+
+

रुस-युक्रेन वार्ताको केन्द्रमा ४ मुद्दा : भाषा र भूगोलको विषय पेचिलो

सुनिल बराल सुनिल बराल
२०७८ चैत ९ गते १३:५८

९ चैत, काठमाडौं । रुसले युक्रेनमा हमला गरेको झण्डै एक महिना हुन लागेको छ । २८ दिनदेखि जारी युद्धमा दुवैतर्फ ठूलो मानवीय क्षति भएको छ । युक्रेनमा अर्बौं डलर बराबरका भौतिक संरचना ध्वस्त भएका छन् ।

यतिबेला युद्ध र वार्ता सँगसँगै अघि बढिरहेको छ । तर दुवै पक्षले वार्तालाई निरन्तर दिने भने पनि अहिलेसम्म ठोस समाधान निस्किन सकेको छैन । जारी वार्तामा रुस र युक्रेनी वार्ताकारले ४ वटा विषयलाई केन्द्रमा राखेर छलफल गरिरहेको देखिन्छ । तर यिनै विषयमा मतभेद हुँदा वार्ता थप जटिल बनिरहेको छ । यसले युद्ध अन्त्यका लागि शान्ति सम्झौताको संभावना पनि टर्ने हो कि भन्ने चिन्ता बढेको पाइन्छ ।

रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको भूगोल, युक्रेनको तटस्थता, रुसी भाषीको अधिकारी र अनाजीकरणमाथि दुबै पक्षबीचको वार्ता केन्द्रित छ । तर दुबै पक्षका लागि भाषा र भूगोलको विषय निकै पेचिलो बन्दै गएको प्रस्ट हुन्छ ।

खासगरी तत्कालीन महारानी क्याथरिनका पालामा सन् १७८३ मा रुसभित्र गाभिएको युक्रेनको दक्षिणी भू-भागप्रति मस्कोले विशेष रुचि देखाएको छ । तर क्रिमियासहितको दक्षिणी भू-भागमाथि रुसी नियन्त्रणलाई मान्यता दिन नसकिने अडानमा युक्रेन टसमस देखिन्न । ‘हाम्रो अडान यथावत छ’, युक्रेनका वार्ताकारले मिखाइलो पोडोलियाकले भनिसकेका छन् ।

रुसले सन् २०१४ मै युक्रेनको क्रिमियालाई आफूमा गाभिसकेको छ भने सैन्य कारबाहीअघि नै डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राष्ट्रको हैसियत दिइसकेको छ । त्यस्तै, विशेष सैन्य कारबाहीपछि रुसले क्रिमियाबाट उत्तर अवस्थित भू-भाग, डोनेट्स्क तथा लुहान्सक वरपरका क्षेत्रसहित राजधानी किएभको उत्तर तथा पश्चिममा रहेको भूभाग नियन्त्रणमा लिइसकेको छ ।

यसरी हेर्दा हालसम्म रुसले युक्रेनको एक-तिहाई भू-भागमाथि नियन्त्रण गरिसकेको छ । तर युक्रेनले भने आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताउँदै आएको छ । सोमबार स्थानीय टेलिभिजनसँग बोल्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिमिया र डोनबास क्षेत्रबारे बहस सुरु गरी जनमत संग्रह गर्ने बताएका थिए ।

जारी वार्तालाई पेचिलो बनाइरहेको अर्को विषयमा नेटोको सदस्य नबनी युक्रेन तटस्थ पर्नुपर्ने रुसी माग पर्छ । पुटिनले युद्ध सुरु हुनुपूर्व नै युक्रेन नेटो सदस्य बन्न नहुने र रुसी सीमाबाट नेटो फौज फिर्ता हुनुपर्ने माग राखेका थिए । तर हाल युक्रेनलाई सैन्य सहायता प्रदान गरिरहेको अमेरिकाले उक्त माग अस्वीकार गरेको थियो ।

नेटोमा आवद्ध नभइ तटस्थ बस्न सकिने रुसको मागप्रति भने युक्रेन सकरात्मक देखिन्छ । रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले युक्रेन आफ्नै सेनासहित अष्ट्रिया वा स्विडेन जस्तै तटस्थ बन्न तयार रहेको बताइसकेका छन् ।

जेलेन्स्कीलेसमेत आफ्नो मुलुक नेटोको सदस्य नबन्ने भनिरहेका छन् । पुटिनसँग वार्ता गरेर विवादित क्रिमिया तथा डोनबास क्षेत्रसहित सबै विषयमा छलफल गरी युद्ध अन्तय गर्न आफू तयार रहेको उनको भनाइ छ ।

तेस्रो मुद्दा युक्रेनका रुसी भाषीको अधिकार सुनिश्चिततासँग जोडिएको छ । युक्रेनमा रुसी भाषा र रुसी भाषीको भविष्यलाई लिएर मस्को चिन्तित देखिन्छ । यसको कारण भनेको युक्रेनमा तीन वर्षअघि पारित एक कानुनले युक्रेनी भाषालाई मात्रै विशेष हैसियत दिएको छ । यो कानुन अनुसार सरकारी कर्मचारी, सैनिक, स्वास्थ्यकर्मी तथा शिक्षकसहितका सबै सरकारी मानिसले युक्रेनी भाषा जानेको-सिकेको हुनुपर्छ ।

रुसले वार्तामा उठाइरहेको चौथो विषय ‘युक्रेनलाई नवनाजीबाट’ मुक्त गर्नुपर्ने हो । पुटिनले युक्रेनी सरकारमाथि नाजीवादी समूहलाई रुसी भाषी समुदायको नरसंहार गर्न दिएको आरोप लगाइरहेका छन् । खासगरी मस्कोले युक्रेनी सेनाको एजोभ बटालियनलाई नाजी संगठनको रुपमा हेर्ने गर्छ । उक्त बटालियनले रुसी भाषीलाई आतंकित बनाएको र युद्ध अपराध गरिरहेको मस्कोको आरोप छ ।

एजोभ बटालियनमा सन् २०१४ देखि नै रुस समर्थित विद्रोहीसँग लड्दै आएका स्वयंसेवकहरूको बाहुल्यता छ । दक्षिणपन्थी विचार राख्ने यो बटालियनका संस्थापकले ‘गोरो वर्ण भएका मानिसको सर्वोच्चता’ (ह्वाइट सुप्रिमेसी) को पक्ष र यहुदीविरोधी धारणा राख्छन् भन्ने मस्कोको बुझाइ छ । हाल रुसी फौजले भीषण आक्रमण गरेको मारिओपोल शहरमा पनि एजोभ बटालियन तैनाथ गरिएको पाइन्छ ।

तर जेलेन्स्की आफैँ यहुदी हुन् । उनले रुसी भाषीको नरसंहार भएको दाबी अस्वीकार गर्दै आएका छन् । बरु उनले रुसमाथि युक्रेनी शहरलाई ध्वस्त पारेर नाजीका जस्तो बर्बरता देखाएको आरोप लगाइरहेका छन् । ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?