+
+

अफगानिस्तानका अस्पतालमा कुपोषणग्रस्त बालबालिकाको कारुणिक चीत्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १४:१४

३ चैत, काठमाडौं । हरेक सेकेन्डको अन्तरमा अफगानिस्तानको लस्करगाहस्थित अस्पतालको आईसीयूमा साना बालबालिका पुग्छन् । उनीहरु कुपोषणबाट ग्रस्त छन् ।

तालिबान सत्तामा पुनः फर्किएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोग कटौती हुँदा सर्वसाधारण भोकमरीमा परेका छन् । भोकमरीका कारण बालबालिका सबैभन्दा बढी प्रभावित बनेका छन् ।

अफगानिस्तानमा हजारौं बालबालिकामा कुपोषण भएको छ । अस्पताल भर्ना भएका कुपोषणग्रस्त बालिबालिका भोकले रोइरहेको सुनिन्छ । उनीहरुको ज्यान बचाउन अस्पतालले निकै कसरत गरिरहेको छ । बालबालिकाको कारुणिक आवाजले अस्पतालको माहोल नै फेरिएको छ ।

आफ्ना सन्तान बचाउन आमाहरु हारगुहार गरिरहेका छन् । उनीहरु भगवानसँग प्रार्थना गरिरहेका देखिन्छन् । स्वास्थ्यकर्मीहरु बालबालिकालाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।

लस्करगाह हेलमण्ड प्रान्तको एक सहर हो । यो अफगानिस्तानका युद्धग्रस्त प्रान्तमध्ये एक हो । यो सहर राजधानी काबुलबाट ६६४ किलोमिटर टाढा पर्छ ।

जलिल अहमदलाई सास फेर्न गाह्रो भइरहेको छ । उनका हातखुट्टा चिसो भएका छन् । उपचारका लागि उनलाई आकस्मिक कक्षमा राखिएको छ । उनकी आमा मार्काका अनुसार जलिल साढे दुई वर्षका भए । तरु उनी उमेरभन्दा निकै साना र अस्वस्थ छन् । यति मात्रै होइन उनलाई कुपोषण भएको छ भने क्षयरोगले पनि ग्रसित छन् । स्वास्थ्यकर्मी उनलाई जीवन दिन लागिपरेका छन् ।

यति भन्दा मार्काको गह भरिन्छ । ‘उसको कारण म निरीह भएको छु । रातका हरेक सेकेन्ड कतिबेला उसको सास रोकिन्छ भन्ने डरमा बिताएकी छु,’ उनी भिन्छन् ।

जलिलका लागि आईसीयू चाहिन्छ । एक जना डाक्टरले उनलाई काखमा बोकेर लैजान्छन् । डाक्टरका पछि नर्सहरु स्लाइन र औषधिसहित केही थान बोतल बोकिरहेका हुन्छन् । उनको शरीरमा तारजाली बेरिएका छन् । तारजाली मार्फत औषधि दिइरहेका छन् ।

स्वास्थ्यकर्मीसँग समय नै छैन । उनीहरुले तुरुन्तै अर्को पाँच महिनाका अकलाहलाई अक्सिजन दिनुपर्नेछ । शिशुलाई तेस्रो पटक अस्पताल ल्याइएको हो ।

स्वास्थ्यकर्मीले केही समयअघि उनी बाँच्दैनन् भन्ने सोचेका थिए, अहिले उनी सास लिइरहेका छन् ।

अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पाँच बालबालिकामध्ये एक जनाको ज्यान गइरहेको छ । पछिल्लो साता दादुरा रोग फैलिंदा उनीहरुको रोगप्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गइरहेको छ । जसकारण कुपोषण भएका बालबालिकाको ज्यान बचाउन थप चुनौती छ ।

परोपकारी मेडिसिन्स सेन्स फ्रन्टियर्सद्वारा सञ्चालित अस्पताल त्यहाँका १५ लाख सर्वसाधारणको स्वास्थ्य केन्द्र हो । अस्पतालमा जम्मा ३०० बेड छन्, तर अहिले त्यहाँ दैनिक ८०० जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये धेरै बालबालिका छन् ।

तालिबान सत्तामा फर्किएपछि विदेशी सहायता कटौती हुँदा लाखौं सर्वसाधारण भोकमरीबाट पीडित बनेका छन् । यसले सार्वजनिक स्वास्थ्यमा निकै ठूलो असर पारेको छ भने सार्वजनिक स्वास्थ्य पतनको बाटोमा छ ।

अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या लामो समयदेखि छ । युनिसेफ (संयुक्त राष्ट्र बाल कोष)को एक तथ्यांकले अफगानिस्तानमा अस्पताल भर्ना भएका गम्भीर कुपोषणका बालबालिकाको संख्या अगस्ट २०२१ मा २ हजार ४०७ जना थियो भने यो संख्या बढेर डिसेम्बरमा ४ हजार २१४ पुगेको छ ।

समयमा अस्पताल पुग्ने बालबालिकाको स्वास्थ्य स्वास्थ्यकर्मीको मेहनतका कारण राम्रो हुने गरेको भएपनि आर्थिक समस्याले अभिभावक अस्पतालसम्म आइनपुग्दा समस्या भएको छ । अस्पताल जानै परे उनीहरुले घण्टौं पैदलयात्रा गर्नुपर्ने अवस्था छ । त्यही पनि भनेको समयमा स्वास्थ्य सेवा पाउन सकिँदैन ।

मुसाकाला र गेरेस्क जिल्ला अस्पताल कुपोषण भएका बालबालिकाले भरिभराउ छन् । तर कुनै पनि अस्पतालमा ‘क्रिटिकल अपरेसन केयर’ युनिट छैन । अस्पतालमा महिला स्वास्थ्यकर्मी छैनन् । कोठाहरु चिसा र अँध्यारा छन् । बिजुली आउँछ, जान्छ । रातिको समयमा तापक्रम ४ डिग्री सेल्सियसमा झर्छ ।

गेरेस्क अस्पतालका कोठाको बीचमा राखिएका ग्यास सिलिन्डरमा जोडिएका साना हिटरले न्यानो प्रदान गर्दैनन् । आमा र बालबालिका कम्बलमुनि बसिरहेका छन् । हावामा रोगको गन्ध उडिरहेको छ ।

मुसाकालामा अर्का डेढ वर्षीय बालक वालिदको श्वासप्रश्वासमा समस्या आएको छ । उनलाई अस्पतालको गल्ली र कोठा छेउछाउबाट अक्सिजन सिलिन्डर रहेको ठाउँसम्म पुर्‍याउनु परेको छ ।

अस्पतालमा स्लाइनको अभाव हुँदा १० वर्षीय जकिउल्लाहका बुवालाई स्लाइन लिन बजार पठाइएको छ ।

अस्पतालमा एक दशकभन्दा बढी काम गरिसकेका चिकित्सक डा. अजिज अहमदका अनुसार अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव छ । ‘दैनिक सयौं बालबालिका अस्पताल आउने भएपनि उनीहरुलाई कतै टाढा जानुपर्छ । अस्पतालमा उनीहरुलाई बचाउन सक्ने सेवा छैन । सेवा नहुँदा उनीहरुले धेरै टाढाको दूरी तय गर्नुपर्छ । जसका कारण धेरैले बाटोमै ज्यान गुमाउनु पर्छ,’ उनी भन्छन् ।

डा. अजिज र त्यहाँ कार्यरत कर्मचारीले अगस्टदेखि अक्टोबरसम्मको तलब पाएका छैनन् । नोभेम्बरदेखि उनी कार्यरत र अन्य अस्पतालले युनिसेफ, विश्व स्वास्थ्य संगठन, स्थानीय परोपकारी संस्था बारन जस्ता मानवीय संस्थाबाट भुक्तानीको व्यवस्था गरिएको छ ।

‘विश्वले राजनीति गरिरहँदा हामीले मानवीय नाताले बालबालिकाको जीवनका लागि पुलको काम गरिहेका छौं, तर हामी स्वास्थ्य प्रणालीमा पूर्ण लगानी गर्न सक्दैनौं,’ युनिसेफका सलाम जानवीले भने ।

‘बालबालिकालाई राजनीतिमा नमिसाउनुस् । अफगानिस्तानको यो क्षण बालबालिकाका लागि महत्वपूर्ण छ, विश्वले गर्ने हरेक निर्णय र राजनीतिज्ञले उनीहरुलाई असर गर्नेछ,’ उनले भने ।

हेलमण्ड प्रान्त हुँदै यात्रा गर्दा युद्धका कारण हुने विनास जहींतहीं देख्न सकिन्छ । सांगीन सहरमा अझै यो विशेष रुपमा देख्न सकिन्छ । त्यहाँ भग्नावशेष र माटोले ढाकिएको जमिन छ । जहाँ कुनै समय घर र पसलहरु थिए । यी ती क्षेत्र हुन् जहाँ अफगानी सेनाले लडाइँको सामना गरेका थिए र बेलायती सेना तैनाथ थिए ।

स्थानीय अब्दुल राजिक भन्छन्, ‘अहिले शान्ति छ, हामी खुसी छौं । तर खानेकुरा छैन । काम छैन, पैसा छैन । गहुँ र इन्धन निकै महंगो भएको छ ।’

राजिक थप्छन्, ‘मेरो गाउँमा सयौं बालबालिका कुपोषणबाट ग्रसित छन् । हरेक घरमा दुई तीन जना भेटिन्छन् । उनीहरुका आमालाई खुवाउन हामीसँग केही छैन, त्यसकारण यस्तो समस्या भइरहेको छ ।’

नजिकैको माटोको घरमा हमिद गुल बस्छन् । उनका दुई छोरी फारजान र जान्दाना कुपोषित छन् । नाज्दाना यति बिरामी छन् कि उनले घरमा खानेकुरा नभएका कारण छोरीलाई हजुरबा हजुरआमाकहाँ पठाएका छन् ।

उनका १० वर्षीय छोरा नसिबुल्लाह खेतमा काम गर्न थालेका छन् । उनको परिवारको यो पीडा विदेशी शक्तिले खेलेको खेल र वर्तमान अवस्थाका कारण उत्पन्न भएको हो । पाँच वर्षअघि अमेरिकी हवाई आक्रमण हुँदा हमिदको घरमा बम विस्फोट भएको थियो ।

उक्त घटनामा हमिदका बुवाआमा, ६ जना दाजुभाइ र बहिनीसहित १० जनाको मृत्यु भएको थियो ।

‘तालिबानसँग हाम्रो कुनै सम्बन्ध नै थिएन । हाम्रो घरमा अन्यायपूर्ण तरिकाले बम बारुद गरिएको थियो । तर मलाई न अघिल्लो न अहिलेको अमेरिकी सरकारले सहयोगको प्रस्ताव गरेको छ,’ हमिदले भने, ‘हामी सुकेको रोटी मात्रै खान्छौं र साताको दुई–तीन रात भोकै सुत्छौं ।’

छरछिमेकमा पनि के खाएको भनेर सोध्दा सबैले सुख्खा रोटीका केही टुक्रा खाएको बताउने उनी सुनाउँछन् ।

भोकमरीका कारण सबैभन्दा बढी बालिबालिका संकटमा छन् । अफगानिस्तानमा फैलिएको त्रासदीको मापन संसारले थाहा पाउँदैन । अफगान युवापुस्तालाई मर्नका लागि छाडिएको जस्तै देखिन्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?