+
+

जुम्ली स्याउ–बगैंचा फुलेर ढकमक्क

रासस रासस
२०७९ वैशाख १७ गते १७:१०
फाइल तस्वीर ।

१७ वैशाख, खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ ।

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने, ‘जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’

उनका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ ।

इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गंगा पोखरेलले जानकारी दिए ।

अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् ।

अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।

पछिल्लो समय जिल्ला बाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समयमा यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए ।

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् ।

जुम्लाको कूल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालीले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षण भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?