+
+
स्थलगत २ : स्थानीय निर्वाचन २०७९ :

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

मतदाताको आकलन र भरतपुर महानगर आफ्नै पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्काे छ । भरतपुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएपछि यही महानगरका आधारमा अरूतिरको गठबन्धन के हुन्छ निक्र्योल हुने स्वयम् नेताहरू बताउँछन् ।

बिनु सुवेदी, सुवास पण्डित, रामकुमार डिसी बिनु सुवेदी, सुवास पण्डित, रामकुमार डिसी
२०७८ चैत २२ गते २०:५०

२१ चैत, चितवन । भरतपुर महानगरपालिकाको यो तस्वीर सोमबार साँझ खिचिएको हो । बिग्रेको मौसमका कारण जसरी यो तस्वीरमा भरतपुर महानगरपालिकाको यो क्षेत्र स्पष्टसँग देखिंदैन, सत्ता गठबन्धनभित्र नसुध्रिएको राजनीतिक दाउपेचका कारण स्थानीय तहको चुनावी सरगर्मी कस्तो होला भन्ने पनि यस्तै अस्पष्ट छ ।

सत्ता गठबन्धनको राष्ट्रिय राजनीतिलाई समेत पेचिलो बनाइरहेको भरतपुर महानगरको समीकरणले स्थानीय नेता–कार्यकर्ता मात्रै होइन, मतदाताकै मनोविज्ञान विभाजित छ ।

भरतपुर–२८ मेघौलीका देवीप्रसाद सापकोटा भरतपुर महानगरमा हुने चुनावमा केन्द्रले दिने निर्देशन नै निर्णायक हुने बताउँछन् । ‘मिलेर जाने विषयमा पार्टीले के भन्छ, हेर्नुपर्ने हुन्छ । केन्द्रबाटै गठबन्धन गर्ने निर्णय भएर माओवादीलाई दिए हाम्रो त बाध्यता हो, मिल्नैपर्ने हुन्छ’ सापकोटाले भने, ‘पार्टी प्रणालीमा पार्टीले जे निर्देशन दिन्छ, त्यो त मान्नैपर्ने हुन्छ ।’ तर भरतपुरका कांग्रेस नेता–कार्यकर्ता र समर्थक सबैको मन सापकोटाको जस्तो छैन ।

वडा नम्बर १९ पार्वतीपुरका कमानसिंह गुरुङ गठबन्धनको पक्षमा छैनन् । कांग्रेस समर्थक गुरुङ आफ्नो पार्टीले गठबन्धन नै नगरोस् भन्ने चाहन्छन् । ‘नेताहरूसँग धेरै मान्छे खुसी छैनन् । कति त भोट नहाल्ने भन्दैछन् । तालमेल हुँदा सबैले भोट हाल्दैनन्’ उनले भने, ‘जनताले स्वतन्त्र रूपमा आफ्नो मान्छे चुन्न पाउनुपर्छ, बरु गठबन्धन नै नहोस् ।’

यद्यपि चुनावी गठबन्धन हुँदा गठबन्धनकै नेताहरूले जित्ने निश्चित जस्तै भएको आम मतदाताको बुझाइ छ । तर गठबन्धन गर्न भने सजिलो छैन भन्ने उनीहरूले बुझेका छन् । ‘गठबन्धन भयो भने कांग्रेस र माओवादीमध्ये जसले मेयर पाउँछ, उसैले जित्छ । एमालेले सक्दैन’ भरतपुर–२७ तेलौलीका सुरेश कोइरालाले आफ्नो आकलन सुनाए, ‘कांग्रेस एक्लै उठ्दा पनि जित्दैन, माओवादी एक्लै उठ्दा पनि जित्दैन ।’

मतदाताहरूको यस्तै आकलन र भरतपुर महानगर आफ्नै दलको पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्को छ । चुनावी गठबन्धन गर्न सहमत कांग्रेस र माओवादी केन्द्रले भरतपुरलाई आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

थपिएका मतदाता निर्णायक

स्थानीय तह पुनर्संरचना गर्दा साविक भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका दुई नगरपालिका चित्रवन र नारायणीलाई गाभेर महानगरपालिका बनाइयो । महानगरपालिका बनेपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचन निकै रोचक र चर्चित बन्यो ।

जिल्लामा एमाले, कांग्रेस र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि भरतपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको फ्याक्टरले समेत धेरै थोरै प्रभाव पार्ने गर्छ ।

पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेको आधार क्षेत्र समेत भरतपुर महानगरपालिकाका केही वडा भएकाले यहाँ हुने चुनावी प्रतिस्पर्धामा राप्रपा समेत निर्णायक हुने अवस्था छ । त्यही कारण २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पाण्डेलाई सहयोग गरेको थियो ।

त्यसअघि भएको स्थानीय तह निर्वाचनमा भने कांग्रेसले माओवादीकी रेनु दाहाललाई मेयरमा समर्थन गर्‍यो । कांग्रेस र माओवादीबीच जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन भएको थियो भने बाँकी ६ पालिका र वडाध्यक्षहरू दुवै दलका आ–आफ्ना उम्मेदवार थिए ।

महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले ३ वटा वडामा जित हासिल गरे । माओवादी केन्द्रले भरतपुर वडा नं. १३ मा प्यानलसहित जित्यो भने वडा नं. २५ र २६ मा वडाध्यक्ष मात्रै जित्यो भने बाँकी सदस्य एमाले र कांग्रेसले जिते ।

एमालेले वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ जित्यो । कांग्रेसले वडा नं. १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ जित्यो ।

हेर्नुहोस् वडाअनुसार दलहरुको मत

वडा नं नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र कैफियत
११७७ ११६३ ६२१ कांग्रेस विजयी
१३५४ १९२६ ७७० एमाले विजयी
१५३० ८३८ २९९ कांग्रेस विजयी
१७१३ १७२० ९३१ एमाले विजयी
१६८९ १७८० ४३२ एमाले विजयी
२३१९ ९०४ १४८० कांग्रेस विजयी
१४८० १४९५ ८५० एमाले विजयी
१४५६ १३३५ ५८७ कांग्रेस विजयी
११२२ १५३५ ५८१ एमाले विजयी
१० १८५८ २३१६ ६९५ एमाले विजयी
११ १७४४ ३०४१ १३९० एमाले विजयी
१२ १०८८ १६११ ८३९ एमाले विजयी
१३ ४१५ १०५३ १४३८ माओवादी विजयी
१४ १५५२ ११०५ १११६ कांग्रेस विजयी
१५ २३५४ १६१७ ९७९ कांग्रेस विजयी
१६ २०६८ २१३२ ९८९ एमाले विजयी
१७ १०५७ ८४९ ५५२ कांग्रेस विजयी
१८ १३३५ ११०० ६२३ कांग्रेस विजयी
१९ १४७८ १०९७ ६६ कांग्रेस विजयी
२० १४४७ ८८४ ४५७ कांग्रेस विजयी
२१ १५३८ ११२८ ३९४ कांग्रेस विजयी
२२ ८१७ १००६ ७४९ एमाले विजयी
२३ ६३२ १०२२ ५९३ एमाले विजयी
२४ ४१ ६३२ ५१९ एमाले विजयी
२५ ६०० १०४४ ११०० माओवादी विजयी
२६ १४४८ ८८४(१६४७) ७६१(१६४७) माओवादी विजयी
२७ ११२९ १०६८ २२९ एमाले माओवादी तालमेल
२८ ६७९ ७४५ २३९ कांग्रेस विजयी
२९ १००७ १०४९ ५३ एमाले विजयी
जम्मा ३८१२७ ३८,०७९ २०३३२

स्रोत: निर्वाचन आयोग

त्यतिखेर ४३ हजार १२७ मत ल्याएर रेनु दाहाल मेयर निर्वाचित हुँदा एमालेका देवी ज्ञवालीले २०३ कम (४२ हजार ९२४) मत ल्याए । राप्रपाबाट मेयर उठेका र हाल माओवादीमा रहेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए । उपमेयरमा कांग्रेस माओवादी गठबन्धनबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जितिन् ।

एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् भने राप्रपाकी रिना गुरुङको ७ हजार २५२ मत आएको थियो । दाहालसहित भरतपुरका जनप्रतिनिधिले पाँच वर्ष विताएका छन् । यो पाँच वर्षको अवधिमा अबको निर्वाचनलाई प्रभावित पार्ने केही फ्याक्टरहरू पनि देखिएका छन् ।

मतदाताको आकलन र भरतपुर महानगर आफ्नै पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्काे छ । भरतपुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएपछि यही महानगरका आधारमा अरूतिरको गठबन्धन के हुन्छ निक्र्योल हुने स्वयम् नेताहरू बताउँछन् ।

अबको निर्वाचनलाई प्रभाव पार्ने मुख्य फ्याक्टरमा यहाँ बढेको मतदाताको संख्या पनि हो । गएको स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मतदाता संख्या १ लाख ५० हजार २७४ जना थियो । यसपटक मतदाताको संख्या १ लाख ८५ हजार ७५२ पुगेको छ ।

महानगरमा पुरुष मतदाताको संख्या ८८ हजार ८८४ र महिला मतदाताको संख्या ९६ हजार ८६७ छ । थपिएका मतदाताले आसन्न स्थानीय तहको निर्वाचनको नतिजालाई प्रभाव पार्ने देखिन्छ । चितवन आसपासका जिल्लाबाट झरेको ‘मध्यमवर्गीय मत’ थपिएको छ । भरतपुर क्षेत्रमा अन्यत्रका भूभागबाट बसाइँ सरेर आउने जनसंख्या (मतदाता) उल्लेख्य छ ।

महानगरको निर्वाचनमा प्रभाव पार्ने अर्को फ्याक्टर हो, एमालेमा आएको विभाजन र एमालेमै रहेको पूर्व माओवादीको जनमत । एमालेबाट विजयी बनेका भरतपुर महानगरपालिका वडा नं. १०, १२, ७, ९ र २२ का वडाध्यक्ष एकीकृत समाजवादीमा गएका छन् । समाजवादीको गतिविधि महानगरपालिकामा खासै नभए पनि थोरै मतले जितेका एमाले वडाध्यक्षहरूलाई हराउन एकीकृत समाजवादीको मत पर्याप्त हुने विश्लेषण गरिएको छ ।

एमाले नेताहरू भने समाजवादीमा गएको मतभन्दा माओवादीबाट एमालेमा आएको मत धेरै रहेकाले खासै असर नगर्ने तर्क गर्छन् । माओवादी केन्द्रले भने नगर प्रमुख रेनु दाहालले गरेको विकासका कामले जनता प्रभावित भएकाले पहिलाभन्दा राम्रो मत आउने बताएका छन् । समाजवादीसहित मेयर रेनु दाहाललाई पहिलाको भन्दा बढी लोकप्रिय मत आउने उनीहरूको दाबी छ ।

राप्रपाबाट २०७४ को निर्वाचनमा मेयर पदमा उम्मेदवार दिएका बद्री तिमिल्सिना अहिले माओवादीमा छन् । उनले राप्रपाको ठूलो हिस्सा त लगेका छैनन्, तर थेरबहुत मत प्रभावित बनाउन सक्छन् । त्यो पनि माओवादीका लागि प्लस हुने देखिन्छ । कांग्रेसले मेयरमा साथ नदिए पनि एक्लै चुनाव लड्ने माओवादी केन्द्र रेनुको अडानको आधार पनि यही मानिएको छ ।

सांगठनिक रूपमा माओवादी खासै बलियो छैन । गठबन्धनका दल एक्लाएक्लै लड्दा अहिले पनि माओवादीले भरतपुरमा एकल प्यानलसहित जित्ने वडा एकभन्दा बढी देखिंदैन । बरू कांग्रेसले जित्ने वडाको संख्या थप्न सक्ने देखिन्छ ।

कांग्रेस किन मान्दैन माओवादीलाई मेयर छाड्न ?

कांग्रेसका लागि चितवन र त्यसमा पनि भरतपुर महानगरको क्षेत्र मुख्य आधार क्षेत्र मानिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा बाँकेबाट तत्कालीन पार्टी सभापति सुशील कोइरालाले चुनाव जित्ने÷नजित्ने सुनिश्चित नभएकाले कांग्रेसले ‘पार्टी सभापति नै हार्न हुन्न’ भन्ने नीति अनुरूप चितवन निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनाएर जिताएको थियो । सो निर्वाचन क्षेत्रको अधिकांश भूभाग भरतपुर महानगरमा पर्दछ ।

२०७० को निर्वाचनमा रूख चिह्नमा मत दिएका कांग्रेसका मतदाताले २०७४ को स्थानीय चुनावमा मेयरका लागि गोलाकार भित्रको हँसिया हथौडा र प्रतिनिधिसभा निर्वाचनमा हलोमा मत दिए । यसले संगठन गर्न समस्या भएको, कार्यकर्तामा विचलन आएको, सांगठनिक जीवन नै मर्ने अवस्था आएको र महानगरमा नेतृत्व विकास हुन नसकेको कांग्रेस नेता–कार्यकर्ता बताउँछन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसको मत लिएर मेयर जितेको माओवादीले प्रतिनिधिसभामा एमालेसँग गठबन्धन गरेकाले पनि कांग्रेस नेता कार्यकर्ता खुसी छैनन् । कांग्रेसले मत दिएर जिताएको मेयर रेनुले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिनुलाई धोकाको संज्ञा दिएका छन् ।

कांग्रेसले भरतपुर महानगरको दाबी नछोड्नुको अर्को कारण वडा नम्बर १६ को उपनिर्वाचन पनि हो । उक्त वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष चतुरमान गुरुङको निधन भएपछि उपचुनाव हुँदा कांग्रेस उम्मेदवार अंकितराज हमाल विजयी भएका थिए । जबकि त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएकै थिएन ।

‘हामी एक्लै जित्छौं’

देवी ज्ञवाली
पोलिटब्युरो सदस्य, एमाले

चितवनभरिका ९८ वटै वडामा भेला र अन्तर्क्रिया गरिसकेका छौं, टोल कमिटीहरू बनाएका छौं । पहिलेको गाविस अहिले वडा बनेको छ । हिजोका गाविसको प्रतिनिधित्व अहिले वडाले गर्न सक्दैन, त्यसैले टोलमा हामी संगठन निर्माण गर्नुपर्छ भनेर लागेका छौं । टोल विकास संस्थाहरूलाई आधार मानेर टोल कमिटी बनाएका छौं । चितवनमा हामीले झण्डै हजार टोल कमिटी बनाएका छौं ।

यो अभियानका क्रममा संघीय र प्रदेश सरकारका साढे तीन वर्ष र स्थानीय सरकारका साढे चार वर्षका उपलब्धिसहित प्रत्येक मतदाताकहाँ पुग्ने गरी घरदैलो गरेका छौं । यो अभियानले अत्यन्त उत्साह आएको छ । चितवनमा के भन्न सक्छौं भने पूर्व माओवादी पंक्तिको ३० प्रतिशत हाम्रो पंक्तिमा समावेश गरेका छौं ।

जिल्लाकै हिसाबले रामबहादुर थापा बादलजी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । हिजो विभिन्न सचिवालयमा काम गरेका व्यक्तिलाई भित्र्याएका छौं । हाम्रोमा आउने ३० प्रतिशत छन् । हाम्रो पार्टीबाट नेकपा एकीकृत समाजवादीमा ३ प्रतिशत मात्रै मतदाता गएका छन् । हामी २७ प्रतिशत फाइदामा छौं । यो नै हामीले चुनाव जित्ने महत्वपूर्ण आधार हो ।

अघिल्लो निर्वाचनमा चितवनमा करिब ५०० जनप्रतिनिधिमध्ये एमालेबाट ३१९ निर्वाचित भएका थिए । कांग्रेस दोस्रो शक्ति हो । कांग्रेसले १०० भन्दा थोरै बढी जितेको छ । माओवादीले भरतपुर महानगरका तीन वटा वडाअध्यक्षसहित जम्मा ३६ जना जनप्रतिनिधि जितेको छ । अहिले पनि शक्ति, जनप्रभाव र प्रतिनिधिका हिसाबले एमाले पहिलो शक्ति हो । कांग्रेस र माओवादी जोड्दा पनि एमाले पहिलो शक्ति हो । माओवादीले हिजोको ३० प्रतिशत मतदाता लुज गरेको छ, र एमालेले प्राप्त गरेको छ । एमालेले पनि एकीकृत समाजवादीका नाममा ३ प्रतिशत लुज गरेको छ । समग्र हिसाबमा एमाले बलियो छ ।

‘टीका लगाइदिन पनि फुर्सद छैन’
रामचन्द्र अधिकारी
संयोजक, माओवादी केन्द्र चितवन जिल्ला समन्वय समिति

चितवनका ७ वटै पालिका र ९८ वटै वडामा कमिटी गठन, पुनर्गठन र भेला जस्ता आन्तरिक संगठनात्मक काम सकेर राजनीतिक, वैचारिक प्रशिक्षणसहित घरदैलो अभियानमा छौं । घरदैलो अभियानमा हामीले मुख्यतः दुई–तीन कुरा लगेका छौं ।

एक, राजनीतिक हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्य व्यवस्था हो । यसलाई पुनर्संरचना गरेको ‘प्याटेन्ट राइट’ माओवादी केन्द्रसँग मात्रै छ । राजनीतिक सफलतासँगै राजनीतिक रूपमा उठेका एजेन्डालाई संविधानमा संस्थागत गर्ने, संविधानको रक्षा र विकास गर्ने दायित्व पनि माओवादी आन्दोलनलाई भएको हामीले आम जनताका बीचमा बुझाएका छौं ।

किनभने पटक–पटक संसद विघटन गरेर संविधान च्यातचुत पार्ने प्रतिगमनकारी काम केपी ओलीले गर्नुभयो, त्यसविरुद्ध गठबन्धन गरेर संविधानको रक्षा गर्ने दायित्व पनि माओवादी आन्दोलनमै रह्यो ।

दोस्रो कुरा, राजनीतिक रूपमा हामीले उत्पीडितहरूको पक्षमा संविधानमा अधिकार लेख्यौं । त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि माओवादीको हो । जसको नीति, उसकै नेतृत्व हुनुपर्छ ।

तेस्रो कुरा, माओवादीले सत्ता पायो भने विकास र समृद्धिको कस्तो बाटो देखाउँछ भन्ने आम मान्छेको जिज्ञासा थियो । हामीले जतिबेला जित्यौं, त्यतिबेला पूर्ण सरकार चलाउन पाएनौं । हामीले अहिले जहाँ चलाएका छौं, देशैभरि अहिले हेर्दा उत्कृष्ट पाँचमध्ये तीन वटा माओवादीले नेतृत्व गरेका पालिका छन् । त्यसबाट विकास र समृद्धिको काम पनि माओवादीकै नेतृत्वबाट हुने रहेछ भन्ने हामीले सन्देश दिएका छौं ।

चितवनको कुरा गर्दा ७ वटै पालिकामा झण्डा फर्फराउनुपर्छ भनेर अभियान चलाइरहेका छौं । भरतपुरमा एउटा वडाबाट ४००÷५०० बाहिर निस्केर नियमित रूपमा घरदैलो गरिरहेको छ ।

१८, १५, २३, ११ जस्ता वडामा दिनहुँ जस्तो पार्टी प्रवेशको लहर छ । हाम्रो मेयरलाई पार्टी प्रवेशका लागि टीका लगाइदिन पनि फुर्सद छैन् । भरतपुरमा माओवादीप्रति आकर्षण छ । त्यसलाई संगठित शक्तिमा बदल्ने र संगठित संगठनद्वारा चुनाव जित्ने हाम्रो योजना छ ।

‘गठबन्धन गर्ने हो, तर भरतपुर कांग्रेसले पाउनुपर्छ’

राजेश्वर खनाल
सभापति, नेपाली कांग्रेस

विकासले मात्रै चुनाव जित्ने भए सूर्यबहादुर थापाले धनकुटामा चुनाव नै हार्ने थिएनन् । हाम्रा कार्यकर्तालाई एक पटक हँसिया हथौडा दिइयो, एक पटक हलो । अब फेरि रेनुलाई दिने, संघीय चुनावमा प्रचण्डलाई मत हाल्ने ! अनि त्यहाँका मान्छेले के गर्ने ? त्यहाँका मान्छेको मानसिकता के हुन्छ ? आलोपालो गर्नुपर्‍यो ।

बरु पोखरा, विराटनगर वा वीरगञ्ज लिए भयो । गठबन्धन भनेको एकअर्कामा सहयोगको आदानप्रदान हो । आलोपालो हो, अघिल्लो चोटि उहाँहरूले पाउनुभयो, यसचोटि हामी पाउनुपर्छ ।

अर्को कुरा, माओवादीले कांग्रेसलाई मत हाल्दै गर्दा जित्ने सम्भावना बढी हुन्छ, कांग्रेसले माओवादीलाई मत हाल्दै गर्दा जित्ने सम्भावना कम छ । किनकि महानगरमा हामीसँग ७५ प्रशित मत छ । उहाँहरूसँग २५ प्रतिशत मत छ । २५ प्रतिशतले ७५ प्रतिशतमा थप्नु राम्रो कि ७५ ले २५ प्रतिशतमा थप्नु राम्रो ?
यसबारे हाम्रो पार्टी सभापति पनि स्पष्ट हुनुहुन्छ । उहाँलाई भेट्छौं र ‘कन्भिन्स’ गर्छौं । हाम्रो बटमलाइन महानगरको मेयर हाम्रो हुनुपर्छ भन्ने हो । किनकि यो हाम्रा लागि राजनीतिक प्रतिष्ठाको विषय पनि हो ।

भरतपुरले नै गठबन्धनको भविष्य निर्धारण गर्छ भन्ने पनि होइन । नत्र त चुनाव जितिएछ भने त ठीक छ । हारिएछ भने पनि त गठबन्धन टुट्ने होला नि ! त्यसो हो भने धराप गठबन्धन नबनाउँदा हुन्छ, एक्लाएक्लै चुनावमा जाऊँ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?