+
+

चितवनको राप्ती : नेता र कार्यकर्ताको प्रतिस्पर्धा

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २३ गते १९:३६
गोविन्द कँडेल र शम्शेर लामा

२३, वैशाख, चितवन । ०७४ को स्थानीय निर्वाचनसम्म पूर्वी चितवको राप्ती नगरपालिका एमालेको गढको परिचित थियो । एमाले लागि राप्तीको मलिलो माटो पूर्व सांसद जागृतप्रसाद भेटवालले तयार गरेका थिए ।

उनकै विरासतमा राप्तीमा एमाले सधैं बलियो रह्यो । तर, यसपटक एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग नै एमालेले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ ।

चितवनका ७ पालिका मध्ये एकीकृत समाजवादीले आफ्नो बलियो आधार क्षेत्र भएको भन्दै पूर्वी चितवनको राप्ती नगरपालिका प्रमुख, भागवण्डामा पाएको हो ।

मेयरमा समाजवादीका नगर अध्यक्ष शम्शेर लामा उठेका छन् । उपमेयरमा कांग्रेसको राप्ती नगरपालिकाका सभापति देवेन्द्र लामा उम्मेदवार छन् । एमालेबाट बागमती प्रदेश कमिटीका सदस्य गोविन्द कँडेल मेयरमा र मेनुका पाठक उपमेयर उम्मेदवार बनेका छन् ।

समाजवादीले सत्ता गठवन्धनकातर्फबाट मेयर पद पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समाजवादीको प्रभाव बढी भएकै कारण गठवन्धनले मेयर समाजवादीलाई छाडेको बुझ्न गाह्रो छैन ।

तर, समाजवादीको प्रभाव कति हो भन्ने एकीन त भैसकेको छैन तर यसले एमालेलाई विरासत जोगाउन भने चुनौती थपिएको छ ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री दावा दोर्जे लामा, केन्द्रीय सदस्य एवम् राप्ती नगर प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेललगायतका नेता यही नगरपालिकाका हुन् । त्यसकारण पनि राप्ती नेताहरुको विषेश चासोको नगरपालिका रूपमा हेरिएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण पन्त राप्ती–२ का बासिन्दा हुन् । बाबुराम पाठक, फणिन्द्र पाठकलगायतका स्थानीय नेता समाजवादीमा छन् । अघिल्लो निर्वाचनमा एमालेले वहुमत वडासहित मेयर उपमेयर दुबै पद जितेको थियो ।

राप्ती नगरपालिकामा यसपटक १०६५१ मतदाता बढेर ४० हजार ६ सय ४९ पुगेको छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ । बढेको मतदाताको मन र मतले नजितामा प्रभाव पार्ने देखिन्छ ।

एमाले विभाजन हुँदा वडा नं. ४ का वडाध्यक्ष शम्शेर लामाबाहेक अन्य कुनै पनि वडाध्यक्ष समाजवादीतिर लागेनन् ।

उनै लामा अहिले सत्ता गठवन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका हुन् ।

कसले जित्ला राप्ती ?

मकवानपुरसँग सिमा जोडिएको पूर्वी चितवनको राप्ती नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा एमालेले अधिकांश वडासहित मेयर र उपमेयरमा जित हात  पार्‍यो ।

एमालेकी प्रभा बराल ११,६१३ मत ल्याएर मेयर बनिन् । कांग्रेसका उम्मेदवार किरणभूषण ओलीले ७,२९२ मत ल्याए । माओवादीका रामचन्द्र पाठक २,४९५ मत ल्याएर तेस्रो भए । १३ वटा वडा रहेको राप्तीमा कांग्रेसले वडा नं. ९ र १२ मात्रै जित्न सक्यो भने बाँकी ११ वटा वडामा एमाले विजयी भयो ।

लामा एकीकृत समाजवादीतिर लागे पनि बाँकी सबै एमालेमा छन् । एमालेले सबैभन्दा बलियो र सुरक्षित पालिकाकाको रुपमा यही नगरपालिकालाई लिने गर्दछ ।

११ वडा रहेको राप्तीमा गत स्थानीय निर्वाचनमा राप्तीमा २९ हजार ९ सय ९८ मतदाता थिए । राप्ती नगरपालिकामा यसपटक १०६५१ मतदाता बढेर ४० हजार ६ सय ४९ पुगेको छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ । बढेको मतदाताको मन र मतले नजितामा प्रभाव पार्ने देखिन्छ ।

बढेको मतदाताले दिने मतसँगै यसपटक नयाँ ढंगले थपिएको चुनौतीको सामना एमालेले गर्नुपर्ने अवस्था छ, राप्तीमा । नगरमा सत्ता गठवन्धनको ठूला दल कांग्रेस, दोस्रो माओवादी र तेस्रो समाजवादी हो ।

तेस्रो दललाई मेयर दिएको भनेर कांग्रेस भित्र चर्किएको किचलो रोकिएको छैन । एमालेका लागि सुखद पक्ष भनेको सत्ता गठवन्धन भित्र वडा मिलाउन हम्मेहम्मे परेको छ । कांग्रेसको वडा नं. ३ को सभापतिसहित सचिव, क्षेत्रीय प्रतिनिधि, नगर सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।

क्षेत्रीय सभापति किरणभूषण ओलीले नगरको चौथौ दललाई मेयर पद दिन राजी भएको भनेर कांग्रेस भित्र बढेको असन्तुष्टि अझै घटेको छैन । ओलीकै भाइ रामेश्वर सिंह ओली मेयर बन्न चाहान्थे । उनले मेयरमा उम्मेदवारी पनि दिए ।

मेयरमा नै उम्मेदवार दिएका नगर सभापति देवेन्द्र लामालाई उपमेयर दिँदा ओलीलाई उपमेयरमा नबनाएको भन्ने असन्तुष्टि छ । कांग्रेस भित्रको असन्तुष्टिलाई क्यास गर्न एमालेले मेहनत गरिरहेको छ ।
राप्ती नगरपालिका प्रमुखसमेत रहेकी एमाले केन्द्रीय सदस्य प्रभा बरालले एमालेलाई राप्ती जित्न सहज बन्दै गएको बताइन् ।

एमालेमा पनि मेयरको उम्मेदवारको विषयमा असन्तुष्टि थियो । उपमेयर इमानसिंह लामा, जिल्ला कमिटी सदस्य घनश्याम कँडेल मेयरमा उठ्न चाहान्थे । तर पार्टीले गोविन्द कँडेललाई टिकट दिएपछि बेखुसी बनेका लामा र घनश्यामलाई फकाएर पार्टीको चुनावी अभियानमा हिँडाउन एमाले सफल भएको छ ।

एमाले भित्र वडाको उम्मेदवारीको विषयमा असन्तुष्टि नभएको भने हैन । एमालेबाट राप्ती–६ का जीतबहादुर विकले मेयरमा बागी उम्मेदवारी दिएका छन् । वडा नं. ७ की निवर्तमान वडाध्यक्ष सुमिता डल्लाकोटीले वडाध्यक्षमा बागी उम्मेदवारी दिएकी छिन् ।

एमाले पार्टी विभाजनअघिसम्म एकीकृत समाजवादीका नगर अध्यक्ष बनेका शम्शेर लामा एमाले राप्ती नगरपालिका वडा नं. ४ का पार्टी अध्यक्ष र निर्वाचित वडाध्यक्ष हुन् ।

यस्तै वडा नं. ७ मा नै बोधप्रसाद रिजालले वडा सदस्यमा बागी उम्मेदवारी दिएका छन् । उनी सबैलाई एमालेले कारबाही गरेर पार्टीबाट निकालेको छ ।

समाजवादी भित्र पनि असन्तुष्टि चुलिएको छ । समाजवादीले मेयर पाए पनि गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई समर्थन नगरी बेग्लै उम्मेदवारी दिएको भन्दै राप्ती–१ का एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले एमालेलाई सघाउने बताएका छन ।

नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी पाठकले एमालेका उम्मेदवार सिद्धिलाल स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए । गठवन्धनबाट मेयर नै उम्मेदवार रहेको वडा नं. ४ कांग्रेसलाई छाडेको असन्तुष्टि उस्तै छ ।

वडा नं. २ बाहेक अन्य वडामा गठवन्धनका आआफ्ना उम्मेदवार छन् । नेताका बीचमा वडा नं. १, २, ४, ६,७,९,१०, १२ र १३ वटा वडा कांग्रेसलाई दिने सहमति भएको छ ।

तर, समाजवादी र माओवादीका उम्मेदवार पनि कायमै छन् । कांग्रेसलाई १३ वडा मध्ये ९ वडा दिएको भनेर समाजवादी र माओवादी भित्र असन्तुष्टि छ । माओवादीले वडा नं. ३ र ८ समाजवादीले वडा नं. ५ र ११ लिने सहमती भएको मेयरका उम्मेदवार शम्शेर लामाले बताए ।

२०३८ सालबाट राजनीतिक सुरु गरेका गोविन्द कँडेल भने एमालेका पुराना नेता हुन् । एमाले बागमती प्रदेश कमिटीमा सदस्य रहेका उनी विभिन्न सामाजिक संघसंस्थामा बसेर काम गरेका नेता मानिन्छन् ।

मेयरका उम्मेदवार लामाले केही असन्तुष्टि माओवादी र आफ्नो पार्टी भित्र रहेको बताए । वडा तहमा देखिएको असन्तुष्टिको फाइदा उठाउने एमालेको प्रयास देखिन्छ । माओवादीले मेयर र उपमेयर दुबै नपाएको र वडामा पनि कम सदस्य पाएकोमा सन्तुष्ट देखिदैन । सत्ता गठवन्धन भित्रको विवादमा खेलेर पुनः विरासत जोगाउन दाउमा एमाले र एमालेको विरासत खोस्ने दाउँमा सत्ता गठवन्धन छ ।

मेयर उम्मेदवार कँडेल र लामा : नेता र कार्यकर्ता !

एमाले पार्टी विभाजनअघिसम्म एकीकृत समाजवादीका नगर अध्यक्ष बनेका शम्शेर लामा एमाले राप्ती नगरपालिका वडा नं. ४ का पार्टी अध्यक्ष र निर्वाचित वडाध्यक्ष हुन् । तत्कालीन नेकपा भित्र अन्तसंर्घष चर्किएपछि उनलाई समानान्तर समितिको राप्तीको सचिव बनाइयो । एमालेबाट एकीकृत समाजवादी बनेपछि उनी राप्ती नगरको अध्यक्ष बने ।

गोविन्द कँडेल लामाकासमेत नेता हुन् । राप्तीमा नेता र कार्यकर्ताको प्रतिस्पर्धा भयो भन्ने गरिएको छ नि भन्ने प्रश्नमा लामाले भने, ‘उहाँ मेरो नेता हो, म उहाँको कार्यकर्ता नै हो, उहाँहरुबाट नै राजनीति सिकेको हो, त्यसमा दुई मत रहेन, तर यसपटक नेतालाई आराम दिएर युवा कार्यकर्ताले चुनाव जित्नपर्छ भनेर लागेको हुँ ।’

उनले युवाहरुलाई स्वदेश फर्काएर उद्यमशिल बनाउने, ग्रामिण भेगमा एकीकृत बस्ती बनाउन प्रयास गर्ने, खानेपानी र विजुलीको न्यूनत्तम शुल्क नगरपालिकाले तिरिदिने, करको दर घटाउने र दायरा बढाउने, माध्यमिक तहसम्मको शिक्षा शैक्षिक सामग्रीसहित निशुल्क गर्ने लगायतका विषयलाई चुनावी एजेण्डा बनाएका छन् ।

२०३८ सालबाट राजनीतिक सुरु गरेका गोविन्द कँडेल भने एमालेका पुराना नेता हुन् । एमाले बागमती प्रदेश कमिटीमा सदस्य रहेका उनी विभिन्न सामाजिक संघसंस्थामा बसेर काम गरेका नेता मानिन्छन् ।

उनले पटकपटक एमालेको चितवन निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटीको इन्चार्ज भएर काम गरिसकेका छन् ।

२०४६ साल फागुन ७ गतेको जनआन्दोलनमा उनीसँगै आन्दोलनमा गएका भाइ बलराम कँडेलको सेनाको गोली लागेर मृत्यु भएको थियो । सहिद परिवारका रुपमा कँडेलको परिवार राप्तीमा परिचित छ ।

मेयर उम्मेदवार कँडेलले स्थानीय तहमा सुशासन, सम्बृद्धि र समाजवादको जग बसाउने, शिक्षामा सुधार र प्राविधिक शिक्षाको विस्तार गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा, खानेपानीमा जनताको पहुँच बढाउने, कृषिमा आधुनिकिकरण गर्दै किसानहरुलाई विषेश सहुलियत प्रदान गर्ने विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?