+
+

एउटै विषयमा पटक-पटक रिट निवेदन, सर्वोच्चले दर्ता गरेको गर्यै !

गैरकानूनी सम्पत्ति आर्जन र पदको दुरुपयोग गरी लाभ लिएको आरोपमा छानविनमा परेका धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना एउटै विषयमा पटक-पटक रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते २१:४३

२३ वैशाख, काठमाडौं । आफैंले दर्ता गरेको रिट निवेदन विचाराधीन भएको अवस्थामा धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका छन् । ढुंगानाले दर्ता गरेको निवेदन सर्वोच्च अदालतमा शुक्रबार पालो परेपनि न्यायाधीशले ‘हेर्न नभ्याएका’ कारण सुनुवाइ भएन । उक्त निवेदन आगामी मंगलबार(२७ वैशाख)का लागि फेरी पेशी तोकिएको छ ।

छोरीको नाममा सेयर किनेको खुलासा भएपछि धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगाना छानविनमा परेका थिए । आफूमाथि छानविन भए लगत्तै ढुंगानाले सर्वोच्च अदालतमा पहिलो रिट निवेदन दिए । त्यसमाथि अन्तरिम आदेश भएन भने सरकारले पनि उनलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्त गर्‍यो । उनीमाथि अख्तियारले समेत अनुचित लाभ लिएको तथा गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीमाथि अनुसन्धान गरिरहेको छ ।

आफूलाई बर्खास्त गर्ने निर्णय तत्काल रोकेर पदमा बहाल गर्ने आदेश हुनुपर्ने माग राखी ढुंगानाले दोस्रो निवेदन दिए । अन्तरिम आदेशको विषयमा दुईजना न्यायाधीशको राय बाझिएर त्यो निवेदन तीन सदस्यिय पूर्ण इजलासबाट अन्तरिम आदेश नहुने भन्ने आदेश भएको छ । अदालतमा उस्तै प्रकृतिका दुईवटा निवेदन विचाराधिन भएको अवस्थामा ढुंगानाले आफूलाई पदमा पुनर्बहाली गर्नुपर्ने अनि अहिलेका अध्यक्ष रमेश हमाललाई पदमुक्त गर्नुपर्ने माग राखी अर्को निवेदन दर्ता गराएका हुन् । सो मुद्दा सर्वोच्च अदालत प्रशाशनले दर्तामात्र गरेन, शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेशीसमेत तोकियो । तर, सो मुद्दामाथि सुनुवाइ हुन नभ्याइएका कारण आगामी मंगलबार(२७ वैशाख)का लागि पेशी सरेको छ ।

अदालतले कुनै एउटा विवादमा उही तहबाट एक पटकबाहेक दोहोर्‍याएर न्यायनिरुपण गर्दैन । उही विवादमा कानूनी उपचार खोज्न गएका ढुंगानाले अन्तरिम आदेश नपाएपछि पटक-पटक उस्तै प्रकृतिको रिट निवेदन लिएर फेरी अदालत गएका हुन् । ‘दर्ता नै हुनु नपर्ने प्रकृतिका निवेदन अदालतले पटकपटक स्वीकार गरेको देखिन्छ’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘एउटै विवाद र उस्तै माग दावीलाई लिएर पटक-पटक अदालत जानु गलत हो ।’

२१ बैशाख २०७९ मा ढुंगानाले दर्ता गरेको निवेदनमा प्रधानमन्त्री र अर्थमन्त्री, दुवै मन्त्रालय, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस गर्न गठित समिति र नवनियुक्त अध्यक्ष रमेश हमाललाई विपक्षी बनाएका छन् ।

उनले यसअघि ७ कार्तिक २०७८ मा सरकारविरुद्ध हालेको अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन छ । उनले २३ भदौं २०७८ मा आफूमाथिको छानविन रोक्नुपर्ने माग राखी अख्तियार सहित सरकारलाई समेत विपक्षी बनाएर दर्ता गरेको अर्को निवेदन पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

के थियो आरोप ?

ढुंगानाविरुद्ध तीन प्रमुख आरोप छन् । एउटा छोरीका नाममा सेयर खरिद गरी पदिय हैसियत दुरुपयोग गरेको भन्ने आरोप छ । दोस्रो, ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी धितोपत्रको भित्री कारोवारको सूचना चुहावट गरेको भन्ने अर्को आरोप हो । साथै उनीमाथि अस्वभाविक कारोवार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अर्को आरोपमाथि समेत छानविन गर्न सिफारिस भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफ्नी छोरी रेविका ढुंगानाका नाममा खरिद गरेको भन्ने आरोप छ । ढुंगानाले आफ्नो छोरी रेविकाको नाममा शेयर खरिद गर्न लक्ष्मी बैंकको खाताबाट एकपटक १० हजार रुपैंया र अर्को पटक ५ लाख रुपैंया जम्मा गरिदिएको भेटिएको अख्तियार स्रोतले बतायो ।

अख्तियार स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजातमा त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट र्बैंकको एउटा खाताबाट छोरी रेविकाको खातामा २०७७७ साल पुस २८ गते १५ लाखको चेक जम्मा गरिदिएको देखिन्छ ।

रेविकाको खाताबाट २५ लाख रुपैयाँ सेयर विक्रेता शिखा अग्रबाललाई भुक्तानी दिएको खुलेको छ । अख्तियारले छानविनका क्रममा ‘त्यसरी शेयरको कारोबार गर्दा निज रेबिका ढुङ्गाना विदेशमा रहेको अवस्थामा कारोबार भएको देखिएको छ,’ भनी उल्लेख गरेको छ ।

ढुंगानाले उक्त शेयरको कारोबारदेखि शेयर खरिदसम्ममा छोरीको प्रत्यक्ष उपस्थिति रहेको दावी गरेका थिए । तर छोरी रेविका विदेशमा रहेको भन्ने विवरण समेत उनैले स्वीकार गरेका छन् । अख्तियार स्रोतको भनाइमा छोरी विदेशमा रहेको बेला धितोपत्र बोर्डका अध्यक्ष भीष्मले आफैंले सेयर खरिद गरेको दावी गरेको छ ।

अनुसन्धानबाट तयार पारिएको रायवारे अख्तियार स्रोतले भन्यो, ‘त्यसरी विदेशमा रहेको छोरीको खातामा रकम जम्मा गरी सोही रकमबाट सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको अवस्था देखिएकाले उक्त कार्य निज भिष्मराज ढुङ्गाना आफैंले गरेको देखिन्छ ।’

अख्तियारले धितोपत्र बोर्डजस्तो शेयर बजारको नियामक निकायको अध्यक्ष रहेको बेलामा सेयर कारोवारमा संलग्न देखिएको भन्दै अख्तियारले उनीमाथि छानविन थालेको हो । सर्वोत्तम सिमेन्टले २०७७ साल माघ ६ गते साधारण सभाबाट बुक बिल्डिङ विधिबाट शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

करिब एक सातापछि बोर्ड अध्यक्ष भीष्मकी छोरीले शेयर खरिदका लागि निवेदन दिएकी थिइन् । यसले अध्यक्ष ढुंगाना भित्रि कारोवारमा संलग्न भएको देखिने अख्तियारको आरोप छ । यसरी सेयर दिलाएबापत कम्तिमा पनि ६०/७० लाख रुपैयाँ गैरकानूनी लाभ भएको देखिन्छ ।

बजारमा ७५० रुपैयाँका दरले विक्री गर्ने तयारी भएको शेयर प्रतिकित्ता २५० रुपैयाँका दरले पाउनु भनेको एककित्ता सेयरमा करिव ५ सय रुपैयाँ गैरकानूनी रुपमा लाभ गर्नु हो । १२ हजार कित्ता सेयर पाएकी रेविकाले बुक बिल्डिङमार्फत बजारमा सर्वसाधारणलाई सेयर प्रवाह हुनासाथ प्रतिकित्ता ५ सय रुपैयाँ अतिरिक्त लाभ लिएर कम्तिमा ६० लाख रुपैंया अतिरिक्त आर्जन गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?