+
+

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते २०:२४

१८ जेठ, काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले विश्व खेलकुदकै सबै भन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा चार पटक सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई सम्मान गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरिन् । त्यसक्रममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगरले सब्रिनाको यात्रामा समन्वय गरेकी थिइन् ।

बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य जितेकी छन् भने युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै बनिन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् ।

नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण पनि दिने गर्छिन् । सोलुखुम्बुको मन्जुमा रहेको एभरेष्ट जुडो क्लबलाई सामग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् ।

पाममा ३५ जना आश्रित छन् । ती मध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत पामकै उत्पादन हुन् ।

पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सब्रिनालाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सब्रिनाकै भ्रमण टोलीमा रहेका आईजेएफका मिडिया डाइरेक्टर निकोलस, रिपोटर जोइ र क्यामेराम्यान रोविनलाई पनि मायाको प्रदान गरियो ।

अध्यक्ष वज्राचार्यले एक जुडो खेलाडीले विश्वको सवोच्च शिखर आरोहण गर्नु समग्र जुडो परिवारका गर्वको कुरा भएको बताउँदै सब्रिना अत्यन्तै मेहनती र दृढ इच्छा शक्ति भएको खेलाडीका रुपमा चित्रण गरे ।

सब्रिनाले पामका जुडो खेलाडीमा विगताको भन्दा धेरै सुधार भएको प्रतिक्रया दिदै खेलाडीले आफ्नो लक्ष्य साकार गर्न कडा परिश्रम गर्नु पर्नेमा जोड दिइन् ।

सदस्य श्रेष्ठले सब्रिनालाई पामको सहयोग हात भएको बताउदै पामको स्थापना र पामले गर्ने कामका बारेमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?