+
+

समलिंगी पिरती र लिभिङ टुगेदर

सुमित्रा लुइँटेल सुमित्रा लुइँटेल
२०७९ वैशाख ६ गते १८:४३

६ वैशाख, काठमाडौं । समलिंगी सम्बन्धलाई अझै पनि समाजले सहर्ष स्वीकार गरिसकेको छैन । समान लिंगबीच हुने शारीरिक आकर्षण, भावनात्मक निकटता र दाम्पत्य सम्बन्धमाथि दुनियाँले बक्रदृष्टि लगाउने गर्छ । त्यसैले समलिंगीहरु आफैलाई लुकाएर अनि खुम्च्याएर बस्न बाध्य छन् ।

आफ्नो सम्बन्धलाई स्थापित गर्नका लागि उनीहरुले घरभित्रै लड्नुपरेको छ । समाजसँग लड्नुपरेको छ । राज्यसँग लड्नुपरेको छ । । यद्यपि यावत् प्रतिकूलतालाई छिचोल्दै उनीहरु आफ्नो मर्जीको जीवन बाँच्ने यत्नमा छन् । यो त्यस्तै प्रतिनिधि कथा हो ।

कथा सुरु गरौं, राजकुमारी चौधरी र कृति कुश्मीबाट । दुवै लिभिङ टुगेदरमा छिन् । ११ वर्ष बित्यो, उनीहरुले एउटै भान्सा र एउटै ओछ्यान साझेदार गरेको । राजकुमारी र कृति न अलग हुन सक्छन्, न आफ्नो सम्बन्धलाई वैधानिकता दिन नै ।

जन्मिंदा राजकुमारी छोरी थिए । तर हुर्कंदै जाँदा उनको हाउभाउ, स्वभाव, बानीव्यवहार छोराको जस्तै हुन थाल्यो । जब आफू छोरी नभई छोरा हुँ भन्ने महसुस भयो, तब राजकुमारीले आफ्नो स्त्रीलिंगी नाम हटाएर ‘राज’ राखे ।

राजकै गाउँकी हुन्, कृति पनि । तर दुवैबीच खास चिनापर्ची थिएन । एसएलसी सकाएर कृति स्टाफ नर्स पढ्न महेन्द्रनगर गइन् । तर प्रवेश परीक्षामा उत्तीर्ण भइनन् । गाउँ फर्कंदा राजसँग उनको भेटघाट भयो । भेटघाट बाक्लिंदै जाँदा उनीहरुबीच अव्यक्त पिरती बस्यो ।

स्टाफ नर्स अध्ययनकै मेलोमेसो मिलाउन कृति धनगढी गइन् । कामको सिलसिलामा राज त्यहीं बस्थे । भौगोलिक निकटताले उनीहरुलाई अरु नजिक बनायो । दुवैले एकअर्कालाई खुलेर प्रेम गर्न थाले । आफूहरुको सम्बन्धलाई न उनीहरुले लुकाउन सके, न दबाउन नै । तर घरपरिवारले उनीहरुको सम्बन्धलाई सहज रुपमा लिन सकेन ।

आवरणमा दुवै महिला हुन् । ‘केटी-केटी यसरी बस्नु हुँदैन भनेर घरपरिवार, इष्टमित्रबाट दबाब आउँछ । तर उनीहरु भन्छन्, ‘हामी यसरी नै बस्दा खुसी छौं । हामीलाई आफ्नो जीवन खुसीसाथ बाँच्ने हक छैन र ?’

कृतिको परिवारले उनलाई अरु नै छोरा मान्छेसँग विवाह गराउन चाहन्छ । तर कृतिलाई परिवारको कुरा मञ्जुर छैन । उनी भन्छिन्, ‘११ वर्षसम्मको सम्बन्धलाई कहाँ त्याग्न सकिन्छ ? हामीलाई कसले बुझिदिने ?’

अघोषित रुपमै उनीहरु एकअर्काका भइसकेका छन् । दुवैले घरजम गरेका छन् । धनगढीमा घर बनाएका छन् । तर चिनेजानेका, गाउँ-समाजले उनीहरुसँग सहर्ष व्यवहार गर्दैन । टर्रो बोलीव्यवहार गर्छन् । हेप्छन् । हियाउँछन् । ‘केटा नपाएर केटीसँगै बसेको छ’ भनेर गाउँलेहरु नाक खुच्याउँछन् ।

‘हामी एकअर्काका भइसकेका छौं, एकसाथ बस्छौं, एकसाथ बाँच्छौं,’ कृति भन्छिन्, ‘तर हामीबीच दम्पतीकै सम्बन्ध रहेपनि नाता प्रमाणीकरण हुँदैन ।’

अर्का पात्र हुन्, धनगढीका आशिष राना र लक्ष्मी महत । उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको चार वर्ष बित्यो । उनीहरु आफ्नो सम्बन्धलाई यत्तिमै बिट मार्न सक्दैनन् । न त, अगाडि बढाउन नै । यथास्थितिमै सम्बन्ध कहिलेसम्म कायम राख्ने ? उनीहरुसँग जवाफ छैन ।

लक्ष्मी पढ्ने विद्यालय नजिक आशिष एउटा पसलमा काम गर्थे । देखभेट भइरहँदा उनीहरुबीच भावनात्मक निकटता बढ्यो । दुवैले एकअर्कालाई रुचाए । र, भित्रभित्रै प्रेम गर्न थाले । उनीहरु लुकीछिपी भेट्थे, मायाका कुरा गर्थे । तर यसरी सधैं कहाँ धीत मर्छ र ? वर्षदिनपछि उनीहरु एकसाथ बस्ने निर्णयमा पुगे ।

आफूहरुको मन र भावना मिल्ने भएकाले एकसाथ बस्न सहज हुने उनीहरु बताउँछन् । ‘तर घरपरिवार अनि समाजले हामीलाई स्वीकार्दैन,’ आशिष भन्छन्, ‘सबैले हाम्रो सम्बन्धलाई सहज रुपमा लिने हो भने कति राम्रो हुन्थ्यो होला ।’

समाज भन्दा पनि परिवारले आफ्नो सम्बन्धलाई नबुझेको आशिष बताउँछन् । ‘कहिलेकाहीं काम विशेषले घर जाँदा दाइ-भाउजूले जिस्काउँछन् । नागरिकता पनि घरमै राखेका छन्,’ आशिष भन्छन्, ‘कतिपय ठाउँमा नागरिकता आवश्यक हुन्छ, तर परिवारले नागरिकता नै दिंदैन ।’

आशिष र लक्ष्मी दुवै मिस्त्री हुन्, घर निर्माणको काम गर्छन् । त्यही कामबाट उनीहरुको गुजारा चलेको छ । ‘समलिंगी जोडीलाई परिवार र समाजले राम्रो व्यवहार गर्दैन,’ आशिष भन्छन्, ‘राज्य पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समूहको हितको लागि नीति नियम बनाएको छैन ।’

कञ्चनपुरका सुमन भुजेल र मञ्जु सुनार (नाम परिवर्तन) पनि लिभिङ टुगेदरमा बसेको एक वर्ष भयो । सुमन र मञ्जु एउटै कार्यालयमा काम गर्थे । त्यहीं उनीहरूको चिनजान भयो । चिनजान भएको दुई वर्षपछि मात्र उनीहरू एकअर्काप्रति आकर्षित भए र उनीहरूले आफ्नो भावना साटासाट गरे । पाँच वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरूले लिभिङ टुगेदरमा बस्ने निर्णय लिए ।

यो समलिंगी जोडीलाई भने परिवारले स्विकारेको छ । परिवारले नै साथ र समर्थन गरेपछि समाजसँग पनि लड्ने हिम्मत प्राप्त हुने सन्दीप बताउँछन् । ‘लिभिङ टुगेदरमा बसेर एकअर्कालाई बुझ्ने मौका पाएका छौं । कुनै समस्या परेको खण्डमा दुवै मिलेर समस्याको समाधान गर्छौं ।’

परिवारले स्वीकारे पनि समाजले स्वीकार्न त केही वर्ष अझै लाग्न सक्ने सुमन बताउँछन् । ‘अहिलेसम्म कसैले अगाडि त नराम्रो भनेका छैनन्, तर पछाडि त कुरा काटिहाल्छन् नि ।’

सुमन र मञ्जु दुवै जना कोशिश नेपाल तथा मितिनी नेपालमा कार्यरत छन् । सरकारी काम गर्ने बेलामा भने केही समस्या खेप्नु परेको उनीहरू सुनाउँछन् । त्यसैले सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि केही व्यवस्था गर्नुपर्ने सुमनको तर्क छ ।

परिवारले नै समलिंगी सम्बन्धलाई नस्वीकार्दा समाजले पनि यसलाई सहजै स्वीकार्न सकेको छैन । राज्यले पनि समलिंगी विवाहलाई मान्यता दिएको छैन, नाता प्रमाणीकरण पनि हुँदैन । जसले गर्दा समलिंगी जोडी लिभिङ टुगेदरमा बस्न बाध्य छन् ।

‘समलिंगी विवाहलाई कानुनी मान्यता दिन पहल गरिरहेका छौं’

भूमिका श्रेष्ठ, अधिकारकर्मी

अहिलेको परिप्रेक्ष्यमा हाम्रो समाजमा समलिंगी विवाहलाई लिएर सकारात्मक र नकारात्मक दुई पक्ष छन् । घरपरिवार समाजले देख्दै आएको बुझ्दै आएको विवाह भनेको महिला पुरुषको बीचमा मात्र हुन्छ भन्ने अवधारणा छ । यो अवधारणा अनुसार केटाकेटा र केटीकेटी सँगै बस्दा वा विवाह गर्दा नकारात्मक कुरा आउँछन् ।

समलिंगी विवाहले समाजमा नकारात्मक असर पर्छ, वंश नाश हुन्छ भन्ने धारणा व्याप्त छ । जसका कारण समलिंगी जोडी आफ्नो सम्बन्ध लुकाउन बाध्य छन् । समलिंगी विवाहलाई मान्यता दिनुपर्छ भन्ने विषयमा हामीहरुले पहल गरिरहेका छौं ।

कानुन परिमार्जनका लागि समाजको सोच पनि परिवर्तन हुन जरुरी छ । नाता प्रमाणीकरण, बच्चा एडप्ट गर्ने सबै कुरामा कानुन बनेको खण्डमा मात्र समलिंगी विवाहले सही रुपमा मान्यता पाउन सक्छ ।

मानव अधिकारको दृष्टिकोणले हेर्दा आफ्नो इच्छा अनुसार जीवनसाथी रोज्न पाउने अधिकार हरेक व्यक्तिमा हुन्छ । यसका लागि समलिंगी विवाहले पनि कानुनी मान्यता पाउनु जरुरी छ । त्यसका लागि प्रक्रिया अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?