसोको कारण सुत्ने झोलाबाट प्रभातिलाई चियाउँदा नाङ्गानाङ्गै तरुनीहरू उठेर पहिला दोचा (पाउपोश) हरू लगाई क्रमशः अरू कपडा लगाउन थालेको दृश्यले नयनेस्पर्श गरेछन्। मलाई पनि विस्तारै कोट्याउनु भएछ तर म बिउँझिदा अर्थात् मेरा आँखा खुल्दा सबै तयार भैसकेका थिए।

सायद आपसमा लाज, सरम भनेको मानेछि वा ती अङ्गप्रत्यङ्गहरूलाई गोप्य राख्दा प्रकट हुने एक संवेग रहेछ क्यारे ! खुलै राख्दा त लक्कर जत्रो र जस्तो नाक पनि शर्मको विषय बनेको छैन नै। धैनतिर पनि कहिलेकाहीं नाउलो (पानीको ढुङ्गेधारो) मा नुहाउँदा सबै महिलाहरू नाङ्गै भएर नुहाउने गर्दथे। त्यस्तै समयमा हामी पनि पँधेरामा पुगेछौं भने दे माइटर ! एकछिन ढुक प, न्याँ हामी नाउँदा छौँ …” (मास्टर ! एकछिन पर्ख है यहाँ हामी नुहाइरहेका छौं …) भन्दथे।

सही भाषाको प्रयोग – आफन्तको खाँट्टी परिचय !

एकपटक ७÷८ जना साथीहरू मिलेर जहाज नपाइएकाले नेपालगञ्जबाट हिंडेर मुगु गएको क्षण स्मरणीय छ। त्यसबेला मैले चुरोट नपिउने सोचाइ राखेकाले जुम्लाको पाथ्रेसाँघुनेर पुगेर चिया पिएपछि त्यहीं बस्दा अरू साथीले चुरोट खाँदा आफूलाई पनि खान मन लाग्ने ठानेर, अघि-अघि हिंडें। तीलानदी तरेपछि, खै के मन भएर हो ? चुरोट खान मन लाग्यो। छेवैको दोकानमा सोधनी गरें। दोकानमा एउटी बूढी आमा थिइन्। मैले भनें : आमै ! चुक्रि बेचाऊ छिन् ? (आमा ! बेच्ने चुरोट छन् ?)

दोकानी आमै : नाईं त भाऊ ! बिंडी खादो है ? (छैनन् बाबु ! बिंडी खान्छौ ?)

म : खोचीको कति गद्दी हौ प ? (एक मुठाको कति भन्नुभा’त ?)

दोकानी आमै : एक हुपिऊँ। (एक रुपैयाँ)

म : दे एक खोची देऊ प ! (त्यसोभए एक मुठो दिनुहोस् त !)

अनि बिंडी सल्काएर खान थालें। दोकानी आमैलाई मेरो भाषा आफ्नै माइतीको जस्तो लागेछ र सोधिन् – काँका भएऊ त भाऊ ? (घर कता पर्‍यो बाबुको ?)

म : हप गमगढीको हुँ। (माथि गमगढीतिर पर्छ।)

दोकानी आमै : गम को दराको धेऊ ? (गम कुन भेकतिर पर्छ त ?)

म : स्होरु दराको र्‍वाईंदिहौ क्या ? (सोरू भेकतिर हो, त्यतातिरको जानकारी र !)

दोकानी आमै : स्होरु दरा को गाउँको भई धेऊ ? (सोरु भेकको कुन गाउँ हो र ?)

म : धैनकोटको।

दोकानी आमै : न्हँऽऽऽ ! धैन कइको छोट्टे होइ त ? (हँ ऽऽऽ ! धैन कसको छोरा हौ त ?)

म : पध्धानको काण्ठो भाइ हुँ त ! तिमी काँकी भएऊ धेऊ ? (प्रधानको कान्छो भाइ हुँ त ! तपाइँको घर कता हो र ?)

दोकानी आमै : म पन हप लोली (धैनकोटमाथिको गाउँ) की हुँ त। दे यत्तो भैहै, के र्‍वाईंदी हुँ त ? अँदेइ काँबाट आयौ प ? (पनि माथि लोली गाउँकी हु नि ! लौ यत्रो भैसकेछौ, केको चिन्न सक्दिहुँ नि ! अनि कहाँ गएर आयौ त ?)

म : नेपालगञ्जा गया छियाँ, जानेबोला चिलगाडीथी बाइगिया छियाँ तर आइनेबेला छराको केइ पाइएन। अँदेइ ५÷६ जुना गोर्खाली स्हाथलाइकन आया हुँ देखिनौ ? (नेपालगञ्ज गएको थिएँ, जानेबेलामा हवाईजहाजबाट गएको थिएँ तर आउने बेला जहाजै पाइएन। अनि ५/जना गोर्खालीको साथ लागेर आएको हुँ, बुझ्नुभएन !) सुरुवाल र कमेजको पोशाकमा रुकस्याक झोला भिरेको पहिरन ४÷५ दिनको हिंडाइले मैलिएको थियो। भाषा मिलेपछि मुगाली भन्न सुहाउँथ्यो।

साथीहरू आइपुगे। लौ हेर स्याङ्जाली ! अघि चुरोट नखाने भनेको यहाँ आएर बिंडी तान्दै के-के गफ हाँकिरहेको छ ? भन्दा “हल्ला नगर भो साथी हो !” भनें।

दोकानी आमै : गोर्खाली भाषा पन उम्तै जान्दो भएहै त ! (नेपाली भाषा पनि धेरै जान्दो रहेछौ नि !)

के भन्यो र आमै ? यो त गोर्खाली हो – स्याङ्जाको ! भनेर साथीहरूले भन्दा पनि “फाक्टा गद्दा हौ, यो त हम्मै भाउवा भह त” (ठट्टा नगर भो, यो हाम्रो बाबु पो हो र’त !) भनेको क्षण वास्तवमा स्मरणीय छ। सही लवाइ-खवाइ अथवा भनौँ भाषा-भेष मिलेमा साँच्चिकै आफन्त ठहरिंदो रहेछ !

(चार दशक पहिलेको डायरीबाट)

क्रमागत : 

मुगु डायरी-१ : ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?

मुगु डायरी-२ : एक्काइसौं सदीको विडम्बना !

मुगु डायरी-३ : छोट्टी खेलको नूतन अनुभव !

मुगु डायरी-४ : आतिथ्य भरे भर्सेलै परोस् !

मुगु डायरी–५ : बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?