+
+
समीक्षा :

छाइल : उपन्यास एक छायाँ अनेक

वसन्तराज पाध्याय (बझाङ) वसन्तराज पाध्याय (बझाङ)
२०७९ वैशाख २१ गते १८:४९

जेठ वैशाख छाइल बस्नु पीपल डालीको !

केही माया हाँसोको हुन्छ केही माया गालीको !!

नेपाल विविध भाषा एवं भाषिकाले सम्पन्न मुलुक हो। त्यसैमध्ये छाइल डोटेली शब्दावली हो, जसको अर्थ हुन्छ छायाँ। नेपालका तीन प्रशासकीय गौंडामध्ये डोटी गौंडा पनि महत्वपूर्ण मानिन्छ।यसै गौंडाको नामको राज्य पनि थियो, जसलाई डोटी गौंडा भन्ने गरिन्थ्यो।उही डोटी गौंडाको समग्र भाषा डोटेली भाषा–संस्कृति भनी पहिचान पाएको हो। यो पहिचान डोटी जिल्लाभित्रको मात्र होइन। समग्र तत्कालीन डोटीराज्य हालको सुदूरपश्चिम प्रदेश र कर्णालीका केही भूभाग समेत यही राज्यमा समेटिएका थिए।

यसै राज्यको भाषिकामा छाइल उपन्यास तत्कालीन समग्र डोटेली राज्यको छायाँ–प्रतिछायाँ बनाएर प्रस्तुत गरिएको छ।डोटेली युवा लेखक लोकराज भट्टले यसै परिवेशका तीनपुस्ते जीवनलाई अभावले अनवरत खेदिरहेको संघर्षको शाब्दिक चित्र सुन्दर ढङ्गले कोरेका छन्। प्रस्तुत उपन्यासमा एकातिर बालापनमा हुने बालबिज्याइँ समेटिएको छ भने अर्कोतिर सहर नजिकै हुँदा पनि सहरिया सुविधा नपाउँदा हुने अभावको पीडा पोखेका छन्। सुदूरपश्चिममा भोकमरी, गरिबी र अभाव मात्र नभएर कुरीति र कुसंस्कारका पहाडहरु समेत  पर्खिरहेका कुराहरु दर्शाइएको छ।

“मान्छे मरेपछि तेह्र दिन किरिया गर्दछन्।छोरी पर सर्नु भनेको आफ्नो किरिया आफैं गर्नुपर्ने रहेछ। दिदी धेरै दुब्लाइसकेकी थिई।” उपन्यासमा लेखिएका यी वाक्यांशले यो भूगोलको छाउपडी प्रथाको गहिराइ नापेका छन् भने “ठुटो र जुठो खानेले ठूलो सपना देख्नुहुँदैन” भन्दै जारी प्रथाको प्रतिनिधिमूलक केस्रा प्रस्तुत गरेका छन्। सुदूरपश्चिममा रहेको कुरीति जातीय विभेदको समाजमा पर्ने असरको चर्को विरोध गर्दै प्रतिछायाँ समेत देखाएका छन्।साथै धनीवर्गले गरिब वर्गलाई हेर्ने दृष्टिकोण र वर्गविभेद दर्शाउँदै धनी मान्छेहरु संवेदनाहीन हुन्छन् भन्ने दाबी पेश गर्दै “बूढो हुँदा पनि देशी साहूले खच्चरलाई भारी बोकाउन छोडेन” भन्ने शाब्दिक दृष्टान्त पेश गरेका छन्।

“खच्चर दारु खाएर काम गर्थे। मान्छे काम छाडेर दारु खान्थे।खच्चर दारु खाएर भारी बोक्दै कुटाइ खान्थे।मान्छेहरु दारु खाएर कामबाट फर्किएकी आफ्नी श्रीमतीलाई कुट्थे।” दारु खाने खच्चर र मान्छेमा यही फरक थियो भन्दै मदिराले समाजमा पारेको असर प्रभावको चाखलाग्दो पाराले क्रेसा-केस्रा केलाउने प्रयास छन्।विकासले जुर्मुराउन खोजेको गाउँले “दिनभरि बाटो काट्दै र साँझबिहान दुःख काट्दै” दुःखको व्यथा कोरेका उपन्यासकारले द्वन्द्वरत विकास र विनाशले तत्कालीन माओवादीको जनयुद्धको प्रभावले गाउँलेहरू आहत र द्वन्द्वबाट विस्थापित भएका कथा समेत कोरेका छन्।

डोटीको सेरोफेरो हुँदै दिपायलदेखि धनगढी सहरबाट काठमाडौंसम्मको परिवेश र पात्रले सजिएको उपन्यास अभाव, संघर्ष, सपना र प्रेमले सजिएको छ। उपन्यासको आश्वादनबाट यो वैशाखको उखरमाउलो गर्मीमा छाइलको शीतलता लिन सकिन्छ।

“दमाई मर्दा शंख बजाउँदा पनि पाप लाग्छ” भन्ने विभेदकारी समाजको चित्रण गर्दै छोरीले माइतीघर छोड्दाको कारुणिक छायाँ समेत छायाङ्कन जस्तै स्पष्टरूपमा देखाइएको छ।उपन्यासकारले अगाडि भनेका छन् “बिहेको दिन दिदी झम्टिएर रोई। स्वर सुक्ने गरी रोई। संघर्षका लागि आफ्नै घर पनि विरानो भयो भनेर रोई। दिदीलाई संस्कारले आफ्नै घरबाट अलग भएर पराइ बनाउँदै थियो।आफन्त जस्ता लाग्ने सबै पराइ बनेका थिए।अन्जान पराइहरुले आफन्त बनेर दिदीलाई लैजाँदै थिए।” फरक प्रसंगमा सामान्य गाउँले नेता सहरमा धनाढ्य भएको दृष्टान्त पेश गरेका छन्।

यो उपन्यास प्रेम प्रसंग र उपकथाले पनि सुसज्जित छ, जहाँ स्कुले जीवनमा नै प्रेमिका खोज्न बालाप्रेम स्कुल लगत्तैको उच्च शिक्षामा फरक परिवेशमा फरक पात्र खोज्दै गरेको कुरकुरे बैंस र प्रेमको जालो देखिन्छ।आफू दुवैको गाउँ नजिकैको सहरको प्रेमबाट पनि अलग्गिएर अर्को क्षेत्रीय सहर पुग्दा पुरानो प्रेमिल जीवन सम्झिंदै क्याम्पस पढिरहेको युवाको कथा छ।त्यो सहर पनि छोडेर काठमाडौं जाँदा दबाव, अभाव र एक्लोपनले छटपटाइरहेको एउटा युवक आमाका सपना साकार पार्न संघर्षरत देखिन्छ।बा-आमाका सपना साकार पार्न संघर्षरत अर्को युवा पात्र पनि  भेटिन्छ।दुवै आफ्नो जीवनको लयमा फर्कन्छन्।

तर दुखद् पक्ष सपनाको उजेली भर्ने बा–आमालाई सपनाको फल देखाउन नपाउँदै बा–आमा परलोक भइसक्छन्।प्लस टु पढेकी प्रेमिका पढाइ सकेसँगै विदाइ भई आफू पढेको सहर पनि विदा भयो। संयोगले पुराना प्रेमी-प्रेमिका एउटै सहरको एउटै क्याम्पस पढ्दा रहेछन्। प्रेमिकाको प्रतीक्षामा तड्पिरहेको युवालाई बेवास्ता गरेपछि वैकल्पिक बाटो खोज्दै कसैसँग नजिकिएको युवा काठमाडौं जस्ता सहरमा केही समय एक्लै भए पनि उनी उच्च शिक्षा पढ्ने बेला नजिकिएको केटीको सहाराले रुपान्तरण भएको देखिन्छ।

संघर्षको बाली पाक्न नपाउँदै अचानक आमाको मृत्युको खबरले एक्लो छोराका सपनाले समेत मृत्युवरण गर्छ।तर बाँकी सपनाले उजेली भरेर पुन: सहरको संघर्षमा लाग्ने युवाको कथाले एक्लै दुःखका भारीले थिचिरहने बुवा र बाँकी आफ्नै जीवनलाई सुमसुम्याइरहेको छ।आफ्नो बालाई खुल्ला विश्वविद्यालयको छायाँ देख्ने पात्र जन्मिंदै हुर्किंदै गाउँले स्कुल गाउँ नजिकैको सहर अलि  ठूलो क्षेत्रीय सहर हुँदै काठमाडौंसम्म कहिले बालापनसम्मको स्नेह आमाको आशीर्वाद, कहिले बुवाको प्रेरणा मार्ग, कहिले प्रेमिकाको सुगन्ध बोक्दै सोही बाटो पुन: गाउँमै पुग्छ। परम आनन्द भई स्कुले जीवनमा मनपराएको र पहिलो प्रेमपत्र कोरेकी नारीको हातबाटै उही आफ्नै गाउँमा बिसन्चो हुँदा आफ्नै गाउँघरको स्वास्थ्य चौकीबाट पत्तो नै नपाई स्वास्थ्य सेवा पाएको रहेछ।आखिर त्यसैले उसलाई निको भयो र विगतमा फर्किंदै गर्दा उसका हजारौं बसन्तले एकैपटक पालुवा भरेर कथा अन्त्य हुन्छ।

डोटीको सेरोफेरो हुँदै दिपायलदेखि धनगढी सहरबाट काठमाडौंसम्मको परिवेश र पात्रले सजिएको उपन्यास अभाव, संघर्ष, सपना र प्रेमले सजिएको छ। लेखकले स्थानीय शब्द–शब्दावलीको स्वाद भरेका छन् भने अर्कोतिर सांस्कृतिक पाटाहरु उसैगरी उजागर गरेका छन्।उपन्यासमा  राखिएका कतिपय समाजले सहजै पचाउन नसक्ने शब्दहरूको प्रयोग भएको देखिन्छ। यस्ता अपाच्य शब्दहरु नभएको भए उपन्यास थप सुन्दर र वजनदार हुथ्यो भन्ने अपेक्षा गर्न सकिन्छ। कतिपय स्थानमा एउटा कथावस्तु नसकी अर्को सुरु भई पुन: पुरानै कथाको निरन्तरता दिन खोजेका छन्।

उपन्यासकारको पहिलो प्रयासको रूपमा यो छाइल बुक्स हिमालयले प्रकाशन गरी बजारमा ल्याएको हो। ४०५ रुपैयाँ मूल्य राखिएको यो उपन्यासको आश्वादनबाट यो वैशाखको उखरमाउलो गर्मीमा छाइलको शीतलता लिन सकिन्छ। आञ्चलिकताको भरपूर स्वाद पस्कन सफल यो उपन्यास समग्रमा एक सुन्दर र पठनीय रहेको दाबी गर्दा अन्यथा ठहरिने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?