+
+
अन्तर्वार्ता :

एजेण्डा र जनमत दुवै हिसाबले चुनाव जितिसक्यौं : खेलराज पाण्डेय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १४:२१

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेय दोस्रोपटक बुटवल उपमहानगरपालिका प्रमुखको चुनाव लडिरहेका छन् । अघिल्लो चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४०० मतान्तरले पराजित भएका पाण्डेय अहिले गठबन्धनको सहयोगमा एमालेसँग बदला लिन चाहन्छन् ।

भन्छन्, ‘एजेण्डा र जनमत दुवै हिसाबले हामीले चुनाव जितिसक्यौं ।’ प्रस्तुत छ, कांग्रेसबाट बुटवल उपमहानगरको मेयरमा उम्मेदवारी दिएका पाण्डेयसँग अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानी :

मेयरका लागि तपाईंको नाम सिफारिस भएदेखि नै पार्टीभित्र असन्तुष्टि देखियो नि ?

यहाँले भनेको सत्य होइन । आकांक्षा राख्नु स्वाभाविक हो, तर हरेक पार्टीको आफ्नै विधि र प्रक्रिया हुन्छ । नगर समितिको बैठकमा मलाई उठाउँदा नै बुटवलमा एमालेको विरासत तोड्न सकिन्छ, चुनाव जित्न सकिन्छ भन्ने पार्टीका अधिकांश साथीको मत आएपछि सर्वसम्मत रूपमा मलाई सिफारिस गरेको हो । नगरको सिफारिस क्षेत्र, जिल्ला र प्रदेशले अनुमोदन गरेपछि मात्रै टिकट पाएको हो । त्यसैले यो प्रश्न सोध्ने विषय नै होइन ।

जहाँसम्म असन्तुष्टि भन्ने विषय छ, आदरणीय क्षेत्रीय सभापति हरि लम्साल दाइले एक वर्ष पहिले नै तिमी फेरि पनि मेयर उठ्ने हो भनेर मलाई नगर सभापतिमा तेस्रो कार्यकाल उठ्न भन्नुभएको र जिताउनुभएको हो ।

हरि दाइ असन्तुष्ट भएको मेरा कारणले होइन भन्ने मेरो विश्वास छ । अरू असन्तुष्टि छैन । महाधिवेशनका क्रममा पार्टीभित्रको चुनावमा प्रतिस्पर्धा गर्नुभएका वा अर्को प्यानलबाट लड्नुभएका साथीहरू सबै एकठाउँमा छौं ।

दोस्रोपटक उम्मेदवार बन्दै गर्दा तपाईंका एजेण्डा के–के हुन् ?

बुटवलमा सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या छ । मोतिपुर औद्योगिक क्षेत्रका नाममा झण्डै २५० बिघा क्षेत्रफल जग्गामा वर्षौंदेखि बसोबास गरेका र जग्गाको स्वामित्व भएका करिब २ हजार परिवार र तिनाउ दानव कोरिडोर प्रभावित १५०० परिवारको समस्या समाधान हाम्रो पहिलो एजेण्डा हो ।

हिजो हामीले निकै दुःख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौं । एमालेकै कारण बुटवल स्थायी राजधानी बन्न सकेन । यो एजेण्डा पनि हामीसँग छ । यस्तै ज्योतिनगर पहिरो प्रभावितको समस्या, बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको समस्या, झुम्सा खानेपानी समस्या, फोहोरमैला व्यवस्थापन समस्याको समाधान पनि हाम्रा मुख्य एजेण्डा हुन् ।

चर्को घर बहाल कर घटाउने, फोहोरमैला, हाटबजार र ई–रिक्सामा लगाइँदै आएको कर घटाउने, नगरवासीको एकलाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा, कक्षा १२ सम्मको शिक्षा पूर्ण निःशुल्क, साना व्यवसायीलाई संरक्षण र ठूलालाई सम्मान, रोजगार डेस्क, मैनाबगर अटो भिलेज र कृषि थोक बजार विस्तार, कालिकापथ सडकको निकास, बेलबास बेथरी सडक, पारि बुटवललाई प्राचीन शहरको रूपमा विकास, जितगढी किल्ला क्षेत्रलाई विस्तार र संरक्षण, लोकतान्त्रिक आन्दोलनका दुई धरोहर पुष्पलाल र बीपीको संयुक्त सालिक निर्माण, प्रथम शहीद लखन थापा पार्क निर्माण, बुटवललाई प्रदेशको सबल आर्थिक केन्द्र, पूर्व मेयर कोष स्थापना पनि हाम्रा प्रतिबद्धता छन् । म निर्वाचित भएँ भने हरेक दिन आधा समय नगरपालिका कार्यालयमा र आधा समय जनताको घरदैलोमा पुग्छु । उनीहरूसँगै समय बिताउँछु ।

हरेक चुनावमा सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको मुद्दा जहिले पनि उठ्छ, तर समाधान हुँदैन । तपाईंहरूले चाहिं समाधान गर्ने के आधार छन् ?

ठीकै हो, यसअघिका नेतृत्वले गरेका प्रतिबद्धता अधिकांश पूरा नभएकै अवस्था हो । त्यसको मुख्य कारण चुनाव जितेर आएको दल र त्यसको स्थानीय नेतृत्वमा प्रतिस्पर्धी दलका साथीहरूको पनि राय–सुझाव र साथ लिनुपर्छ भन्ने सोच र चिन्तन नभएर एक्लै अघि बढ्नु हो ।

हामी त्यसो गर्दैनौं । हामीले बुटवल उपमहानगर चुनाव जित्नेका मात्र होइन, सबैको अपनत्व गराई साझा चौतारी बनाउने संकल्प गरेका छौं । अहिलेसम्म जुन दलले जित्यो, उसको मात्रै भयो ।

पछिल्लो पाँच वर्षको कुरा गर्ने हो भने त एमालेको पनि एउटा पक्षको मात्रै भयो, अर्को पक्षका साथीहरूले उपमहानगर कार्यालयमा पाइला टेक्नुभएन भन्ने छ । यस्तो गलत परिपाटी तोड्छौं । फराकिलो मनका साथ उपमहानगर कार्यालयमा सर्वदलीय कार्यकक्ष बनाउँछौं, निरन्तर छलफल गर्ने र राय–सुझाव लिएर विकास निर्माणका काम गर्छौं ।

सुकुम्बासी समस्याकै कुरा गर्ने हो भने समाधानका लागि अल्पकालीन र दीर्घकालीन उपाय छन् । अल्पकालीन उपायमा उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर एउटा मापदण्डमा ल्याउन सक्छौं, नामसारी प्रक्रियाहरू वडामार्फत लैजान सक्छौं । यति मात्र गर्न सक्यौं भने धेरै समस्या समाधान हुन्छन् ।

दीर्घकालीन समाधान भनेको लालपुर्जा वितरण हो । हामी लालपुर्जाका नाममा ललिपप देखाउँदैनौं, अरूले जस्तो लालपुर्जा भनेर निस्सा वितरण गर्दैनौं । भूमिसम्बन्धी कार्यालय गठन भएको छ, त्यसमार्फत कामहरूको टुंगो लगाउँछौं ।

मोतिपुर औद्योगिक क्षेत्र १ हजार बिघामा बनाउने भनिएको छ । तर हामीले बसोबास र आवादी भएको २५० बिघा छाडेर ७५० बिघामा स्मार्ट औद्योगिक क्षेत्र बनाउँछौं । स्थानीय बसोबास गरेको, जोतभोग गरेको जग्गा उहाँहरूलाई नै दिन्छौं ।

एमालेले गढ मान्दै आएको बुटवलमा अहिले जनमुक्ति पार्टीसँग समेत तालमेल छ, गठबन्धनले कसरी चुनाव जित्छ ?

बुटवल एमालेको भन्दा पहिला कांग्रेसकै गढ हो, पछिल्ला केही चुनावमा हामीले हारेको पनि सत्य हो । त्यसबाट पाठ सिकेर पार्टी अहिले एकढिक्का छ । गठबन्धनमा पनि एकदमै राम्रो समझदारी छ, हामी एकजुट भएर अघि बढेका छौं ।

म कुनै पेशा व्यवसायबाट प्रशस्त कमाएर थकाइ मार्न मेयरमा उठेको होइन, ३५ वर्षदेखि डेरामा बसेर अरूसँग लिफ्ट मागेर राजनीति गर्दै आएको सरल र इमानदार मान्छे हुँ । २०७४ मा चुनाव हारे पनि निरन्तर जनताको घरदैलोमा पुगेको छु, जनताका समस्या समाधानका लागि लडिरहेको छु ।

अर्कोतिर एमालेले जे–जे सपना बाँडेर बुटवलमा चुनाव जितेको थियो, अधिकांश पूरा भएका छैनन् । यो पाँच वर्षमा नगरवासीले सुविधाभन्दा धेरै असुविधा र सास्ती पाए । एमाले नेतृत्वकै कारण प्रदेशको स्थायी राजधानी बुटवल बन्न सकेन, यसबाट हजारौं उद्योगी, व्यवसायी र मतदाता रुष्ट छन् ।

राष्ट्रिय परिस्थितिमा धेरै फेरबदल भइसक्यो । एमाले र माओवादीको एकता भएर बनेको नेकपा मात्र होइन, एमाले पनि विभाजित भयो । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटकसम्म असंवैधानिक रूपमा संसद विघटन गर्नुका साथै यती, ओम्नी, वाइडबडी, गिरीबन्धु टि स्टेटलगायत ठूला काण्डहरू बुटवलका सचेत जनताले नजिकबाट नियालेका छन् ।

निचोडमा भन्दा एमाले आफ्नै अहंकार र कमजोरीका कारण केन्द्रदेखि स्थानीयस्तरसम्म निरन्तर ओरालो लागेको छ । एजेण्डा र जनमत दुवै हिसाबले हामीले चुनाव जितिसक्यौं ।

तर तपाईंहरूको गठबन्धन पनि प्रभावकारी देखिएन, वडा तहमा मिलेको छैन भन्ने छ नि ?

पाँचदलीय गठबन्धन यहाँ (बुटवल)को आवश्यकताले होइन, संविधानको रक्षा गरी प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउन र मुलुकलाई अस्थिरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउन बनाएका हौं । त्यसैले गठबन्धन प्रभावकारी नै छ ।

बुटवलमा पनि मेयर र उपमेयरमा पाँचदल एकठाउँमा छौं । कतिपय वडामा मित्रवत् प्रतिस्पर्धा छ । त्यसलाई पनि मतदानको दुई–चार दिन अघिसम्म सबैको चित्त बुझ्ने गरी सकेसम्म मिलाउने गरी प्रयत्न भइरहेको छ ।

तपाईंले जित्नुभयो भने पाँच वर्षपछि बुटवलमा के परिवर्तन होला ?

परिवर्तन आफैंबाट सुरु गर्ने हो । मैले जितेपछि नगरवासीमा शासक होइन, सेवक हो भन्ने व्यवहारमा प्रमाणित गरेर देखाउनेछु । पदभार ग्रहण लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्छु । मेरो नाममा घर पनि छैन, सवारी साधन पनि छैन । म निर्वाचित हुँदा जुन अवस्थामा हुन्छु, पाँच वर्षपछि पनि त्योभन्दा फरक हुने छैन ।

पूर्वनगर प्रमुख एवं सांसद स्वर्गीय सूर्यप्रसाद प्रधानको आदर्शलाई अनुसरण गरेर साथीभाइको सहयोगले राजनीतिमा धानिएको छु । जनताको करलाई आफ्नो सम्पत्ति जोड्ने माध्यम बनाउन चुनाव लड्न आएको होइन, बाँकी जीवन जनताको सेवामा बिताउने छाप छाडेर बाहिरिनेछु ।

विकास निर्माणका कामहरू नियमित र निरन्तर प्रक्रिया हुन् । मुख्य कुरा सुशासन हो, त्यसैले बुटवललाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त र सबभन्दा कम बेरुजु भएको पालिका बनाएर देखाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?