+
+

धनगढीमा गठबन्धनलाई एमालेको भन्दा स्वतन्त्रको डर !

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख २ गते १३:०७

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीमा सत्तारुढ गठबन्धनले अझै भागबण्डा टुंगो लगाउन सकेका छैनन् । गठबन्धनले महानगरपालिकामा जस्तै उपमहानगरपालिकामा पनि केन्द्रबाटै सहमति गर्ने भनेको छ । तर केन्द्रले अहिलेसम्म सहमति जुटाएको छैन ।

स्थानीय नेतृत्वले भने आ आफ्नो दाबी राखेका छन् । नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले पनि उपमेयरमा दाबी नछाड्ने बताएको छ भने नेकपा एकीकृत समाजवादीले सबै पदमा उम्मेद्‍वार सिफारिस गर्ने, तर बाँडफाँटमा लचक हुने नीति लिएको छ ।

कांग्रेस र माओवादीका आफ्नै दाबी

२०७४ सालको स्थानीय तहको चुनावमा १२ वडासहित धनगढीको मेयर र उपमेयर जितेको कांग्रेसले पाँच दलीय गठबन्धनमा मेयर र उपमेयर दुवैमा दाबी प्रस्तुत गरेको छ ।

कांग्रेस, कैलालीका सचिव नृपबहादुर सुनार गठबन्धनको केन्द्रीय नेतृत्वमा भएको सहमतिको आधारमा धनगढीमा मेयर र उपमेयर पाउने पक्का भएको बताउँछन् । सुनारले भने, ‘जिल्लास्तरीय बैठकमा पनि हामीले त्यही कुरा राखेका छौं ।’ २०७४ को चुनावमा मेयरमा विजयी नृपबहादुर वडले १४ हजार ३२४ मत र उपमेयरमा विजयी सुशीला मिश्र भट्टले १७ हजार ४०८ मत प्राप्त गरेकी थिइन् ।

माओवादी केन्द्रका कांग्रेसलाई मेयर छोड्न तयार छ, तर उपमेयर आफूले पाउनुपर्ने माग गरेका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा दोश्रो भएको आधारमा माओवादीले उपमेयरमा दाबी गरेको धनगढी नगर कमिटीका अध्यक्ष निर्मल शाह बताउँछन् । ‘धनगढीमा हामीले अघिल्लो निर्वाचनमा पाँच वटा वडा जितेका छौँ भने दलगत रुपमा हेर्दा मेयरमा हाम्रो पार्टी दोस्रो स्थानमा थियो,’ शाहले अनलाइनखबरसँग भने, ‘यहाँ हाम्रा मात्रै १० हजार मतदाता छन् भन्ने हाम्रो विश्लेषण छ सोहीअनुसार गठबन्धनका कुरा भइरहेको छ ।’

त्यतिबेला मेयरमा तेश्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २०९ मत ल्याएका थिए । राना अहिले कांग्रेसमा छन् । त्यति बेला माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका पाँच वटा वडा (३, ६, ११, १५ र १८) जितेको थियो ।

एकीकृत समाजवादीले सवै पदमा उम्मेदवार सिफारिस गर्ने

सत्तारुढ अर्को घटक एकीकृत समाजवादीले भने सबै पदमा उम्मेदवार सिफारिस गर्ने जनाएको छ । तर उसले सहमतिमा आफूहरुले पाएका पदमा मात्र उम्मेद्‍वारी दर्ता गर्ने भनेको छ ।

‘हामी पार्टीको नगर कमिटी बैठकबाट मेयर, उपमेयरसँगै वडाध्यक्षको माथिल्लो कमिटीमा सिफारिस गर्छौँ भने वडा सदस्य पनि टुङ्ग्याछौँ,’ एकीकृत समाजवादीका नगर अध्यक्ष मदन रेग्मीले अनलाइनखबरसँग भने, ‘पछि गठबन्धनमा हुने सहमतिका आधारमा हाम्रो भागमा परेका ठाउँका उम्मेदवारले मात्र मनोनयन दर्ता गराउँछौँ ।’

मेयर र उपमेयरका लागि पार्टीमा आकांक्षी भएपनि गठबन्धनभित्र हुने सहमतिलाई मानेर जाने रेग्मीको भनाइ छ । एकीकृत समाजवादीले धनगढी उपमहानगरमा तत्कालीन अवस्थामा नेकपा एमालेले जितेकासहित केही वडा मागेको छ । एमालेले २०७४ सालमा धनगढीका दुई वटा वडा (१४ र १९) जितेको थियो । पार्टी विभाजनपछि एमालेले वडा नम्बर १४ भने गुुमाएको छ ।

यस्तो छ २०७४ को जनमत

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा धनगढीको मेयरमा चार उम्मेद्‍वारबीच टक्कर थियो ।

मेयरमा ४७ हजार ७६६ मत सदर भएकोमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत ल्याउँदै विजयी भए । जबकी उपमेयरमा विजयी कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजार ४०८ मत प्राप्त गरेकी थिइन् । मेयरमा दोश्रो भएका थिए स्वतन्त्र उम्मेद्‍वार गोपाल हमाल । उनले ११ हजार ५२७ मत ल्याए ।

नृप वड

तेश्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २०९ र चौथो भएका नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत ल्याएका थिए ।

धनगढीका १९ वटै वडाका अध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने पनि कांग्रेस नै अघि छ । १२ वटा वडा जितेको कांग्रेसले सबै वडामा पाएको मत जोड्दा १६ हजार ४३८ हुन्छ ।

२ वटा वडा मात्र जिते पनि वडागत मतमा नेकपा एमाले दोश्रो छ । उसले १३ हजार ५११ मत पाएको थियो । ५ वडा वडा जितेको माओवादीले भने १० हजार ३७ मत पाएको छ । राप्रपाका उम्मेद्‍वारले मेयरमा ८२९ मत मात्र पाए पनि १९ वटा वडामा राप्रपाका वडाध्यक्षले कुल ३ हजार १३ मत पाएका छन् ।

यसपाली पनि गोपाल हमालको चुनौती

७४ को चुनावमा दोश्रो भएका गोपाल हमालले यसपाली पनि स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । हमाललाई एमालेले सहयोग गर्ने भन्ने चर्चा धनगढीमा नचलेको पनि होइन । तर उनले स्वतन्त्र नै उठ्ने भनेर प्रचार थालेकाले अब त्यो सम्भावना नरहेको एमालेकै जिल्ला नेताहरु बताउँछन् । एमाले नगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले हमाललाई सहयोग गर्ने सम्भावना टरिसकेको बताए ।

अब एमालेले एक्लै लड्नेछ । ‘हामीलाई पार्टी फुटले धेरै असर गर्दैन । विगतमा भन्दा अहिले सबै वडामा हामीले संगठनलाई सुदृढ गर्दै थप मजबुुत बनाएका छौँ,’ एमाले नगर कमिटी अध्यक्ष जोशीले अनलाइनखबरसँग भने, ‘जस्तो सुकै गठबन्धन भए पनि धनगढीमा हाम्रो जित निश्चित छ ।’

गठबन्धनले भने आफ्नो प्रतिस्पर्धा एमालेसँग होइन, स्वतन्त्र उम्मेद्‍वार गोपाल हमालसँग हुने ठानेको छ । तर २०७४ सालमा एक्लाएक्लै चुनाव लड्दा प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र तथा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीको मतले चुनावी नजिता अनुकुल हुने गठबन्धनको दाबी छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?