+
+

कागुनो : अनिकाल टार्ने अन्न !

आशिष देवकोटा आशिष देवकोटा
२०७८ चैत २३ गते १६:१८

निकै पुरानो अन्नबालीमध्ये एक हो, कागुनो । काउनो पनि भनिने यो अन्नलाई गुरुङ भाषामा कावनु भनिन्छ । पूर्वी एसियाली देश विशेषगरी चीनमा यसको प्राचीनकालदेखि खेती गरिंदै आएको छ । यो घाँसे समूहमा पर्ने एक वर्षीय बाली हो भने कोदो प्रजातिहरूमध्ये क्षेत्रफलका हिसाबले बाजरा वा घोगेपछि विश्वमा दोस्रो बढी खेती हुने बाली हो ।

फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकाले अंग्रेजीमा यसलाई फक्सटेल मिलेट भनिन्छ । नेपालमा पनि कागनुको प्राचीनकालदेखि नै खेती हुँदै आएको पाइन्छ । विशेषागरी पश्चिमका मुगु, डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बाजुरा र बझाङ जिल्लामा कागुनोको खेती हुने गरेको छ । रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङ लगायत जिल्लामा पनि यो बाली फाट्टफुट्ट रुपमा लगाउने गरेको पाइन्छ । विशेषगरी कर्णाली क्षेत्रको स्थानीय खाद्य सुरक्षामा यस बालीको महत्वपूर्ण भूमिका रहेको छ ।

कागुनो प्रायः फागुनमा मकैसँगै छरिन्छ । यसलाई धानलाई जस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाने गरिन्छ । यसको मूल्य नेपाली बजारमा प्रतिकिलो ७०० रुपैयाँसम्म पर्ने गरेको छ । कर्णाली प्रदेशमा परापूर्वकालदेखि नै त्यहाँका नागरिकहरू कागुनो खानाको रुपमा खाएर गुजारा चलाउने गर्थें ।

कागुनो छोटो समय (करिब ४ महिना)मा नै तयार हुने बाली भएकोले पूर्खाहरुले यसलाई अनिकाल टार्ने अन्नको रुपमा पनि लिने गरेका थिए । यसले असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन लिने क्षमता राख्ने भएकाले भोकमरीबाट बचाउने अन्न मानिएको हो ।

आशिष देवकोटव

कागुनोलाई मकैको तुलनामा एकतिहाइ पानी भए मात्रै पुग्छ । यसलाई ४-९ वर्षसम्म सुरक्षित रुपमा भण्डारण गरी राख्न सकिन्छ । नेपालमा कागुनोको औसत उत्पादन ८१४ केजी प्रतिहेक्टर छ । यसको उचाइ १०८-२३२ सेमी हुन्छ भने बालाको लम्बाइ १३-३० सेमी र चौडाइ १०-३३ सेमीसम्म हुन्छ ।

कागुनोको भात, खीर, ढिंडो बनाएर खाने चलन छ भने कोदोसँग मिसाएर रक्सी बनाउन पनि प्रयोग गरिन्छ । साथै पशुपन्छीको आहाराको रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । यति महत्व हुँदाहुँदै पनि हाल यसको उत्पादन भने घट्दै गएको पाइन्छ । कागुनो बाली गोड्न र प्रशोधन गर्न गाह्रो हुने भएकाले खेती घट्दै गएको स्थानीय किसान बताउँछन् ।

कागुनोको महत्व

-ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।

-कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ ।

-मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर हुन्छ ।

-सुगर नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ । जसका कारण हृदयघातको जोखिम कम हुन्छ ।

-यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।

-कगुनोमा फेनोल्स, ट्यानिन्स, अल्कालोइड्स, फ्ल्याभोनोइड्स, सयापोनेंस, फाईटेटस नाम गरेका क्यान्सर निरोधक रसायन पाइन्छ ।

-गर्भवती तथा दूध खुवाउँदै गरेकी आमाको लागि राम्रो शक्तिको स्रोतको रुपमा पनि कागुनोलाई लिने गरिन्छ । कोलेस्ट्रोलको मात्रा घटाउन सक्ने क्षमताका कारणले कब्जियत तथा मोटोपना घटाउन मद्दत गर्दछ । यसको अलावा, कगुनोमा प्रोटिन, फलाम तथा खनिज पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ ।

कागुनोको प्रयोग

-कागुनोको भात, खीर, रोटीर, ढिंडो तथा खिचडी बनाएर खान सकिन्छ भने यसलाई पशुपन्छीको आहारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

-यसलाई कोदोसँग मिसाएर रक्सी बनाउन पनि प्रयोग गरिन्छ ।

-यसलाई चाउचाउ, बिस्कुट, कुकिज तथा केक जस्ता आधुनिक परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

-कागुनोको भुसलाई भुसे चुल्होमा, हरियो नललाई घाँसको रुपमा र सुकेको नललाई कम्पोष्ट मल बनाउन प्रयोग गरिन्छ ।

(देवकोटा रामपुर कृषि क्याम्पस चितवनमा बएस्सी एजीको चौथो सेमेस्टरमा अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?