+

बच्चाको दाँतलाई लिएर अभिभावक कति सचेत ?

२०७९ वैशाख  २१ गते १७:१७ २०७९ वैशाख २१ गते १७:१७
बच्चाको दाँतलाई लिएर अभिभावक कति सचेत ?

दाँतलाई शरीरको ऐना पनि भनिन्छ । दाँतले मुखको सौन्दर्यमा मुख्य भूमिका त खेल्छ नै, शरीरमा लाग्ने रोगको मुहान पनि यही बन्न सक्छ । त्यसैले दाँतको राम्ररी हेरचाह गर्न सके मात्र पनि ९० प्रतिशत रोगहरुबाट बच्न सकिन्छ ।

अन्य उमेरका व्यक्तिको तुलनामा अहिले बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन थालेको छ । यसको मुख्य कारण खानपान नै हो । अहिलेका बालबालिका घरमा बनेको खानेकुराभन्दा पनि जंक फुड, प्याकेट फुड र चकलेट बढी रुचाउँछन् । यस्ता खानेकुराले उनीहरुको स्वास्थ्यका साथै दाँतमा पनि समस्या निम्त्याएको छ ।

साधारणतया ६ महिनाबाट बच्चाको दाँत आउन सुरु हुन्छ । केही बच्चामा दाँत आउन सुरु गर्दागर्दै दाँत सड्न पनि सुरु भइसकेको हुन्छ । बालबालिकाको दाँतको विकास हुने क्रममा संक्रमण तथा सड्ने क्रम बढ्दै गएर दाँत नै झर्ने समयसम्म दाँतको टुक्रा मात्र बाँकी हुनसक्छ । यस्तै दाँतमा कीरा लाग्ने समस्या पनि बालबालिकामा देखिने मुख्य समस्या हो ।

६ महिनादेखि तीन वर्षको उमेरसम्म बालबालिकाको २० वटा दाँत आउँछ । ६ वर्षको उमेरपछि भने उनीहरूको स्थायी दाँत र बंगारा आउन थाल्छ र अगाडिको दाँत झर्न थाल्छ । ६ वर्ष उमेरदेखि १३ वर्ष उमेरसम्ममा बालबालिकाको अगाडिको दाँत झर्ने र बंगाराहरु पलाउने गर्छ ।

६ वर्षमा बच्चाको दाँत झर्‍यो र नयाँ पलायो, तर नयाँ पलाएको दाँत पनि एक वर्षभित्र फेरि कीरा लागेर झर्‍यो भने अब त्यो बच्चाको दाँत फेरि आउँदैन । त्यसैले बालबालिकाको दाँतको विषयमा अभिभावक सचेत हुनु जरुरी हुन्छ ।

अहिले अभिभावक प्रायः कामकाजी छन् । जसले गर्दा अभिभावकले बालबालिकाको दाँतको राम्ररी हेरचाह गर्न पाएका छैनन् । बच्चाको दाँतलाई धेरै हेरचाह गर्नुपर्दैन, उनीहरूको दाँत त झरेर गइहाल्छ भन्ने पनि धेरै अभिभावकको बुझाइ छ । तर यसरी बालबालिकाको दाँत त झरेर जान्छ किन हेरचाह गर्नु भनेर लापरबाही गर्दा दाँतकै कारण उनीहरूमा अन्य स्वास्थ्य समस्या पनि देखिन सक्छ ।

बालबालिकाको दाँत खराब हुने कारण

बच्चाको दाँत खराब हुने मुख्य कारण भनेको खानपान हो । खानेकुरा आफैंमा ब्रस पनि हो । खानाले शरीरलाई सफा गर्छ र मुखलाई पनि सफा गर्छ । तर हामीले अहिले खानपानमा नै ध्यान दिइरहेका छैनौं । बच्चालाई बजारमा पाइने प्याकेट फुड, जंक फुड, चिनीजन्य गुलियो पदार्थ बढी दिन्छौं । जसले बच्चाको दाँतलाई भयानक रूपले खराब गर्छ ।

दाँतको सरसफाइमा ध्यान नदिएर वा हेरचाह गर्न नजानेर पनि बच्चाको दाँत खराब भएको हुन्छ । बच्चाको दाँतलाई धेरै हेरचाह गर्नुपर्दैन, उनीहरूको दाँत त झरेर जान्छ भन्ने सोच पनि धेरै अभिभावकमा देखिन्छ । जसकारण पनि बालबालिकाको दाँतमा विभिन्न समस्या देखिएको छ ।

६ वर्षको उमेरपछि झरेको दाँत फेरि पलाउँदैन

६ वर्षको उमेरपछि कीराले खाएर वा अन्य कुनै कारणले बच्चाको दाँत झरेको छ भने त्यो दाँत फेरि पलाउँदैन । जुन ठाउँको दाँत झरेको छ त्यो ठाउँमा अन्य दाँत सर्ने गर्छ । बांगोटिंगो हुने जस्ता समस्या पनि देखिन सक्छ । त्यसैले दाँत झरेको ठाउँमा अर्को दाँत राख्नुपर्छ । बच्चा विकासको क्रममा रहेका छन् भने प्राकृतिक रूपमा नै दाँतको ग्याप मिलाउने ‘स्पेस मेन्टेन’ गरेर पनि दाँत मिलाउन सकिन्छ ।

मुखबाटै विभिन्न रोग निम्तिन सक्छन्

जन्मिनुअघि आमाको गर्भमा रहँदा बच्चा एउटा नाभीसँग जोडिएको हुन्छ । नाभीबाट नै उसले सबै खाना प्राप्त गर्छ । जन्मिसकेपछि भने सबै खानेकुरा मुखबाट नै शरीरसम्म पुग्छ । हामीले खाएको राम्रो नराम्रो कुरा सबै मुख हुँदै जाने भएकाले त्यसले मुखको स्वास्थ्यमा पनि असर गर्ने नै भयो । खानेकुरालाई राम्ररी चपाइएन भने त्यो पच्दैन, त्यसले पेट सम्बन्धी समस्या ल्याउन सक्छ । धेरै चिसो कुरा खायौं भने त्यसले घाँटी, फोक्सो र गिजामा असर गर्छ ।

दाँतका कारण अरू रोग लाग्नुका साथै अन्य रोगका कारण पनि दाँतमा समस्या देखा पर्छ । मधुमेह जस्तो किसिमको रोग लागेको छ भने दाँत र गिजाको समस्या देखिन सक्छ ।

यसरी गरौं बालबालिकाको दाँतको हेरचाह

जबदेखि बच्चाको दाँत पलाउन सुरु हुन्छ, त्यो बेलादेखि नै दाँतको हेरचाह गर्नुपर्ने हुन्छ । दुईवटा मात्र दाँत पलाएको छ भने ब्रस गर्न त मिल्दैन, तर सफा गर्न मिल्छ । बच्चाले दूध खाइसकेपछि कटनलाई पानीमा भिजाएर उनीहरूको दाँतलाई सफा गरिदिनुपर्छ ।

बच्चा दुई–तीन वर्षको छ भने आफैंले उनीहरूको हात समाएर नरम ब्रसको प्रयोग गरेर दिनमा दुईपटक ब्रस गर्दिनुपर्छ । तीन वर्षभन्दा माथिको बच्चा छ भने उनीहरूले ब्रस गरे कि गरेनन् भनेर निगरानी गर्नुपर्छ ।

बालबालिकालाई सकेसम्म प्राकृतिक चिज खुवाउनुपर्छ । जंक फुड र प्याकेट फुडभन्दा पनि घरमै बनेको खानेकुरा दिनुपर्छ ।

यदि हामीले एउटा स्याउ खायौं भने त्यसले दाँतलाई सफा गर्छ र बलियो पनि बनाउँछ । तर स्याउको ठाउँमा चकलेट खाँदा त्यसले दाँतलाई सडाउँछ । त्यसैले बालबालिकालाई फलफूल, हरियो सागपात र घरमा बनेका खानेकुरा बढी खान दिनुपर्छ ।

कम्तीमा पनि एक वर्षमा एकपटक बाल दन्तरोग विशेषज्ञको सल्लाह लिने र उनीहरूको सल्लाहअनुसार बच्चाको दाँतको हेरचाह गर्नुपर्छ ।

(ओरल म्याक्जिलोफेसियल सर्जन डा. घिमिरेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

दाँत बालबालिका
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?