+
+

काठमाडौंवासी ठूला दलबाट वाक्क भइसके : समीक्षा बास्कोटा

गौरव पोखरेल गौरव पोखरेल
२०७९ वैशाख २० गते ७:४५

२० वैशाख, काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापाले नेकपा एमाले र नेपाली कांग्रेसपछि सबभन्दा धेरै मत ल्याए । त्यही उत्साहमा दुई पार्टीबीच एकता पनि भयो ।

५ वर्षपछि निर्वाचन आउँदा विवेकशील साझा पार्टीले फुट एकताका धेरै आरोह अवरोह पार गरेको छ । विवेकशील साझाको पक्षमा अघिल्लो निर्वाचनमा जस्तो माहोल पनि देखिएको छैन । तर काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटा भन्छिन्, ‘मतदाताले २०७४ सालमै पनि हामीलाई विश्वास गर्नुभएको हो, यसपटक जिताउनु हुन्छ भन्नेमा ढुक्क छु ।’

कांग्रेस र कम्युनिष्ट दुबैले गरेका बाचा र आफूहरुको मतलाई तराजुमा राखेर जोख्न उनले आग्रह गरिन् । ‘अहिलेको प्रश्न भनेको भ्रष्टाचाररहित समाज बनाउने कि नबनाउने भन्ने हो, महिला हिंसाविरुद्धको समाज, महिलाविरुद्ध हुने हिंसाका लागि आवाज उठाउने समाज बनाउने कि नबनाउने भन्ने हो,’ बाँस्कोटा भन्छिन्, ‘त्यसका लागि पनि मतदाताले हामीलाई मतदान गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

प्रस्तुत छ, आसन्न निर्वाचनका सन्दर्भमा काठमाडौंका मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौंको मेयरका लागि ५० जनाले उम्मेदवारी दिएका छन्, मतदाताले तपाईंलाई नै किन रोज्ने ?

सहरमा के-के समस्या छ भन्ने सबैलाई थाहा छ । महानगरपालिकाको त्यो (मेयर) पदमा बसेर एउटा सक्षम व्यक्तिले काम गरिदिएको भए बेग्लै हुन्थ्यो । तर सक्षम व्यक्ति त्यो स्थानमा नपुग्दा काठमाडौंमा बस्न नै गाह्रो हुने परिस्थिति सिर्जना भएको छ ।

अव्यवस्थित भयो, जताततै भ्रष्टाचार छ, सार्वजनिक यातायात सुलभ र व्यवस्थित छैन । फोहोरमैला नउठ्ने समस्या छ । यो सबै समस्या हल गर्न काठमाडौं महानगरले सक्षम नेतृत्व पाउनुपर्छ, जसले इमान्दारिताको जगमा काम गरोस्, उत्कृष्टताको जगमा काम गरोस् भन्ने मेरो बुझाइ हो । त्यसका लागि व्यक्ति होइन, पद्धति पालना हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएकी हुँ ।

अहिलेसम्म मूलधारमा रहेका पार्टीबाट मेयर बनेकाहरुले के काम गरेनन्, जुन तपाईंको प्राथमिकता हो ?

अहिले सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो र मेरो पहिलो प्राथमिकता पनि भ्रष्टाचार नियन्त्रण हो ।

सेवा प्रवाह गर्न सकिरहेका छैनौं । सेवा प्रवाह र सुशासन मेरो प्राथमिकतामा पर्छ । वडालाई डिजिटलाइज्ड गर्ने योजना मेरो छ । कुनै काम गर्दा व्यक्तिले पैसा माग्ने प्रवृत्ति छ । डिजिटल भएपछि यो समस्या हल हुन्छ भन्ने लाग्छ ।

अर्को, महिला, वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित महानगर दिन जरुरी छ । अपांगता भएका व्यक्तिहरुलाई पनि सुलभ यातायातका लागि वातावरण मिलाइदिनुपर्छ । महिलामाथि हुने यौनजन्य दुर्व्यहार, हिंसामा शून्य सहनशीलता अपनाउने नीति छ । सार्वजनिक यातायातमा महिला, कर्मचारीहरु, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सार्वजनिक यातायातमा चढ्ने व्यवस्था गर्नेछौं ।

अर्को गर्नुपर्ने काम नेवाः संस्कृति कलाको पुनःजागरण हो, जसलाई ‘रिनेन्सस’ पनि भनिरहेका छौं । किनकी काठमाडौं कलाको शहर हो, यो शहरलाई फेरि पनि हामीले जीवन्त शहरी संग्रहालय बनाउनुपर्छ । खुला क्षेत्र, नदी, नालालाई संरक्षण गर्ने र खुला क्षेत्रको विस्तार गर्ने पनि हाम्रो प्राथमिकतामा पर्छ ।

शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने मुद्दा उठाएका छौं । वडा क्लिनिक सञ्चालन गर्ने भनेका छौं ।

काठमाडौंको एउटा मुख्य समस्या फोहोर व्यवस्थापन पनि हो । फोहोरलाई ऊर्जामा परिणत गर्ने योजना बनाएका छौं । कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याउने र त्यसलाई फरक-फरक प्रक्रियाबाट संकलन गरेर कुहिने फोहोरबाट जैविक मल र नकुहिने फोहोरबाट रिसाइकल गर्ने हाम्रो प्राथमिकतामा पर्छ ।

लामो समयदेखि एउटै पार्टीमा भोट हाल्ने मतदाता धेरै हुन्छन्, उनीहरुले तपाईं भन्ने गरेजस्तै किन ‘मत स्वीच’ गर्ने ?

तपाईंहरुले पटक-पटक आफ्नो मत स्वीच गर्नुभयो । अहिले कांग्रेसमा गर्नुभयो होला, कहिले कम्युनिष्टमा । एउटाले काम गरेन अर्को, अर्कोले काम गरेन अर्को गर्नुभयो होला । कहिलेसम्म इमान बिगि्रएको भ्रष्टाचारमा लिप्त व्यक्तिहरुमा आफ्नो तपाईं स्वीच गर्नुहुन्छ ? अब तपाईंले मत परिवर्तन गर्ने बेला आएको छ । त्यो भनेको सम्भावनाका लागि परिवर्तन, व्यवस्थित शहरका लागि परिवर्तन, फोहोर मैला व्यवस्थापनका लागि परिवर्तन गर्नुपर्ने भएको छ ।

महानगरवासीले अहिलेसम्म नेतृत्वलाई मर्मत मात्र गर्यौं, त्यसो गर्दा आफू दुःखी हुने नेतृत्व मात्र सुखी हुने प्रवृत्ति देखियो भन्ने बुझ्नु भएको छ । अब उहाँहरुले पुरानै पार्टीका उम्मेदवारलाई छान्ने होइन, कि आफ्नो मत नै परिवर्तन गर्नु हुन्छ ।

उहाँहरुले त्यसको संकेत पनि गर्नुभएको छ । २०७४ सालको स्थानीय र संघीय चुनावमा विवकेशील साझा पार्टीका उम्मेदवारहरुले पाएको मतले त्यही भन्छ ।

अति नै भएपछि काठमाडौंवासीले हामी कसैको भोट बैंक भएर बस्दैनौं, एउटा स्वतन्त्र नागरिक हौं भनेर मत परिवर्तन गर्नु भएको अनेकौं उदाहरण छन् । ठूला दलहरुले उहाँहरुलाई यसरी दलीय बागबण्डामा व्यतित गराइदिनु भयो कि उहाँहरु वाक्कदिक्क भइसक्नुभयो । एकातिर ठूला दलहरुप्रति वाक्क दिक्क भएको, काठमाडौंलाई व्यवस्थित गर्ने व्यक्ति आउँदै गर्दा महानगरवासी अब चाहिँ परिवर्तनको सम्वाहक बन्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । चुनावी अभियानका क्रममा घरदैलो गर्दा पनि त्यही पाएका छौं ।

वैकल्पिक शक्ति भनिएको विवेकशील साझामा पनि अन्य पार्टीमा जस्तै विवादहरु देखिए, विभाजन आयो । घरदैलोमा जाँदा मतदाताहरुले तपाईर्ंहरु पनि अरुभन्दा खासै फरक त हुनुहुँदो रहेनछ नि भनेर सोध्दैनन् ?

घरमा पाँच जना बसियो भने फरक-फरक धारणा आउँछ । विचारको विमती हुन्छ । हरेक संस्थामा पनि विभिन्न विचार हुन्छ । कहिले सहमति त कहिले असहमति पनि हुन्छ । राजनीतिक दलमा यस्तो विमती हुने भइहाल्यो, तर बहस छलफलबाट एउटा निष्कर्ष निकालिन्छ । त्यसैले विचारमा विमती हुनु ठूलो कुरा होइन ।

हामी वैकल्पिक राजनीति गर्न आएका हौं, भ्रष्टाचाररहित समाज बनाउन चाहन्छौं, त्यो लक्ष्यमा हामी चुकेका छैनौं । त्यो लक्ष्यका लागि हामी काम गरिरहेका छौं, अर्जुनदृष्टि त्यहीं हो । आम मतदाताले पनि तपाईंहरु अझै एकपटक ठाउँमा पुग्नुपर्छ, हामी तपाईंहरुलाई सहयोग गर्छौं भनिरहनु भएको छ ।

त्यसो भए, तपाईंलाई चुनाव जित्छु जस्तो लाग्छ ?

यति मत आउला भनेर त बस्दिनँ । किनकि, मैले अहिले नम्बर गनें र महानगरवासीले त्योभन्दा धेरै मत दिएर जिताइदिनुभयो भने त्यो उहाँहरुलाई अवमूल्यन गरेजस्तो हुन्छ । तर केमा विश्वस्त छु भने मैले ल्याउने मतले मलाई लक्ष्य नजिक पुर्याउँछ, लक्ष्य हासिल गर्न मद्दत गर्छ । मेरो लक्ष्य भनेको जित हो ।

तर २०७४ को निर्वाचनमा जस्तो तपाईंहरुको पार्टीको पक्षमा माहोल देखिएको छैन नि ?

यसपालि दुई तरिकाले अभियान चलाइरहेका छौं । एउटा, नागरिकहरुसँग दैनिक अन्तरक्रिया, भेटघाट र संयुक्त छलफलमा गरिरहेका छौं । अर्को, डिजिटल्ली पनि काम गरिरहेका छौं । अरुले पनि सदभाव राखेर विवेकशील साझाका उम्मेदवारलाई सहयोग गरिरहनुभएको छ । त्यसैले माहोल पनि हाम्रै पक्षमा छ ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?