+
+

डोटीमा सत्ता गठबन्धनमा जुटेन सहमति, केन्द्रलाई जिम्मा !

रामहरि ओझा रामहरि ओझा
२०७९ वैशाख ५ गते १७:२२

५ वैशाख, डोटी । डोटीमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले चुनावी तालमेलबारे सहमति जुटाउन सकेन । नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रवहादुर सिंहले जिल्लास्तरमा सहमति हुने सम्भावना नदेखिएको बताए ।

‘हामीले हाम्रो तहबाट गर्न सक्ने प्रयास गर्‍यौं, तर सहमति जुट्न सकेन’ सभापति सिंहले भने, ‘अब जिल्लामा गठबन्धन दलहरुबीच बैठक बस्नुको कुनै अर्थ देखिएन, त्यसैले दलहरुबाट जे जे दावी आएको छ, केन्द्रमै पठाएका छौं ।’

केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था नदेखिएको सिंह वताउँछन् । उनले भने ‘माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका कुनै पनि हालतमा नछोड्ने भन्ने अडान राख्यो, हामीले पनि नगर त छोड्न सकिदैन भन्यौं, सहमति जुटेन ।’ यसअघिको निर्वाचनमा दिपायल सिलगढी नगरपालिका एमालेले जितेको थियो ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका वडाहरुमा पनि माओवादी र एकीकृत समाजवादीले धेरै ठाउँमा दावी गरेको सिंहले वताए । ‘सामान्यतया सत्ता गठवन्धनभित्रका जुन दलले जुन वडा जितेको छ, सो वडा सोही दललाई दिने भन्ने हो’ सभापति सिंहले भने ‘तर उहाँहरुले कांग्रेसले जितेका धेरै वडाहरुमा दावी गर्नु भयो, यसकारण पनि सहमति जुट्न सकेन ।’

‘अव हाम्रो लेबलबाट त सहमति होला जस्तो छैन’ सिंह भन्छन् ‘केन्द्रबाट छुट्टै केही निर्देशन आएपछि मात्रै हो ।’

कांग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण सहमति जुट्न नसकेको नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्का बताउँछन् । ‘दिपायल सिलगढी नगरपालिकाको प्रमुख कांग्रेसले पनि नछोड्ने, माओवादीले पनि नछोड्ने’ नगरपालिकाका उपप्रमुख समेत रहेका खड्का भन्छन् ‘उहाँहरुको आ–आफ्नै अडानले सहमति जुट्न सकेन ।’ यदि दिपायल सिलगढी नगरपालिकाको विषयमा सहमति जुटे अरु स्थानीय तहमा त्यति समस्या नहुने खड्काको भनाइ छ ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जिल्लाका नौ पालिकामध्ये दुई नगरपालिका सहित सात पालिका र ४५ वडामा दाबी गरेको छ । यस्तै, माओवादी केन्द्रले एक नगरपालिका सहित चार पालिका र ३४ वडा दावी गरेको छ । एकीकृत समाजवादीले दुई पालिका र १६ वडा मागेको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीले हाल आफ्नो नेतृत्वमा रहेको पूर्वीचौकी गाउँपालिका कांग्रेसलाई छोड्ने संकेत गरेको छ । सात वडा रहेको पूर्वीचौकीमा गत निर्वाचनमा कांग्रेसले पाँच वडा जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले बाजी मारेको थियो ।

कांग्रेसभित्रको असन्तुष्टिले उक्त पालिका एमालेको पोल्टामा परेको थियो । कांग्रेसभित्रको असन्तुष्टि कायमै रहेको बुझेरै समाजवादीले आफ्नो दाबी छोडेको र अन्य दुई पालिकामा दावी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो दावी पेश गरेको छ ।

गठबन्धन दलहरुबीच सहमति हुन नसके जहाँ जससंग सहमति हुन्छ, उसैसंग तालमेल गरेर जानु पर्ने अवस्था आउने खड्काले जानकारी दिए ।

यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये कांग्रेसले तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हासिल गरेको थियो ।

एमालेले जितेका पाँच स्थानीय तहहरुमध्ये पूर्वीचौंकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । यस आधारमा सत्ता गठवन्धनका मुख्य दलहरु कांग्रेससंग तीन, माओवादीसंग एक र एकीकृत समाजबादीसंग एक स्थानीय तहको नेतृत्व छ ।

यस्तै जिल्लाका ६५ वडामध्ये कांग्रेसले वडाध्यक्ष जितेका ३२ र माओवादी केन्द्रले जितेका चार छन् । एमालेबाट जितेका एक वडाध्यक्षले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन् । बाँकी २८ वडाको नेतृत्व एमालेको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?