+
+

जनकपुरमा अर्को ‘विद्रोह’को अनुमोदन

जनकपुरधामको इतिहासमा पार्टीबाट विद्रोह गरेर बनेका स्वतन्त्र उम्मेदवारको यो तेस्रो अनुमोदन हो । वर्षौदेखि आफूले पसिना बगाएको पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारका रुपमा मेयर लडेका मनोजलाई जनकपुरधामका मतदाताले अनुमोदन गरेका छन् ।

श्रवण देव श्रवण देव
२०७९ जेठ ९ गते १९:२३

९ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको नगर सभापति भएकाले मनोजकुमार साह सुडी जनकपुरधाम उपमनगरपालिकाको मेयरका स्वभाविक दाबेदार थिए ।

अघिल्लो चुनावमा लालकिशोर साहसँग पराजित भएका उनले पछिल्लो एक वर्षदेखि फेरि मेयरमा प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए ।

तर सत्तारुढ गठबन्धनबीच भएको भागवण्डामा जनकपुरको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपछि मनोजले पार्टीबाट विद्रोह गरे । वर्षौदेखि आफूले पसिना बगाएको पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारका रुपमा मेयर लडेका मनोजलाई जनकपुरधामका मतदाताले अनुमोदन गरेका छन् ।

सोमबार सकिएको मत गणनामा मनोज १३ हजार ४६५ मतका साथ मेयरमा चुनिएका छन् । मनोज, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिबशंकर साह ‘हिरा’ले ९ हजार ५३२ मत पाएका छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका निवर्तमान मेयर लालकिशोर साह भने ५१९४ मतका साथ चौथो स्थानमा रहे ।

विद्रोहको अर्को अनुमोदन

जनकपुरधामको इतिहासमा पार्टीबाट विद्रोह गरेर बनेका स्वतन्त्र उम्मेदवारको यो तेस्रो अनुमोदन हो ।

२०४९ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले मेयरको टिकट दिगम्बर रायलाई टिकट दिएपछि कांग्रेसमा विद्रोह भयो । वृषेशचन्द्र लालले मेयर र लालकिशोर साहले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए । दुबै निर्वाचित पनि भए ।

२०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि जनकपुरले कांग्रेसका विद्रोहीलाई नै चेयर बनायो । कांग्रेसले दामोदारप्रसाद उपाध्यायलाई टिकट दिँदा बजरंगप्रसाद साहले स्वतन्त्र उम्मेदवारी मात्र दिएनन्, मेयरमा निर्वाचित नै भए ।

२०७४ को चुनाव मधेस आन्दोलनको रापतापमा भएको थियो । त्यसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का लालकिशोर यादव निर्वाचित भए । तर यो पटक फेरि जनकपुरधामले कांग्रेसका विद्रोही उम्मेदवारलाई अनुमोदन गरेको छ ।

राजनीतिक विश्लेषक भोगेन्द्र झा राजनीतिक दलहरुको अलोकतान्त्रिक चरित्र र निर्वाचित जनप्रतिनिधिको प्रवृत्ति सामन्ति देखिएपछि जनकपुरधामका जनता लोकतन्त्रलाई संस्थागत गर्न लागिपरेको बताउँछन् । ‘लोकतन्त्रमा त जनताको प्रतिनिधि हुन्छ । तर जितेपछि जनताको शाषक बन्न खोज्नु जुन लोकतन्त्रको प्रतिकुल हो’ उनी भन्छन्, ‘दल र जनप्रतिनिधिमा यस्तो मुखरित भएपछि कहिले दलप्रति त कहिले जनप्रतिनिधिलाई ट्रयाकमा ल्याउन यहाँका मतदाताले काम गरेका छन् ।’

मधेसवादी दल पत्तासाफ, एमाले मजबुत

२०७४ को स्थानीय निर्वाचनमा एमाले तेस्रो स्थानमा थियो । मेयरमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले चार हजार ८६५ मत ल्याएका थिए । यसपटक एमालेले मत बढाएको छ । मेयरमा साहले नौ हजार ५३२ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रुणादेवी झा १० हजार ८८५ मत ल्याएकी छन् ।

मधेस प्रदेशको स्थायी राजधानी समेत रहेका जनकपुरधाममा मधेसवादी दलहरु भने कमजोर देखिएका छन् ।

२०७४ को निर्वाचनमा कुल २५ वडामध्ये मधेशवादी दल १५ वडासहित मेयर र उपमेयर दुबै जितेको थियो । लालकिशोर २१ हजारभन्दा मतका साथ मेयर चुनिँदा उपमेयरमा राजपाकै रीता कुमारी मिश्रले १७ हजार १४७ मत प्राप्त गरेकी थिइन् ।

राजपाले १२ तथा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले तीनवटा वडा जितेको थियो । कांग्रेसले सात वडा, एमालेले दुई वडा जित्दा दुई वटा वडाको वडाध्यक्ष स्वतन्त्र चुनिएका थिए ।

यस पटक मधेसवादी दल तीन वटा वडामा खुम्चिएको छ । तत्कालीन राजपाका नेताहरु रहेको लोकतान्त्रिक समाजवादी पार्टीले दुई र जसपाले एउटा वडा जितेको छ ।

सबभन्दा धेरै कांग्रेसले नौ वटा वडा जित्दा एमालेले सात र माओवादी केन्द्रले एउटा वडा जितेको छ । तीन वटा वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?