+

सर्पले डसेमा कस्तो उपचार गर्ने, कहाँ गर्ने ?

२०७९ जेठ  १७ गते १३:५१ २०७९ जेठ १७ गते १३:५१
सर्पले डसेमा कस्तो उपचार गर्ने, कहाँ गर्ने ?

१६ जेठ, काठमाडौं । नवलपरासीका १८ वर्षे समीर खड्कालाई सर्पले डस्यो । उनलाई हत्तपत्त जिल्लाको विभिन्न अस्पतालमा पुर्‍याइयो । ती अस्पतालमा एन्टी स्नेक भेनेम र औषधि उपलब्ध थिएन । आखिरमा उनको ज्यान गयो ।

यो गत वर्षको घटना हो । यद्यपि वर्षैपिच्छे यस्तो घटना दोहोरिन्छ । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार वर्षमा औसत २०० जनाले सर्पको डसाइबाटै ज्यान गुमाइरहेका छन् । त्यसमध्ये कतिपय अंगभंग पनि हुने गरेका छन् । महाशाखाले २०७५ सालमा गरेको अध्ययनबाट पत्ता लागेको तथ्य हो यो ।

सर्पले डसेर ज्यानै जाने जोखिम भए पनि यसबारे खासै सचेतना पाइँदैन । कस्तो सर्प बढी विषालु हुन्छ ? कुन क्षेत्रमा यसको जोखिम बढी छ ? सर्पले टोकेमा के गर्ने ? यसको प्राथमिक उपचार के छन् ? सर्वसाधारणले उति सरोकार राखेको पाइँदैन । त्यसैगरी सर्पदंशको उपचार गर्ने ठाउँ सीमित हुँदा पनि यसको जोखिम बढी छ ।

सर्पदंशका घटना हिमाली, पहाडी क्षेत्रमा भन्दा तराईमा बढी हुने गरेको बताउँछन् कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल । ‘चैतदेखि कात्तिक महिनासम्म सर्पले टोक्ने सम्भावना धेरै हुन्छ । तराई क्षेत्रमा पाइने सर्पको तुलनामा पहाड  र हिमालमा पाइने सर्प कम विषालु हुन्छन् ।

इन्चार्ज पोखरेलका अनुसार सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भागमा सर्दै गएका छन् । सर्पले मानिसलाई टोक्ने मुख्य कारण प्रतिरक्षा हो । सर्पको प्रमुख खाना मुसा हो भने मुसाको अन्न । त्यसले सर्प र मानिसको सम्पर्क हुने पोखरेल बताउँछन् ।

सर्पदंशको उपचार कहाँ कहाँ हुन्छ ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार नेपालमा ८८ वटा सर्पदंश उपचार केन्द्र छन् । २०७५ सालमा महाशाखाले गरेको अध्ययन अनुुुसार सर्पदंशबाट वार्षिक २० हजार जना पीडित हुने र त्यसमध्ये २०० जनाको मृत्यु हुने गरेको छ ।

ओझा भन्छन्, ‘कोरोना महामारीले उपचार केन्द्रसँग समन्वयमा कमी आउँदा नयाँ तथ्यांक निकाल्न सकिएको छैन । कतिपय मानिस अझै पनि झारफुकमा विश्वास गर्ने, उपचार केन्द्रसम्म आउन नपाई बाटैमा मृत्यु हुने हुँदा पनि यकिन तथ्यांक आउन गाह्रो भएको छ ।’

विषालु सर्प कस्ता हुन्छन् ?

फाइल तस्वीर

नेपालमा पाइने ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु हुन्छन् । सर्प र सर्पदंश विषयमा विद्यावारिधि गर्दै रहेका अनुसन्धानकर्ता कुलप्रसाद लिम्बुका अनुसार विषालु सर्प अन्तर्गत गोमन, करेत  र भाइपर गरी तीन किसिमका हुन्छन् ।

विषालु सर्प सामान्य सर्प भन्दा हिंस्रक स्वभावका हुन्छन् । सर्पको स्वभाव प्रजाति अनुसार भिन्न हुन्छ । विषालु करेत सर्पले न्यानो र तातो ठाँउ मन पराउने भएकाले यो सर्प प्रायः मानिसको नजिक आउन खोज्छ । यो सर्प दिउँसोभन्दा रातिको समयमा बढी सक्रिय हुन्छ ।

यसको मुख्य खाना मुसा हो भने यसले राति सिकार गर्ने गर्छ । शरीर कालो, सेतो, पहेंलो, टाटेपाङग्रे हुन्छ । गोमन प्रजातिमा राज गोमन जातको सर्प जंगलमा बस्छ भने गोमन सर्पको पछाडि चश्मा आकारको चिन्ह हुन्छ । भाइपर जातिको सर्प मानिसको सम्पर्कमा त्यति आउँदैन । यसको बासस्थान जंगल हो । यसको ज्यान भुट्टेदार हुन्छ । यो विभिन्न रंगको हुन्छ ।

सर्पदंशको औषधि

नेपालमा मात्र नभई विश्वमै पनि सर्पदंशको औषधिको अभाव छ । अन्य रोगको जस्तो यसको औषधि सर्वसुलभ नहुँदा सर्पदंशबाट मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

सर्पदंशको औषधिलाई एन्टी स्नेक भेनम भनिन्छ । नेपालमा यो औषधि नबन्ने भएकाले भारतबाट आयात गर्नुपर्ने अनुसन्धानकर्ता लिम्बू बताउँछन् ।

सर्पदंशको प्राथमिक उपचार

कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउँछन् । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन ।

कतिपयले सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गर्छन् । यसो गर्दा रक्तसञ्चारमा समस्या हुने पोखरेल बताउँछन् । जसले गर्दा सर्पले टोकेको अंग मर्ने र  खराब भएर काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ ।

विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुकजस्ता अन्धविश्वास अल्झिनुहुँदैन, सकेसम्म चाँडो उपचार केन्द्रमा लैजानुपर्छ ।

सर्पको टोकाइबाट कसरी सुरक्षित रहने ?

बेलुकाको समयमा जुत्ता लगाएर मात्रै हिंड्ने गर्नुपर्छ । यसरी हिंड्दा टर्चलाइट लिएर मात्र हिंड्नुपर्छ । यस्तै भुईंमा नसुती सधैं खाटमा सुत्ने बानी गर्नुपर्छ । ओछ्यानमा झुल टाँगेर सुत्नु सबैभन्दा राम्रो हुन्छ ।

घर वरपर सफासुग्घर राख्ने गर्नुपर्छ । लामो बाहुला भएको लुगा लगाउनुपर्छ । घरमा लिपपोत गर्दा, घाँस–दाउरा गर्दा एकदमै ध्यान पुर्‍याउने गर्दा सर्पको टोकाइबाट केही हदसम्म बच्न सकिन्छ ।

सर्पको डसाइ सर्पदंश
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय