+
+

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १६:१९

९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।

गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् ।

आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएका छन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।

तर आफूमाथि भएको यौन हिंसाबारे कानुनी प्रक्रियामा जान उनले कसैबाट पनि सहयोग पाएकी थिइनन्। प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले समेत आफूलाई सहयोग नगरेको उनको गुनासो छ ।

सुब्बाले त्यसबेला सहयोग गर्न नसकेकोमा माफी पनि मागेकी छन् । प्रहरीले उनलाई पनि घटनाको साक्षीका रुपमा बयान लिने तयारी गरेको छ ।

उनले आफ्ना प्रेमीलाई पनि घटनबारे बताउँदै प्रहरीकहाँ जान सहयोग मागेकी थिइन् । तर ती प्रेमीले पनि साथ दिएनन्, त्यसपछि पनि जतिसँग सहयोगको अपेक्षा गर्दै नजिक भइन्, हरेकबाट हिंसामा परिन् । घटनाका कारण मानसिक समस्याबाट गुज्रिरहँदा उनी पीडा भुलाउन दुर्व्यसनमा पनि पुगिन् ।

तिनै युवतीले हदम्यादका कारण जबरजस्ती करणी सम्बन्धी कसूरमा जाहेरी दर्ता गर्न नमिल्ने थाहा पाएपछि रुँदै अर्को भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘यो कस्तो नियम हो नेपालको ? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिंदैन रे, अदालतले ।’

उनको भिडियो सार्वजनिक भएपछि बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन भएको थियो ।

मुलुकका विभिन्न जिल्लामा पनि उनको न्यायका लागि प्रदर्शन भए । त्यसपछि कानून व्यवसायीहरुसँग छलफल गरेर प्रहरीले मानवबेचबिखन तथा ओसारपसारको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

उनलाई लठ्ठाएर बन्धक बनाएर पटकपटक जबरजस्ती करणी गरेको हुनाले मानवबेचबिखन गरेको ठहर हुने प्रहरी अधिकृतहरुको भनाइ छ । म्याद थप भइसकेपछि अब घटनामा विस्तृत अनुसन्धान हुने एसएसपी गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?