+

तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

२०७९ जेठ  १९ गते १५:०७ २०७९ जेठ १९ गते १५:०७
तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

बजारमा मोटोपन घटाउने सूत्र बिक्री हुन्छ । ‘१५ दिनमा यति केजी तौल घटाउने’ भन्दै गरिने प्रचारमा मान्छे झुम्मिएका छन् । यसको स्पष्ट संकेत हो, मानिसहरु मोटोपनबाट हैरान छन् ।

मोटोपन कसरी घटाउने ? कसरी तौल नियन्त्रण गर्ने ?

मान्छेले यसमा अनेक तौरतरिका अपनाउने गरेका छन् । कोही ‘बोसो पगाल्ने’ उपकरणको सहारा खोजिरहेका छन्, कोही ‘फास्टिङ’ बसिरहेका छन् । कतिले शारीरिक व्यायामबाट त कतिले विभिन्न औषधिबाट मोटोपन नियन्त्रणको उपाय खोजिरहेका छन् ।

मान्छेहरु अन्धाधुन्ध मोटोपन घटाउनतर्फ लाग्छन् । हामी देख्न सक्छौं, मोटोपन घट्यो भनेर सामाजिक सञ्जालमा फोटो राखिरहेका हुन्छन् । उनीहरु दुब्लो त देखिन्छन्, तर रुपरंग नै उडेको देखिन्छ । अनुहार एवं छालाको चमक हराएको हुन्छ ।

किन यस्तो हुन्छ ?

अन्धाधुन्ध खानपान छाडेर वा कडा व्यायाम गरेर मोटोपन घटाउँदा त्यसले अपेक्षित नतिजा त दिंदैन नै, नकारात्मक असर गर्ने डर हुन्छ । ‘यति दिनमा मोटोपन घटाइन्छ’ भन्ने प्रचारबाजीले धेरै मान्छेलाई झुक्याएको छ ।

किनभने मोटोपन घटाउने यस्तो कुनै सूत्र हुँदैन, जुन सबैको लागि एकनास हुनेगर्छ । मान्छे के कारणले मोटाएको हो ? कति मोटाएको हो ? कुन उमेरको हो ? यसबाट उनीहरुको मोटोपनको स्थिति थाहा पाउन सकिन्छ । र, त्यही अनुसार मोटोपन नियन्त्रणको उपाय खोज्न सकिन्छ ।

एकै पटकमा १५ किलो तौल घट्यो ?

धेरैजसोलाई लाग्छ, आठ-१० दिनमै १५ किलो तौल घट्छ । तर जादुको छडीले छोए जसरी तौल घटाउने प्रक्रिया हुँदैन । तौललाई एउटा निश्चित प्रक्रियाबाट घटाइन्छ र यसका लागि लामो समय लाग्न सक्छ ।

जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो । मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

मान्छेले छिटो तौल घटाउनका लागि खाना खानै छाड्छन् । अन्धाधुन्ध कडा व्यायाम गर्न थाल्छन् । यसो गर्दा उनीहरुको तौल त घट्न सक्छ । तर यो प्रक्रिया गलत हो । किन गलत भने यसरी तौल घटाउँदा शरीरको जुन तत्व घट्नुपर्ने त्यो घट्दैन । जस्तो घटाउनुपर्ने बोसो हो ।

तर सन्तुलित खानपानको अभावमा मांसपेशी घट्छ । अन्ततः मान्छे दुब्लो, चमकहीन देखिन्छ । किनभने यसरी तोल घटाउँदा शरीरमा पोषक तत्वको अभाव हुन्छ । र, मान्छे कुपोषणग्रस्त जस्तै देखिन्छन् ।

बोसोलाई कम गराउने चक्करमा बोसोसँगै मांसपेशीपनि घटाउँदै लैजाँदा भविष्यमा दीर्घरोगको सम्भावना हुने गर्छ ।

तौल बढाउने र घटाउने सन्दर्भमा खाना मुख्य हुन्छ । यसको बढी र कम प्रयोगले शरीर असन्तुलन बन्दछ । झरिलो-भरिलो शरीरको लागि कुनै मानिसको उचाई ५ फिट ५ इन्च, तौल ६० केजी र उमेर २५ वर्ष छ भने दिनमा त्यो व्यक्तिलाई १८ सय क्यालोरी आवश्यक पर्दछ । कम क्यालोरी खाने र आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा शरीरमा भएको बोसो मात्र नभएर मांसपेशी घट्ने हुँदा सबैभन्दा पहिले खानालाई व्यवस्थापन गर्नुपर्छ । १८ सय क्यालोरी चाहिएको छ भने शरीरलाई ८ सय क्यालोरी पनि खाँदा यसले दूरगामी असर पार्छ ।

स्वस्थ शरीरको लागि के गर्ने ?

स्वस्थ शरीरका लागि विभिन्न तत्वको आवश्यकता हुन्छ । तौल कम गर्ने दौडमा हामीले शरीरको लागि नभई नहुने तत्व खाना छुटाइरहेका छौं । जुन हाम्रो लागि अत्यावश्यक हुन्छ । मोटोपनबाट बच्न अहिले कार्बोहाइड्रेट नखाने प्रवृत्ति बढ्दै गएको छ । शरीरलाई स्वस्थ रहन ऊर्जा चाहिन्छ । त्यो ऊर्जा कार्बोहाइड्रेटदेखि पाइन्छ ।

त्यस्तै शरीरलाई बलियो राख्न प्रोटिनको महत्व उत्तिकै हुन्छ । हरियो सागसब्जीमा प्रशस्त फाइबर पाइन्छ । यसलाई बढाउनुपर्छ । हामीले सबै बोसो पाइने पदार्थलाई राम्रो मान्ने गर्दैनौं । तर सबै बोसो नराम्रो पनि हुँदैन । राम्रा बोसोको स्रोत एभोकार्डो, काजु बदाम जस्ता खानेकुराबाट पाउन सकिन्छ ।

हाम्रो शरीरलाई चाहिने चार आवश्यक तत्व :

बढी प्रोटिन

कम कार्बोहाइड्रेट

बढी फाइबर

र राम्रो बोसो (गुड फ्रयाट)

प्रत्येक व्यक्तिले बडी मेटाबोलिक रेट (बीएमआर) अनुसार खानुपर्छ । हामी जस्तो भूगोलमा बस्छौं जस्तो खाना खान्छौं, आफ्नो उमेर अनुसारको खाना मिलाएर खानु उत्तम हुन्छ । शरीरलाई धेरै थकाउने, कडा एक्सरसाइज गर्ने बानीले शरीरलाई एकदमै थकाउँछ र शरीरले खानाको माग एक्सरसाइज अनुसारको नै खोज्छ । तर मोटोपनको डरले चाहिने खानाबाट पर बस्दा यसले शरीर खिङरिङ्ग देखिने र शरीर कमजोर हुँदै जाने सम्भावना हुन्छ ।

हल्का खानाको भ्रम

मोटोपनको डरले दालभात जस्ता खानालाई भन्दा फलफूललाई पनि धेरै जोड दिएको पाइन्छ  । तर यसलाई एकदमै होस गरेर खानुपर्छ । धेरै फलफूल खाने गर्दा क्यालोरी र  चिनीको मात्रा बढी हुन्छ । दिनमा एउटा स्याउलाई दुई पटक खाँदा त्यो राम्रो हुन्छ ।

एकैचोटि दुईभन्दा बढी स्याउ खाँदा यसले शरीरलाई असन्तुलन गराउँछ । हरेक खानाको बीचमा समयको फरक हुनुपर्दछ  । एकैचोटि एक थाल खानुभन्दा तीन-तीन घण्टामा भाग लगाएर खाँदा यो लाभदायी हुन्छ ।

शरीरलाई चाहिने भन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ । जसले  बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्‍याउँछ । त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाई अनुसार तौल राख्नुपर्छ । प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ । सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि ४५ मिनेट एक्सरसाइज गर्नु उत्तम हुन्छ ।

(फिटनेस ट्रेनर केसीसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानीमा आधारित)

फिटनेस स्वस्थ शरीर
लेखक
प्रकाश केसी, फिटनेस ट्रेनर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय