+
+

अरुभन्दा फरक ललितपुर नगर प्रहरी

अमृत चिमरिया अमृत चिमरिया
२०७९ वैशाख ७ गते १३:३०

७ वैशाख, काठमाडौं । फुटपाथमा आतंक मच्चाउँदै साना व्यवसायीको सामान खोस्ने, पार्किङबाट सवारी उठाउने, घुस असुल्ने जस्ता कृत्यका कारण शहरहरुमा नगर प्रहरीको छवि राम्रो छैन । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाकै नगर प्रहरीको कार्यशैली सधैं आलोचित रहँदै आएको छ । ललितपुर नगर प्रहरीले भने भिन्न अभ्यासबाट फरक छवि बनाएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जन चुस्त र व्यवस्थित सेवा दिएर नगर प्रहरीको नकारात्मक छवि सुधार्ने प्रयास ललितपुरले गरेको बताउँछन् । यहाँको अभ्यास ‘सेयर’ गर्न विभिन्न नगरपालिकाले आग्रह गरिरहेको उनले सुनाए । ‘पछिल्लो समय नगर प्रहरीको उपस्थितिलाई सहरवासीले रुचाउनुभएको छ,’ उनले भने, ‘यसलाई अझ चुस्त पार्न हामीलाई पनि प्रोत्साहन मिलेको छ । यहाँ भएको राम्रो कामको सिको गर्न अरु पालिकाहरुले पनि चाहेका छन् ।’

पूर्वसचिव किशोर थापा ललितपुर महानगर प्रहरीको काम प्रशंसनीय भएको बताउँछन् । ‘ललितपुरमा काठमाडौं महानगरपालिकामा भन्दा कम नगर प्रहरी भए पनि कामले उदाहरणीय बनेका छन्’ उनी भन्छन् ।

काम गर्ने काइदा

ललितपुर नगर प्रहरी बल प्रमुखमा २०७७ भदौ १४ गतेदेखि पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु नियुक्त भएका थिए । ट्राफिक प्रहरीमा पनि प्रभावकारी कार्यशैलीका कारण चर्चित रहेका उनले नेतृत्व सम्हाल्नुअघि ललितपुर नगर प्रहरीको छवि पनि काठमाडौं महानगरकै जस्तो थियो ।

१८ महिनाको अवधिमा आइपुग्दा उनले नगर प्रहरीको छवि नै बदलेका छन् । हाछेथुले ललितपुरका सडकहरुका फुटपाथमा रोजीरोटीका लागि व्यापार गर्नेहरुलाई साँझ र बिहानको निश्चित समय तोकिदिएर काठमाडौंमा जस्तो नलखेट्ने नीति कार्यान्वयन गरेका छन् । ललितपुर नगर प्रहरीले फुटपाथमा पैदलयात्रुलाई सहज हुने वा कम असहज हुने गरी बस्न अनुरोध गर्ने गरेको छ ।

नगर प्रहरीका लागि छुट्टै मोबाइल एप्लिकेसन

नियमित गस्ती गर्नेदेखि समस्या परेको सूचना आए तुरुन्त पुग्नेसम्मको व्यवस्था नगर प्रहरीले गरेको छ । ‘नगर प्रहरीले कर्मचारीले जसरी काम गर्दा प्रभावकारी हुँदैन,’ हाछेथु भन्छन्, ‘नयाँ ढंगले काम गर्ने, जनतालाई परेको अप्ठेरो फुकाउने हो भने नगर प्रहरी नेपाल प्रहरीलेभन्दा प्रभावशाली सावित हुन्छ ।’

उनको अनुभवमा शहरमा असुविस्ता सिर्जना हुने मुख्य ठाउँ फुटपाथ हो । त्यसैले ललितपुर आएलगत्तै फुटपाथ व्यवस्थापन बढी ध्यान दिएको उनले बताए ।

सबै कामका लागि उनी मातहत १४ महिलासहित कुल ७८ जना मात्र नगर प्रहरी छन् । यही जनशक्तिबाट काम गर्न सबभन्दा पहिले उनीहरुको निजामतीको जस्तो व्यवहार बदलेको हाछेथु बताउँछन् । ‘पहिला निजामती कर्मचारी जस्तो बिदा बस्ने चलन रहेछ’, उनले भने, ‘म आएपछि हप्तामा एक दिन पालैपालो बिदा पाउने, तर अरु दिन घर नगएर क्वाटरमै बस्ने व्यवस्था मिलाएँ । यसबाट थोरै जनाले धेरै काम गर्न सकियो ।’

ललितपुर नगर प्रहरीलाई प्रभावकारी बनाउन छुट्टै मोबाइल एप्लिकेसन र नेपाल प्रहरीको जस्तै ‘कन्ट्रोल रुम’ बनाइएको छ ।

‘हामी फुटपाथ प्रहरी होइनौं, सिटी पुलिस हौं । त्यसैले, जनतालाई तर्साउने किसिमले लाठी बोकेर हिँड्न पनि छाडेका छौं’, उनी भन्छन्, ‘सम्मानजनक अवस्था गरेकाले डिग्री होल्डरहरु पनि नगर प्रहरीमा हुनुहुन्छ । कसरी जनसेवा गर्ने भन्नेमा हामी संवेदनशील छौं ।’

नगर प्रहरीलाई भ्रष्टीकरण हुन नदिएको उनको दाबी छ । ‘एक जना मात्रैले पनि घुस माग्ने, फुटपाथ व्यापारीसँग पैसा लिने, तरकारी फलफूल, रक्सी लिने गरेको पाइयो भने भन्नुस्, म जिम्मा लिन्छु’ उनी भन्छन् ।

सिताराम हाछेथु

धूमपान निषेधदेखि विपद् व्यवस्थापनसम्म

ललितपुर नगर प्रहरीले कुपण्डोलदेखि जाउलाखेलसम्मका सडक मेडियनमा विभिन्न सन्देश अंकित ढुंगाहरु राखेको छ । फुटपाथमा जथाभावी थुपारिएको निर्माण सामग्री हटाउने क्रममा भेटिएका चिल्ला ढुंगाहरुलाई सन्देशसहित सिंगारेर मेडियनमा राखिएको हो ।

नगर प्रहरीको अग्रसरतामा धूमपान निषेधित सार्वजनिक ठाउँ अनुगमन बढेको छ । नगर प्रहरीले जावलाखेल, लगनखेल, पुल्चोक र पाटन दरबार क्षेत्रमा धूमपान निरुत्साहन अभियान चलाएको छ ।

धूमपान र ऐतिहासिक पाटीपौवा, मन्दिरहरुमा भइरहेका व्यापार निरुत्साहन अभियानलाई प्रभावकारी बनाउन सबै नगर प्रहरीलाई नेपाल भाषा सिकाएको हाछेथुले बताए ।

ललितपुरमा विपद व्यवस्थापनका दमकल, एम्बुलेन्स, ब्रुमर, पानी ट्यांकर लगायत उपकरण पनि नगर प्रहरी मातहत सञ्चालनमा छ । आगलागी लगायत घटनाको जानकारी आउनासाथ नगर प्रहरी पनि घटनास्थलमा पुग्ने गरेको छ ।

जनप्रतिनिधिभन्दा अघि नगर प्रहरी !

नगर प्रहरीले चाहेजस्तो काम गर्न नसकेको, कार्ययोजनामा कतिपय जनप्रतिनिधिबाटै अवरोध भएको हाछेथु बताउँछन् ।

‘रक्सीको होर्डिङ बोर्ड हटाउँदा केही वडाध्यक्ष धेरै रिसाउनु भयो,’ उनले भने, ‘सहरै कुरुप हुने गरी पोलहरुमा टाँसिएका पोष्टर हटाउँदा पनि गुनासो आयो । कति वडाध्यक्षले त ‘मेरो वडामा छिर्दा सोधेर मात्रै छिर’ सम्म भन्नुभयो । आफूभन्दा अघि नगर प्रहरी जनताको घरदैलो पुगेकाले रिसाउनु भएजस्तो लाग्छ ।’

मेयर, धेरैजसो जनप्रतिनिधि र कर्मचारीबाट भने काममा राम्रो सहयोग भएको हाछेथुले बताए । ‘ललितपुरको नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग पनि काममा राम्रो समन्वय छ’ उनले भने ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?