+
+
ब्लग :

जनस्वास्थ्यमा मोबाइल एप्लिकेसनको बाढी, कसरी बुझ्ने ?

स्वास्थ्य सेवाको यो बढ्दो बजारीकरणसँगै उठ्न सक्ने प्रश्न– के त्यो वेबसाइट मार्फत सीधै कार्डियोथेरासिस सर्जनसँगै कुरा गर्न सकिन्छ कि उनको नाममा कनिष्ठ स्वास्थ्यकर्मीसँग सम्पर्क हुने हो ? यहाँ मेडिकल इथिक्सको प्रश्न टड्कारो रहेको छ।

अनिश भट्टराई  अनिश भट्टराई 
२०७९ जेठ २३ गते १२:३९

कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणसँगै अन्य विकासोन्मुख देशमा झैं नेपालमा पनि जनस्वास्थ्यको क्षेत्रमा मोबाइल एप्लिकेशनको प्रयोगमा बाढी आएको छ। मोबाइल फोन मार्फत चिकित्सकहरूसँग परामर्श, आवश्यक औषधि खरिद पछिल्लो चरणमा मोबाइल फोन प्रयोगकर्ताहरूले रुचाएको शैली हो। यससँगै बिरामीको लागि रगत, एम्बुलेन्स सेवा र आवश्यक चिकित्सकीय उपकरणहरूको होम डेलिभरी पनि आजभोलि मोबाइलबाट नै सम्भव भएको छ। कोभिड संक्रमणको समयमा अस्पतालबाट हुनसक्ने कोभिड-१९ को जोखिमको कारणले गर्दा पनि चिकित्सक र बिरामीहरूलाई मोबाइल एप्लिकेशनहरूले नजिक बनाएको देखिन्छ।

हिजोआज चिकित्सकहरूले मोबाइल एप्लिकेशनकै सहायताले बिरामीसँग प्रत्यक्ष सम्पर्क गरिदिने परामर्श सेवा टेलिमेडिसिन/मोबाइल टेलिकन्सल्टेशनको नाममा प्रचलन रहेको छ भने जो–कोही डाक्टरहरूले लेखिदिएको प्रेस्क्रिप्सनको आधारमा दिइने औषधिहरू होम डेलिभरी दिने काम ई–फार्मेसीको रूपमा प्रयोगमा रहेको छ। यति मात्र हैन वृद्ध तथा दीर्घरोगीहरूलाई लक्षित गरी प्याकेजको रूपमा घरमै गएर दिने नियमित स्वास्थ्य जाँच सेवाले पनि आफ्नो बजार फराकिलो बनाइरहेको छ।

टेलिमेडिसिन/कन्सल्टेन्सी सेवा

कम्तीमा हाम्रो देशको सन्दर्भमा टेलिमेडिसिन भन्नाले इन्टरनेटको माध्यमबाट बिरामीसँग सम्पर्क गरी रोग निदानको लागि उपलब्ध गराइने चिकित्सकीय परामर्श भन्न सकिन्छ। यद्यपि टेलिमेडिसिनको परिभाषा यतिमै सीमित छैन। विश्वव्यापी रूपमा यसको प्रयोग रोबोटिक शल्यक्रियासम्म पुगिसकेको छ। कोभिड सङ्क्रमणको समयमा धेरै डाक्टर मोबाइल टेलिकन्सल्टेशनमा संलग्न रहेको पाइएको थियो।

अहिले बजारमा विभिन्न रणनीतिका साथ ठूला–ठूला कम्पनीहरू टेलिमेडिसिन सेवा भनेर अगाडि आएका छन्। यसमा नेपाली परम्परागत पात्रोलाई डिजिटलाइज गरी ख्याति कमाएको हाम्रो पात्रोदेखि मिदास टेक्नोलोजीसम्मका ठूला कम्पनीहरू छन्। हेल्थ लाइफ फाउन्डेसनको हाम्रो पात्रो, मेडिडक, क्युराहेल्थ, मेरो हस्पिटल, टेलिउपचार, रेलिश हेल्थ केयर, क्लिकवन, मेडिकोमा, टेलिहेल्थ नेपाल, स्मार्ट टेलिहेल्थ आदि नामले मोबाइल टेलिहेल्थ सेवा दर्जनौंको सङ्ख्यामा सक्रिय छन्।

टेलिहेल्थ भनिएका माथि उल्लेखित कतिपय कम्पनीहरूले डाक्टरहरू आफ्नो एपमा ल्याएर बिरामीको उपचारमा सहयोग गरी तिनैलाई औषधिदेखि रगतसम्म कोभिड-१९ को परीक्षणको काम गर्दै आइरहेको देखिन्छ। उदाहरणको लागि विराटनगरबाट सञ्चालित क्युराहेल्थ नामको मोबाइल एपको सहायताले डाक्टरहरूसँग सम्पर्क गर्ने मात्र हैन, त्यसैबाट आफ्नो रगत आदिको जाँचको सेवा पनि लिन सकिन्छ।

मेरो हस्पिटल भन्ने मोबाइल एप मार्फत टेलिकन्सल्टेशनका अतिरिक्त निश्चित शुल्क भुक्तानी गरी नर्सिङ केयर, फिजियोथेरापी आदिको सेवा लिन सकिन्छ। रेलिश हेल्थ केयर भन्ने मोबाइल एपको आधिकारिक वेबसाइट उल्लेख भए अनुसार यस कम्पनीले मोबाइल एप्लिकेशनमार्फत कन्सल्टेन्सी सेवा उपलब्ध गराउनुको साथै घरमै गएर पनि पेडियाट्रिक तथा मनोचिकित्सक सेवा, रगत जाँच सेवा आदि उपलब्ध गराउने गर्दछ।

फार्मेसी

मोबाइल टेलिकन्सल्टेशनको बढ्दो प्रयोगसँगै डाक्टरले लेखेको पेस्क्रिप्सनको आधारमा घर–घरमा औषधि पुर्‍याउने ई-फार्मेसी सेवा पनि उत्तिकै प्रचलित रहेको देखिन्छ। नेपमेड्स, जिभी, मेरो हेल्थ केयर, ट्वान्टीफोर सेभेन, सजिलो मेड्स, ई–फार्मेसी, अनलाइन औषधि, रेलिश हेल्थ केयर आदि मोबाइल एप्लिकेशनको प्रयोगमार्फत घर–घरमा औषधि पुर्‍याइदिने कम्पनी हुन्। टेलिमेडिसिनकै आवरणमा व्यावसायिक रूपमा खुलेका ई-कमर्स फार्मेसी सेवालाई राज्यको नियमन गर्ने निकायले यसप्रकारको कार्य गर्न नपाइने हो भने सीधै अवैध घोषित गर्नुपर्छ। यदि गर्न पाइने हो भने के कस्तो अवस्थामा गर्न पाइने भनेर नीति नियम बनाउनुपर्छ। होइन भने सकेको अवस्थामा जो कोहीले जे सुकै दाबी गरेर सेवाग्राहीलाई प्रभावमा पार्न खोज्ने अभ्यासले बढावा पाउँछ। उदाहरणको लागि मेरो हेल्थ केयर नामक कम्पनीको वेबसाइटमा ‘आस्क अ डाक्टर’ भनेर एमएस गरेको सर्जनदेखि सिनियर कार्डियोथेरासिस भास्कुलर सर्जनसम्मको नाम देखिन्छ। स्वास्थ्य सेवाको यो बढ्दो बजारीकरणसँगै उठ्न सक्ने प्रश्न– के त्यो वेबसाइटमार्फत सीधै कार्डियोथेरासिस सर्जनसँगै कुरा गर्न सकिन्छ कि उनको नाममा कनिष्ठ स्वास्थ्यकर्मीसँग सम्पर्क हुने हो ? यहाँ मेडिकल इथिक्सको प्रश्न टड्कारो रहेको छ ।

होम सर्भिस

नेपालमा भर्खरैदेखि सुरु भएको अनलाइन मार्फत डाक्टरलाई भेट्ने समय निर्धारण गरेर घरमै अस्पतालको सेवा लिने प्रक्रियालाई टेलिमेडिसिन सेवाको परिष्कृत व्यावसायिक रूप हो भन्न सकिन्छ। यद्यपि टेलिमेडिसिन सेवाको मूल मर्मलाई सम्बोधन गरेको देखिंदैन। मूलतः कोभिड सङ्क्रमणको समयमा घरमै स्वास्थ्यकर्मी बोलाएर लिइने सेवा पछिल्लो समयमा अनलाइनमा व्यवस्थित रूपले सञ्चालनमा हुन थालेको देखिन्छ। डाक्टर अंकल, डाँफे केयर, हेल्थ एट होम आदि नाम चलेका इन्टरनेट मार्फत घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने कम्पनी हुन्।

अन्य

अनलाइनमार्फत उपलब्ध हुने उपचार सेवा पछिल्लो समयमा विविधीकरण हुन थालेको छ। हिजो आज मोबाइल मार्फत कन्सल्टेन्सी, फार्मेसी, घरमै स्वास्थ्य सेवाका अतिरिक्त उपचारको क्रममा आवश्यक पर्ने रगतदेखि एम्बुलेन्स सेवाको आवश्यकता पूर्ति गर्न सकिन्छ। यद्यपि यसको प्रयोग र उपलब्धता साँघुरो छ। मेडिकोमा भन्ने एप मार्फत विभिन्न अस्पताल तथा क्लिनिकहरूमा एपोइन्टमेन्ट बुक गर्न सकिन्छ। विसएम एमडी भन्ने कम्पनीले आफ्नो कम्पनीको वेबसाइटमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेको डायग्नोसिस गर्ने सेवा उपलब्ध गराउने दाबी गरेको छ।

यसरी सर्सर्ती हेर्दा मोबाइल टेलिमेडिसिन/कन्सल्टेन्सी सेवा भनेर प्रचार गरे पनि पछिल्लो कोभिड सङ्क्रमणको समयमा यसैलाई आधार बनाएर कोभिड आदिको होम टेस्टिङ्ग सर्भिस, अन्य ल्याब टेस्टिङ्ग सर्भिस, घरमै मेडिसिन पुर्‍याइदिने नितान्त व्यावसायिक कार्यमा संलग्न देखिन्छन्।

चुनौती

चाहे नेपाल मेडिकल काउन्सिलले जारी गरेको टेलिमेडिसिन निर्देशिका होस् वा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका (दूर चिकित्सा सेवा- टेलिमेडिसिन) तथा अनलाइन स्वास्थ्य सेवा कार्यविधि-२०७७, कम्तीमा अहिले नेपालको सन्दर्भमा टेलिमेडिसिन भनेर प्राक्टिस गरिंदै आएको सेवालाई सम्पूर्ण रूपले निर्देशित गर्न सकेको देखिंदैन। उल्लेखित निर्देशिका/कार्यविधिहरू मूलतः टेलिमेडिसिन सेवामा केन्द्रित रहेर निर्माण गरिएको देखिन्छ भने बजारमा विभिन्न एपहरू प्रयोग गरेर अन्य स्वास्थ्य सेवाहरूको पनि बिक्री–वितरण गर्न थालेका छन्।

(लेखक बीपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रममा प्रविधिक संयोजक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?