+
+
स्थानीय तह निर्वाचन :

पोखरा महानगर : पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा

धनराजले जित निकाल्न गठबन्धनभित्रका मतदाता इमान्दार बन्नुपर्छ भने कृष्णले बिरासत जोगाउन एमाले एक ढिक्का हुनुपर्छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख १३ गते ७:५५

१३ वैशाख, पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्राङ्गणमा नेकपा एमाले र गठबन्धनका नेता, कार्यकर्ता बसेर गफिइरहेका थिए । नेकपा एमालेबाट मेयरका आकांक्षी तथा गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यका व्यावसायिक सारथी पुष्पज्योति ढुंगानाको खल्तीमा भएको कलमतिर इंगित गर्दै त्यहाँ ठट्टा चल्यो ।

‘एमालेको मुख्य प्रतिस्पर्धी कलम खल्तीमै बोकेर हिँड्नु्भएको छ त ?’ समूहबाट पुष्पज्योतिर व्यंग्य आयो । मनोनयनमा एमाले उम्मेदवार कृष्ण थापाको समर्थक बसेका पुष्पज्योतिले गठबन्धनतिर इंगित गर्दै भने, ‘अर्काले मसी भरिदिनुपर्ने कलम पनि के प्रतिस्पर्धी ?’

समूहमा हाँसो गुञ्जियो । फेरि कसैले बोल्यो, ‘त्यो कलममा त यसपालि एमालेकै कार्यकर्ताले पनि मसी भरिदिने हल्ला पो छ त !’ पुष्पज्योतिले मुस्कुराउँदै भने, ‘त्यस्तो कहाँ हुन्छ ।’

मुख्य निर्वाचन कार्यालय प्राङ्गणको यो किस्साजस्तै पोखरामा गठबन्धन र सत्तारुढमा यस्तै खालको चर्चा र चिन्ता छ । सत्ता गठबन्धनमा हिजो एमालेबाटै आएका धनराजले जिते पनि हारे पनि फाइदा एमालेलाई नै हुने हो कि भन्ने चर्चा र चिन्ता छाइरहेको छ । नेकपा एमालेलाई गठबन्धनका उम्मेदवार पूर्वएमालेकै नेता समाजवादीका धनराजको चुनाव चिहृन कलममा नेता, कार्यकर्ताले छाप लगाउने हुन् कि भन्ने डर छ ।

गएको स्थानीय तहको चुनावमा अहिलेका एकीकृत समाजवादीका उम्मेदवार धनराज पनि आकांक्षी थिए । गण्डकीका पूर्वसांसद तथा मेयर कृष्ण थापा पनि नेकपा एमालेबाट आकांक्षीबीच अन्तिमसम्म प्रतिस्पर्धामा थिए । तर, एमालेले टिकट मानबहादुर जिसीलाई दियो ।

धनराज एमालेको घोषणापत्र बनाउने र मेयरलाई जिताउने रणनीति बनाउने टिमभित्रै थिए । मेयर जिसीले चुनाव जिते । जिसीको कार्यकाल नसकिंदै नेकपा विवादले पार्टी नै विभाजन भयो र अहिले गठबन्धनबाट उम्मेदवार तिनै धनराज एमालेको टाउको दुखाइ बनेका छन् ।

एमालेबाट दीपक पौडेलले पोखराको मेयर पाएपछि कमजोर उम्मेदवार दिएको भन्दै पार्टीभित्रै ब्यापक असन्तुष्टि देखियो । त्यसमाथि उम्मेदवार पौडेलमाथि सुन चोरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो भाइरल नै गराइएपछि धनराजका लागि सहज जीत हुन सक्ने भन्दै एमालेभित्रै बहस चल्यो । अन्ततः एमालेले पौडेलबाट टिकट खोसेर पहिले सांसद उठ्न नमिल्ने भन्दै रोकिएका पात्र थापालाई टिकट थमायो र मनोनयन दर्ता गराएको छ ।

नेकपा एमालेका नेताहरूले सत्ता गठबन्धनको साथमा कलम चिहृन लिएर चुनावमा होमिएका पूर्वसहकर्मीलाई भनिरहेका छन्, ‘अर्काले मसी भरिदिएको कलमले इतिहास लेख्न सक्दैन ।’ अनि गठबन्धनका नेता कार्यकर्ता, पूर्वएमालेकै छत्रछायामा हुर्किएका एकीकृत समाजवादीका नेता कार्यकर्ताले यतिबेला पोखरामा भनिरहेका छन्, ‘गठबन्धन देखेर डगमगाएको सूर्य यसपालि पोखराबाट अस्ताउँछ ।’

केही समय सँगै मालेमा, २०५४ मै मेयर बनाउन सघाएका थिए धनराजले

उम्मेदवारी दर्ताका क्रममा कांग्रेस र माओवादी नेताहरूसँग धनराज आचार्य ।

एमाले उम्मेदवार कृष्ण थापा र समाजवादीका उम्मेदवार धनराज आचार्य एमालेमा हुँदा एउटै गुटमासमेत लागे । २०५४ सालमा पोखराको मेयरमा थापालाई टिकट दिलाउन धनराजले समेत भूमिका खेलेका थिए ।

‘उनीहरू एकदमै निकट सम्बन्ध त होइन तर नराम्रो पनि थिएन । २०५४ सालमा पोखराको टिकट थापालाई दिलाउन धनराजले पनि भूमिका खेलेका थिए, ‘ पूर्वमालेमा सँगै काम गरेका उनीहरू निकट एक नेताले भने, ‘पोखराको मेयर जितिसकेपछि कृष्ण थापा पनि रवीन्द्र अधिकारी, झलक सुवेदी, धनराज आचार्यहरुसँगै मालेमा लागे तर केही महिनामै फर्किहाले ।’

कास्कीको राजनीतिमा खगराज अधिकारी र रवीन्द्र अधिकारीबीच प्रतिस्पर्धा थियो । धनराज रवीन्द्र अधिकारीहरुसँग नजिक थिए भने थापा खगराज अधिकारीसँग । कृष्ण थापा अनेरास्ववियुको केन्द्रीय कमिटीमा हुँदा धनराज तत्कालीन गण्डकी अञ्चल अध्यक्ष थिए ।

राजनीतिक जीवनमा लामो समयदेखिको सहयात्रा र मित्रवत् सम्बन्ध राख्ने थापा र धनराजबीचको प्रतिस्पर्धालाई एमाले र गठबन्धन दुवैले निकै रोचक मानेका छन् भने उत्तिकै जोखिम पनि मानेका छन् ।

उम्मेदवारी दर्ता गराउँदा पनि दुई नेताले हात मिलाएर अंकमाल गरे र सँगै फोटो खिचाए । ‘जति उनीहरूबीच नजिकको सम्बन्ध भए पनि यो लडाइँ प्रतिष्ठाको लडाइँ हो । यो सिंगो गठबन्धन र एमाले विरासतबीचको लडाइँ हो’ एमालेका एक नेता भन्छन्, ‘धनराजलाई पूर्वएमाले भएका कारणमात्रै भोट आउँछ भन्ने छैन, कृष्ण थापालाई गठबन्धनले अनुशासित भए जित्छु भन्ने छैन ।’

यसपालिको चुनावमा हार्नलाई छुट नभएको धनराजले बताए । ‘पाँच वटा पार्टीको सहयोग र विश्वास पनि छ । जनताको विश्वास पनि छ । यो चुनाव हार्नको लागि होइन’ धनराजले भने, ‘यो संविधान पक्षधार र संविधान मास्नेबीचको प्रतिस्पर्धा हो ।’ एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले भने पहिलेभन्दा ठूलो मतान्तरले जित्ने दाबी गरे ।

अर्काको टिकट खोसेर थापालाई, भागबन्डाले दिलायो आचार्यलाई

प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवार हुन चाहेका कृष्ण थापालाई तब झड्का लाग्यो, जब एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सांसदलाई मेयर नबनाउने पार्टीको निर्णय सुनाए ।

उपमहासचिव पृथ्वीसुब्बा र संगठन विभाग प्रमुख खगराज अधिकारीको स्वार्थमा धुर्वीकृत कास्कीको राजनीतिमा थापाले मेयरको आश मारिसकेका थिए । पृथ्वीसुब्बाले षडयन्त्र गरेर आफूलाई रोकिएको उनको आरोप थियो । गत शनिबार एमाले सचिवालय बैठकले पोखरामा दीपक पौडेललाई मेयर र मञ्जुदेवी गुरुङलाई उपमेयर दिने निर्णय सुनाए ।

भोलिपल्ट बिहानदेखि नै पौडेलले सुन चोरेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । उपमेयर मञ्जुदेवी गुरुङले आफूभन्दा तल मर्यादाक्रममा रहेका पौडेललाई मेयर बनाएको भन्दै चुनाव लड्न अस्वीकार गरिन् । यो घटनासँगै एमालेले उम्मेदवार बारे फेरि छलफल थाल्यो । एमालेले मनानेयनको बिहान पौडेलको टिकट खोसेर थापालाई थमायो र उपमेयर मञ्जुदेवीले पनि चुनाव लड्न स्वीकार गरिन् । यसरी थापाले आफूबाट गुमिसकेको मेयरको टिकट पनि हात पार्न सफल भए ।

गठबन्धनका उम्मेदवार आचार्यलाई भने स्थानीय तहसम्मै गठबन्धन गरेर जाने दलहरूको निर्णयसँगै पोखरा समाजवादीले पाउने नेताहरूबाट वचन मिलेको थियो । समाजवादीका नेताले उनलाई टिकट दिनकै लागि नामै लिएर गठबन्धनको बैठकमा बार्गेनिङ गरेका थिए । तर, पोखरा एकीकृत समाजवादीलाई दिने निर्णयसँगै कांग्रेस विरोध जनाउँदै केन्द्रसम्मै पुग्यो । कास्कीमा तालाबन्दी गर्‍यो, गठबन्धन टुटेको निर्णयसमेत गरायो तर केन्द्रकै निर्णय भएकाले आचार्यले नै मनोनयन गराउन सफल भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा कृष्ण थापा उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङको साथमा ।

कांग्रेसबाट बागी, गठबन्धनमा र एमाले दुवैलाई अन्तर्घातकै डर

एकीकृत समाजवादीले मेयरको टिकट पाएसँगै कांग्रेसभित्र धेरै नेता कार्यकर्ता रुष्ट छन् । गठबन्धनका अन्य दलहरू अझै मिल्न सकिरहेका छैनन् । यस्तो बेला गठबन्धनका उम्मेदवारलाई एउटै चिन्ता छ, ‘कांग्रेसका बागी उम्मेदवार र गठबन्धनभित्रको अनुशासन ।’

कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस कास्कीका पूर्वसचिव नन्दुप्रसाद अधिकारी, पूर्वकोषाध्यक्ष ऋषि सापकोटा र  पोखराका पूर्व नगर सभापति विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

बागीले उम्मेदवारी फिर्ता लिएनन् र महानगरको सबैभन्दा दोस्रो ठूलो दलले अनुशासनपूर्वक मत हालिदिएन भने आचार्यलाई चुनाव जित्न फलामको चिउरा बन्ने छ ।

दीपक पौडेलले पाइसकेको टिकट खोसेर थापालाई दिइएपछि एक एमालेको समूह रुष्ट बनेको छ । यो समूहले काट्न सक्ने मत र पूर्व एमाले पृष्ठभूमिका आचार्यले पनि एमालेबाट मत तान्न सक्ने त्रास पनि छ

कास्कीमा सबैभन्दा ठूलो र बलियो पार्टी एमाले नै हो । अघिल्लो निर्वाचनमा कांग्रेसलाई एमालेले करिब १४ हजार मतान्तरले जितेको थियो । यसपालि गठबन्धनका सबै दलले भोट आचार्यलाई नै हाले भने जित सुनिश्चित हुन सक्छ । तर, गठबन्धनकै नेताहरू भन्छन्, ‘ठूलो पार्टीका कार्यकर्ताले केही प्रतिशतमात्र मत पनि बाहिर हाल्यो वा मतै हालेन भने सानो पार्टीको उम्मेदवारलाई सकस पर्ने छ ।’

पोखरामा अहिले दुई लाख ७७१२ पुगेका छन् । अघिल्लो निर्वाचनमा मेयर, उपमेयरसहित पोखराका ३३ वटा वडामध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसले जितेको छ । माओवादी र अरु साना दल निल छन् । पोखराका एमालेका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए । ५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले चुनाव जित्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् ।

मेयर कांग्रेसलाई सघाएर उपमेयरमामात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् । यसरी हेर्दा पछिल्लो थपिएका ३९ हजार ६ सय मतदाता निर्णायक बन्ने देखिन्छन् । २०७४ मा एक लाख ६८ हजार ६८ मतदाता थिए ।

योसँगै अटेरी अभियानका मेयर उम्मेदवार गनेस पौडेलप्रति पनि जनताको आकर्षण देखिएको छ । राप्रपा नेपालबाट पनि चर्चित उम्मेदवार शंकर खराल मेयरमा उठेका छन् । अन्य साना दलले पनि केही मत काट्न सक्छन् । ‘यस्तो अवस्थामा हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हो । तर, गठबन्धनको मतले नै हामीले करिब १५ हजार मतान्तरले चुनाव जित्छौं,’ धनराजको दाबी छ ।

यस्तै डर एमालेलाई पनि छ । एमालेलाई पार्टीभित्रैको अन्तर्घात र केही विवादले पनि डर थपिएको छ । मेयर कृष्ण थापा २०४९ सालमा पनि पोखराको मेयरमा आकांक्षी थिए । २०५४ सालमा चुनाव जितेर पोखराको मेयर बने । पोखराको मेयर बन्दा पनि उनको कार्यकाल विवादरहित भने थिएन । उनकै कार्यकालमा पोखरामा करिब ४ सय जना कर्मचारी भर्ती गरेका थिए । ढल व्यवस्थापन गर्ने भन्दै ढल फेवातालमा मिसाएको उनलाई आरोप छ ।

एकातिर बिग्रिएको महानगर, हुन नसकेको काम र अर्कोतर्फ एमालेभित्रै पनि असन्तुष्ट समूहका कारण पनि अन्तर्घातको डर एमालेलाई छ । दीपक पौडेलले पाइसकेको टिकट खोसेर थापालाई दिइएपछि एक समूह रुष्ट बनेको छ । यो समूहले काट्न सक्ने मत र पूर्व एमाले पृष्ठभूमिका आचार्यले पनि एमालेबाट मत तान्न सक्ने त्रास पनि छ ।

एमालेभित्र आचार्यसँग सौहार्द सम्बन्ध भएका पूर्वमालेका कार्यकर्ताको मत जान सक्ने अनुमान पनि गरिएको छ । तर मेयरका उम्मेदवार कृष्ण थापा भन्छन्, ‘पार्टीभित्र हिजो पनि स्वस्थ प्रतिस्पर्धा थियो । आज विविध कारणले केपी ओलीले फेरि मलाई नै टिकट दिनुभएको छ । म जितेर देखाउँछु । १५ हजार मतले जित्छु ।’

थापा र धनराजको राजनीतिक इतिहास

२०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापा त्योभन्दा अगाडिदेखि नै विद्यार्थी राजनीतिमा थिए । २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थापा त्यही साल जिल्ला कमिटी अध्यक्ष भएका थिए ।

२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजक थापाले २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए ।

२०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए ।

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष थिए ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भए । उनै निर्वाचित थापा यसपटक पोखराको मेयरका लागि पूर्व सहकर्मीसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

थापाका प्रतिस्पर्धी आचार्यको राजनीतिक जीवन पनि एमालेमै केन्द्रित छ । २०४४ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा सक्रिय भएका आचार्य २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बने ।

धनराज २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका थिए । स्ववियु सभापतिसँगै २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएर काम गरेका थिए ।

२०५२ सालमा उनी नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य भएका हुन् । पार्टी विभाजन भएपछि आचार्य २०५४ सालमा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए ।

२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख भएर काम गरे । योसँगै उनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिव पनि भए । एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भएर काम गरेका आचार्यले एमालेभित्र उद्योगी व्यवसायीकै तर्फबाट प्रतिनिधित्व गरिरहे ।

नेकपा विभाजनपछि समान्तर कमिटीको अध्यक्ष हुँदै एकीकृत समाजवादीको अध्यक्ष रहेका आचार्यले विभिन्न क्षेत्रमा व्यावसायिक लगानी गरेका छन् । जलविद्युतदेखि प्रकाशन गृहसम्म लगानी फैलाएर आचार्य लायन्स क्लबको अध्यक्ष भएर पनि नेटवर्क बढाएका थिए । उनले अहिले त्यही सम्बन्धलाई समेत प्रयोग गरेर जीत निकाल्ने दाबी गरिरहेका छन् ।

चुनावमा उपमेयरमा मञ्जु र कोपिला फ्याक्टर

उपमेयरकी उम्मेदवार एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाट ।

आफ्नो उपमेयरमा टुंगो लागेसँगै एमालेकी उपमेयर मञ्जुदेवी गुरुङले आफू फेरि दोहोरिन नचाहेको बताइन् । तर, दीपक पौडेलको टिकट खोसिएर कृष्ण थापाले पाएपछि उनै उपमेयर मञ्जुदेवीले चुनाव लड्ने स्वीकार गरिन् । थापा र मञ्जु एउटै खगराज समूहका हुन् । तर, दीपक पौडेल भने पृथ्वीसुब्बा गुटका हुन् ।

‘पहिले चुनावै लडिन् भन्ने उपमेयरले म लड्ने भए मेयरमै लड्छु भन्न पनि सक्नुभएन । ओलीको एक कलले फेरि मनोनयमा गएको बताउनुहुन्छ,’ एमालेका एक नेताले भने, ‘त्योभन्दा पनि ठूलो कुरा कास्कीमा गुठबन्दी मौलायो । यसले पार्टीलाई फाइदा गर्नेवाला छैन ।’ अघिल्लो दिन चुनावै नलड्ने भनेर भोलिपल्ट फेरि स्वीकार गर्ने मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीको मितिनी पनि हुन् ।

उपमेयर मञ्जुदेवीले राम्रो प्रशंसा कमाउन नसके पनि कार्यकालमा विवादित भने भइनन् तर उनको कारणले एमालेलाई थप आकर्षण भने नहुने नेताहरूको विश्लेषण छ । बरु उपमेयरलाई सुरुदेखि नै मेयरको दाबेदारको रुपमा हेरिएको थियो । तर, उनले आकांक्षा नै राखिनन् ।

नेपाली कांग्रेसबाट उपमेयरको टिकट पाएकी कोपिला रानाभाट पनि धेरै जनतामाझ भिजेकी र चिनिएकी उम्मेदवार होइनन् । कांग्रेसले नेपाली कांग्रेस पोखरा महानगर समिति सभापति सुरेन्द्र विजुक्छेलाई टिकट दिने केही दिन अघिदेखि नै पोखरामा चर्चा थियो । तर, मनोनयनको मध्य दिनमा कांग्रेसले कोपिलालाई उपमेयरको रुपमा उभ्याएको थियो ।

नेपाल महिल संघको अध्यक्ष हुँदै अहिले कांग्रेस गण्डकी प्रदेशको सहमहामन्त्री बनेकी कोपिला यसअघि पनि उपमेयरको आकांक्षी थिइन् । चुनावमा भुगोल र क्षेत्रले पनि प्रभाव पार्ने भएकाले मेयरका उम्मेदवार लेखनाथ क्षेत्रको हुँदा पोखरा क्षेत्रबाट उपमेयर बनाउने कसरत भएको थियो । तर, सभापति शेरबहादुर देउवाको निर्देशनमा कोपिलालाई नै उपमेयरको टिकट दिइएको एक नेताले बताए ।

पोखरा महानगरपालिकाको मेयर पदका लागि मेयर पदमा गठबन्धनको तर्फबाट धनराज आचार्य र नेकपा एमालेबाट कृष्ण थापासहित २४ जनाले उम्मेदवारी दिएका छन् । सोमबारको मनोनयनसँगै पोखरामो चुनावी सारगर्मी हृवात्तै बढेको छ । सत्तारुढ गठबन्धन र नेकपा एमाले बाजागाजासहित शक्ति प्रदर्शन गर्दै मनोनयन गर्न पुगेको थियो । साना दल पनि र्‍याली, बाजागाजासहित पुगेका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?