+
+

स्थानीयको ढुंगा मुढापछि फोहोरसहितका ट्रक बञ्चरेडाँडाबाट फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:०२

२५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिएको छ ।

काठमाडौं महानगरपालिकाका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठका अनुसार प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीय वासिन्दाको अवरोधपछि फिर्ता भएको हो ।

केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार प्रहरीलाई लक्षित गरी एउटा पेट्रोल बम पनि प्रहार भएको भेटिएको छ । घटनामा चारजना प्रहरी घाइते भएको मैनाली बताउँछन् । केही स्थानीयवासी पनि घाइते भएका छन् ।

प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले बताए । प्रहरीले तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्याँस  हानेको स्थानीयबासीले बताएका छन् ।

स्थानीयबासी समीर ढुंगानाले भने ‘आज हामीले चर्को रुपमा विरोध गर्‍यौं । त्यसको बाबजुद पनि २ ट्रक फोहोर खसालिएको छ ।’ स्थानीय वासिन्दाले ढुंगामुढा गर्दा १२ वटा गाडीमा क्षति पुगेको छ । प्रहरीले बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेतीसहित ४ जनालाई पक्राउ गरेको छ ।

दिनभर तनाव भएपछि प्रहरीको उपस्थितिमा पनि काठमाडौं उपत्यकाको फोहोर फ्याल्न सम्भव भएन । त्यसो त शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर स्थानीयले फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै अवरोध गरेका थिए ।

सहमतिमा धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको थियो ।

असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको थियो । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको थियो । साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको थियो ।

तर यो सहमतिमा स्थानीय वासिन्दाले चित्त बुझाएनन् । स्थानीयवासीका अनुसार केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेकाले अवरोध गरिएको हो । यो सहमति हुँदा बञ्चरेडाँडा क्षेत्रका वासिन्दा र संघर्ष समितिलाई सहभागी गराइएको थिएन ।

स्थानीय संघर्ष समितिलाई अवहेलना गरिएकाले अवरोधमा उत्रिएको समितिका सदस्य श्रीहरि ढकाल बताउँछन् । बिहीबार पनि आफूहरुको अवरोध निरन्तर रहने उनी बताउँछन् । मंगलबार १५७ वटा गाडीको फोहोर अनलोड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?