+
+
कुलमानसँग अन्तर्वार्ता :

‘भारतसँग नजोडिए नेपालको बिजुलीको बजार व्यवस्थापन सहज हुन्न’

'भारतबाट प्रतियुनिट औसत ४.५० रुपैयाँमा बिजुली किन्दैछौं, बेच्दा पनि त्यस्तै मूल्य पाउँछौं'

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते २०:३९

२१ चैत, काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो ।

रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट ३८ रुपैयाँ तिर्न तयार हुँदा पनि बिजुली नपाएको भन्दै प्राधिकरणले उद्योगहरुमा ‘फोर्स लोडसेडिङ’ गर्‍यो ।

हिउँ पग्लिएर नदीमा पानीको सतह बढेपछि आन्तरिक उत्पादन बढेकाले उद्योगमा लोडसेडिङ नगरिएको दावी गरेको छ । तर, उद्योगीहरु भने प्राधिकरणको कुरा मान्न तयार छैनन्, विजुली कटौतीले उत्पादनमै असर गरेको भन्दै उनीहरुले प्राधिकरणसँग लोडसेडिङको तालिका मागेका छन् ।

यही बेला ३८ रुपैयाँसम्म महंगोमा भारतबाट बिजुली किनेको भन्दै प्रतिपक्षी दलका नेताले प्राधिकरणको कार्यशैली र नियतमाथि प्रश्न उठाइरहेका छन् । यसबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रवीन्द्र घिमिरेले गरेको कुराकानी :

लोडसेडिङ अन्त्यको घोषणापछि तपाईंले लोडसेडिङ फर्किंदैन भनिरहनुभएको थियो । तर, एकाएक अहिले उद्योगहरुमा लाइन काट्ने अवस्था आयो नि ?

विद्युतको माग र आपूर्ति व्यवस्थापनमा स्थानीय वा बाह्य कारणले आकस्मिक चुनौती आइरहन्छन् । गत तिहारको समयमा भरतपुरमा ट्रान्सफर्मर बिग्रिँदा समस्या पर्‍यो । यस्ता खालका समस्या त प्रणालीमा नियमित आइरहेकै हुन्छन् ।

अहिले परेको संकट हाम्रो मात्रै होइन, विश्वव्यापी नै हो । गत सेप्टेम्बर/अक्टोबरमा नेपालमा विद्युत सबै खपत नभएर खेर गइरहँदा चीनले एक महिनासम्म विद्युत संकट व्यहोर्‍यो ।

कोइला अभावले विद्युत उत्पादन गर्न कठिन भएपछि चीनका ८० प्रतिशत उद्योग बन्द भए । अहिले भारतमा पनि त्यस्तै अवस्था आयो ।

समस्या परेपछि भारतले प्रतिपस्र्धी ‘डे अहेड मार्केट’ मा प्रतियुनिट भारु २० रुपैयाँसम्म बिड गर्न पाउने व्यवस्थालाई प्रतियुनिट भारु १२ मा झारेको छ ।

उसले यो ‘अर्डर’ जारी गर्दा करिब ६० हजार मेगावाट आवरका प्लान्ट बन्द भएको र आयातीत कोइलाको अभाव भएको भनेर व्याख्या गरेको छ । यस्तो सुक्खायाममा भारतमा नै संकट भयो भने हामीले कसरी बिजुली पाउनु ?

भारतबाट बिजुली आएन भनेर लाइन काट्दा त प्राधिकरणमाथिको जनविश्वासमा असर परेन ?

जनताले यो कुरा बुझ्नुभएको छ कि हिजो लोडसेडिङ हुँदा र अहिलेको अवस्थामा आकाश–जमिनको फरक छ ।

हाम्रो माग र उत्पादनको वृद्धिलाई हेरौं । देशभित्रको आन्तरिक विद्युत् उत्पादन क्षमता २१ सय मेगावाट पुगेको छ । ५ वर्षअघि त्यस्तो उत्पादन ७/८ सय मेगावाट मात्रै थियो । जसरी विद्युत उत्पादन बढेको छ, खपत पनि त्यसैगरी बढेको छ ।

करिब डेढसय प्रतिशतले खपत बढेको छ । ५ वर्षअघि वर्षभरिमा ३ अर्ब ७० करोड युनिट बिजुली खपत हुन्थ्यो अहिले ८ अर्ब ५० करोड युनिट बिजुलीको खपत हुन्छ । दोब्बरभन्दा बढी खपत बढेको हुनाले हामीले उत्पादन बढाउँदा पनि यो स्थिति आइरहेको हो ।

हामी खपत बढाउन नलागेको भए यस्तो संकट त आउँदैन थियो होला नि त ! तर, खपत बढाउनु अत्यावश्यक छ भनेरै हामीले काम गरिरहेका छौं ।

अहिलेको संकट त हाम्रो लागि सुखद् कुरा हो, वर्षायाममा त हामीलाई हाम्रै बिजुलीले पुग्छ । उत्पादित बिजुली देशभित्रै खपत हुने वातावरण तयार हुँदैछ । नपुग बिजुली सुख्खाायाममा केही आयात गरौंला, केही फरक पर्दैन ।

यहाँ माग बढिरहेकाले नै सुक्खायाममा केही समयलाई विद्युत आयात गर्नुपरेको हो । वर्षायाममा शतप्रतिशत विद्युत नेपालभित्रै खपत गराउने हो भने त्यसले यहाँको अर्थतन्त्रलाई माथि लैजान सहयोग गर्छ ।

भोलि सुक्खायाममा नै विद्युत् आन्तरिक उत्पादनबाटै पुग्यो भने वर्षायाममा धेरै निर्यात गर्न पाइने अवस्था बन्छ । बिजुली निर्यात गर्दा कति पैसा पाइन्छ भन्ने कुरा त लामो समय र छोटो समयका लागि हामीले कस्तो सम्झौता गरेर बेच्छौं भन्नेमा भर पर्छ ।

हाम्रो जलविद्युतको प्रवृत्ति नै वर्षायाममा बढी उत्पादन दिने र सुक्खायाममा कम उत्पादन हुने हो । हामीले वर्षायाममा मात्रै पुग्ने गरी व्यवस्थापन गर्‍यौं भने सुक्खायाममा पुग्दैन, हिउँदमा पनि पुर्‍याउने गरी व्यवस्था गर्दा वर्षायाममा धेरै नै विजुली बढी हुन्छ । यो त प्राकृतिक पक्ष भयो ।

भोलि जलाशयुक्त आयोजना बनाउँदा पनि हिउँद र वर्षा दुबैमा ती आयोजनाले बिजुली दिन्छन् । त्यसैले जबसम्म हाम्रो ऊर्जा भारतको बजारसँग समिश्रण हुँदैन, अवस्था त अप्ठेरो नै रहन्छ ।

भारतसँग प्रसारणलाइन ‘सिंक’ नगर्ने हो भने त माग र आपूर्तिको व्यवस्थापन गर्नु सहज हुँदैन ।

प्राधिकरणले माग धान्न नसकेर लाइन काट्नुपरेपछि त यसले भविष्यमा यस्ता समस्या दोहोरिने देखिएन र ?

प्राविधिक कुरामा सधैं चुनौतीको अवस्था त हुन्छ । तर, हामीले आकस्मिक पर्ने समस्याबाहेकलाई सुझबुझपूर्ण व्यवस्थापनबाटै पार लगाएका छौं ।

अलिकति आशावादी भएर हेरौं । अहिले जुन खालको संकटको अवस्था आएको छ, त्यो त हाम्रो लागि अवसर हुनसक्छ । एक महिनापछि त्यही बजारमा हामीले ५०० मेगावाट बिजुली त्यही मूल्यमा बेच्न पायौं भने कति कमाइ हुन्छ ? त्यो पनि अवसर हो ।

अस्तिसम्म भारतको प्रतिस्पर्धी बजारमा प्रतियुनिट भारु २० सम्मको अधिकतम सिलिङ थियो । हामीले प्रतियुनिट भारु २० मा बिजुली किनेका छैनौं, यहाँ समस्या परेपछि किन्न हालेका बिड पनि परेनन् ।

पिक समयमा हामीले केही महंगोमा बिजुली किनिरहेका छौं । तर, ९ महिनामा भारतको प्रतिस्पर्धी बजारबाट आयात गरेको बिजुलीको औसत मूल्य प्रतियुनिट भारु ४.५० छ ।

यो वर्षको आयात हामीले ५ देखि ६ अर्ब मात्रै हुन्छ भन्ने थियो । यो संकटले केही बढेर ७–८ अर्बको आयात हुन्छ होला । गत वर्ष करिब २५ अर्बको बिजुली आयात भएको थियो । संकट हुँदा पनि हाम्रो आयात घट्छ ।

प्राधिकरणले आफ्नो नाफा बचाउनकै लागि महँगोमा बिजुली नकिनेको हो ?

एक–दुई दिन उद्योगमा बिजुली काट्दा हामीसँग विकल्प नै नभएको हो । पहिले हामीसँग भारतबाट बिजुली किन्ने विभिन्न विकल्प थिए । हामीले भारतको एनभीभीएन र पीटीसी इन्डियासँग बिजुली किन्थ्यौं, तर संकट गहिरिएपछि उनीहरुले हात उठाए । उनीहरुसँगको सम्झौताअनुसार त प्रतियुनिट ४ रुपैयाँ १६ पैसामै बिजुली आउँथ्यो ।

केही महंगो परेपनि बिहार सरकारले दिउँसोमा त केही दियो, रातमा दिन सकेन । विकल्प त्यही प्रतिस्पर्धी बजारबाट ल्याउने भन्ने मात्रै थियो । त्यो बजारमा अधिकतम प्रतियुनिट भारु २० सम्म नै बिजुली किनबेच भयो । अहिले दैनिक औसतमा नै प्रतियुनिट भारु १० देखि भारु १२ सम्म पुग्यो ।

तर, बिड गर्दा पनि सबैको बोलकबोल नपर्ने अवस्था आयो । किनभने सो बजारमा बिजुलीको दिनको ४५ करोड युनिट थियो भने आपूर्ति २० करोड युनिट मात्रै थियो । त्यसैले हामीले गरेका धेरै बिडमा अरुले बढी मूल्य तिरेर किने ।

पहिले हामी विहारको भन्दा बढी मूल्य राखेर बिड गर्दैनथ्यौं, तर २–३ दिन त हामीले बढी नै मूल्य राखेर ‘कोट’ गरेका हौं । तर, आपूर्ति नपुगेपछि बिजुली दिएन । त्यस्तो अवस्थामा केही समय उद्योगमा बिजुली दिन समस्या परेको हो । संकट परेपछि हामीले केही दिन दिउँसो बिजुली दिएर रातमा हाफ लोडमा चलाउन उद्योगहरुलाई अनुरोध गरेका हौं ।

विगत ३ दिनदेखि हामीलाई बिड पनि परेको छ । त्यसैले कतै पनि विजुली दिन नसक्ने अवस्था छैन । हाम्रो भारप्रेषण केन्द्रले कतै प्रसारणलाइनको समस्याले कतै समस्या भए त्यहाँ कम लोडमा चलाउनुस् भनेको होला । विराटनगरको चहरामा फिडर परिवर्तन गर्दा ६/७ वटा साना उद्योगमा असर परेको छ । त्यहाँ आज काम सकिएर विद्युत आपूर्ति सुरु हुन्छ ।

यो संकटले नेपालको भारतसँगको बिजुलीको परनिर्भरता त छर्लङ्गै पार्‍यो नि होइन ?

हामीले सधैं सबै तथ्यांक सार्वजनिक रुपमा नै राखेका छौं । यो कहिले पनि लुकेको र लुकाइएको छैन ।

यो सुक्खायाममा बिजुलीको माग १५/१६ सय मगावाट हुँदा पनि हामीलाई औसतमा ३ सय मेगावाट आयात गर्दा पुगिरहेको छ । अहिले दैनिक माग हुने बिजुलीको परिमाणका आधारमा हेर्दा २० देखि २५ प्रतिशत मात्रै आयात भइरहेको छ । यो वर्षको औसत परिमाण हेर्ने हो भने कुल बिजुली खपतमा आयातीत बिजुलीको हिस्सा १० प्रतिशत मात्रै हुन्छ होला ।

पहिले दैनिक डेढ करोड युनिट बिजुली खपत हुन्थ्यो भने ३ करोड २५ लाख युनिट पुगेको छ । यसैवर्ष ४ करोड युनिट पुग्छ । हाम्रो उत्पादन नबढेको भए त अहिले एक हजार मेगावाट बिजुली आयात गर्दा पनि पुग्दैन थियो ।

६ वर्षअघि पनि त ३५० मेगावाट बिजुली आयात गरेकै थियौं त, अहिले पनि हामी ३०० मेगावाट आयात गरिरहेका छौं । तर, हामीले खपत कति गरिरहेका छौं ? त्यो पनि हेर्नुपर्छ । कुल इनर्जी खपतमा हेर्दा अहिलेको आयात न्यून हो ।

गत वर्ष नै यही बेला पिक आवरमा ८ सय मेगावाट आयात गरेको देखिन्छ । यो वर्ष माथिल्लो तामाकोशीसहितका आयोजना आएको भएर हामी अझ सहज अवस्था रह्यौं । अहिले पिकिङ गरेर महंगो बिजुली भारतबाट किन्नुपर्ने बेलामा कम बिजुली ल्याउन सक्ने अवस्था आएका छौं ।

राति जतिबेला सस्तो हुन्छ त्यतिबेला आयात गर्छौं, आयोजनाहरुमा पानी रोकेर पिकिङ गर्छौं । बीचमा आएको संकटले केही समस्या पारेकौ हो । तर, आयात धेरै गर्नुपरेको नै छैन ।

तर, ३ रुपैयाँमा आफ्नो बिजुली बेचेर ३८ रुपैयाँसम्म पैसा तिरेर बिजुली किन्नु सही हुन्छ भने उठेको प्रश्न नाजायज हो र ?

बिजुलीको प्रतिपर्धी बजार र मूल्यका बारेमा नबुझ्नेहरुले यस्तो कुरा गर्नुभएको हो । हामीले विगतमा भारतको प्रतिस्पर्धी बजारमा प्रतियुनिट भारु १.९० मा पनि किनेका छौं । औसतमा भारतबाट आयात हुने बिजुलीको औसत मूल्य प्रतियुनिट भारु ४.५० रुपैयाँ मात्रै छ ।

हामी सस्तैमा बिजुली किनिरहेका छौं । अझ बिजुलीको मूल्य मात्रै त औसत ३.५० रुपैयाँ मात्रै छ, प्रसारणलाइनबाट हुने चुहावट जोड्दा त्यति परेको हो ।

हामीले पुस, माघ र फागुनमा औसत प्रतियुनिट ३ रुपैयाँभन्दा कममा भारतबाट विजुली किनेका छौं । त्यो त हामीले यहाँ निजी क्षेत्रका जलविद्युत आयोजनासँग किन्नेभन्दा सस्तो हो ।

हामीले पनि नेपालबाट भारतको प्रतिस्पर्धी बजारमा बिजुली बेच्दा भारतसँग युनिटको १६ रुपैयाँसम्म मूल्य पाएका पनि छौं । तर, हामीले पनि औसतमा बिजुली बेच्दा ४ रुपैयाँ पाएका छौं । हामीलाई भारतबाट किन्दा र त्यहाँ बेच्दाको औसत मूल्यमा खास फरक छैन ।

अझ कहिलेकाहीँ बेचेको मूल्यभन्दा किन्दा सस्तो पनि परेको छ । भारतमा कुनै समयको बिजुलीको मूल्य प्रतियुनिट भारु २० पुगेको हो, तर, हामीले किनेका छैनौं, त्यो संकटको अवस्थामा किन्नै पाएनौं ।

आलुको भाउ कहिले बढ्छ, कहिले घट्छ, कहिले त महंगो भएपनि खानुपर्छ, भोकै त मर्न भएन । कहिलेकाहीँ ५० रुपैयाँ पर्ने आलु कहिले १० रुपैयाँ किलोमै पाइन्छ । तर, वर्षभरिमा औसतमा त २० रुपैयाँ भन्दा बढी नपर्ला नि त ! बिजुलीको कुरा पनि त्यस्तै हो ।

हिजो एकजना नेताज्यूले एउटा अन्तर्वार्तामा ३८ रुपैयाँमा भारतसँग बिजुली मिलाएर किनेको भन्नुभएको रहेछ । दिनमा १५ अर्बको बिजुली किनेको छ भने एक जना ठूलै नेताले सार्वजनिक रुपमा भन्नएको छ । बिजुलीको बजार नबुझेकाहरुलाई के भनेर बुझाउने ? उहाँले भनेजस्तो हामीले ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किनेका छैनौं । उद्योगीलाई संकट नपरोस् भनेर किन्छौं भन्दा पनि पाएनौं ।

दैनिक १५ अर्बको बिजुली आयातको कुरा पनि हावादारी हो । चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्बको बिजुली पनि हामीले किनिसकेका छैनौं । कसरी दिनमा १५ अर्ब भयो होला ? कुन तथ्य राखेर बोल्नुभएको हो, थाहा भएन ।

प्राधिकरणले यो वर्ष बढीमा ७–८ अर्बको बिजुली आयात गर्ला । भारतको प्रतिस्पर्धी बजारमा १५–१५ मिनेटको ९६ वटा ब्लक हुन्छ । त्यसमा पिक समयमा कसैले उच्च मूल्य हाल्छन्, त्यो सयममा हामीलाई केही महंगो परेको पनि हुनसक्छ ।

तर, सबै ब्लकमा एउटै मूल्य हुँदैन, हामीले सस्तो मूल्य पर्ने ब्लकबाटै बिजुली किनेर व्यवस्थापन गरिरहेका छौं । हामीले हालेको मूल्य केही पनि हैन, त्यहाँको सिस्टमले स्वतः मूल्य निर्धारण गर्छ । हामीले कुनै ब्लकमा २० रुपैयाँ नै कोट गरे पनि त्यहाँको प्रतिस्पर्धाका आधारमा ४ रुपैयाँ कायम भयो भने त्यतिमै किन्ने पाइने हो ।

यो संकटले देशभित्र खपत बढाउने प्राधिकरणको योजनामा ठेस लागेन ?

देशभित्रै विद्युत खपत बढाउने हाम्रो अभियानलाई यो संकटले एक रति पनि बिथोल्दैन । हामीले घाटा सहरे भएपनि विद्युत ल्याएर उद्योगमा आपूर्ति गरेको पक्षलाई कसैले नजरअन्दाज गर्न सक्दैन ।

अबको एक महिनापछि अर्को हिउँदसम्म भारतबाट बिजुली किन्नुपर्दैन । आउँदो वर्षयाममा भारतमा ४–५ सय मेगावाट निर्यात गर्न सक्छौं । भारतले त्यो सहमति केही दिनमै दिने जानकारी दिएको छ ।

सकेसम्म हामी विद्युत निर्यात गर्ने भन्दा यहाँ नै खपत गर्ने वातावरण बनाउन लागेका छौं । करिब–करिब २ हजार मेगावाटको माग त एक वर्षभित्रै पुग्छ । असारपछि त दिन रात नै २२/२३ सय मेगावाट बिजुली उत्पादन हुन्छ । असारसम्म २०० मेगावाट बिजुली थप हुन्छ ।

हामीलाई अहिलेको संकटको चिन्ता छैन । अहिले पनि हाम्रो चिन्ता हाम्रो बिजुली सबै हामीले नै कसरी खपत गर्न सक्छौं भन्नेमा छौं ।

यहाँ ३००० मेगावाट खपत पुगोस् न, नपुगेको बिजुली आयात गरौंला । तर, जसरी आयोजनाहरु बनिरहेका छन्, हामी आत्मनिर्भरतातिर अघि बढिसकेका छौं । आगामी आर्थिक वर्ष २०७९/८० मा त ८ सय मेगावाट थपिने निश्चितजस्तै छ ।

त्यसैले देशभित्रैको उत्पादनसँगै माग र खपत बढाउने नै हो । निर्माणाधीन आयोजना, प्रसारणलाइन र सब स्टेसनलाई जतिसक्दो छिटो सक्न जोड दिने नै हो । प्रसारणलाइन र वितरण लाइनको पूर्वाधार सर्वत्र बनाउने नै हो । विश्वसनीय आपूर्तिको विद्यत प्रणालीको सुधार गर्ने नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?