+
+

बलिउडको १०९ वर्ष : साइलेन्ट फिल्मदेखि बिग बजेटसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १५:५८

काठमाडौं । भारतीय फिल्मले आगामी मंगलबार १०९ वर्ष पूरा गर्दैछ । ३ मे १९१३ मा ‘राजा हरिश्चन्द्र’बाट बलिउडको यात्रा सुरु भएको थियो । सन् १९१३ देखि १९३० सम्म ‘साइलेन्ट’ फिल्मको यात्रा रह्यो । दादा साहेब फाल्खेको ‘राजा हरिश्चन्द्र’ ‘साइलेन्ट’ फिल्म थियो । यो फिल्म छायांकन गर्न ७ महिना २१ दिन लागेको बताइन्छ ।

गोरेगाउँको कोरोनेसन थिएटरमा फिल्मको पहिलो शो देखाइएको थियो । यो फिल्मको लम्बाइ ५० मिनेट थियो । दत्तात्रेय दामोदर दाब्केले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए र उनी हिन्दी फिल्मका पहिलो नायक थिए । यसपछिका १७ वर्षमा १ हजार ३०० साइलेन्ट फिल्म बने ।

सन् १९३१ देखि हिन्दी फिल्ममा ध्वनिको प्रयोग सुरु भयो । १४ मार्च १९३१ मा पहिलो ध्वनि फिल्म ‘आलम आरा’लाई मुम्बईको म्याजेस्टिक हलमा देखाइएको थियो । यस फिल्ममा समावेश ‘दे दे खुदाके नाम पे’लाई हिन्दी फिल्मको पहिलो गीत मानिन्छ ।

हिन्दी फिल्ममा ध्वनिको प्रयोग भए पनि त्यसलाई ब्ल्याक एण्ड ह्वाइट मानिन्थ्यो । सन् १९३७ मा निर्देशक मोती जी गिदवानीले पहिलोपटक रंगीन फिल्म ‘किसान कन्या’ बनाए । सन् १९३५ पछि हिन्दी फिल्ममा राज कपुर, दिलीप कुमार, अशोक कुमार र देव आनन्दको इन्ट्री भइसकेको थियो । बिस्तारै यी स्टारप्रति दर्शकीय क्रेज पनि बढिरहेको थियो । देव आनन्दले पहिलोपटक सन् १९४६ को फिल्म ‘जिद्दी’बाट स्टारडमको मानक बसाले । सेतो कमिज र कालो कोटले देव आनन्दलाई लोकप्रिय बनाइदियो ।

सन् १९६६ मा राजेश खन्नाको प्रवेश भयो । राजेश खन्नालाई भारतीय फिल्मको पहिलो सुपरस्टार समेत मानिन्छ । सन् १९६७ देखि १९७१ सम्म राजेश खन्ना अभिनित १५ फिल्म ब्लकबस्टर रहे ।

राजेश खन्ना सफ्ट रोमान्टिक नायक रहे । सन् १९७० बाट एंग्री योङ म्यानको दौड सुरु भयो । सोले, दिवार र जञ्जीर जस्ता फिल्मबाट अमिताभ बच्चन पहिलो एंग्री योङ म्यान बने । भिलेनलाई गोद्नेदेखि गरिब वर्गको मसिहा बन्नेसम्मका अमिताभका पात्रलाई दर्शकले रुचाए ।

सन् १९८९ देखि भारतीय फिल्ममा प्रेमकथाको युग सुरु भयो । सलमान खान र भाग्यश्रीको ताजा जोडीले एक्सन फिल्मको दौडमा प्रेमकथाको सिलसिला सुरु गर्‍यो । ‘मैने प्यार किया’ले कमाइमा रेकर्ड राख्यो ।

सन् १९७० को समयमा जब रोमान्टिक फिल्मको ट्रेण्ड चलिरहेको थियो, त्यसपछि छोटा कथाहरुले बजार पिटे । बासु चटर्जी र ऋषिकेश मुखर्जीजस्ता निर्देशकले मिडल क्लास फिल्मको नयाँ ट्रेण्ड बसाले । सानो बजेट, सानो सेट र सीधा-सीधा कथाका फिल्मलाई दर्शकले रुचाए ।

सन् २००० यता हिन्दी फिल्मले बजेट र कथावस्तुमा नयाँ घुम्ती समात्यो । १०-१५ करोड भारुमा निर्माण हुने फिल्मको समयमा भव्य बजेटमा निर्माण हुने फिल्मले स्थान लिन थाले । सन् २००० मा रिलिज भएको अजय देवगणको फिल्म ‘राजु चाचा’को बजेट २५ करोड थियो । तर यसले ८ करोड मात्र कमाउन सक्यो ।

आमिर खानको ‘लगान’को बजेट ६५ करोड भारु थियो । समय बदलिएसँगै लागत पनि बढ्दै गयो । फिल्म ‘८३’को बजेट २०० करोड थियो । टाइगर जिन्दा हे, ब्याङ ब्याङ, वार, तान्हाजी, दिलवाले, पद्मावत, सूर्यवंशी जस्ता फिल्मको बजेट १५० देखि ३०० करोड रह्यो । आमिर खानको दंगल २ हजार करोड भारु कमाउने पहिलो फिल्म बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?