+
+
स्थलगत १२ : स्थानीय निर्वाचन २०७९ :

धरानमा धर्मराएको वाम बिरासत

सइन्द्र राई, लिलु डुम्रे र हरि अधिकारी सइन्द्र राई, लिलु डुम्रे र हरि अधिकारी
२०७८ चैत २७ गते २०:५५

२७ चैत, धरान । स्थानीय चुनावको तयारी कार्यक्रमको दौरानमा नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले थाहा पाए, धरानमा ‘गुगलचोक’ पनि छ । ‘अस्ति पार्टीको कार्यक्रममा बोल्न (भाषण गर्न) जाँदा पो थाहा पाए त !’, उनी भन्छन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट बेघा धरान उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार थिए ।

युवा पुस्ता हाबी हुँदा उनीहरुकै रोजाइमा धरान–११ स्थित चोकको नाम गुगलचोक राखिएको हो । ‘नयाँ केही दिनुपर्‍यो भनेर वडा कार्यालयमा गुगलचोक दर्ता गर्‍यौं । अहिले सबैले भन्न थालिसके’, स्थानीय युवा अनुप वान्तवा (२८) भन्छन् ।

धरानमा गुगलचोकसँगै ‘संविधान चोक’ र ‘लकडाउन चोक’ पनि थपिएको छ । आधुनिक सूचना प्रविधिसँग सम्बन्धित ‘गुगल’, राजनीतिक परिवर्तनको संकेत दिन ‘संविधान’ र विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाबाट बच्न संसारभर अपनाइएको प्रणाली ‘लकडाउन’लाई धरानले चोकको नाममा समेटेको छ ।

‘आफूलाई आधुनिक देखाउन धरानले नयाँ प्रयोग गरिरहन्छ, यो शहरको विकास नै त्यसरी भएको छ’, नेकपा एमालेका स्थानीय नेता भीम ज्वाला भन्छन्, ‘नयाँ चोक थपिएको धरानमा यतिबेला नयाँ जनादेशको बहस ताजा विषय हो ।’

उनकाअनुसार, थपिएको २१ हजार युवा मतदाताले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा ठूलो प्रभाव पार्नेछन् । त्यसैले थपिएका मतदाता रिझाउनु दलहरुको प्राथामिकता परेको छ । राजनीतिक समीकरण चाहिँ केन्द्रकै जस्तो छ, सत्ता गठबन्धन भर्सेस एमाले । कतिपय भने स्वतन्त्र उम्मेदवारीको तयारीमा छन् ।

रत्नचोक राज !

१०० वर्षे आधुनिक इतिहासमा धरानले बदलिएको हरेक व्यवस्थाको चिनारी सुरक्षित राखेको छ ।

जस्तो– चन्द्र शमशेरले खोरिया फाँडेर राखेको बस्तीलाई उनकै नामबाट ‘चन्द्रपुर बस्ती’ । पञ्चायतको चिनारी ‘दीपेन्द्र बस्ती’ र ‘निराजन बस्ती’ (राजा वीरेन्द्रका छोराहरु) । किराँत र सेन शासन सम्झाउन ‘विजयपुर’, अनि सामाजिक–राजनीतिक परिवर्तनको झल्को दिने ‘किरातेश्वर’, ‘भानुचोक’ आदि ।

धरानको केन्द्र भाग भानुचोकदेखि दुई किलोमिटर पश्चिममा रहेको रत्नचोकको इतिहास भने अरुभन्दा पृथक छ । किनकि रत्नचोक बितेको ७० वर्षसम्म धरानमा हाबी भएको राजनीतिक बिरासतको प्रतीक समेत हो । ‘धरानलाई कम्युनिष्ट किल्ला बनाउन जग बसाल्ने नेता रत्नबहादुर श्रेष्ठको सम्मानमा रत्नचोक बनेको हो’, प्रा.डा. टंक न्यौपाने भन्छन् ।

कम्युनिष्ट आन्दोलनको प्रतीक बनेको धरानले कहिल्यै पनि गैरकम्युनिष्टलाई अनुमोदन गरेको छैन । अब पनि त्यो विरासत कायमै रहनेछ – जयकुमार राई, एमाले सांसद

उनका अनुसार, लाहुरेको शहर धरानलाई कम्युनिष्ट किल्ला बनाउने काम रत्नबहादुर श्रेष्ठकै नेतृत्वमा भयो । ‘दिल्ली सम्झौता (सन् १९५० को मैत्री सन्धि) को विरोधमा रत्नबहादुर श्रेष्ठ र पृथ्वीमान मोते नेतृत्वको टोलीले राजा त्रिभुवनलाई कालो झण्डा देखाए । त्यो विद्रोहले धरानलाई कम्युनिष्ट बनायो’, प्रा.डा. न्यौपाने सम्झन्छन् ।

राणाशासन अन्त्यका क्रममा भएको दिल्ली सम्झौता तत्कालीन सोभियत युनियनलाई मन परेको थिएन । सोभियत युनियनको अरुचिमा भएको सन्धिविरुद्ध नेपालका कम्युनिष्टले विरोध जनाए । धरानलाई भने त्यही घटनाले कम्युनिष्ट बनायो । ‘लाहुरबाट फर्कनेहरु कम्युनिष्ट भए, भूपू लाहुरे कम्युनिष्टहरुले धरान बनाए’, माओवादी नेता बेघा भन्छन् । धरानलाई सामाजिक, सांस्कृतिक र भौतिक संरचनामा नयाँ बनाउन पूर्व लाहुरेहरुको ठूलो योगदान छ । कतिसम्म भने यहाँको पूर्वाधार विकासमा राज्यले २० प्रतिशत लगानी गर्दा भूपू लाहुरेहरुको ८० प्रतिशत भयो । ६०/४० अनुपात त नगरपालिकाले नीति नै बनाएको थियो । ‘लाहुरेहरुले घर मात्रै बनाएनन्, घरसम्म पुग्ने सडक पनि आफैं बनाए । सुन्दर शहर उनीहरुको सपना बन्यो’, प्रा.डा. न्यौपाने भन्छन् ।

विशेषत २०१९ सालपछि भूपू लाहुरेहरु कम्युनिष्ट बनेपछि धरानमा ‘एन्टी कांग्रेस’ संस्कृति विकास भयो । ‘ब्रिटिसको पक्षबाट राष्ट्रिय स्वाधिनता आन्दोलन दबाउन लडेका लाहुरेहरु धरान फर्किएपछि कम्युनिष्ट बने’, माओवादी नेता बेघा भन्छन् । त्यसमाथि पूर्वी पहाडी क्षेत्रबाट झरेका कम्युनिष्ट, झापा विद्रोही र पुष्पलालसँग संगत गरेकाहरु बसेकाले एकपटक कम्युनिष्ट बनेको धरानलाई किल्लाकै रुपमा बिस्तार भयो ।

कर्ण श्रेष्ठ, दानबहादुर शाक्य, बम देवानहरुले कम्युनिष्ट फैलावत बिस्तार गरे भने जेबी टुहुरेहरुले क्रान्तिकारी साहित्य सिर्जना यहीबाट गरे । महेन्द्र क्याम्पसका विद्यार्थीहरुको गतिविधिले कम्युनिष्ट मत बढाउन थप मलजल गर्‍यो । ‘जुनसुकै व्यवस्था फेरिए पनि यहाँ कम्युनिष्टको साथ नलिइ नहुने भयो । पञ्चायतमै पनि कम्युनिष्टको समर्थन पाएकाले चुनाव जित्थे’, प्रा.डा. न्यौपाने भन्छन् ।

जन्मदै नगर रहेको धरानलाई केदारनाथ खनाल, सूर्यप्रसाद उपाध्याय (मनोनित), इन्द्रप्रसाद श्रेष्ठ, गोविन्द मोक्तान, बम देवान, ध्यानबहादुर राई, मनोज म्याङ्बो र तारा सुब्बापछि तिलक राईले नेतृत्व गरिरहेका छन् । तिलक भन्दा अघिका मेयरहरु कम्युनिष्ट वा कम्युनिष्टले समर्थन गरेका नेताहरु हुन् ।

२०४६ सालमा पञ्चायत अन्त्यपछि भएका सबै संसदीय निर्वाचनमा कम्युनिष्ट उम्मेद्वारले जितेका छन् । २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ, २०५६ मा कुन्ता शर्मा, २०६४ मा किरण राई, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राईले चुनाव जिते । लिला श्रेष्ठ पहिलो महिला उपसभामुख बनिन् भने मनमोहन पहिलो कम्युनिष्ट प्रधानमन्त्री । कुन्ता शर्माको राजनीतिक र साहित्यिक व्यक्तित्व अग्लो छ । ‘कम्युनिष्ट आन्दोलनको प्रतीक बनेको धरानले कहिल्यै पनि गैरकम्युनिष्टलाई अनुमोदन गरेको छैन’ सांसद जयकुमार राई भन्छन्, ‘अब पनि त्यो विरासत कायमै रहनेछ ।’ उनको दाबीजस्तो धरानमा कम्युनिष्ट विरासत जोगाइराख्न यसपटक भने सहज देखिएको छैन ।

अबको निर्वाचन संविधान र व्यवस्था जोगाउने र नजोगाउनेबीच हुँदैछ । यो चुनावलाई कम्युनिष्ट र गैरकम्युनिष्टका रुपमा बुझ्न हुन्न – जीवन राई, एकीकृत समाजवादीका नेता

२०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमै धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राईले कम्युनिष्ट किल्ला तोडिसकेका छन् । अहिले स्थानीय तह निर्वाचनमा पनि केन्द्रमा जस्तै सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । धरानको नेतृत्व लिन एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनको तयारी छ । ‘अबको निर्वाचन संविधान र व्यवस्था जोगाउने र नजोगाउनेबीच हुँदैछ’, नेकपा एकीकृत समाजवादीका नेता जीवन राई भन्छन्, ‘यो चुनावलाई कम्युनिष्ट र गैरकम्युनिष्टका रुपमा बुझ्न हुन्न ।’

धर्मराएको विरासत

स्थानीय नेताहरुका अनुसार, एमाले हराउन धरानमा कांग्रेसले ६० प्रतिशत र गठबन्धनका बाँकी दलहरुले ४० प्रतिशतको अनुपातमा भागबण्डा गरेर साझा उम्मेदवारी दिंइदैछ । मेयर र उपमेयरका उम्मेदवारले आफ्नै चुनाव चिह्न लिएपनि वडामा भने साझा चुनाव चिह्न लिने विषयबारे समेत छलफल भएको छ । अर्थात् जसरी एमाले रोक्नु नै गठबन्धनको एक सूत्रीय एजेण्डा हो ।

यदि गठबन्धनमा मेयर पद माओवादी केन्द्रको भागमा परे धरानमा फेरि पनि दुई कम्युनिष्ट उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । कम्युनिष्ट किल्ला कायमै रहने सम्भावना हुन्छ । तर कांग्रेस नेताहरु माओवादीलाई मेयर छोड्न तयार देखिँदैनन् । ‘कांग्रेसले वाम किल्ला तोडेको छ । गठबन्धनको बैठकमा हामीले मेयरसहित १५ वडामा दाबी गरेका छौं’, कांग्रेसका नगर सभापति श्याम पोखरेल भन्छन् । २०७४ को निर्वाचनमा कांग्रेसले धरानको २० मध्ये ५ वटा वडा जितेको थियो भने माओवादी केन्द्रले एउटा वडा जितेको थियो ।

१ साउन २०७५ मा एमालेबाट मेयर जितेका तारा सुब्बाको निधन भएपछि सम्पन्न उपनिर्वाचनमा कांग्रेसका तिलक राईले जिते । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा उम्मेदवार बनेका प्रकाश राईलाई तिलकले २,७९५ मतान्तरले पराजित गरेका थिए । २६ हजार ७०९ मत ल्याएर तिलकले कम्युनिष्ट किल्ला पहिलोपटक तोडेका थिए । यो चानचुने सफलता थिएन ।

किनभने २०७४ को निर्वाचनमा एमालेका सुब्बाले २० हजार ९७५ ल्याएर जित्दा उनलेले १६ हजार १०२ मत मात्रै ल्याएका थिए । त्यो चुनावमा माओवादी केन्द्र उम्मेद्वार अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

त्यसबेला महेश आचार्यको नेतृत्वमा मीन विश्वकर्मा, विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेताहरु परिचालित भएका थिए भने स्थानीय स्तरमा पनि असाधारण एकता देखिएको थियो । यो पटक पनि मेयर पदलाई प्रतिष्ठाकै विषय बनाएको छ । उपनिर्वाचनमा नतिजा उल्ट्याउन पार्टी नेतृत्वकै मिहिनेत परेकाले पनि कांग्रेस मत जोगाउनुपर्ने स्थानीय नेताहरुको तर्क छ । आन्तरिक रुपमा जसले टिकट पाएपनि मेयरमा कांग्रेसको दावी कायम रहने नगरसभापति पोखरेल बताउँछन् ।

कांग्रेसमा धरानको नेतृत्व लिन अहिलेका मेयर तिलक राई, कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, धरान कांग्रेसका पूर्वउपसभापति किशोर राई लगायत आकांक्षी छन् ।

सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु भने धरानको मेयरबारे निर्णय केन्द्रले टुंग्याउनुपर्ने अडानमा छन् । २०७४ को निर्वाचनमा नौ दलीय गठबन्धन गरेको माओवादी केन्द्रका नेताहरु अइन्द्रविक्रम बेघा, किरण राई लगायत मेयर पदका आकांक्षी छन् । तर गठबन्धन गरेर चुनावमा जान भने सत्तारुढ दलहरु एकमत देखिएका छन् ।

गठबन्धनको साझा उम्मेद्वार बन्दा एमालेलाई सजिलो देखिन्न । किनभने एमाले विभाजनको चोटमा छँदैछ, पार्टीभित्र आकांक्षी व्यवस्थापन सजिलो देखिन्न । तर एमालेका नेताहरु भने आकांक्षी व्यवस्थापनकै कारण समस्या नहुने बताउँछन् । ‘आकांक्षा ज–जसले राखेपनि उम्मेद्वारी दर्तासँगै पार्टी पंक्ति एकजुट हुन्छौं । चुनाव हामी जित्छौं’, धरानका उपमेयर एवम् एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी भन्छिन् । उनीसहित मोतीराज सुनुवार, रमेश बस्नेत, प्रदीप भण्डारी, प्रकाश राई, पदम इस्बो, नारायण सुवेदी, मीन सुब्बा लगायत आकांक्षी हुन् ।

अझ धरानमा १० बुँदे पक्षधरको प्रभाव बलियो छ । २०७४ मा जितेको १४ मध्ये सात वडाध्यक्ष १० बुँदे पक्षधर हुन् । यो पक्षबाट रमेश बस्नेत, प्रदीप भण्डारी, प्रकाश राई, पदम इस्बो र नारायण सुवेदी मेयर पदकै दाबेदार छन् । यो पक्षले टिकट नपाउँदा त्यसको प्रभाव चुनावमा पर्न सक्ने देखिन्छ । यद्यपि प्रतिनिधिसभा सदस्य जयकुमार राईलाई साझा उम्मेद्वारका रुपमा अगाडि सार्नेबारे समेत छलफल भइरहेको नेताहरु बताउँछन् ।

उपनिर्वाचनमा माओवादी केन्द्रले अन्तर्घात गरेका कारण हार्नुपरेको बताउने धरानका एमाले नेताहरु एमाले एक्लै जित्ने दावी गर्छन् । संघ, प्रदेश र स्थानीय तह सवै चुनावमा एमाले पृष्ठभूमिका नेताहरु उम्मेदवार बनेपछि माओवादी केन्द्रका कार्यकर्ताले अन्तर्घात गर्दा कांग्रेस बलियो जस्तो देखिएको उनीहरुको बुझाइ छ । ‘एमाले नेतृत्वमा हुँदा धरानमा जति काम गरेका छौं, त्यसको मूल्याङ्कनका आधारमा पनि हामी जित्छौं’, उपमेयर भण्डारी भन्छिन् ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट (सुनसरी–१) जयकुमार राई प्रतिनिधिसभामा र प्रदेशसभामा (क) बाट प्रदीप भण्डारी र (ख) बाट भीम आचार्य उम्मेदवार बनेर जिते । उनीहरु सबै एमाले हुन् । स्थानीय तहको उपनिर्वाचनमा पनि मेयर र वडाध्यक्षमा एमाले पृष्ठभूमिका मात्रै उम्मेद्वार थिए । मेयरमा प्रकाश राई र धरान–७ का वडाध्यक्षमा जीवन सुवेदी उम्मेदवार भए । एमाले नेताहरुको अर्को तर्क छ– स्थानीय चुनावमा गठबन्धनले काम नगर्दोरहेछ ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्र नेतृत्वको ९ दलीय गठबन्धन र उपनिर्वाचनमा नेकपा उम्मेदवारले जित्न नसक्नुले त्यो पुष्टि भएको उनीहरुको तर्क छ ।

तर ऐतिहासिक तथ्य, गठबन्धनको निर्माण र एमाले नेताहरुको तर्कको परीक्षण भने थपिएकासहित एक लाख मतदाताले आगामी ३० वैशाखमा फैसला गर्नेछन् । त्यसमा विभिन्न पहाडी जिल्लाबाट धरानमा शरण लिन आइपुगेका झण्डै १५ हजार सुकुम्बासी मत निर्णायक हुनेछन्– रत्नचोंकको विरासत कायमै रहनेछ वा नयाँ–नयाँ चोंकको इतिहास अगाडि बढ्नेछ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३- नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश : मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति : जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?