+
+

भरतपुर आएर फर्किए प्रचण्ड

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १३ गते १७:०३

१३ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर आएर फर्किएका छन् । भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएका हुन् ।

उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि आएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । ‘उहाँको पारिवारिक भेटघाट पनि हो, यहाँका नेता कार्यकर्तासँग भेटघाट र वस्तुस्थितिको बारेमा जानकारी लिन आउनुभएको हो’ संयोजक अधिकारीले भने ।

सत्तारुढ गठबन्धनले महानगरपालिकाका उम्मेदवार भागवण्डा गर्दा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवा माओवादी केन्द्रले पाएको छ । तर मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसका जिल्लास्तरका कतिपय नेताहरुले विरोध जनाएका छन् । केही नेताले स्वतन्त्र रुपमा उम्मेदवारी पनि दिएका छन् ।

यही विषयलाई लिएर प्रचण्ड चितवन आए पनि कांग्रेस नेताहरुसँग भेट भने गरेनन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रचण्डसँग भेटघाट नभएको तर फोन भने गरेको बताए ।

‘उहाँले फोन गर्नुभयो, अवस्थाका बारेमा जानकारी लिनुभयो, ५/६ घण्टाका लागि आएको भन्नुभयो’ सभापति खनालले भने, ‘३/४ दिनपछि आउँछु अनि बसेर कुराकानी गरौंला भन्नुभयो, मैले हुन्छ भनेँ ।’

चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट भरतपुर महानगरमा मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डसँग कुनै भेटघाट वा कुराकानी नभएको बताए । उनले भने, ‘सत्ता गठबन्धनका नेताहरुसँग कुराकानी भने भइरहेको छ तर मैले उम्मेदवारी फिर्ता लिन्न ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?