+
+

संविधान पुनर्लेखन गर्न जसपा अध्यक्ष यादवको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १५:४७

७ चैत, वीरगञ्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।

वीरगञ्जका नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै यादवले संघीय गणतन्त्रमा सबैलाई समान अधिकार, अवसर, पहिचान र स्वाभिमान र सम्मानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए । जनसंख्याको आधारमा प्रतिनीधित्व सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व र भागेदारीको ग्यारेन्टी हुनुपर्न उनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले अहिलेको निर्वाचन प्राणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने बताए ।

‘राजनीति विकृतिले भरिएको छ । निर्वाचन प्रणाली महँगो भइरहेको छ’, उनले भने, ‘धेरैलाई चुनाव लड्ने हिम्मत पनि हुँदैन । ब्रिटिश संसदीय प्रणालीको नक्कल गरे पनि सही ढंगले नक्कल हुन सकेको छैन । यो निर्वाचन प्राणालीलाई बदल्नुपर्छ । यो प्रणालीले कहिल्यै राजनीतिक स्थिरता ल्याउँदैन । जबसम्म राजनैतिक स्थिरता हुँदैन, आर्थिक विकास समृद्धिको गति लिन सक्दैन ।’

अहिलेको चुनावको प्रणाली फेरेर पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्नु पर्ने उनको प्रस्ताव छ ।

सम्भव भएको ठाउँमा गठबन्धन बनाएर चुनाव लड्ने

सम्भव भएको ठाउँमा गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । जनता समाजवादीले सबै ठाउँमा एक्लै लड्न सक्ने तागत राख्ने भए पनि सम्भव भएको ठाउँमा मिलेर जानु राम्रो हुने बताए ।

‘जनता समाजवादी पार्टी हिजो सबै ठाउँमा सबै सिटमा एक्लै चुनाव लडेको थियो, अब पनि लड्ने तागत राख्छ’, उनले भने ‘तर जति सम्भव हुन्छ, एक साथ जाऔं, जहाँ सम्भव हुँदैन, मित्रवत प्रतिस्पर्धा गरेर अघि बढौं ।’

उनले जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मिलेर अघि बढ्न आग्रह गरे । ‘हाम्रा केही मित्र छन्, जो अरुका लागि आफ्नो पार्टीलाई सानो टुक्रा बनाएर कचौरा लिएर घुमिरहेका छन् । उनीहरुलाई म भन्छु आओ हामी मिलेर फेरि अघि बढौं ।’ उनले भने ।

गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको अधिनायकवादबाट मुक्ति दिएको उनले बताए । केपी ओलीको गैरलोकतान्त्रिक निरंकुवादी चरित्र र स्वभावलाई समाप्त पार्न गठबन्धन गरेको र त्यो गठबन्धन सफल भएको उनले बताए ।

न्युनतम साझा कार्यक्रम कार्यान्वयनमा कांग्रेसले चासो नदिएको आरोप

सरकारका न्युनतम साझा कार्यक्रम कार्यान्वयनमा कांग्रेसले चासो नदिएको भन्दै अध्यक्ष यादवले असन्तुष्टी जनाएका छन् ।

‘न्युनतम साझा कार्यक्रममा नागरिकताको समस्या, संविधान संसोधन, समावेशीकरण, संघीय प्रणालीको कार्यान्वयनलगायतका विविध विषय समेटिए पनि दुःखका साथ भन्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वको सरकारले साझा नीति तथा कार्यक्रमलाई देखेर पनि नदेखेको जस्तै गरेको छ’, उनले भने ।

अहिलेको सरकार साझा नीति तथा कार्यक्रमको जगमा बनेको भन्दै उनले कांग्रेसले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?