+
+

५ महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ १९ गते १७:४०
फाइल तस्वीर

१९ जेठ, काठमाडौं । नेपालमा वसन्त ऋतुको पर्वतारोहण सिजन सकिएसँगै पर्यटक आगमन घट्न थालेको छ । मे २०२२ मा अघिल्लो महिना (अप्रिल) को तुलनामा कम पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्यांकमा देखिएको छ ।

विभागका अनुसार मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल आए । यो अघिल्लो महिनाको तुलनामा ४ हजार ७७६ जना कम हो । अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो महिना आरोहणमा आउने पर्वतारोहीका कारण संख्यामा उल्लेख्य वृद्धि भएको थियो । यो संख्या वर्षायाम सुरु हुन थालेसँगै काम भएको हो । नेपालमा मनसुन सिजनमा पर्यटक आगमन सामान्य अवस्थामा समेत कम हुने गरेको छ ।

विभागको तथ्यांक अनुसार सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । कोभिड–१९ को समयमा झण्डै शून्यमा झरेको पर्यटक आगमन अहिले भने सुधारोन्मुख अवस्थामा छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा पर्यटन आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको देखिएको छ । यसमा बंगलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उनले बताए ।

 सबैभन्दा धेरै भारतीय

अध्यागमन विभागको तथ्यांक अनुसार एक महिना (मे २०२२) मा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो । सरकारले स्थलगत रुपमा आउने भारतीय नागरिकलाई पर्यटक मान्दैन ।

दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ । मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारी अगाडि चीन पर्यटन स्रोत बजारका हिसावले दोस्रो स्थानमा थियो । तर, चीनले आफ्ना नागरिकलाई भ्रमण खुला नगरेका कारण चीनबाट आउने नागरिकको संख्या अझै बढ्न सकेको छैन । मे महिनामा चीनबाट ३ सय ८८ जना नेपाल आएका छन् । उनीहरु कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी तथा नेपालमा सञ्चालित आयोजनामा काम गर्ने चिनियाँ कामदार मात्र हुन् ।

१६९ मुलुकका नागरिक नेपालमा आए

अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन् । यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् ।

विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?