+
+

प्रश्न नगर्ने समाज कुरूप बन्दै जान्छ

नेपालमा अहिले प्रश्न सकिएको समय छ । ठूला ठूला ओहोदामा बस्ने मान्छेहरू सबै कुरा मै हो जान्ने भनेजस्तो गरेर उत्तरबाट कुरा सुरु गर्छन् । नागरिकको जिज्ञासालाई सुन्नुपर्छ । प्रश्न सानो वा ठूलो भन्ने हुँदैन ।

हरि शर्मा हरि शर्मा
२०७८ चैत २६ गते २०:२२

नागरिकहरूको ऐक्यवद्धताले नै लोकतन्त्रमा नागरिकको स्थानलाई फराकिलो पार्दै जान्छ । हामीले लोकतन्त्रलाई समावेशी र सबै अटाउने व्यवस्था बनाउन खोजेका छौं । तर, ऐतिहासिक रूपमा हेर्‍यौं भने लोकतन्त्र साँघुरो व्यवस्था थियो ।

जहाँ हुने खाने, बोल्न सक्ने मानिसहरू असाध्यै कम थिए । साँघुरो परिधिमा रहेका मानिसहरूले विस्तारै त्यसलाई फराकिलो पार्दै गए र लोकतन्त्र आज फराकिलो भएको छ । तर, आवश्यक जति फराकिलो भइसकेको छैन, फराकिलो हुने क्रममा छ ।

ग्रीक नगरका दार्शनिकहरू जब सेतो लुगा लगाएर सम्पत्ति के हो ? समाज के हो ? भन्ने छलफल गरिरहन्थे, घेरामा बस्ने मान्छेहरूले सिक्ने प्रयास गर्थे, प्रश्न गर्ने प्रयास गर्थे ।
हाम्रो लोकतन्त्र पनि साँघुरो थियो, प्रश्न र जिज्ञासाले फराकिलो बनाउँदै बनाउँदै हामी बीचमा ल्याएको छ । केही समय अगाडि लिटरेचर फेस्टिभलको कुरा आयो ।

त्यहाँ पोलिटिकल कुरा गर्छन्, उनीहरूले समावेशिता र संघीयताको कुरा गर्छन् । विभिन्न विषय र विचारको, शक्ति सन्तुलनको कुरा गर्छन् । यो पनि कहिँ लिटरेचर हो र भन्नेहरू पनि थिए ।

समाजलाई अगाडि बढाउनका निम्ति विभिन्न खाले संवादहरू चाहिन्छ । संवादविना समाज गुम्सिएको हुन्छ । संवाद विना समाजले बाटो खोज्ने प्रक्रिया अवरुद्ध हुन्छ । यो किसिमको दृष्टिकोण उच्च भइदियो भने हामीले एकअर्कालाई सुन्ने सुनाउने ठाउँ बन्छ । यसले बाहिर बसेर सुनिरहेकाहरूलाई पनि भित्र आउन मद्दत गर्दछ ।

लोकतन्त्रको घेरालाई फराकिलो बनाउने सबैभन्दा ठूलो आधार भनेको संवाद हो । हामीले संवाद भनेको तलको मान्छेले माथिलाई सुनिदिने, माथिको मान्छेले तल आदेश गर्ने भन्ने बुझ्यौं, तर यस्तो होइन । लोकतन्त्र भनेको समान भएर विचार विनिमय र संंवाद हुनु हो । त्यसका लागि लिटरेचर फेस्टिभल पनि एउटा प्लेटफर्म हो ।

लिटरेचर फेस्टिभल केही वर्षदेखि पोखरामा भइरहेको छ । पोखराको आफ्नै सौन्दर्य छ । यो एउटा सांस्कृतिक र वौद्धिक नगरी किन हुन नसक्ने ? लोकतन्त्र आइकन पनि झन् बढी केन्द्रिकृत भएको छ । जब हामीमाथि एक किसिमको तानाशाही व्यवस्थाको तुवाँलो छाइरहेको थियो, त्यसका विरुद्ध स्थानीयस्तरमा मानिसहरूले कला, साहित्य, संगीतको आफ्नै किसिमले तयारी गरिरहेका थिए ।

ठाउँ ठाउँमा मोफसल बलियो थियो । पोखराबाट दुर्गा बराल वात्स्यायनले ०३३÷३४ सालबाट गर्ने सिर्जना हेरेर हामी रोमाञ्चित हुन्थ्यौं । सिर्जनाको कुनै केन्द्र हुँदैन । जहाँ सर्जक बस्छ, त्यो ठाउँ नै सिर्जनाको केन्द्र हुन्छ । हिजो पोखरेली कविहरूले सिर्जना गर्दा, अलि मियाँहरूले गीत गाउँदा राष्ट्रिय भन्ने कल्पना धेरै पर थियो । सबै ठाउँ राष्ट्र हो भन्ने सन्देश यस्ता कार्यक्रमहरूले दिन्छन् ।

म पनि त्यही आन्दोलनको उपज हुँ, तर २०४६ सालपछि खास गरी सार्वजनिक वृत्तमा केन्द्रीयता बढेर गयो । विराटनगरमा एलिट क्लब थियो । पोखरामा युवाहरू कथा, कविताका कार्यक्रम गर्थे ।

धरान धनकुटादेखि नेपालगञ्जसम्म, पूर्व पश्चिमका कविहरूको आफ्नै किसिमको प्रतिरोधात्मक कला सिर्जना हुन्थ्यो । तर, कता कता ग्लोबलाइजेसनले हो या मार्केटका कारणले पनि हो, काठमाडौं नै ठूलो हो, काठमाडौं होइन भने दिल्ली पुग्नुपर्छ, दिल्ली होइन भने बैंकक पुग्नुपर्छ भन्यौं । हामीले स्थानीयता गुमाउँदै गएको देखेका छौं ।

पोखराको एउटा विशेषता के हो भने गण्डकी प्रदेश भन्दाभन्दै पनि गण्डकी सभ्यता हो । कालीगण्डकी घाट, कालीगंगा, गुल्मी मेरो घर हो । तर, म गण्डकी सभ्यताको मानिस हुँ । यहाँको संस्कृति, साहित्य, इतिहास र यहाँका बासिन्दाबीचको एउटा राष्ट्रिय स्वरूप किन कल्पना गर्न नसक्ने ?

यस्ता फेस्टिभलले प्रतिरोधको कुरा गर्न पनि दिन्छ । प्रतिरोध किन भनिरहेको छु भने ठूला–बडा मार्केटले जहिले पनि हामीलाई धकेलिरहेको हुन्छ । त्यो ठाउँमा स्थानीयता हुनु भनेको संकीर्णतावाद होइन । स्थानीयताको आफ्नै महत्व छ । त्यसको ऊर्जा भिन्दै किसिमको हुन्छ ।

हामीले विश्वलाई आफ्नो ठाउँमा बसेर पनि हेर्न सक्छौं । त्यस्तो भाव जगाउने सन्दर्भ नागरिक जमघटहरू हो । जुन लोकतन्त्रमा प्रतिरोध र विरोधी हुँदैन, जुन लोकतन्त्रमा समावेशी आवाज हुँदैन, त्यसको कुनै अर्थ हुँदैन । फेस्टिभल लगायत बहस गर्ने थलोहरूको काम बहुलतालाई प्रश्रय दिनु हो । नेपालमा विविधता छ, विविधतालाई बुझ्न सक्ने राजनीतिक दर्शन भनेको बहुलता हो ।

पोखरा आएर विजयपुरबाट हेर्दा माछापुच्छ्रे एक खाले देखिन्छ, सराङकोट गयौं भने माछापुच्छ्रेको स्वरूप अर्कै देखिन्छ । माछापुच्छ्रे जहाँको तहीँ छ, नाउडाँडा गयौं भने माछापुच्छ्रे अर्कै देखिन्छ । जहाँ बसेर हामीले अवलोकन गर्छौं, स्थितिको अनुकुलन गर्छौं, त्यो महत्वपूर्ण छ । त्यसकारण स्थानीयतामा विविधता हुन्छ ।

हामीले विभिन्न ठाउँबाट वैज्ञानिक ‘अब्जरभेसन’ जेसुकै गरौं, तर हेर्ने दृष्टिकोणले एउटा संसारको निर्माण गर्छ, त्यो बहुल छ, सुन्दर छ । त्यो ब्लाक एण्ड ह्वाइट छैन । समाज रंगीन छ भन्ने बनाउनका निम्ति, हाम्रो आफ्नै भाव छ भन्न पनि यस्ता किसिमका सार्वजनिक विचार विमर्श गर्ने फेस्टिभलहरूले भूमिका खेल्छ । विविधता र बहुलता नै लोकतन्त्रको सुन्दर पक्ष हो । सार्वजनिक वृत्तमा हुने विमर्शले समाज बलियो हुन्छ ।

केही समयअघि मैले भनेको थिएँ कि नेपालमा अहिले प्रश्न सकिएको समय छ । ठूला ठूला ओहोदामा बस्ने मान्छेहरू देख्नुभयो भने अगाडि आएर प्रश्न होइन, उत्तरबाट कुरा सुरु गर्छन् । सबै कुरा म नै हो जान्ने भनेजस्तो गरेर कुरा गर्छन् । नागरिकको जिज्ञासालाई सुन्नुपर्छ । कसैले नसुने पनि प्रश्न गर्नुपर्छ । प्रश्न कुनै सानो ठूलो हुँदैन ।

जुन समाजले प्रश्न गर्न छोड्छ, जुन समाजले बहुलतालाई स्वीकार गर्न छोड्छ, त्यो समाज विस्तारै कुरूप हुँदै जान्छ । कता कता हाम्रो लोकतन्त्रमा विविधताको कमी देखिरहेको छु । कुरूप लोकतन्त्रको आगमन हुँदैछ कि भन्ने आभास हुन्छ । तर, हामीहरू बीचमा विचार छ, विविधता छ, हामीले संसारलाई विभिन्न दृष्टिकोणबाट हेर्न सक्छौं, यसले त्यो कुरूप लोकतन्त्रलाई बचाउन सक्छौं भन्ने लाग्छ ।

यसकारण सार्वजनिक वृत्त फराकिलो हुनुपर्छ । सार्वजनिक वृत्तमा विरोधाभास हुन सक्छ, एकअर्कासँग विमति हुन सक्छ । तर, स्वीकार गर्ने हुनसक्छ । तब न नागरिक हुन्छौं । नागरिकको भाव के हो भने मभन्दा फरक छ भने पनि उसलाई स्वीकार गर्छु भन्न सक्नु हो ।

निर्वाचन आइराखेको छ । हारजित आफ्नो ठाउँमा छ । तर, एकअर्कालाई स्वीकार गर्न सकेनौं भने हामीले कल्पना गरेको परिवर्तन आउँदैन । जुनसुकै हालतमा पनि चुनाव जित्नुपर्छ भन्ने मनस्थितिले लोकतन्त्रलाई अझै कुरूप बनाउँदै छ ।

हारजित भन्ने लोकतन्त्रको मर्म हो भन्ने मर्मलाई कुरूप बनाउँदै छ । त्यस सन्दर्भमा पनि नागरिकको सजगता ऐक्यवद्धता, एकअर्कालाई बुझ्न सक्ने भावको विस्तार गर्नुपर्ने जरुरी छ ।

केही समयदेखि मैले लिटरेचर फेस्टिभलहरू, विचार विनिमयका सन्दर्भहरू हेरिरहेको छु । यो सुन्दर पाटो छ । चित्त नबुझ्ने कुरा पनि सुनिरहेका छौं, मन नलाग्ने कुरा पनि हेरिरहेका छौं, तर चित्त बुझेन भने फलानाले बोलेको ठीक भएन भनेर विचार विनियम गरिरहेका छौं ।

हामीबीच जिज्ञासा उठिरहेको छ । जो मान्छे यहाँ आएर बोल्न सक्दैन, जो मान्छे परबाट सुनिरहेको छ, उसले पनि फलानाले त बोलेको ठीक भएन भनिरहेको होला, उसको ठाउँमा म भएको भए यस्तो बोल्थें भनिरहेको होला । होइन यो प्रश्नको उत्तर त मैले पाइनँ भनिरहेको होला । त्यसले समाजलाई चलायमान बनाइरहेको छ ।

पोखरा पर्यटन नगरी हो । यहाँ प्राकृतिक धरोहर छ, छटा मनोरम छ । यत्रा विदेशी पाहुना आउँछन् । काठमाडौंमा नभेटिएको पुस्तकहरू कहिलेकार्हीँ पोखराका पसलमा सेकेण्डह्याण्ड भए पनि भेट्टाउँछु ।

यहाँ त्यो सुन्दरता छ । तर, विचारको रूपमा समृद्ध हुन सक्ने कि नसक्ने ? केही समय अगाडि पोखरामा विचारको समृद्धता थियो । राजनीतिक चेतना र साहित्यको स्तरमा पोखराको आफ्नो पहिचान थियो । पोखरालाई विचार र साहित्यको केन्द्र बनाउन पनि यस्ता फेस्टिभलले सहयोग गर्छ ।

फेस्टिभललाई कसै कसैले जात्रा पनि भन्छन् । यो जात्रा हो र सहर नै सोच्ने हो भने लिटरेचर फेस्टिभल भइरहेको ठाउँमा पेन्टिङको पेस्टिभल किन नहुने ? कवि गोष्ठी किन नहुने ? फुड फेस्टिभल किन नहुने ?

सांस्कृतिक समृद्धता भनेको बहुआयामिक हुन्छ । यस्ता जमघटहरूले समाजमा विविधताको बीचमा पनि ऐक्यवद्धता सिर्जना हुन सक्छ । तर, विरोधी र आफूलाई चित्त नबुझेको विचारलाई पनि स्वीकार गर्न सक्नुपर्‍यो ।

आजभोलि दोहोरी गीत भन्यो भने पूर्व मेचीदेखि पश्चिमसम्म सुनिन्छ । त्यो गण्डकीको भाका हो, त्यो धौलागिरिको भाका हो । अर्को थकाली खाना भन्छ । व्यापार गर्न पाउनुहुन्छ र पसल खोल्नुभएको छ जनकपुरको शाहजीले । अनि बेचिरहनुभएको छ थकाली खाना । थकाली खाना आज ब्राण्ड भएको छ ।

थकालीको खाना भनेको खाली पोखरातिरको, गण्डकीको मात्र खाना हो भन्नु भयो भने त साँघुरिएर जान्छ । विशाल छाती बनाएर यो हाम्रो ब्राण्ड हो, यो मेरो ठाउँ हो भन्न लागि पनि सार्वजनिक वृत्त चाहिन्छ ।

जब सार्वजनिक वृत्त बढ्छ, बाहिर परेका मान्छे भित्र आउँछन्, लोकतन्त्र फराकिलो हुँदै जान्छ । एउटा कुरा के हो भने नेपाली समाजमा जीवन्त प्रश्नहरूलाई मर्न दिनु भएन । प्रश्न गर्ने, उत्तर दिने, सामूहिक रूपमा छलफल, चर्चा, परिचर्चा गर्ने गर्दा हाम्रो लोकतन्त्रको वृत्त पनि ठूलो हुँदै जान्छ ।

लोकतन्त्र यस्तो व्यवस्था हो, जसले सबैलाई समेट्छ भन्ने लाग्छ । तर, यसका सुरुआती दिनहरूमा महिला, दलितहरू बाहिर परेका हुन् । त्यो वृत्त फराकिलो हुँदै गएकाले आज सहभागिता बढिरहेको छ । त्यो आन्दोलन, त्यो यात्रा अझै सकिएको छैन ।

पोखरामा शुक्रबार साँझ भएको नेपाल लिटरेचर फेस्टिभलको ‘कर्टेन रेजर’ मा राजनीतिशास्त्री शर्माले राखेको ‘लोकतन्त्रमा किन आवश्यक छ सार्वजनिक वृत’ भन्ने सन्दर्भ राखेको प्रवचनको सम्पादित अंश ।

प्रस्तुति : अमृत सुवेदी

लेखकको बारेमा
हरि शर्मा

लेखक राजनीतिशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?