+
+

मधेशमा खस्कियो माओवादी

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ ४ गते २३:१६
सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित माओवादी केन्द्रका भरतकुमार थापा ।

४ जेठ, काठमाडौं । अघिल्लो चुनावमा मधेस आन्दोलनको रापताप कायमै रहँदा नेकपा माओवादी केन्द्रले एक्लै महोत्तरीको बर्दिवास र गौशाला दुबै नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । यो पटक दुबै गुम्ने अवस्था छ ।

बर्दिवासको मेयरमा माओवादी उम्मेदवार राजु खड्का, नेपाली कांग्रेसका बागी उम्मेदवार प्रल्हादकुमार क्षेत्रीभन्दा झण्डै ५ हजार मतले पछाडि परिसकेका छन् । गौशालामा पनि विष्णुबहादुर योन्जन जनता समाजवादी पार्टी (जसपा)का दिपेन्द्र महतोभन्दा झण्डै आधा मतले पछाडि परिसकेका छन् ।

दुबै नगरपालिका आएका माओवादी केन्द्रका नेता गिरिराजमिण पोखरेलको क्षेत्रमा पर्छ, जो लगातार संसदीय चुनाव जित्दै आएका छन् । तर यो पटक दुबै नगरपालिकामा हार पक्का जस्तै भएको माओवादी केन्द्रका नेताहरु स्वीकार गर्छन् ।

बर्दिबास र गौशाला मात्र होइन, मधेश प्रदेशमा नै माओवादी निकै कमजोर देखिएको छ । २०७४ सालको चुनावमा माओवादी केन्द्रले मधेश प्रदेशमा १३ नगर र ८ गाउँ गरी २१ पालिकाको नेतृत्वमा जितेको थियो । त्यस्तै २४ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । त्यस्तै ३३१ वडाध्यक्ष जितेका थियो ।

यो पटक त्यो अवस्था छैन । यो समाचार तयार पर्दासम्म माओवादी केन्द्रले प्रदेशभर जम्मा ४ पालिकाको नेतृत्व जितेको छ भने  चार वटामा अग्रता लिएको छ ।

जब्बर गुट

गत चैतमा स्थानीय तह निर्वाचनको तयारीका क्रममा माओवादी केन्द्रले मधेस प्रदेशको प्रशिक्षण धनुषाको तिरहुतिया बरगाछीमा राखेको थियो । त्यहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु उपस्थित प्रशिक्षण कार्यक्रममा नेता मातृका यादव भने गएनन् ।

आफ्नै गृह जिल्लामा आयोजना भएको प्रदेशस्तरीय प्रशिक्षणमा यादवको अनुपस्थितिले मधेस प्रदेशमा चलिरहेको माओवादी भित्रको गुटगत लडाईंलाई पुनः सतहमा ल्याइदिएको थियो । माओवादीमा नारायणकाजी श्रेष्ठ र मात्रिका यादवको समूहले एकअर्काको अस्थित्व नै स्वीकार गर्दैनन् । जसको ज्वलन्त उदारण थियो श्रेष्ठ सहभागी भएको कार्यक्रमा यादव नजानु ।

दुई गुटको लडाईंकै कारण प्रचण्डले नेता गणेश साहलाई मधेश प्रदेश इन्चार्ज बनाएका छन् । साह स्वयं मधेश प्रदेश माओवादीका गुटहरुबीचको झगडाको केन्द्रविन्दु रहेको स्वीकार गर्छन् ।

‘हाम्रो आन्तरिक झगडाको केन्द्र विन्दु नै मधेश प्रदेश हो,’ उनी भन्छन्, ‘पार्टीभित्र विभिन्न समूह छन् । त्यसको असर पनि चुनावमा देखिएको छ ।’ कांग्रेसले पैसा र प्रहरी प्रशासनको धेरै प्रयोग गरेकाले पनि माओवादी मधेशमा कमजोर भएको दाबी गर्छन् ।

फुटको पनि असर

प्रभु साह लगायतका मधेशमा प्रभाव पार्न सक्ने केही नेता नेकपा एमालेमा गएको असर पनि यसपटक मधेशमा देखिएको छ । त्यसको स्पष्ट असर रौतहटमा देखिन्छ । रौतट प्रभु साहको गृह जिल्ला समेत हो ।

२०७४ को चुनावमा रौतहटमा माओवादी केन्द्रले चार पालिमा जितेको थियो । त्यस्तै दुईमा उपप्रमुख पनि जितेको थियो । तर, यसपटक दुर्गाभगवती गाउँपालिकामा मात्रै जितेको छ । अरु कुनै पनि क्षेत्रमा क्षेत्रमा माओवादीको अग्रता छैन ।

प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा यसपाली माओवादी केन्द्र दोस्रो छ, जहाँ अघिल्लो पटक माओवादीबाट जितेर एमाले गएकी साहकी पत्नी रिना साह पुनः निर्वाचित भएकी छन् ।

अघिल्लो पटक एमुनामाइ गाउँपालिका, मौलापुर नगरपालिका, माधवनारायण नगरपालिका फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका र देवाही–गोनाही नगरपालिकामा माओवादी कतै दोस्रो र कतै तेस्रो अबस्थामा छ । धनुषा लगायतका जिल्लामा पनि फुटको असर देखिएको माओवादी नेताहरु स्वीकार गर्छन् ।

जिल्ला गत अवस्था

धुनषा

यहाँको सबैला नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ। अघिल्लो पटक माओवादी केन्द्रले शहीदनगर, बिदेह नगरपालिका र सबैला नगरपालिकामा जितेको थियो । ती सबैमा माओवादी कतै दोस्रो र कतै तेस्रो अवस्थामा छ ।

सप्तरी

यहाँको खडक नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ। यहाँ भने अघिल्लो पटक माओवादीले कुनै कुनै पनि पालिका जितेको थिएन ।

सिरहा

यहाँको मिर्चैया नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ । अघिल्लो पटक माओवादीले जिल्लाका गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, धनगढी नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकामा जितेको थियो । यी सबैतिर माओवादी दोस्रो र तेस्रो अवस्थामा छ ।

महोत्तरी

यहाँको कुनै पनि पालिकामा माओवादीले अग्रता लिन सकेको छैन । अघिल्लो पटक माओवादीले यहाँका बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, साम्सी गाउँपालिका र गौशला नगरपालिका जितेको थियो । यहाँ पनि माओवादी तेस्रो र कतै चौथोमा छ ।

सर्लाही

अघिल्लो पटक दुई पालिका मात्रै जितेको माओवादीले यहाँ भने राम्रो गरेको देखिन्छ । २०७४ मा माओवादीले यहाँ बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकामा मात्रै जितेको थियो ।

यसपटक माओवादीले बरहथवा नगरपालिकामा अग्रता लिइरहेको छ भने बलरा नगरपालिका, रामनगर गाउँपालिका र बागमती नगरपाकिलामा भने निर्वाचित भइसकेको छ ।

बारा

जितपुर सिमरामा उपमहानगरमा माओवादीले अग्रता लिइरहेको छ । यहाँ केन्द्रबाट गरिएको गठबन्धन अनुसार माओवादीले पाएको थियो । अन्यत्र कुनै पनि पालिकामा माओवादीको अग्रता छैन ।

अघिल्लो पटक माओवादीले पर्सामा ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा जितेको थियो ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?