जिल्ला शिक्षा कार्यालयमा प्राथमिक विद्यालय निरीक्षक हुनुहुन्थ्यो – प्यूठानका दामोदर शर्मा । उहाँले मलाई भाइलाई झैं माया गर्नुहुन्थ्यो। साइनबोर्ड लेख्ने कार्यमा उहाँको प्रेरणा मेरा लागि सदा स्मरणीय छ। खाग्सीको जानकारीसम्म नभएको म, होमदाइको सहयोगमा पुराना बोर्डहरू ब्लेडले खुर्केर सफा बनाई इनामेल पोत्दथें।
रङ्गीन चकको प्रयोग नहुँदा सिसाकलमले बोर्डमा बनाएको आर्क पुछेर फिनिसिङ्ग गर्न गाह्रो हुन्थ्यो। बोर्डभरिको आर्क बनाउन धागोको सहयोग उहाँबाटै प्राप्त भएको थियो। २०४१ साल चैत २४ गते शनिबार (जीवनको २२औं वर्षमा) पहिलोपल्ट ‘जिल्ला पञ्चायत सचिवालय, कृषि शाखा’ नामको साइनबोर्ड लेखें। दामोदरदाइ र होमदाइले राम्रो लेखेको भनी दिनुभएको प्रतिक्रियाले थप हौसला मिल्यो।
प्रति अक्षर १५ रुपैयाँको दर थियो। पुरानै बोर्डमा पुनर्लेखन गर्दा पाइने उक्त दरलाई तिनताकाको राम्रो आयस्रोत मानिन्थ्यो। गणित, विज्ञानको शिक्षक भएकोले बिहान-बेलुका ट्युसन, दिउँसो लेखापालको सरकारी जागीर, फुर्सदको समयमा साइनबोर्ड पेन्टिङ्ग। वास्तवमा स्वपौरखमा रमाउनै पर्ने परिवेशबाट वेष्ठित बनें।
२०४१ साल कविशिरोमणि लेखनाथ पौड्यालयको शतवार्षिकी मनाउने वर्ष थियो। तिनताका मैले तरुणतपसी, ऋतुविचार पढिसकेर बुद्धिविनोद पढ्दै त्यसलाई कापीमा उतार्दै थिएँ। त्यसका मनपर्ने श्लोकहरू मस्तिष्कमै थन्क्याएको खोज्दा अचेल पनि प्राप्त हुन्छ र यसबाट असीम आनन्द महसुस हुन्छ। ती कविताका प्रभावले कनिकुथी त्यो कविआत्माप्रति श्रद्धासुमन प्रकट गर्न मन लाग्यो र लेख्दो भएँ। सार– –
श्रद्धाञ्जली
–
कविवर ! तिमीलाई
करोडौं आत्मा सम्झिरहेछन्
करोडौं आँखा तिम्रा कृतिउपर दौडिरहेछन्
अनि, करोडौं मुक्त कोकिल कण्ठले
तिम्रै खोला र झरनाका गीतहरू गाइरहेछन्।
तर, अफसोच !
तिमी हाम्रो माझमा अनुपस्थित छौ
लाग्छ कतै स्वर्गको कुनाबाट चियाइरहेका हौला
के गर्छौ र कविवर !
साहित्यका गाथाले तख्ता ढाकिदिएर धनी बनायौ
तर पनि,
दरिद्रताका साथी हामी
तिमीमा केवल चिरस्मृति स्वरूप
वर्ष-वर्षमा जयन्ती मनाएका छौं
हार्दिक श्रद्धाञ्जली चढाइरहेका छौं।
………………
………………
वास्तवमा हामीले तिमीलाई
बनावटी कृतज्ञता टक्र्याएका हैनौं
कृत्रिम आभार व्यक्त गरेका छैनौं
तिमीले धनी बनाएको भाषाका पुजारी-
तिम्रै पूजा गरिरहेछौँ !
तिम्रै श्लोकहरू कण्ठ गरिरहेछौं !!
………………
………………
तिनै उकाली अनि ओरालीमा
फाँट-बेंसी अनि देउरालीमा
हो त नि !
ती चराचुरुङ्गीहरू पनि
हाम्रै स्वरमा ताल बजाउँछन्
एक पोख्त वादकको झङ्कार जस्तै !
अनि बलै, कनीकुथी म पनि
लयहीन गद्य लेखेर
त्यही आत्मशान्तिका लागि
हार्दिक कृतज्ञता प्रकट गर्दछु !
हार्दिक आभार व्यक्त गर्दछु !!
हार्दिक श्रद्धाञ्जली टक्र्याउँछु !!!
एकदिन बिहान, तत्कालीन जनसम्पर्क अधिकृत वासुदेव भट्टजी आई डायरी पल्टाउँदा यो कविता देख्नु भएछ र मलाई पाठ गर्न लगाउनुभयो। पूर्णबिराम पछि “ए ! तिलकजी त कवि पनि हुनुहुँदोरहेछ ल ! कति राम्रो कविता ?…” भन्ने प्रतिक्रिया दिनुभयो। मनै-मन मलाई पनि आनन्दानुभव भयो। सायद २०३५ सालतिर कतै बुद्धिदाइको सिको गरेर लेखेको बाहेक कविताको श्रीगणेश यही गद्यले गरायो – मेरो जीवनमा !
प्रतिभाको खाँटी रूप – मोतिराम भट्ट !
एकजना दैलेखका नामै मोतिराम भट्ट भएका कविजीसँग भेट भयो। सायद शनिबारको दिन थियो। शिक्षा कार्यालयका लेखापाल नोदराज न्यौपाने (जुम्ला) र म उहाँको कोठामा बसेर चिया पिउँदै थियौं। उहाँको कोठा जिल्ला शिक्षा कार्यालयकै आवासमा थियो। मैलो पहिरनमा रुकस्याक बोकेका पातलो कद, गहुँगोरो अनुहारमा शिरपोश पहिरेका व्यक्ति हाम्रोसामु प्रकट भए। नाम मोतिराम, थर भट्ट भन्दा तन्नेरी कवि त हैनन् (अर्को रूपमा) जस्तो लाग्यो। भलाकुसारीसँगै कुराकानी अघि बढ्दा “उहाँ अण्डरम्याट्रिक हुनुहुँदोरहेछ, दाजु परदेश, कान्छीआमा घर (दैलेख) मा, आफ्नो आमाको परलोक भैसकेको, जागीरको खोजीमा त्यहाँ पुग्नुभएको रहेछ …” न्यौपानेजीले प्रमाणपत्रको माग गर्दा फाइलै दिनुभयो। जसमा राष्ट्रिय, क्षेत्रीय, जिल्लास्तरीय कविता प्रतियोगिताहरूमा अधिकांशतः प्रथम स्थान ओगटेको देखिन्थ्यो। आमालाई लेखेको उहाँको चिठी यस्तो थियो –
आमालाई पत्र
सम्झी लेख्छु म पत्र यो अब त्यहाँ, कस्तो छ मेरो घर।
आमा ती चिरकालतक सुखी रहुन्, रक्षा गरुन् शङ्कर।।
प्यारो बालक पुत्र हुँ घर छँदा, त्यै सम्झना गर्दछु।
आमा दुःख नमान्नु पत्र मितितक, सञ्चै निकानन्द छु।।१।।
कस्ती छन् गलिहारकी हृदयकी, बिर्सिनसक्ने उनी।
बैनी सुन्दरी नानीलाई भनिदेऊ, सञ्चै छ दाजू भनी।।
आजकल यो नयपाल उत्तर दिशा, जिल्ला मुगु बस्दछु।
भोटेका सँग साथ छु नयनका, आँसु म बर्साउँछु।।२।।
मेरो त्यो घर खेतबारी हँसिलो, देखौं कसोरी यहाँ ?
लेख्दा अक्षर आँसुमा डुबिदिने, लेखौं कसोरी यहाँ ??
मेरा यी दुइटा दुःखी नयनका, नौलाख आँसु यहाँ।
कर्णालीसँग बग्दछन् दिनदिनै, आइपुगे कि त्यहाँ !!३!!
के गर्नु अघि बालकाल दिनको, त्यो लाड मेरो गयो।
खेल्थें आँगन चौरमा घर कुरी, लौ आज यस्तो भयो।।
सानै बालखमा बनाई टुहुरो, बाबा र आमा गए।
तिम्रै प्यार मिठास पाई जननी, हुर्की तरुनु भएँ।।४।।
आमा भन्नु मलाई सौख अघिको, छौ कान्छीआमा त्यहाँ।
माया लाग्छ अति खपी नसकिनु, बिर्सुं कसोरी यहाँ।।
खेतीपाती चलाउँदै सकलमा, बोली सुमीठो गर।
सारा छन् घरबारीका सब कुरा, लौ आज तिम्रै भर।।५।।
फिर्नन् चाड तिहार पर्व हँसिला, भाषा लिई चम्किला।
फुल्नन् फूल ढपक्क बारी भरिमा, राता पहेंला नीला।।
मेरो नाम लिंदै उनी फूलहरू, सम्झेर भाइकन।
बैनी बर्वरसाथ आँसु गह ली, रोलिन् नरोऊ भन।।६।।
मेरा दौंतरी वल्लापल्ला घरमा, खेल्दा होलान् हर्षमा।
आमाकै प्रिय लाडमा लडिबुडी, बस्दा होलान् साथमा।।
मैले के अपराध गरें र भगवान् ! आमा गइन् स्वर्गमा।
सम्झी पागल हुन्छ यो मन सधैं, बाँचु म कुन हर्षमा।।७।।
त्यो मेरो वन भेकमा रहर ली, बासिनदेऊ ढुक्कुर।
बारीमा भँवरा नभन्की अब देऊ, उम्री नदेऊ अङ्कुर।।
नौला बाँसुरी साँझमा तिरितिरी, बज्दै नबज मादल।
ऐंसेलु, खजुरी, गुहेली वनमा, पाकी नदेऊ काफल।।८।।
आमा सेवन गर्छ आज कसले, मेरा यसै दिन गए।
दाजू ती परदेशबाट घरमा, फिर्दै नफिर्ने भए।।
कैले सम्झी असह्य हुन्छ मनमा, खुब दुःख तिम्रा हुनन्।
को देला कपडा शरीर बीचका, ऐले पुराना हुनन्।।९।।
तिम्रा दुःख सबै नमेटी मइले, पारि कसोरी तरुँ ?
प्यारो यो नयपाल देश भूमिको, सेवा कसोरी गरुँ ??
सपनामा विपना सदा दिनदिनै, चिन्ता हरेक सम्झना।
को हेर्ला यही छातीभित्र भरको, नौलाख यी वेदना ??१०??
कस्ले भन्छ मलाई हर्ष मनले, स्यावास बाबु भनी ?
कस्ले भोक र प्यास चिन्छ मनको, मेरो सहारा बनी ??
सपना झैं हुन गो तथास्तु अहिले, आमा त नाता रहोस्।
तिम्रै सौख्य र शान्तिले दिन बितोस्, क्यै दीर्घ आयु होवोस्।।११।।
मेरा दुःख नसिध्दिने जुगभरि, आमा म लेखौं कति ?
बिदा हुन्छु यहाँ म उत्तर दिनु, जो हाल होला जति।।
लाखौं दुःख सहेर ढुक्क मनले, चिन्ता नलिने गर।
फर्कुंला म छिटै कुनै दिनपछि, सम्झेर प्यारो घर।।१२।।
अनि नोदराजजीले “भोलि बिहान कार्यालयमा आउनुहोला त्यसपछि जिल्ला शिक्षा अधिकारीज्यूसँग कुराकानी गरौंला …” भनी बिदा गर्नुभयो। हामी दुईबीच एकछिन चर्चाकै विषय बनेथे – मोतिराम भट्ट !
सङ्गत गुनको फल
मोतिरामजीको उक्त पत्रले मलाई पनि घर आमा-बुबालाई र साथी दिपेन्द्रलाई निम्नानुसार पद्यात्मक पत्राचार गरेथें। घर लेखेको पत्रमा भने मोतिरामजीको वैयक्तिक मसँग अमिल्दा व्यहोरा बाहेक उहाँकै नक्कल गरेथें भने दिपेन्द्रलाई निम्नानुसारको पत्राचार गरेथें।
परम प्रिय मित्रवर ‘लेकाली’ !
असीमाविरलाटुटेस्मृति।
सौन्दर्यको पगरी लगाएर सुवासनाको उपहार सम्पन्न कुसुमको जीवनी कालान्तरमा ओइलिए झैँ मुटुभित्रको रगतको गहिराइमा चपलक्क चोपलिई आत्मवत् समहृदयी सन्मित्रसँगको सद्व्यवहार पनि आजकै परिधिभित्र रुमलिन पुगिसकेर हो कि ? … मनभित्र कता-कता असमञ्जस्यता खुल्दुलिएको भान पर्न गएको फलस्वरूप,
धेरै दिन् पछि यो, भेट्घाट हुन गो, कापी कलम्को यहाँ।
आरामै छु यहाँ, सखे होम सहित्, आराम चाहन्छु त्यहाँ।।
खासै केई समचार्, थिएन रपनि, स्मृति अटल् भैदियोस्।
भन्ने मन् हुनगो, र पत्र अनुसार, कै सम्झना रैदियोस्।।१।।
श्रावण मास महाँ, सबै बिच त्यहाँ, बात्चित गर्दा पनी।
गल्ती केफ हुन गै, यसो हुनगयो, थाहा मलाई छैन नी।।
जाहाँसम्म मला-इ लाग्छ तिमिले, कोइ त्यस्तरी भूल् पनी।
भैजाए पनि माफ्, कुनै समयको, देउला सखे हो भनी।।२।।
पून: यो अनुरोध्, म गर्छु तिमिमा, क्षमा दिलाई मलाई।
पुछ्देउ लोचनका, यि आँसु जुनचाइँ, आउँछन् हृदये जलाई।।
गरे पनी केई, भुल त्रुटि मैले।
पठाइ देउ एक्, चिठि पत्र ऐले।।३।।
हुनेछ शान्ती, त्यही पत्र हेरी।
विकट् मुगूमा, आइन्न कि फेरी।।
म बस्छु ऐले, यहि कोट धैन।
हुनेछ बाँचे, मिलन् जेठ मैना।।४।।
तिमी नरिसा-उन झट्ट दिपू।
कला तिमीको, म कसोरि सिकू।।
परेँ म शिक्षक्, तिमि कर्मचारी।
छुट्याउन पा-नी र दूध विचारी।।५।।
बजाउँछु मा-दल कोठा मै छ।
म गाउँछु गीत्, पनि ओठ मै छ।।
म पिउँछु चीसो, बरफै यहीं छ।
भुली दियौ सइँ, दु:ख नै यही छ।।६।।
वरीपरी सुन्-दर चूलि हीउँ।
छ ता पनी पा-नि नपाइ बीऊ।।
नबढ्न सक्दा, जिमिमा थपक्क।
बसे तिमीले, भुले झैँ चटक्क।।७।।
वयान उत्तम्, यसको यही छ।
जुन्चाहिं तिम्लाई, पहिल्यै थाहा छ।।
बरू सुनाउ सो-मु र रामुलाई।
छ सम्झना यै, चिठीमा तिन्लाई।।८।।
अरू परिचित्, सब साथीलाई।
बन्दे सुनाऊ, सबमा मिलाई।।
तिमी भनेछू, तपाइँको सट्टा।
सँच्याई भूल् यो, क्षमा दिनू झट्ट।।९।।
अन्त्यमा
पिर केइ, नहोस् मनमा, रक्षा गरुन् देवता।
घुन्पुत्लो तनको, हटाइ सकुशल्-को, प्रार्थना एउटा।।
मेरा दु:ख नसि-द्धिने जुगभरी, मित्रे म लेखौँ कति।
बिदा हुन्छु सखे !, म उत्तर दिनु, जो हाल होला सबै।।१०।।
शुभेच्छुक
सार्वजनिक रूपमा आफ्नै कविता पाठ गरेको पहिलो दिन !
भोलिपल्ट म पनि शिक्षा कार्यालयमै थिएँ। दोलखबहादुर गुरुङ का.मु. जिशिअ हुनुहुन्थ्यो। नोदराजजीले मोतिरामजी आएपछि जिशिअ साहेबसँग परिचय गराउनुभयो। जिशिअ साहेबले “ए ! तपाइँ कवि हुनुहुन्छ ? त्यसोभए उऽऽऽ ती चल्लाको बारेमा दुई÷चार श्लोक लेखेर सुनाउनुहोस् त ! …” भनेर हिजोजसो कुखुराको माउलाई स्यालले लगिदिनाले टुहुरिएका ५÷६ वटा चल्लाहरू किंबुको रुखमुनि डोकाभित्र चिउँ-चिउँ … कराइरहेका थिए, तिर इङ्गित गर्नुभयो। नभन्दै मोतिरामजीले एकैछिनमा चार हरफ कविता लेखेर सुनाउनुभयो। तब जिशिअ साहेबले “लौ उहाँलाई माङ्ग्रीको प्रावि दरबन्दीमा पठाइदिनु” भन्नुभयो। यसरी मोतिरामजी पनि मुगुको शिक्षक बन्नुभएथ्यो।
संयोग त्यसै वर्षको प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित त्रिदिवसीय कार्यक्रममा कविता प्रतियोगिता पनि समावेश भएछ। मलाई जनसम्पर्क अधिकारी वासुदेव भट्टजीले अनिवार्य रूपमा भाग लिनुपर्ने आग्रह गर्नुभयो। मैले पनि स्थापित कविले झैं कविताको शीर्षक माग गरें। उहाँले पनि तयारी उत्तर जस्तै “राष्ट्रपिताको देन” शीर्षकमा कविता लेख्नै पर्ने जोड गर्नुभयो। मैले पनि निम्नानुसारको गद्यलाई कविताको नाउँ दिई जिल्लास्तरीय प्रतियोगीका रूपमा नामाङ्कन गराएँ।
राष्ट्रपिताको देन
उन्नाइसौँ शताब्दीको अज्ञानताको छ्याप्छ्याप्तीमा,
ज्ञानी र विवेकी टोपलिएर
ब्रिटिसेका पिछलग्गु !
एकाएक सफलीभूत हुन पुगे
देशको शासन हत्याउन
सोही शदीको सुरुमै।
र जनता आक्रोशित भएर पनि –
चुपचाप धार्नी हल्लाउनु पर्थ्यो,
तोला फड्कार्नु भन्दा।
नभएका होइनन् आदर्शित विचारहरू पनि थिए,
तर पनि निर्ममतापूर्वक कालकोठरीमा जकड्याइन्थ्यो।
र पनि पिंजडाको सुगा बनेर प्रस्फुटन भइदिन्थ्यो –
देशाक्रोशको प्रतीक ठड्याउन !
बाङ्गो रुखलाई बाङ्गै देख्न,
गर्धन चिलाएको हुनुपर्थ्यो।
याने बाङ्गो रुखलाई सोझ्याउन
कुनै कालिगडीको जरुरत थिएन
हुकुम पालन गर्ने ‘आज्ञाकारी’ भए पुग्दथ्यो।
कला कलात्मक रूपमा विकसित हुनै पाउँदैनथ्यो
कलाङ्ग नै अपाङ्ग बनाइन्थ्यो,
र पनि खुट्टाकै भरले ‘देशीमरूझ्या’ तयार भएकै थिए –
देशको रौनक बढाउन !!
बन्देज थियो स्वविवेक खुलस्त पार्न,
पाइँदैनथ्यो ज्ञानको ज्योति बाली
जनचेतना र जागृति उपार्जन गर्न,
र पनि अपुतालीको बार बलियो पार्नेलाई
थिए घर-घरमा शिक्षक र पुस्तकको व्यवस्था … !
आफ्नो कुशासन निरन्तर पार्न।
यस्तो कुण्ठित परिप्रेक्ष्यमा
कुनै वीरको पहरा घन्काउने,
सुगम भाषाको टड्कारो बोली पनि !
एक अबोध बालकको –
अव्यक्त चीत्कारको रूप लिन बाध्य हुन्थ्यो।
यसरी जनताका आँखामा –
औंसीकै रातमा कालो चस्मा पहिर्याइदिने राणाहरुले,
यो एसियाको नानीलाई –
धमिल्याइसकेका थिए, एक सय चार वर्षसम्म।
तर, किन सत्य डग्थ्यो र !
कसैको कृत्रिमताले हैन,
प्राकृतिक वरदानले हराभरा भएकी हाम्री मातृभूमि !
एघारौं अवतारको रूपमा
जन्माइदिइन् हाम्रा राष्ट्रपितालाई
जन्माइन् धर्मभक्त र शुक्रराजलाई
दशरथ चन्द र गंगालाललाई !
अनि यस्तै वीर योद्धाहरूलाई
जो देशको अन्यायी अन्धकार हटाउन
आफ्नो ज्यानको आहुति दिन पनि कहिल्यै त्रसिएनन्।।
फेरि, राष्ट्रपिताले पनि –
आफ्नो राज्यकै होड थापेर,
जनताको आवाज बोकी, बुलन्द पारी, दौडधुप गरी –
शहीदको उपल्लो श्रेणीमा नाम लेखाइबक्स्यो।
जुन, अद्यावधि इतिहासका पानामा टल्किरहेकै छ,
सच्चा देशभक्ति !
यदि कल्पनाको सागरमा डुबुल्की मार्छ भने
ती सुनौला अक्षर ट्वाक्कै पाठ गर्न सक्छ, यसमा सन्देह छैन।
यसरी ज्यान र राज्यकै परवाह नगरी,
मुलुकमा ल्याएको प्रजातन्त्र !
आज फले-फुलेको देख्ने अवसर नभए पनि
कोटि आत्माले राष्ट्रपिताको स्मृति –
हृदयमा चिरस्थायी बनाउन,
अटल बनाउन,
फेरि, त्यो कठोर घडी हृदयङ्गम गरी,
तिनै आत्मालाई चिरशान्ति दिलाउन,
आज मनाएका छौं –
प्रजातन्त्र दिवस !
त्रिभुवन जयन्ती !!
राष्ट्रपिताकै देन भनेर !!!
(लेखकका त्यतिबेलाका केही शब्दलाई परिष्कृत गरिएको जानकारी गराइन्छ।)
(चार दशक पहिलेको डायरीबाट)
क्रमागत:
मुगु डायरी-१ : ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?
मुगु डायरी-२ : एक्काइसौं सदीको विडम्बना !
मुगु डायरी-३ : छोट्टी खेलको नूतन अनुभव !
मुगु डायरी-४ : आतिथ्य भरे भर्सेलै परोस् !
मुगु डायरी–५ : बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !
मुगु डायरी -६ : परदेशको ठाउँ, नाक जोगाउने काम !
प्रतिक्रिया 4