+

तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

२०७९ जेठ  १९ गते १५:०७ २०७९ जेठ १९ गते १५:०७
तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

बजारमा मोटोपन घटाउने सूत्र बिक्री हुन्छ । ‘१५ दिनमा यति केजी तौल घटाउने’ भन्दै गरिने प्रचारमा मान्छे झुम्मिएका छन् । यसको स्पष्ट संकेत हो, मानिसहरु मोटोपनबाट हैरान छन् ।

मोटोपन कसरी घटाउने ? कसरी तौल नियन्त्रण गर्ने ?

मान्छेले यसमा अनेक तौरतरिका अपनाउने गरेका छन् । कोही ‘बोसो पगाल्ने’ उपकरणको सहारा खोजिरहेका छन्, कोही ‘फास्टिङ’ बसिरहेका छन् । कतिले शारीरिक व्यायामबाट त कतिले विभिन्न औषधिबाट मोटोपन नियन्त्रणको उपाय खोजिरहेका छन् ।

मान्छेहरु अन्धाधुन्ध मोटोपन घटाउनतर्फ लाग्छन् । हामी देख्न सक्छौं, मोटोपन घट्यो भनेर सामाजिक सञ्जालमा फोटो राखिरहेका हुन्छन् । उनीहरु दुब्लो त देखिन्छन्, तर रुपरंग नै उडेको देखिन्छ । अनुहार एवं छालाको चमक हराएको हुन्छ ।

किन यस्तो हुन्छ ?

अन्धाधुन्ध खानपान छाडेर वा कडा व्यायाम गरेर मोटोपन घटाउँदा त्यसले अपेक्षित नतिजा त दिंदैन नै, नकारात्मक असर गर्ने डर हुन्छ । ‘यति दिनमा मोटोपन घटाइन्छ’ भन्ने प्रचारबाजीले धेरै मान्छेलाई झुक्याएको छ ।

किनभने मोटोपन घटाउने यस्तो कुनै सूत्र हुँदैन, जुन सबैको लागि एकनास हुनेगर्छ । मान्छे के कारणले मोटाएको हो ? कति मोटाएको हो ? कुन उमेरको हो ? यसबाट उनीहरुको मोटोपनको स्थिति थाहा पाउन सकिन्छ । र, त्यही अनुसार मोटोपन नियन्त्रणको उपाय खोज्न सकिन्छ ।

एकै पटकमा १५ किलो तौल घट्यो ?

धेरैजसोलाई लाग्छ, आठ-१० दिनमै १५ किलो तौल घट्छ । तर जादुको छडीले छोए जसरी तौल घटाउने प्रक्रिया हुँदैन । तौललाई एउटा निश्चित प्रक्रियाबाट घटाइन्छ र यसका लागि लामो समय लाग्न सक्छ ।

जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो । मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

मान्छेले छिटो तौल घटाउनका लागि खाना खानै छाड्छन् । अन्धाधुन्ध कडा व्यायाम गर्न थाल्छन् । यसो गर्दा उनीहरुको तौल त घट्न सक्छ । तर यो प्रक्रिया गलत हो । किन गलत भने यसरी तौल घटाउँदा शरीरको जुन तत्व घट्नुपर्ने त्यो घट्दैन । जस्तो घटाउनुपर्ने बोसो हो ।

तर सन्तुलित खानपानको अभावमा मांसपेशी घट्छ । अन्ततः मान्छे दुब्लो, चमकहीन देखिन्छ । किनभने यसरी तोल घटाउँदा शरीरमा पोषक तत्वको अभाव हुन्छ । र, मान्छे कुपोषणग्रस्त जस्तै देखिन्छन् ।

बोसोलाई कम गराउने चक्करमा बोसोसँगै मांसपेशीपनि घटाउँदै लैजाँदा भविष्यमा दीर्घरोगको सम्भावना हुने गर्छ ।

तौल बढाउने र घटाउने सन्दर्भमा खाना मुख्य हुन्छ । यसको बढी र कम प्रयोगले शरीर असन्तुलन बन्दछ । झरिलो-भरिलो शरीरको लागि कुनै मानिसको उचाई ५ फिट ५ इन्च, तौल ६० केजी र उमेर २५ वर्ष छ भने दिनमा त्यो व्यक्तिलाई १८ सय क्यालोरी आवश्यक पर्दछ । कम क्यालोरी खाने र आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा शरीरमा भएको बोसो मात्र नभएर मांसपेशी घट्ने हुँदा सबैभन्दा पहिले खानालाई व्यवस्थापन गर्नुपर्छ । १८ सय क्यालोरी चाहिएको छ भने शरीरलाई ८ सय क्यालोरी पनि खाँदा यसले दूरगामी असर पार्छ ।

स्वस्थ शरीरको लागि के गर्ने ?

स्वस्थ शरीरका लागि विभिन्न तत्वको आवश्यकता हुन्छ । तौल कम गर्ने दौडमा हामीले शरीरको लागि नभई नहुने तत्व खाना छुटाइरहेका छौं । जुन हाम्रो लागि अत्यावश्यक हुन्छ । मोटोपनबाट बच्न अहिले कार्बोहाइड्रेट नखाने प्रवृत्ति बढ्दै गएको छ । शरीरलाई स्वस्थ रहन ऊर्जा चाहिन्छ । त्यो ऊर्जा कार्बोहाइड्रेटदेखि पाइन्छ ।

त्यस्तै शरीरलाई बलियो राख्न प्रोटिनको महत्व उत्तिकै हुन्छ । हरियो सागसब्जीमा प्रशस्त फाइबर पाइन्छ । यसलाई बढाउनुपर्छ । हामीले सबै बोसो पाइने पदार्थलाई राम्रो मान्ने गर्दैनौं । तर सबै बोसो नराम्रो पनि हुँदैन । राम्रा बोसोको स्रोत एभोकार्डो, काजु बदाम जस्ता खानेकुराबाट पाउन सकिन्छ ।

हाम्रो शरीरलाई चाहिने चार आवश्यक तत्व :

बढी प्रोटिन

कम कार्बोहाइड्रेट

बढी फाइबर

र राम्रो बोसो (गुड फ्रयाट)

प्रत्येक व्यक्तिले बडी मेटाबोलिक रेट (बीएमआर) अनुसार खानुपर्छ । हामी जस्तो भूगोलमा बस्छौं जस्तो खाना खान्छौं, आफ्नो उमेर अनुसारको खाना मिलाएर खानु उत्तम हुन्छ । शरीरलाई धेरै थकाउने, कडा एक्सरसाइज गर्ने बानीले शरीरलाई एकदमै थकाउँछ र शरीरले खानाको माग एक्सरसाइज अनुसारको नै खोज्छ । तर मोटोपनको डरले चाहिने खानाबाट पर बस्दा यसले शरीर खिङरिङ्ग देखिने र शरीर कमजोर हुँदै जाने सम्भावना हुन्छ ।

हल्का खानाको भ्रम

मोटोपनको डरले दालभात जस्ता खानालाई भन्दा फलफूललाई पनि धेरै जोड दिएको पाइन्छ  । तर यसलाई एकदमै होस गरेर खानुपर्छ । धेरै फलफूल खाने गर्दा क्यालोरी र  चिनीको मात्रा बढी हुन्छ । दिनमा एउटा स्याउलाई दुई पटक खाँदा त्यो राम्रो हुन्छ ।

एकैचोटि दुईभन्दा बढी स्याउ खाँदा यसले शरीरलाई असन्तुलन गराउँछ । हरेक खानाको बीचमा समयको फरक हुनुपर्दछ  । एकैचोटि एक थाल खानुभन्दा तीन-तीन घण्टामा भाग लगाएर खाँदा यो लाभदायी हुन्छ ।

शरीरलाई चाहिने भन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ । जसले  बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्‍याउँछ । त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाई अनुसार तौल राख्नुपर्छ । प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ । सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि ४५ मिनेट एक्सरसाइज गर्नु उत्तम हुन्छ ।

(फिटनेस ट्रेनर केसीसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानीमा आधारित)

फिटनेस स्वस्थ शरीर
लेखक
प्रकाश केसी, फिटनेस ट्रेनर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?