+

स्यानिटरी प्याडको विकल्पमा आएको महिनावारी कप के हो ?

२०७९ वैशाख  ३ गते १९:०१ २०७९ वैशाख ३ गते १९:०१

सामान्यतः एक जना महिला आफ्नो जीवनमा औसत ४५० पटक महिनावारी हुन्छिन् । यो भनेको उनले जीवनमा ७ हजार २ सय स्यानिटरी प्याड प्रयोग गर्छिन् । तर एउटै महिनावारी कप ३ देखि १० वर्षसम्म खप्छ ।

स्यानिटरी प्याडको विकल्पमा आएको महिनावारी कप के हो ?

३ वैशाख, साओ पाउलो । महिनावारीको बेला उपयोगी मानिएको महिनावारी कपको प्रोटोटाइप पहिलोपटक सन् १९३० को दशकमा प्रयोगमा आएको थियो । यसको पेटेन्टका लागि पहिलो निवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले दिएकी थिइन् ।

पछिल्ला केही वर्षहरू यसका धेरै आधुनिक र परिस्कृत संस्करणहरू आएका छन् । सिलिकन, रबर वा लेटेक्सबाट बनेका सानो कप आकारको यो सामग्रीले महिलाको जीवनमा विस्तारै-विस्तारै भए पनि सेनिटरी प्याडको स्थान लिन थालेको छ । सेनिटरी प्याड केवल एकपटक उपयोग गर्न सकिन्छ तर महिनावारी कप धेरै व्यवहारिक हुनुका साथै पटक पटक प्रयोग गर्न सकिन्छ ।

प्लास्टिकले बनेको लचिलो सामग्री भएकोले यसलाई महिलाको जनन्द्रीयभित्र राख्दा कुनै पनि अप्ठ्यारो हुँदैन ।

दक्षिण अमेरिकी देश ब्राजिलको साओ पाउलोस्थित एक अस्पतालकी महिला रोग विशेषज्ञ अलेक्जेन्ड्रे यसबारेमा थप जानकारी दिँदै भन्छिन्, ‘यसको प्रयोग गर्ने महिलाहरूका अनुसार बिकनी र लेगि‌ङ्स जस्ता कपडा लगाउँदा यसको प्रयोग गरिएको थाहा हुँदैन । यसले ट्याम्पोनजस्तो अनावश्यक तत्व पनि पैदा गर्दैन ।’

यो कप अनेकौं आकारमा उपलब्ध छन् । यसको लम्बाइ ४ देखि ६ सेमीको बीचमा हुन्छ । माथि यसको व्यास ३ देखि ५ सेमीको बीचमा हुन्छ । बढी रगत बग्ने महिलालाई ठूलो आकारको महिनावारी कप आवश्यक पर्छ ।

चिकित्सकको सुझावअनुसार प्रयोग गर्दा स्वच्छता र सुरक्षित प्रयोगको सवालमा यो सामग्री पूर्णरूपले सुरक्षित हुन्छ र यो १० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

यो सामग्रीमा हामी महिनावारी कपसँग जोडिएका पाँच महत्वपूर्ण प्रश्नको जवाफ खोज्नेछौं ।

महिनावारी कपलाई निकाल्ने बेला विशेष ध्यान दिनुपर्छ ।

१. महिनावारी कपलाई महिला जनेन्द्रीयमा कसरी राख्ने ?

महिलाको जनेन्द्रीयमा यो महिनावारी कप राख्नुभन्दा पहिला दुई वा तीन भागमा यसलाई पट्याउनुपर्छ ताकि यसलाई योनीमा सजिलै राख्न सकियोस् ।

दक्षिणी ब्राजिलको पोर्टो एलेग्रेमा रहेको एक अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ ग्र्याबिएला गेलिना यसबारे बीबीसीसँग भन्छिन्, ‘शौचालय वा ओछ्यानमा महिलाले आफ्नो खुट्टा फट्याएर घुँडा टेक्दै बस्नुपर्छ । यदि महिलाको जनेन्द्रीय धेरै सुख्खा रह्यो भने यसलाई राख्न असहज हुनसक्छ । खासगरी यसलाई पहिलोपटक प्रयोग गर्दा यस्तो अप्ठ्यारो हुनसक्छ । यस्तो बेला केही चिप्लो पार्ने वस्तु (लुब्रिकेन्ट) को प्रयोग गर्न सकिन्छ ।
उनी भन्छिन्, ‘त्यसपछि यसलाई बिस्तारै बिस्तारै भित्र राख्नुपर्छ । जब रगत जम्मा गर्ने भागलाई हामी छाडिदिन्छौं यो कप खुल्छ । यसलाई भित्र ठिकसँग मिलाएर राख्नका लागि केही घुमाइदिनुपर्छ ।’

औंलाको सहयोगमा यसलाई जनेन्द्रीयको भित्र यसरी राख्नुपर्छ जस्तो कि यो ट्याम्पोन हो । ट्याम्पोनभन्दा यो कप फरक छ किनकि यसको काम रगत सोस्नु नभएर केवल यसलाई जम्मा गर्नु हो ।

अलेक्जेन्ड्रे पुपो भन्छिन्, ‘एकपटक राखेपछि यो कप जनेन्द्रीयको द्वारसँग टाँसिन्छ । यो खुला रहोस् भनेर यसको किनारामा लगाइएको प्लास्टिक केही कडा हुन्छ । भित्र यो केही फैलिएर र केही कन्केभ भएर द्वारसँग जोडिन्छ र त्यहाँ स्थिर हुन्छ ।’

सामान्यतः एक जना महिला आफ्नो जीवनमा औसत ४५० पटक महिनावारी हुन्छिन् भन्ने मानिन्छ । यो भनेको उनले जीवनमा ७ हजार २ सय स्यानिटरी प्याड प्रयोग गर्छिन् । तर एउटै महिनावारी कप ३ देखि १० वर्षसम्म खप्छ ।

महिनावारी कपको प्रयोग एकपटकमा बढीमा १२ घण्टासम्म गर्न सकिन्छ । यद्यपि जुन महिलाको रक्तश्राव बढी हुन्छ, उनीहरूले ४-६ घण्टापछि बदल्नु राम्रो हुन्छ । सानो आकारको कप सजिलो भए पनि यस्तो अवस्थामा केही असहज हुनसक्छ ।

रडको सहयोगमा यसलाई निकाल्न धेरै शक्ति खर्च हुने पुपोको सल्लाह छ । भित्रको आयातन कम गर्नका लागि यसको लागि औंलाकै प्रयोग गर्नु सजिलो हुने उनको सुझाव छ । यद्यपि, नुहाउने समयमा यसलाई निकाल्नु सजिलो हुन्छ । त्यस्तै शौचालयमा बसेर यसलाई निकाल्नु पनि सजिलो र सुरक्षित हुन्छ ।
गेलिना भन्छिन्, ‘पहिलोपटक यसको प्रयोग सामान्यतः केही असहज हुन्छ भन्ने कुरा ध्यान दिनुपर्छ । केही महिलालाई महिनावारी कपको प्रयोगमा सहज हुन दुई वा तीनपटकसम्म लाग्न सक्छ । त्यसैले महिनावारी नभएको बेला यसको परीक्षण गर्न सकिन्छ ।’

२. महिनावारी कपलाई कसरी सफा गर्ने ?

प्रयोग गर्नुभन्दा अगाडि महिनावारी कपलाई चुल्होमा तातो पानी तताएर वा माइक्रोवेभमा ५ मिनेटसम्म उमालेर यसलाई सुरक्षित बनाउन सकिन्छ । कयौ‌ं ब्रान्डहरूले त यसको लागि विशेष प्रकारको कन्टेनर पनि दिन्छन् ।

महिनावारीको क्रममा जब यसको पटकपटक प्रयोग गरिन्छ, तब यसलाई साबुन पानीले राम्रोसँग सफा गर्नुपर्छ । र, जब महिनावारी सकिन्छ, यसलाई तातो पानीमा उमालेर राख्नुपर्छ ।

प्रयोगमा नआउँदा यसलाई कुनै कपडाको झोलामा बन्द गरेर राख्नुपर्छ । पुनः जब महिनावारी सुरु हुन्छ, यसलाई पुनः तातो पानीमा उमालेर प्रयोगमा ल्याउन सकिन्छ ।

३. के यसले स्वास्थ्य खतरा हुनसक्छ ?

राम्रोसँग स्यानिटाइज गरेपछि महिनावारी कपको प्रयोग स्वास्थ्यका लागि निकै सुरक्षित हुन्छ । तर यसलाई राम्रोसँग सफा नगरी प्रयोग गरियो भने यसबाट संक्रमणको खतरा बढ्छ ।

गेलिनाका अनुसार महिला जनेन्द्रीय सुक्ष्म किटाणुको सम्पर्कमा आयो भने यसले समस्या सिर्जना गर्न सक्छ । यसबाट क्यान्डिडियासिस र भेजिनोसिसको समस्या आउन सक्छ । स्त्रीरोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपोका अनुसार कन्डम प्रयोग गर्दा एलर्जी हुने महिलाले (प्राकृतिक रबर प्रयोग नगरिएको) लेटेक्स फ्री महिनावारी कप प्रयोग गर्नुपर्छ ।

४. महिनावारी कप लगाएको बेला के गर्ने, के नगर्ने ?

सामान्यतः महिनावारी कप लगाएको बेला पनि पिसाब गर्न कुनै समस्या हुँदैन । तर कुनै दबाव वा असहज महसुस भयो भने बुझ्नुपर्छ कि यो कप जनेन्द्रीयको अझै केही भित्र जानुपर्छ ।

अस्थायी साधनको रूपमा कुनै महिलाले गर्भाशयमा आईयुडी लगाएको अवस्थामा पनि यसको प्रयोगमा समस्या आउँदैन । किनकी यी दुवै वस्तु रहने ठाउँ फरक फरक हुन्छ । एउटा गर्भाशयको भित्र हुन्छ भने अर्को जनेन्द्रीय भित्र ।

यद्यपि, जब सम्भोग गर्नुपर्ने हुन्छ, त्यतिबेला महिनावारी कपलाई बाहिर निकाल्नुपर्छ । कहिल्यै सम्भोग नगरेकी महिलाका लागि भने थप नरम प्रकारको महिनावारी कप उपलब्ध हुन्छ ।

जानकारहरूका अनुसार अहिले धेरै मानिसलाई महिनावारी कपबारे जानकारी छैन किनकि यसबारे धेरै चर्चा भएको पनि छैन ।

५. महिनावारी कप प्रयोगको नाफा-घाटा कति ?

चिकित्सकका अनुसार महिनावारी कपको सबैभन्दा राम्रो क्षमता भनेको यो अस्थायी होइन ।

यसलाई पटक पटक प्रयोग गर्न सकिन्छ । सामान्यतः एक जना महिला आफ्नो जीवनमा औसत ४५० पटक महिनावारी हुन्छिन् । यो भनेको उनले जीवनमा ७ हजार २ सय स्यानिटरी प्याड प्रयोग गर्छिन् । तर एउटै महिनावारी कप ३ देखि १० वर्षसम्म खप्छ ।

यसको अर्को खुबी भनेको महिनावारी कपको भ्याकुममा जम्मा भएको रगत हावाको सम्पर्कमा आउन पाउँदैन । फलतः महिलाको भित्री वस्त्र गन्हाउँदैन ।

स्त्री रोग विशेषज्ञहरूका अनुसार यसको नराम्रो पक्ष भनेको सबै महिला यसलाई सहजै प्रयोग गर्न सक्छन् भन्ने कुनै निश्चितता छैन । यस्तो अवस्थामा उनीहरूले केही अप्ठ्यारो झमेला व्यहोर्नुपर्ने हुन्छ ।

(बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)

महिनावारी कप स्यानिटरी प्याड
लेखक
जुलिया ग्रान्ची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय