+
+

वीरगञ्जमा बदलिएको गणित, पुरानै प्रतिस्पर्धी

अहिले सरावगी र सिंह जुन पार्टीबाट मेयरको चुनाव लडेका छन्, त्यो भने दुबैको पहिलो रोजाइको दल होइन । स्थानीय चुनाव नजिकिएदेखि नै दुबै जना दल बदल्न चाहन्थे । अन्तिममा सरावगी जसपाबाट एमाले गए भने सिंह लोसपाबाट जसपा पुगेर मेयरको उम्मेदवार बने ।

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख १३ गते १४:०९

१३ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखका लागि निवर्तमान मेयर विजय सरावगीसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

मनोनयन १८ जनाको दर्ता भए पनि मुख्य प्रतिस्पर्धा दुई गठबन्धनका उम्मेदवारबीच हुने आकलन गरिएको छ । सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट एमालेका सरावगीबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

०७४ सालको स्थानीय चुनावमा पनि दुवै जना मेयरका प्रतिस्पर्धी थिए । सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा थिए भने सरावगी संघीय समाजवादी फोरममा । जसमा सरावगी निर्वाचित भए भने सिंह नेपाली कांग्रेसको उम्मेदवारपछि तेस्रो स्थानमा रहे ।

तर अहिले सरावगी र सिंह जुन पार्टीबाट मेयरको चुनाव लडेका छन्, त्यो भने दुबैको पहिलो रोजाइको दल होइन । स्थानीय चुनाव नजिकिएदेखि नै दुबै जना दल बदल्न चाहन्थे । जसपाबाट टिकट पाउने सम्भावना कमजोर भएपछि सरावगीले फेरि मेयरको टिकट पाउने गरी कांग्रेस प्रवेश गर्न चाहेका थिए ।

उनले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगनकुमार थापासम्मलाई भेटेर लबिइङ गरे । २०७४ को निर्वाचनमा मेयरमा कांग्रेस उम्मेदवार दुई सय भन्दा कम मतान्तरले पराजित भएका थिए । अहिले अरु दलमा टुटफुट आएका कारण कांग्रेस आफैं मेयर जित्नेमा ढुक्क भएकाले सरावगीलाई प्रवेश गराएन ।

सरावगी जस्तै मेयर बन्न चाहेका राजेशमान पनि बलियो पार्टीको खोजीमा थिए । किनकी जसपाबाट छुट्टिएर बनेको लोसपाबाट उम्मेदवार बन्दा जित्ज सहज छैन भन्ने उनको विश्लेषण थियो । २०७४ मा वीरगञ्जमा पाँचौं भएपनि पछिल्लो समय मधेश प्रदेशमा आक्रामक रुपमा पार्टी प्रवेश अभियान चलाएकाले उनले एमाले प्रवेश गर्न चाहे ।

कांग्रेसमा प्रवेश नपाएपछि सरावगी नेकपा एमाले प्रवेश गरे । तर वहालवाला मेयर नै प्रवेश गर्ने भएपछि एमालेले राजेशमानलाई वास्ता गरेन । अन्त्यमा राजेशमान जनता समाजवादी पार्टीतिर लागे ।

०७४ को जनमत र फेरिएको समीकरण

२०७४ को चुनावमा वीरगञ्जको मेयरमा सरावगी र राजेशमानको मतान्तर ७ हजार २२८ थियो । सरावगीले १९ हजार ३९३ मतका साथ जित निकाल्दा राजेशमानले १२ हजार १२६ मत पाएका थिए ।

जसपाका उम्मेदवार सिंहलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ भने एमालेका सरावगीलाई लोसपाका साथ छ ।

२०७४ सालको चुनावमा ८ हजार ७०१ मत ल्याएको फोरम लोकतान्त्रिक, कांग्रेसमा विलय भइसक्यो भने सरावगी र राजेशमान पनि झण्डै एक वर्ष एउटै पार्टी (जसपा) मा रहेर काम गरे । तर पार्टी एकता भए पनि फोरम र राजपाका समूह धेरै घुलमिल हुन सकेन ।

मेयरको उम्मेदवारमा राजेशमानलाई समर्थन गरेकोमा कांग्रेसमा असन्तुष्टि छ, त्यसैले कांग्रेसको सबै भोट उनले पाउनेमा आशंका छ । कांग्रेसमा जस्तै सरावगीलाई समर्थन गरेका लोसपामा पनि असन्तुष्टि छ । त्यस्तै २ भदौ २०७८ मा विभाजित भएको एकीकृत समाजवादीले पनि एमालेको भोट काट्न सक्छ ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीमा जिल्लाका पुराना नेताहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, चिरञ्जिवी आचार्य, बालगोपाल थापा गएका छन् । नेताहरु गएपनि जनमत यथावत रहेको एमालेको दाबी छ ।

सरावगी र राजेशमानको विगत

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगी छोटो समयमा राम्रो उपलब्धी हासिल गर्ने मध्येमा पर्दछन् । उनी २०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । २०७४ सालको स्थानीय निर्वाचन हुनुभन्दा ६ महिनाअघि तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका उनले टिकट मात्र पाएनन्, चुनाव नै जिते ।

कोरोना महमारीका बाबजुद आफूले वीरगञ्जमा विकासको जग बसाएको उनको दाबी छ । अझै एक कार्यकाल वीरगञ्जको सेवा गर्न आफू जनताको माझमा जान लागेको उनी बताउँछन् । चुनावी परिणामबारे सोधिएको प्रश्न उनले आफ्नो प्रतिस्पर्धी नै नभएको टिप्पणी गरे ।

राजेशमानले भने ०४३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा वीरगञ्जमा कांग्रेसबाटै वडा सदस्य जितेका उनी दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए ।

पछिल्लो दुई चुनाव हारेका उनी मधेश आन्दोलनमा सक्रिय भएपनि अवसरबाट वञ्चित नेताका रुपमा परिचित छन् । तर अवसरको खोजीमा दल बदल्दै हिँडेको र बाहुबलको राजनीति गरेको भन्दै उनको आलोचना हुने गरेको । राजेशमान सिंह भने आफूलाई पार्टीले योग्य ठानेर उम्मेदवार बनाएको बताउँछन् ।

नयाँ खेलाडीको प्रवेश

वीरगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पत्रकार तथा लेखक गिरीश गिरीलाई उम्मेदवार बनाएको छ । पूर्व मेयर गोपाल गिरीका छोरा गिरीश आफू राजनीतिमा नयाँ खेलाडी भएको बताउँछन् । ‘भर्खरै राजनीतिमा प्रवेश गरेको छु, महाभारतमा अर्जुनले चराको एउटा आँखा मात्रै देखेका थिए, मैले मेरो वीरगञ्ज सहरलाई कसरी राम्रो गर्न सक्छु भनेर मात्रै हेरेको छु’ उनले भने ।

गिरीशका बाबु गोपाल गिरीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफैं सक्रिय शासन गरेका बेला २०६० सालमा वीरगञ्जको नगर प्रमुखमा मनोनित भएका थिए । जसको ६ महिनापछि माओवादीले हत्या गरेको थियो ।

विश्लेषकहरु भने पाँच वर्षपछि पनि पुरानै उम्मेदवारहरु प्रतिस्पर्धामा आउनुलाई राम्रो मान्न नसकिने बताउँछन् । दलहरुले मतदातालाई उम्मेदवारमा नयाँ विकल्प पनि नदिने र ‘नो भोट’ को अधिकार पनि नदिनु गलत भएको टिप्पणी उनीहरुको छ ।

धनको बल र बाहुबल प्रदर्शन गरेर राजनीतिक दलहरुले असल र योग्य मान्छेलाई राजनीतिमा आउनै नसक्ने अवस्थामा पु¥याउनु चिन्ताको विषय भएको विश्लेषकहरु बताउँछन् ।

ठाकुरराम बहुमुखी क्यापसका सामाजिक शास्त्रका प्राध्यापक वीरेन्द्र साह राजनीतिमा आएपछि मृत्यु नभएसम्म पदमा रहनुपर्छ भन्ने मान्यताले राजनीतिमा नयाँ पुस्तामा वितृष्णा बढेको र त्यसैको उपज पुरानो अनुहार हावी देखिएको बताउँछन् ।

‘नो भोट राइट पनि छैन, पार्टीहरुले नयाँ उम्मेदवार पनि दिँदैन, अनि मतदाता पुरानै उम्मेदवारलाई मत दिन बाध्य छन्,’ उनले भने ‘यो दक्षिण एशियाली मुलुककै समस्या हो ।’

राजनीतिक विश्लेषक एवं पत्रकार चन्द्रकिशोर प्रश्न नगर्ने समाज, कमजोर नागरिक समाज र मिडिया अनि विगतमा मेयरमा पराजित उम्मेदवारको भूमिका सशक्त नहुँदा पुरानै अनुहार चुनावी मैदानमा देखिएको बताउँछन् ।

‘जो उम्मेदवार पुनः नगर प्रमुखमा दोहोरिन चाहन्छन्, उनलाई तपाईलाई किन मत दिने भनेर प्रश्न गर्न सक्नुपर्छ । अनि नयाँलाई तपाईँलाई नै किन रोज्ने भनेर प्रश्न गर्न सक्नुपर्छ’, उनले भने, ‘वीरगञ्जमा कस्तो मेयर ? कस्तो विकास ? विकास के हो ? बहस नै भएन । मिडिया र नागरिक समाज बोलेनन् ।’

गठबन्धप्रति कांग्रेस र माओवादी केन्द्र इमान्दार देखिए सिंहको पल्ला भारी हुने कतिपयको विश्लेषण छ । तर नगर प्रमुखका उम्मेदवार बनेका नेताहरुले नै दल अदलबदल गरेका कारण वीरगञ्जको गणित अनुमान गर्न सहन छैन ।

किनकी हिजो सरावगीलाई मेयर जिताउन लागेको जसपाले आज सिंहलाई उम्मेदवार बनाएको छ । सरावगीविरुद्ध सिंहलाई उम्मेदवार बनाएको लोसपा अहिले सरावगीलाई काँध दिइरहेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?