+
+
अग्रपथ :

युक्रेन युद्धको कारण र सम्भावित ४ परिणाम

युक्रेन युद्धमा दोस्रो विश्वयुद्धका हिटलर झैं रूसी शासक भ्लादिमिर पुटिन एक सर्वाधिक शक्तिशाली र महत्वाकांक्षी शासकका रूपमा देखिएका छन् । सन् १९९१ मा सोभियत संघको विघटनपछि रूस लोकतान्त्रिक राज्य प्रणालीमा अभ्यस्त हुँदै जाने विश्वास गरिन्थ्यो । तर, रूसले कसैले कल्पना नगरेको विचित्रको बाटो रोेज्यो ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ वैशाख ४ गते १२:५४

मानव जातिको आधुनिक इतिहासले विगत एक शताब्दी, बीसौं शताब्दीभित्रै दुई ठूला महायुद्ध भोगिसकेको छ । पहिलो र दोस्रो विश्वयुद्ध भनिने ती दुवै युद्ध युरोपबाटै भट्किएका थिए । प्रारम्भमा यिनलाई विश्वयुद्ध भनिएको थिएन । स-साना कारणबाट सुरुवात भएको युद्ध बढ्दै जाँदा विश्वयुद्धको रूप लिएको थियो ।

पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८ देखि सन् १९१८ नोभेम्बर ११ सम्म ४ वर्ष ३ महिना १४ दिन चलेको थियो । यो युद्धमा जर्मनी, ओटोमान र अष्ट्रिया-हंगेरियन साम्राज्य एकातिर थिए । यसलाई ‘केन्द्रीय शक्ति’ भनिन्थ्यो । अर्कोतिर बेलायत, फ्रान्स, रूस, इटाली, जापान आदि थुप्रै देश थिए । यो दोस्रो ध्रुवमा पछि अमेरिका थपियो । यसलाई ‘गठबन्धन शक्ति’ भनिन्थ्यो । युद्धमा दुुवैतर्फ गरी करिब २ करोड सैनिक र १ करोड गैरसैनिक मारिएको अनुमान छ ।

युद्धको निहुँ भने कुनै ठूलो थिएन । अष्ट्रिया-हंगेरियन साम्राज्यका राजकुमार-राजकुमारी फर्डिनान्ड र सोफिया बोस्नियाको राजधानी सरायेभो भ्रमणमा गएका थिए । त्यहाँको कुनै उग्रवादी समूहले उनीहरूको हत्या गरिदियो । ‘युनियन अफ डेथ’ भनिने त्यो संगठन ‘स्लाभ’ जाति बाहुल्य क्षेत्रहरू समेटेर एउटै राज्य बनाउन चाहन्थ्यो । बोस्नियामाथि अष्ट्रियन शासन उनीहरूलाई मन परेको थिएन । हत्या त उनीहरूले बोस्नियाका लागि अष्ट्रियन गभर्नर ओस्कर पोटिओरेकाको गर्ने योजना बनाएका थिए । स्वयं राजकुमार-राजकुमारी भ्रमणमा आउँदैछन् भन्ने भएपछि संगठनको एक सदस्य ग्रेभिलो पि्रन्सेपले गोली हानी उनीहरूको हत्या गरिदियो ।

भियानाले यसको दोष सर्वियामाथि लगायो । सर्वियाले हत्याकाण्डबारे कुनै चित्तबुझ्दो उत्तर दिन सकेन । त्यो स्वाभाविक थियो किनकि बोस्निया क्षेत्रमा सर्वियाले नियन्त्रण गुमाएको बेला थियो । सन् १८६७ मा अष्ट्रिया र हंगेरी मिलेर एक शक्तिशाली साम्राज्य बनाएका थिए । त्यो शक्तिशाली साम्राज्यका राजकुमार-राजकुमारीको हत्या साम्राज्यलाई सहृय भएन । साम्राज्यले सर्वियामाथि आक्रमण गर्‍यो र पहिलो विश्वयुद्ध भड्कियो ।

युद्ध भड्किएपछि त्यसले कस-कसलाई लपेट्दै जान्छ, कस्तो राजनीतिक तथा सैन्य ध्रुवीकरण तथा गठबन्धन बन्छ, युद्धका अन्तिम परिणाम के-कस्ता हुन्छन् भन्ने अनुमान प्रारम्भमै गर्न सकिंदैन । पहिलो विश्वयुद्धमा त्यसपछि क्रमशः ३० देशहरू लपेटिएका थिए । युद्धको जब अन्तिम परिणाम आयो- युद्ध सुरुवातकर्ता अष्ट्रिया-हंगेेरियन साम्राज्य नै बाँकी रहेन । जुन साम्राज्यका राजकुमार राजकुमारीको हत्याको निहुँमा त्यति ठूलो युद्ध भयो अन्ततः त्यो साम्राज्य नै अष्ट्रिया, हंगेरी लगायत अनेक साना राज्यमा विभक्त भयो ।

अष्ट्रो-हंगेरी मात्र हैन, केन्द्रीय शक्ति मानिएको अर्को ठूलो साम्राज्य अटोमान साम्राज्य पनि त्यसपछि टर्कीमा खुम्चिन बाध्य भयो । यही युद्धको कारण रूस, टर्की, सर्विया, हंगेरी, बुल्गेरिया आदि देशमा राजतन्त्र नै अन्त्य भए ।

दोस्रो विश्वयुद्धको कथा पहिलो विश्वयुद्धको भन्दा कम दर्दनाक र त्रासदीपूर्ण छैन । यो युद्ध सन् १९३९ सेप्टेम्बर १ देखि १९४५ सेप्टेम्बर २ सम्म ६ वर्ष १ दिन चलेको थियो । यो युद्धमा जर्मन, इटली र जापान एकातिर थिए !  बेलायत, फ्रान्स, रूस र अमेरिका अर्कोतिर । यो युद्धमा २ करोड ४० लाख सैनिक र १ करोड ५० लाख गैरसैनिक गरी करिब ४ करोड मानिस मारिएको बताइन्छ ।

यस युद्धको अर्को कुनै निहुँ थिएन- त्यही पहिलो युद्धको अन्तिममा भएको भर्साइल सन्धिले आफ्नो देशप्रति अन्याय र अपमान भयो भन्ने सोचमा आधारित जर्मनीमा नयाँ राजनीतिक शक्तिको जन्म हुनु बाहेक । पहिलो विश्वयुद्धका घाइते सिपाही अडोल्फ हिटलरले जर्मनीमा जर्मन राष्ट्रिय समाजवादी पार्टी (नाजी पार्टी) बनाए । यो पार्टीको घोषित उद्देश्य नै पहिलो विश्वयुद्धमा भएको जर्मनीको हार, जर्मनमाथिको अपमान र अन्यायपूर्ण सन्धिको बदला लिनु र जर्मनीलाई विश्वविजेता बनाउनु थियो । जर्मनीमा फासीवादी शक्ति हिटलरको नाजी पार्टीको उदय नभएको भए सायद दोस्रो विश्वयुद्ध हुने थिएन न त त्यति ठूलो धनजनको क्षति नै हुने थियो ।

दोस्रो विश्वयुद्धका परिणाम पनि पहिलो जस्तै त्रासदीपूर्ण लाग्दछन् । जुन व्यक्तिको सोच र अहंले त्यति ठूलो युद्ध भयो अन्ततः तिनै व्यक्ति हिटलरको आत्महत्यासँगै युद्धको अन्त्य भयो । विश्व साम्राज्य बन्ने सपना देखेको जर्मनी आफैं टुक्रियो । पूर्वी र पश्चिम जर्मनी गरी दुई देशमा विभक्त भयो । अर्का युुद्धकामी शासक इटलीका मुसोलिनी आफ्नै देशका जनताद्वारा बीच सडकमा कुकुर जस्तै घिसारिंदै मारिए ।

जापानको उस्तै हविगत भयो । पर्ल हार्बरमा अकारण बम आक्रमण गरेको बदलामा अमेरिकाले मानव जातिको इतिहासमै पहिलोपटक जापानमाथि आणबिक हतियार प्रयोग गर्‍यो । हिरोशिमा र नागासाकीमाथि अणु बम खसालियो । बेलायत जस्ता पुराना शक्ति राष्ट्र ओझेलमा गए । अमेरिका र सोभियत संघले जर्मनीलाई बीच बर्लिनमा पर्खाल लगाएर पूर्व र पश्चिम दुई देशमा विभाजन गरिदिए । यो दुर्भाग्य जर्मनीले करिब ४५ वर्ष भोग्नुपर्‍यो ।

दोस्रो विश्वयुद्धपछि पनि विश्वमा केही युद्धहरू नभएका हैनन् । जस्तै-भियतनाम, अफगान, लेवनान, प्यालेष्टाइन, युगोस्लाभ, खाडी युद्ध आदि । तर, अहिले भइरहेको युक्रेन युद्ध युरोपमा दोस्रो विश्वयुद्धपछिकै ठूलो हो ।

युक्रेन युद्धमा दोस्रो विश्वयुद्धका हिटलर झैं रूसी शासक भ्लादिमिर पुटिन एक सर्वाधिक शक्तिशाली र महत्वाकांक्षी शासकका रूपमा देखिएका छन् । सन् १९९१ मा सोभियत संघको विघटनपछि रूस लोकतान्त्रिक राज्य प्रणालीमा अभ्यस्त हुँदै जाने विश्वास गरिन्थ्यो । तर, रूसले कसैले कल्पना नगरेको विचित्रको बाटो रोेज्यो । त्यहाँ लोकतन्त्र छैन भनौं नियमित चुनाव हुन्छ । लोकतन्त्र छ भनौं विगत २४ वर्षदेखि भ्लादिमिर पुटिन निरन्तर सत्तामा छन् । उनले मानव जातिको इतिहासमै ‘निर्वाचित तानाशाही’ को एक नयाँ अध्याय निर्माण गरेका छन् ।

यिनै अनुदारवादी भनौं वा रूसी राष्ट्रवादी शासक भ्लादिमिर पुटिनले युरोपको दोस्रो ठूलो देश युक्रेन माथि गत फेब्रुअरी २४ मा आक्रमण गरिदिए । तर, युक्रेन युद्ध हठात् सुरुवात भएको हैन, यसको पृष्ठभूमि भने लामो छ । युक्रेन युद्धको अन्तर्यलाई बुझ्न सन् २०१३ यताका घटनालाई बुझ्नुपर्ने हुन्छ । अझ युक्रेनको इतिहासलाई नै सरसर्ती नियाल्नुपर्ने हुन्छ ।

पुटिनको दृष्टिकोणमा युक्रेन एक भिन्नै देश हैन, यसको भिन्नै मौलिकता, राष्ट्रियता र सार्वभौमसत्ता छैन । पुटिन भन्छन्- युक्रेन एक ‘फेक नेशन’ हो, जो इतिहासका केही कालखण्डमा रूसी साम्राज्यको अभिन्न अंग थियो । सन् १९९० को दशकका जटिल घटनाक्रमको उपयोग गर्दै पश्चिमाहरूले युक्रेनी राष्ट्रवाद जन्म गराएका हुन् । तसर्थ पुटिनको नजरमा युक्रेन युद्ध युक्रेनको सार्वभौमसत्ता विरुद्ध रूसी आक्रमण हैन, रूस-युक्रेन एकीकरणको एक नयाँ राष्ट्रवादी युद्ध हो । देशको पुनः एकीकरण अभियानको प्रारम्भ हो । कतिपयको विश्लेषण छ- युक्रेन युद्धमा रूस सफल भयो भने अर्को रूसी आक्रमण कजाकिस्तानमाथि हुनेछ ।

तर, युक्रेनी जनता पुटिनको यो तर्क स्वीकार गर्न तयार छैनन् । उनीहरू युक्रेनलाई भिन्नै देश र भिन्नै राष्ट्रियता मान्दछन् । युक्रेनी राष्ट्रियताको आधार युक्रेनी भाषा, संस्कृति र मनोविज्ञान हो, जो रूसीभन्दा भिन्नै हुन्छ । उनीहरू युक्रेनी राष्ट्रियताका लागि लड्न र मर्न पाउनु वीरता र आत्मगौरवको विषय ठान्दछन् । स्वयं रूसभित्र यो विषयमा दुई प्रकारको दृष्टिकोण पाइन्छ । एक खालका रूसीहरू युक्रेनबारे आफ्ना राष्ट्रपति पुटिनको जस्तै धारणा राख्दछन् भने अर्को खाले रूसीहरू रूसले युक्रेन राष्ट्रियता र सार्वभौमसत्तालाई स्वीकार गर्नुपर्ने ठान्छन् । युक्रेनमाथि आक्रमण गरेर पुटिनले अनावश्यक युद्ध निम्त्याएको र मानवता विरुद्ध अपराध गरेको ठान्दछन् ।

विश्व मानचित्रमा रूस र युक्रेन

रूस युरोपको मात्र हैन, संसारकै सबैभन्दा ठूलो देश हो । रूस बहुमहादेशीय देश हो । सन् १९९१ अघि सोभियत संघ संसारकै सबैभन्दा ठूलो क्षेत्रफल भएको देश थियो । सोभियत संघको विभाजनपछि १५ वटा देश बने तर, पनि रूस संसारको सबैभन्दा ठूलो देश नै रहृयो । रूससँग विशाल १ करोड ७० लाख ९८ हजार २७४ वर्गकिमी क्षेत्रफल छ । त्यसमध्ये ३९ लाख ९५ हजार ४०० वर्गकिमी युरोपतिर पर्दछ र बाँकी उत्तरी एशियामा । क्षेत्रफल र जनसंख्यामा युरोपेली र एशियाली रूसको अनुपात भने ठीक उल्टो छ । क्षेत्रफलमा रूसको करिब एकतिहाइ भाग युरोप र दुईतिहाइ भाग एशियातिर पर्दछ भने करिब ७७ प्रतिशत जनसंख्या युरोपतिरको रूसमा बसोबास गर्दछन् ।

युक्रेन युरोपका शक्तिराष्ट्र बेलायत, फ्रान्स, जर्मनी, इटलीभन्दा पनि ठूलो क्षेत्रफल भएको रूसपछिको दोस्रो ठूलो युरोपेली देश हो । यसको क्षेत्रफल ६ लाख ३ हजार ६२८ वर्गकिमी छ जबकि तेस्रो ठूलो प|mान्सको ५ लाख ५१ हजार ३९४ वर्गकिमी । युक्रेनभन्दा साना बेलायत, फ्रान्स, जर्मनी, इटली, स्वीडेन, नर्वे, स्पेन, पोर्चुगल, अष्ट्रिया, हंगेरी, फिनल्याण्ड, पोल्याण्ड आदि देश युक्रेनभन्दा बढी शक्तिशाली, चर्चित र विकसित बन्न सके । तर, युक्रेनले त्यो स्तरको विश्वशक्ति र ख्याति इतिहासका कुनै पनि कालखण्डमा प्राप्त गर्न सकेन । युक्रेनको जनसंख्या भने क्रिमिया समेत जोड्दा करिब साढे ४ करोड हुन्छ । युरोपेली देशहरूको जनसंख्या अनुपात हेर्दा युक्रेनलाई जनसंख्या आकारमा सानो भन्न मिल्दैन ।

युक्रेनी इतिहासका दुर्भाग्य

पुटिनले सुरुवात गरेको वर्तमान युद्धको कारणले मात्रै हैन, युक्रेन इतिहासका विभिन्न कालखण्डमा विभिन्न साम्राज्यको छायाँमा परेको थियो । यो एक ‘वास्तविक राष्ट्र’ कम र ‘मनोवैज्ञानिक राष्ट्र’ बढी रहृयो । करिब ७०० वर्ष युक्रेनले विभिन्न साम्राज्यहरूको उपनिवेश झेलेको छ तर पनि मानिसमा ‘युक्रेनी राष्ट्रवाद’ को भावना अन्त्य भएन, भएको छैन । जुनसुकै साम्राज्य र राजनीतिक शक्तिको अधीनस्थ हुँदा पनि आफूलाई भिन्नै युक्राइनी ठान्ने मान्छेहरूको मनोविज्ञान नै युक्रेनी राष्ट्रवादको जग हो ।

भौगोलिक हिसाबले युक्रेनको भूमि विभिन्न समय विभिन्न साम्राज्यले बाँडेर प्रभुत्व कायम गरेका थिए । प्रशासनिक हिसाबले युक्रेनमाथि अनेक प्रकारका अभ्यास गरिए । सोभियत कालमा भाषिक हिसाबले युक्रेनलाई रूसीकरण गर्न खोजियो । यहाँसम्म कि डोनेस्क शहरको नाम ‘स्टालिनो’ राखियो । सोभियत शासक स्टालिन युक्रेनी थिएनन्, जर्जियन थिए, उनको राजनीतिक कार्यक्षेत्र मूलतः ककेसिया थियो । युुक्रेनलाई रूसीकरण गर्ने उद्देश्यबाहेक युक्रेनको शहरको नाम स्टालिनको नामबाट राख्नुपर्ने अरू कुनै कारण थिएन ।

१३औं शताब्दी अघि युक्रेन ‘किभ’ केन्द्र भएको एक ‘ऐतिहासिक राज्य’ थियो । युक्रेनमाथि पहिलो हमला र विजय मंगोल साम्राज्यले हासिल गरेको थियो । त्यसपछि पोलिस-लिथुवानीय साम्राज्यको अधीनस्थ गयो । यो साम्राज्यको विघटनपछि अष्ट्रिया-हंगेरियन साम्राज्यले युक्रेन अधीनस्थ गर्‍यो । १७औं शताब्दीमा जारकालीन रूसी साम्राज्यको प्रभुत्व कायम हुनुअघि त्यहाँ ओटोमान साम्राज्यको शासन थियो । सन् १७८३ मा भएको रूसी-टर्किस युद्धमा रूसले ओटोमान साम्राज्यबाट क्रिमिया खोसेको थियो । त्यसपछि रूसीहरू बाक्लै गरी युक्रेन बसाइँ सर्न थालेका थिए । तर, यी सबै कालखण्डमा युक्रेनमा स्वतन्त्र र सार्वभौम युक्रेन निर्माण गर्ने राष्ट्रवादी आन्दोलन जारी थिए । त्यस्ता राष्ट्रवादी आन्दोलनहरू कहिले कमजोर हुन्थे, कहिले बलियो तर कहिल्यै अन्त्य हुँदैनथे ।

सोभियत शासनकाल

इतिहासका नयाँ मोड र निर्णायक क्षणहरूमा यस्तै संयोग र चमत्कारको योग हुन्छ भनिन्छ । जेलेन्स्कीको उदय त्यस्तै एउटा ऐतिहासिक मोड र चमत्कार सावित हुनपुग्यो

सन् १९१७ मा रूसी बोल्सेभिक नेता लेनिनले ‘अक्टोबर क्रान्ति’ मार्फत रूसको सत्ता प्राप्त गरे । क्रान्तिकालमा उनले रूसी साम्राज्यले अधीनस्थ गरेका सबै उत्पीडित राष्ट्रियताहरूलाई स्वतन्त्रता दिने उद्घोष गरेका थिए । लेनिनको निबन्ध ‘उत्पीडित राष्ट्रियताहरूको आत्मनिर्णयको अधिकार’ युक्रेनमा बहुतै लोकप्रियता थियो । तसर्थ थुप्रै युक्रेनीले बोल्सेभिक क्रान्तिलाई साथ दिए । लेनिनको बोल्सेभिक पार्टीर्मा लागे ।

तर, अक्टोबर क्रान्तिपछि स्थिति उल्टो भयो । रूसी लाल सेनाले युक्रेनी राष्ट्रवादी आन्दोलनमाथि दमन गर्न थाल्यो । सन् १९१९ मा पुनश्च बोल्सेभिकहरूले युक्रेनलाई रूसमा गाभे । सन् १९२२ मा सोभियत संघ गठन गर्दा युक्रेनले संघको एक संस्थापक गणराज्यको मान्यता पायो ।

स्टालिनको शासनकालमा युक्रेनका पीडा आफ्नै प्रकारका थिए । लेनिनले दिएको भाषिक स्वतन्त्रता र राजनीतिक स्वायत्तता स्टालिनले खोसे । उनले युक्रेनको रूसीकरण प्रक्रियालाई तीव्र बनाए । युक्रेनी नेताहरूलाई पार्टीभित्र महत्वपूर्ण स्थान दिंदै युक्रेनी राष्ट्रवादी भावनालाई कमजोर पार्न खोजे । युक्रेनमा रूसी भाषालाई सरकारी कामकाजको भाषा बनाइयो । युक्रेनीहरूको भाषान्तर हुँदै गयो । स्टालिन शासनकालको सन् १९३२-३३ को महाअनिकाल र भोकमरीमा करिब ८ लाख युक्रेनीको मृत्यु भएको ठानिन्छ ।

सोभियत शासनकालमा युक्रेनबाट दुई शक्तिशाली सोभियत शासकहरूको उदय भयो । निकिता ख्रुश्चेभ र लियोनिद ब्रेझनेभ । सन् १९३८ मा स्टालिनको महासफाया अभियानलाई साथ दिए बापत ख्रुश्चेभ स्टालिनको निकट र पि्रय भएका थिए । सन् १९५३ मा स्टालिनको निधनपछि निकिता ख्रुश्चेभ पार्टी महासचिव र सोभियत राष्ट्रपति भए । स्टालिनको समर्थक र उत्तराधिकारका रूपमा सत्तामा उदाएका ख्रुश्चेभको नीति भने स्टालिनको भन्दा उल्टो थियो- जसलाई ‘निस्टालिनीकरण नीति’ भनिन्थ्यो ।

यो नीति युक्रेनमा पनि लागू भयो । सन् १९५४ मा ख्रुश्चेभले क्रिमियालाई युक्रेनको प्रशासनिक सीमाभित्र हालिदिए । युक्रेनी भाषा सरकारी कामकाजको भाषा बनाइदिए । युक्रेनी शहरका रूसी नामहरू हटाएर युक्रेनी नामलाई पुनस्र्थापित गरे ।

ख्रुश्चेभपछि अर्का युक्रायिनी लियोनिद ब्रेझनेभको सोभियत सत्तामा उदय भयो । ब्रेझनेभ एकदशक बढी शक्तिशाली सोभियत शासक रहे । ख्रुश्चेभ र ब्रेझनेभको शासनकालमा युक्रेनी राष्ट्रवादी आन्दोलन सबैभन्दा कमजोर भएको थियो ।

सन् १९८९ मा पोल्याण्ड र रुमानियाबाट कम्युनिस्ट शासन विरोधी विश्व लहर सुरुवात भयो । यही लहरले सोभियत संघको विघटन र जर्मनीको एकीकरण गरायो । सोभियत संघ विघटन भई १५ वटा नयाँ देश सृजना भए, जसमा एक युक्रेन थियो । ख्रुश्चेभले युक्रेनको सीमाभित्र हालिदिएको क्रिमिया सोभियत संघ विघटन हुँदा युक्रेनकै मानियो । तर, रूसमा क्रिमिया युक्रेनलाई दिएबापत असन्तुष्टि बढ्न थाल्यो । किनकि क्रिमिया ओटोमान शासनकालमै रूसले अधीनस्थ गरेको लामो समय भएको थियो । अर्कोतिर क्रिमियामा बहुमत जनसंख्या करिब ६५ प्रतिशत रूसी थिए, क्रिमियामा बस्ने युक्रेनी मूलका जनसंख्याको समेत भाषान्तर भइसकेको थियो । उनीहरू युक्रेनतिर हैन, रूसतिरै बस्न चाहन्थे ।

सुन्तोले क्रान्ति र युरो अभिमान आन्दोलन

सोभियत संघबाट छुटेपछि युक्रेनमा नयाँ राजनीतिक शक्तिहरूको जन्म भयो । सोभियतकालीन एकदलीय कम्युनिस्ट शासनमा त्यहाँ सोभियत कम्युनिस्ट पार्टीको सहचर संगठन युक्रेनी कम्युनिस्ट पार्टी मात्रै थियो । नयाँ राजनीतिक शक्तिको जन्म हुँदा रूसी र युक्रेनी मनोविज्ञानमा विभाजन देखियो । सन् २००४ को राष्ट्रपतीय निर्वाचनमा रूसप्रति नरमहरूको ध्रुवीकरण भिक्टर यान्कोविच र रूसी विरोधी युरोपनिकट हुन चाहने युक्रेनी मनोविज्ञानको ध्रुवीकरण भिक्टर युस्चेन्कोतिर भयो । भिक्टर यान्कोविचलाई चुनावमा धाँधली गरेको आरोप लाग्यो । लाखौं मानिस सडकमा आए । अन्ततः सर्वोच्च अदालतले भिक्टर युस्चेन्कोले जितेको घोषणा गर्‍यो । यो घटनालाई त्यहाँ ‘सुन्तोले क्रान्ति’ भनिन्छ ।

तर, रूसी र युक्रेनी मनोविज्ञानको विभाजन यतिमा मात्र सीमित भएन । नृजातीय दृष्टिकोणले युक्रेनमा ७८ प्रतिशत युक्रेनी र १७ प्रतिशत रूसी छन् तर भाषिक हिसाबले युक्रेनीहरूको ठूलो जनसंख्याले समेत रूसी बोल्थ्यो ।

सन् २०१० को राष्ट्रपतीय चुनावमा भने भिक्टर यान्कोविचले जिते । उनले रूससँग नजिक हुने नीति लिए । अधिकांश युक्रेनी रूससँग टाढा र युरोपसँग नजिक हुन चाहन्थे । यान्कोविच शासनकालमा रूसले प्रस्तावित गरेको ‘युरेसियन आर्थिक क्षेत्र’ र युरोपियन युनियनमध्ये कुन पक्षमा युक्रेन जाने भन्ने विवाद बढ्दै गयो । यान्कोविच युरेसियन आर्थिक क्षेत्रको प्रस्तावको पक्षमा थिए । त्यसको विरुद्धमा युक्रेनीहरूले नयाँ आन्दोलन ‘युरोप डिगिनिटी’ आन्दोलन चलाए । यो आन्दोलन सोचेभन्दा धेरै शक्तिशाली भयो । यान्कोविच देश छोडेर भाग्न बाध्य भए ।

सन् २०१४ मा युक्रेनी मूलका पेत्रो पोरोशेन्को राष्ट्रपति भए । उनले ‘आफ्नै सेना, आफ्नै भाषा, आफ्नै आस्था’ भन्ने नारा दिए । यो नीति अनुरूप युक्रेनी सेनाको सुदृढीकरण गरियो । पश्चिमा देशहरूसँग हातहतियार किनियो । युक्रेनी भाषालाई अनिवार्य भाषा बनाइयो । रूसी चर्चको सर्वोच्च स्थान हुने चर्च सोपानक्रमको अन्त्य गरी युक्रेनी चर्चलाई सर्वोच्च चर्चको मान्यता दिइयो ।

पोरोशेन्कोको यो नीतिबाट क्रिमियालीहरू रुष्ट भए । त्यहाँ युक्रेनबाट पृथक् हुने र रूसमा गाभिने आन्दोलन चल्यो । क्रिमियाली पृथकतावादीहरूको समर्थनमा पुटिनले रूसी सेना पठाए । रूसी सेनाले क्रिमियाली पृथकतावादीहरूलाई साथ दियो र क्रिमिया पुनश्चः रूसमा गाभियो । वैधानिकताका लागि जनमत संग्रह गराइयो । बहुसंख्यक क्रिमियालीले रूसमा भागिने पक्षमा मतदान गरे । क्रिमियाको प्रेरणाले रूसी बहुल दोनेस्क र लुहान्स्क प्रदेशमा समेत पृथकतावादी आन्दोलन बलियो हुँदैगयो ।

जेलेन्स्कीको उदय

युक्रेन युद्धको भयावह भने मान्छेको मुटु कमाउने खालको छ । करिब ६० लाख मानिस शरणार्थी बनेका छन् । युद्धको अवधि दुई महिना नपुग्दै ३० हजार बढी मानिस मारिइसकेका छन्

सन् २०१९ को चुनावमा स्वतन्त्र उम्मेदवार ब्लोदिमिर जेलेन्स्कीले राष्ट्रपतिमा चुनाव जिते । युक्रेनको राजनीतिमा यो अनौठो र आकस्मिक घटना थियो । पेत्रो पोरोशेन्कोलाई ‘युक्रेनी राष्ट्रवाद’को प्रतीक मान्न थालिएको थियो । पोरोशेन्कोको पार्टी बलियो थियो । उनले क्रिमिया युद्धमा सकेसम्म प्रतिरक्षा गरेका थिए । संभवतः क्रिमिया रूसले गाभेपछि युुक्रेनीले पोरोशेन्कोको क्षमतामा आशंका गरे । राजनीतिमै नभएका हास्यकलाकार जेलेन्स्कीलाई मतदाताले जिताइदिए ।

हास्यकलाकारका रूपमा जेलेन्स्कीले टिभी शो मार्फत लोकप्रियता हासिल गरेका थिए । टिभी कार्यक्रममा उनी असल राष्ट्रपतिको अभिनय गर्थे । सम्भवतः मतदातालाई उनी नै वास्तविक राष्ट्रपतिको लागि योग्य छन्, टिभीमा गर्ने असल राष्ट्रपतिको भूमिका वास्तविक राष्ट्रपति भएर पनि गर्नेछन् भन्ने भान पर्‍यो । इतिहासका नयाँ मोड र निर्णायक क्षणहरूमा यस्तै संयोग र चमत्कारको योग हुन्छ भनिन्छ । जेलेन्स्कीको उदय त्यस्तै एउटा ऐतिहासिक मोड र चमत्कार सावित हुनपुग्यो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भूमिकालाई लिएर दुवै खाले धारणा पाइन्छन् । आलोचकहरूले उनलाई अपरिपक्व, राजनीति नबुझेको, आलो-काँचो, अनावश्यक रूपमा पश्चिमतिर ढल्किएर रूसलाई चिढ्याएको, आफैं युद्ध आमन्त्रण गरेको, कूटनीतिक परिपक्वता हुन्थ्यो भने युद्ध टार्न सम्भव थियो भन्ने गरेका छन् । समर्थकले भने युक्रेनी राष्ट्रवादको रक्षा गर्न जेलेन्स्की पश्चिमतिर ढल्किन बाध्य थिए, युक्रेनी राष्ट्रवादका लागि उनी वीरतापूर्ण युद्ध लडिरहेका छन् भन्ने धारणा राख्दछन् ।

पश्चिमाहरूको भूमिका

सोभियत संघको पतनसँगै शीतयुद्धको अन्त्य र कम्युनिस्ट राष्ट्रहरूको सैन्य गठबन्धन ‘वार्सा प्याक्ट’ विघटन भएको थियो । तर, अमेरिकी सैन्य गठबन्धनको धुरी ‘नेटो’ भने कायमै रहृयो । त्यस्तो स्थितिमा पूर्वी युरोपेली पूर्व कम्युनिस्ट राष्ट्र, कम्युनिस्ट संघ युगोस्लाभिया र सोभियत संघबाट टुक्रिएका नयाँ गणराज्यहरूले पनि ‘नेटो’ को सदस्यता लिन थाले ।

अल्बानिया, बुल्गेरिया, क्रोएशिया, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुवानिया, मन्टेनेग्रो, पोल्याण्ड, रुमानिया, स्लोभाकिया, स्लोभानिया, चेक गणतन्त्र त्यस्ता गणराज्य हुन् । युक्रेनमा भने नेटोको सदस्यता लिने-नलिने कुरामा मतभेद देखियो । नेटोको सदस्यता प्रक्रिया पूरा हुन सकेन । युक्रेन सदस्य राष्ट्र नभएर नेटो निकट वा नेटोको आमन्त्रित राष्ट्रमा सीमित भयो ।

जेलेन्स्कीले चुनावमा युक्रेनलाई युरोपियन युनियन र नेटो दुवैको सदस्यता दिलाउने प्रतिबद्धता गरेका थिए । तर, उनको कार्यकालमा ती प्रक्रिया पूरा नहुँदै रूस आक्रोशित र रुष्ट भयो । नेटोको विस्तार आफ्नो पूर्व प्रभाव क्षेत्रमा नहोस् भन्ने रूस चाहन्छ । युुक्रेन नेटो र युरोपियन युनियनको नजिक हुन खोजेको रूसलाई मन परेको छैन । पश्चिमाहरूले अहिलेसम्म युक्रेनलाई ढाडस, पैसा र हातहतियार दिइरहेका छन्, तर युक्रेनलाई सहयोग गर्न प्रत्यक्ष रूपमा सैनिक भने पठाएका छैनन् ।

वार्ताका सीमा

भीषण युद्धबीच पनि दुवै देशका प्रतिनिधि तथा कूटनीतिज्ञले वेलारुसको सीमा क्षेत्रमा भेटघाट गरी समस्याको शान्तिपूर्ण हल खोज्ने प्रयत्न गरिरहेका छन् तर, सफल हुनसकिरहेका छैनन् । रूसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने माग गरेको छ, जो युक्रेन चाहँदैन । वार्ताको अधिकतम सीमा भनेको क्रिमिया झैं दोनेस्क र लुहान्स्कलाई रूसमा गाभिन दिन युक्रेन सहमत हुनु, युक्रेनले भावी दिनमा युरोपियन युनियन र नेटोसँगको निकटता अन्त्य गरी रूससँगको निर्भरता र युरेसियन विशेष आर्थिक क्षेत्रको प्रस्तावमा प्रवेश गर्नु हो ।

जेलेन्स्कीले अहिलेसम्म यस्ता रूसी अपेक्षा स्वीकार गर्ने मनस्थिति देखाएका छैनन् । अर्कोतिर रूसी राष्ट्रपति पुटिन युद्धमा होमिइसकेपछि कुनै न कुनै परिणाम नलिकालिकन युद्ध नरोक्ने मनस्थितिमा छन् ।

युद्धको भयावह

आक्रमणको छोटो अवधिमै युद्ध जित्ने रूसको अपेक्षा र दाबी थियो । तर, त्यसो भएन । रूसी विश्लेषणमा दुई वटा गल्ती थिए सायद । रूसले युक्रेनी सेनाको सानो संख्या र करिब ६९ वर्ष सोभियत संघमा सँगै रहेका जनता रूसप्रति सकारात्मक हुने ठानेको थियो होला । यदि रूसको विश्लेषण यही थियो र छोटो समयमै युद्ध जित्ने अपेक्षा गरेको थियो भने त्यो सही देखिएन ।

युक्रेनको सेना करिब २ लाखको मात्र छ जबकि रूसी सेना १४ लाख बढीको छ । रूसी सेना चीन, अमेरिका, भारतपछिको विश्वकै सबैभन्दा ठूलो सेना हो । करिब २ लाख बढी रूसी सेनाले युक्रेनलाई घेरेका छन् भने युक्रेनी शहरहरूमा औसत १० हजारको संख्यामा भित्र पसेका छन् ।

तीन वटा कारणले गर्दा युक्रेन युद्ध लम्बिने सम्भावना देखिन्छ । एक- युक्रेनी सेनामा आत्मसमर्पणको भावना देखिएन । दुई- पश्चिमाहरूले दिएको अत्याधुनिक हातहतियारका युक्राइनीहरूले रूसी सेनातर्फ पनि ठूलै क्षति पुर्‍याउन सकेको अनुमान छ । रूस आफ्नो युद्ध-रणनीति बारम्बार समीक्षा र पुनःसमायोजन गर्न बाध्य भएको छ । तीन- युक्रेनी जनतामा कमैले कल्पना गरेको विचित्रको राष्ट्रवादी भावना उदित भएको छ । युक्रेनी नागरिक आफैं छापामार शैलीमा युद्धमा सामेल भई रूसी सेनालाई हायलकायल पारिरहेको समाचार छ ।

युक्रेन युद्धको भयावह भने मान्छेको मुटु कमाउने खालको छ । करिब ६० लाख मानिस शरणार्थी बनेका छन् । युद्धको अवधि दुई महिना नपुग्दै ३० हजार बढी मानिस मारिइसकेका छन् । युक्रेनका ठूला शहर खार्किभ र मारियोपोलमा निकै ठूलो भौतिक क्षति भएको छ । देशको जनजीवन अस्तव्यस्त छ । सैन्य अड्डामा बम र मिसाइल आक्रमण मात्र भएका छैनन्, गैरसैनिक आवासीय इलाकामा समेत रूसी हवाई आक्रमणहरू भइरहेको खबर छ । घाइते र आन्तरिक विस्थापितको संख्या गणनामा आइसकेको छैन ।

सम्भावित परिणाम

युक्रेन युद्धको अन्त्य कहिले र कसरी हुन्छ, त्यसले कस्तो विश्व परिणाम ल्याउँछ, युक्रेन युद्धपछिको शक्ति-सन्तुलन र विश्व व्यवस्था कस्तो हुन्छ, अनुमान गर्न गाह्रो छ । तथापि यसका सम्भावित चारवटा परिणाम हुन सक्दछन् ।

एक- युद्ध रूसले जित्नेछ । यसो भए युक्रेन रूसमा गाभिनेछ । रूस फेरि नयाँ शक्ति राष्ट्रका रूपमा गणना हुन थाल्नेछ । रूसले पूर्व सोभियत गणराज्यहरूलाई रूसमा गाभ्ने प्रक्रिया तीव्र पार्नेछ । नयाँ प्रकारले सोभियत संघको पुनरोदय हुनेछ । अमेरिका र चीनको प्रतिस्पर्धामा दोस्रो शीतयुद्ध सुरुवात भएको विश्लेषण गलत सावित हुनेछ । रूस चीनभन्दा बढी शक्तिशाली हुने र पहिलो शीतयुद्धको परिस्थिति दोहोरिनेछ ।

दुई- युक्रेन र रूसबीच कुनै शान्तिपूर्ण हल निस्कनेछ । युक्रेनले केही गुमाउनुपर्नेछ, तर उसको सार्वभौमसत्ता अन्त्य हुनेछैन । युक्रेनले युरोप र नेटोतिरको आफ्नो निकटता छोड्ने र रूसतिरको निकटता बढाउने कुरामा रूसलाई विश्वस्त तुल्याउनेछ ।

तीन- युक्रेन युद्ध लम्बिंदै जाँदा अरू पश्चिमा राष्ट्र तथा रूस विरोधी देशहरू एक र युद्धमा सामेल हुँदै जानेछन् । यसो भए रूस-चीनको एउटा धुरी र बाँकी विश्वको अर्को धुरी भएर विश्व तेस्रो विश्वयुद्धमा सामेल हुनेछ । तेस्रो विश्वयुद्ध कति समय चल्छ र त्यसको अन्तिम परिणाम कस्तो आउँछ भन्न सकिन्न, तर यदि विश्वयुद्ध भएमा रूस-चीन धुरीको हार हुन सक्ने बलियो सम्भावना रहन्छ ।

चार- पुटिनले परिस्थितिको गम्भीरतालाई विश्लेषण गर्दै रूसलाई युक्रेन युद्धबाट फिर्ता गर्न सक्नेछन् । वा युद्ध लम्बिंदै जाँदा रूसमा पुटिन र युद्ध विरोधी भावना बढ्दै जानेछ र पुटिनको पतन भई नयाँ आउने रूसी नेताले रूसलाई युक्रेन युद्धबाट फिर्ता गर्नेछ ।

हुनतः पाँचौं सम्भावनाको पनि चर्चा गर्न सकिन्छ, युक्रेनले युद्ध जित्नु तर त्यो रणनीतिक हिसाबले त्यति सम्भव देखिन्न । युक्रेनले रूसलाई एक्लै जित्न सायद सम्भव छैन, त्यसमा पश्चिमा शक्ति सामेल हुनैपर्छ, त्यसो भए स्थिति तेस्रो सम्भावनामै पुग्दछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?