+
+

कलाकारहरु राजनीतिमा : भौतिक उपस्थिति मात्रै कि अर्थपूर्ण हस्तक्षेप पनि ?

लेडी गागादेखि कंगना रनावत, जेलेन्स्कीदेखि करिश्मा मानन्धरसम्मका सेलिब्रिटीको शैली हेर्दा लाग्छ, कला र राजनीतिको सघनता भविष्यमा अझै बढ्नेछ । तर, कतिपय विश्लेषकहरुका भनाइमा नेपालमा राजनीतिमा कलाकारको प्रवेश भौतिक उपस्थितिमा सीमित छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०७८ चैत ८ गते २०:१९
अभिनेत्री करिश्मा मानन्धरलाई नेकपा एमालेमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओली ।

दृश्य १ : मंगलबार नेकपा एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले पार्टी प्रवेशको औचित्य पुष्टि गर्न तीन कारण पेस गरिन् । पहिलो– केपी ओली, दोस्रो– एमालेको एजेन्डा र तेस्रो– सो पार्टीप्रति नागरिकको सद्भाव ।

दृश्य २ : पाका अभिनेता एवं निर्देशक नीर शाहलाई कांग्रेसको कोटाबाट राष्ट्रियसभाको सदस्य बनाउने चर्चा छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जोडबलमा शाहको नाम अघि सारिएको स्रोत बताउँछ ।

दृश्य ३ : गत साता अनलाइनखबरसँगको संवादमा अभिनेता राजेश हमालले भविष्यमा राजनीतिमा जोडिनसक्ने संकेत गरे । २३ चैत २०७४ मा उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दलमा पनि थिए । राजदूत बन्ने प्रस्ताव आइहाले स्वीकार्ने उनको भनाइ थियो ।

माथिको दृष्टान्तहरु नेपाली राजनीति र कलाकारिता बीचमा अत्यन्त धमिलो रेखा मात्रै छ भन्ने अथ्र्याउन पर्याप्त छन् । सेलिब्रिटी र राजनीतिज्ञ बीच घुलमिलका यस्ता दृश्यहरु अब नौला रहेनन् । ‘सफ्ट पावर’ भनिने पेशा व्यवसायबाट ‘हार्ड पावर’ (राजनीति) मा हामफाल्ने काम यहाँ मात्रै होइन अन्यत्र पनि हुन्छ ।

समय र सन्दर्भको हिसाबले कलाकारको पार्टी प्रवेश आउँदा दिनमा अझै बढ्नसक्छ । किनभने, सरकार केन्द्र र स्थानीय तहको चुनावको तयारीमा छ ।

मंगलबार बबरमहलको कार्की ब्यांकेटमा यस्तै दृश्य देखियो । जहाँ रातो सारीमा सजिएर अभिनेत्री मानन्धर एमाले प्रवेश गरिन् । करिश्मा र रातो सारीको किस्सा चाहिं नयाँ होइन । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध हुने कार्यक्रममा पनि उनले रातो सारीमा सजिएर सपथ लिएकी थिइन् ।

दशरथ रंगशालाको त्यो दृश्यलाई सम्झाउने घटना फेरि कार्की ब्यांक्वेटमा भयो, जहाँ करिश्माले आफू एमालेको इमान्दार कार्यकर्ता बन्न चाहेको र पार्टीले दिने जिम्मेवारी सम्हाल्न तयार भएको बताइन् । करिश्माको एमाले प्रवेश रातारात तयार भएको कुनै ‘पटकथा’ होइन । कक्षा १२ को परीक्षा सुरु हुनु एकदिनअघि ओलीले फोन गरेर करिश्मालाई शुभकामना दिएका थिए । केही साताअघि ओली बालकोटमा भएको पछिल्लो भेटले करिश्माको एमाले प्रवेश तय गर्‍यो ।

समय र सन्दर्भको हिसाबले कलाकारको पार्टी प्रवेश आउँदा दिनमा अझै बढ्नसक्छ । किनभने, सरकार केन्द्र र स्थानीय तहको चुनावको तयारीमा छ । वैशाख ३० गतेको स्थानीय चुनाव आउन दुई महिना बाँकी छ र दिनहुँ पार्टी प्रवेशको सिलसिला चलिरहेको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नाम चलेकासहितका २५ जना कलाकारलाई पार्टी प्रवेश गराउने सूची तयार पारिसकेका छन् ।

करिश्मा मानन्धरको पार्टी प्रवेश यस्तो समयमा भएको छ, जतिबेला दलहरु चुनावी तयारीमा छन् । तर आफूले कुनै पदको लोभ नगरेरै पार्टी प्रवेश गरेको उनको दाबी छ । ‘पार्टीले उचित जिम्मेवारी दिन्छ भने म स्वीकार्न तयार छु तर पदको लोभ गरेर गएकी होइन,’ करिश्माको कथन छ ।

संविधानसभा चुनावमा वरिष्ठ अभिनेता नीर शाहले कांग्रेसका १७ वटा आमसभालाई सम्बोधन गरेका थिए । माओवादी हुँदै कांग्रेस प्रवेश गरेका शाहलाई सभापति देउवाले राष्ट्रियसभा सदस्य बनाउन लागेको चर्चा छ, जसलाई स्वयं शाह पनि अस्वीकार गर्दैनन् ।

राष्ट्रवादको बाछिटामा सेलिब्रिटी

संसारका ठूला मुलुकमा राष्ट्रवाद र ‘पपुलिज्म’को लहर चल्दै गर्दा सेलिब्रिटी पनि राजनीतिमा खुल्न थालेका छन् । अमेरिकाको राष्ट्रपतीय चुनावको पछिल्लो संस्करण राजनीतिमा सेलिब्रिटी सहभागिताको हिसाबले अहिलेसम्मकै उत्कर्ष थियो । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध खनिएका लेडी गागा, बोन जोभी, बियोन्से र जे जेडले खुलेरै डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेका थिए ।

७ अक्टोबर २०१८ मा पप आइकन टेलर स्वीफ्ट खुलेरै रिपब्लिकन उम्मेदवारविरुद्ध उत्रिएकी थिइन् । सन् २००३ मा गभर्नर पदको लागि भएको क्यालिफोर्नियाको चुनावमा ‘हेभिवेट’ राजनीतिक उम्मेदवारलाई हराउँदै हलिउड स्टार आर्नोल्ड स्वार्जनेगर विजयी भएका थिए । सामाजिक मुद्दाहरुमा अनुदार मानिने रिपब्लिकन पार्टीको विपक्षमा धेरै स्टारहरु खुलेरै लागे र यसको फाइदा डेमोक्रेटिक पार्टीले उठायो ।

हाम्रो छिमेकी मुलुक भारत सेलिब्रिटीको राजनीतिक सहभागिताको हिसाबले एउटा ‘केस स्टडी’ बन्न सक्छ । विगतमा कलाकारलाई राज्यसभाको सदस्यमा मनोनित गर्ने गरिएपनि भारतीय राजनीतिमा सत्तारुढ बीजेपीको उदयपछि धेरै कलाकार खुलेरै लागेका छन् ।

भारतीय राजनीतिमा कलाकारको यस्तो अभूतपूर्व पक्षधरता अहिलेसम्म देखिएको थिएन । प्रधानमन्त्री मोदी र उनको दल बीजेपीको हिन्दूत्वको कार्डले सिर्जना गरेको राजनीतिक विभाजनमा कलाकार पनि मिसिएका छन् ।

अक्षय कुमार, कंगना रनावत, अनुपम खेर, परेश रावल, एकता कपुर बीजेपीतर्फ खुलेका चर्चित कलाकार हुन् । गत साता त्यहाँ रिलिज भएको फिल्म ‘द कश्मीर फाइल्स’ले त सेलिब्रिटी पक्षधरतालाई बल दिएको छ । विवेक अग्निहोत्री निर्देशित फिल्मले भारतीय राजनीति र समाजलाई तरंगित बनाइरहँदा एकाध कलाकारबाहेक सिंगो बलिउड मौन छ ।

बीजेपीको पक्षमा खुलेकी अभिनेत्री रनावतले त कश्मिरी पण्डितमाथि सन् १९९० मा भएको अत्याचार र हिंसाको छानबिन गर्नुपर्ने र इस्लाम पृथकतावादको अन्त्य हुनुपर्ने धारणा राखेकी छन् ।

समीक्षक मनोज पण्डित भन्छन्, ‘कार्यकर्ता बन्न मात्र कलाकार राजनीतिमा लाग्ने होइन । दलमा शक्तिशाली प्रश्न बन्नेगरी लाग्नुपर्छ, कुनै एस म्यान मात्र बन्न होइन ।’

मोदी क्याबिनेटका ठूला नामहरुले फिल्म हेरेर सत्य उद्घाटित गरेकोमा निर्देशकलाई बधाई दिएका छन् । अभिनेता खेरले त सीधै भनिदिए– बीजेपीको सरकार नभए कश्मीर मुद्दामाथि फिल्म बनाउन सम्भव थिएन ।’ खेरको यो अभिव्यक्तिले राजनीतिले बलिउडलाई कसरी विभाजित गर्दै छ भन्ने देखाउँछ ।

राजनीति कलामा मिसिएको हो वा कला राजनीतिमा पसेको भन्ने यो बहस अब नयाँ रहेन । यस्तो लाग्छ, सेलिब्रिटी हुनु र राजनीतिज्ञ हुनुको ‘सिल्भर लाइन’ मेटिएको छ । जस्तो हेरौं न, विख्यात हास्य कलाकारबाट युक्रेनी राष्ट्रपति बनेका भ्लोदिमिर जेलेन्स्की अहिले रुस–युक्रेन युद्धको केन्द्रमा छन् ।

आफ्ना फिल्म र सिरियलबाट रुसमा समेत चर्चित जेलेन्स्की उनै हास्य कलाकार हुन् जसले महाशक्ति रुसलाई अहिले आच्छु–आच्छु पारिरहेका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरा सिर्जना र मैले गरेका चरित्रहरु मेरो प्रेरणाका स्रोत हुन् ।’
लेडी गागादेखि कंगना रनावत, जेलेन्स्कीदेखि करिश्मा मानन्धरसम्मका सेलिब्रिटीको शैली र प्रवृत्ति हेर्दा लाग्छ, कला र राजनीतिको सघनता अझै बढ्न सक्छ ।

वैचारिक हस्तक्षेपको प्रश्न

कलाकार दलमा आबद्ध हुनुले के अर्थ राख्छ ? उनीहरुले सम्बन्धित दलभित्र कत्तिको वैचारिक हस्तक्षेप गर्न सकेका छन् ? निर्देशक सचिन घिमिरे भन्छन्, ‘नेपाली राजनीतिमा कलाकारको उपस्थिति अनुहार र नाम मात्रैको भइरहेको छ । वैचारिक हस्तक्षेप कमजोर देखिन्छ । राजनीतिमा कलाकारले अनुहार मात्रै देखाउनु भएन ।’

पछिल्लो समय कलाकार दलमा प्रवेश गरेपनि उक्त दलमा कलाकारिताको मुद्दाले प्रवेश नपाउनुलाई घिमिरे विडम्बनापूर्ण बताउँछन् । घिमिरेको यो भनाइसँग निर्देशक मनोज पण्डित पनि सहमत छन् । पण्डितको तर्क छ, ‘कार्यकर्ता बन्न मात्र कलाकार राजनीतिमा लाग्ने होइन । दलमा शक्तिशाली प्रश्न बन्नेगरी लाग्नुपर्छ, कुनै एस म्यान मात्र बन्न होइन ।’

कलाकार चिन्तन र संवेदनशील हुने भएकाले सर्वसाधारणको मनोविज्ञानलाई नजिकबाट महसुस गर्न सक्ने र सोही कारण उनीहरुले राजनीतिमा सर्वसाधारणको पीडालाई प्रभावकारी ढंगले राख्न सक्ने पण्डितको भनाइ छ । कलाकार राजनीतिमा लाग्नु हुँदैन भन्ने कतिपयको भनाइमा पण्डित असहमत छन् ।

उनी भन्छन्, ‘समाजका अन्य नागरिकजस्तै कलाकार पनि राजनीतिमा लाग्न स्वतन्त्र छन् । उसले पनि आफूले चाहेकोजस्तो काम गर्न पाउँछ । कसैले कलाकारले राजनीति गर्न पाउँदैन भन्छ भने त्यो उनीहरुको कुण्ठा मात्रै हो ।’

चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा दलहरुले कलाकारलाई स्वार्थका लागि प्रवेश दिन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउँछन् । ‘फिल्ममा फेसभ्यालु बनाएकाहरु राजनीतिमा पनि फेसभ्यालुले काम गर्छ कि भनेर गएजस्तो लाग्छ,’ लामा भन्छन्, ‘अहिलेसम्म हेर्दा ठूला पार्टी कांग्रेस, एमाले, माओवादीले केन्द्रीय तहमा कलाकारको प्रतिनिधित्व गराएका छैनन् । दलहरुले आफ्नै स्वार्थको लागि स्थान दिएका होलान् भनेर यथार्थलाई बुझ्न आवश्यक हुन्छ ।’

राजनीतिक विश्लेषक हरि रोका नेता बनेका कलाकारको वैचारिक उपस्थिति निकै कमजोर भएको बताउँछन् । ‘राजनीतिमा लाग्नु ठूलो कुरा भएन । सरकारी कर्मचारीबाहेक प्राध्यापक र शिक्षक पनि राजनीतिमा छन् । तर कलाकारहरु कति बुझेर राजनीतिमा लागेका छन् भन्ने महत्वपूर्ण हुन आउँछ ।’ कलाकारहरु राजनीतिक स्वार्थ बोकेर दलमा लागेको जस्तो देखिएको उनको टिप्पणी छ ।

तर केही यस्ता कलाकार पनि छन्, जो दलीय छहारीबिनै राजनीतिमा लाग्ने जमर्को गर्दैछन् । चर्चित र्‍यापर बालेन शाहदेखि लेखक गनेस पौडेलसम्मले आगामी स्थानीय तहको चुनावमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

उम्मेदवारी घोषणा गर्दै र्‍यापर शाहले फेसबुकमा लेखेका छन्, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं आफैं बनाउँछौं ।’ पेसाले इन्जिनियर समेत रहेका शाहले मेयर पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

गत साता अभिनेता राजेश हमालले पनि सामाजिक सञ्जालमार्फत काठमाडौंको मेयर बन्ने इच्छा व्यक्त गरेका थिए । हमालले ‘जोक्स’ गरेर त्यसो भनेको बताएपनि उनको अभिव्यक्तिभित्र पक्कै पनि गम्भीरता लुकेको छ । हमालको यो ‘जोक्स’ र बालेनको इच्छाबीच राजनीतिक समानता भेट्न सकिन्छ । केही दिनअघि र्‍याप रियालिटी शोको पत्रकार सम्मेलनमा बालेनले भनेका थिए, ‘युवाले अब राजनीतिमा वैचारिक हस्तक्षेप गर्नैपर्छ ।’

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?