+
+

जुद्ध शमशेरले न्युरोड बनाउँदा मासिएको डबली ब्युँतियो

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ ३१ गते २०:०७

३१ जेठ, काठमाडौं । काठमाडौंको इन्द्रचोकमा डबली निर्माण सुरु भएको छ । करिब ८५ लाख लागतमा डबली निर्माण सुरु भएको इन्द्रचोक पुनर्निर्माण समितिले जनाएको छ । डबली  निर्माणमा संघीय सरकार, प्रदेश र काठमाडौं महानगर गरी ७२ लाख रुपैयाँ बजेट आएको छ भने १२ देखि १५ लाख रुपैयाँ बराबरको श्रमदान स्थानीयबाट हुने समितिले जानकारी दिएको हो  ।

सडक अभाव भएको कारण पिच भत्काएर डबली बनाइए पनि सवारी भने आवागमन भने रोकिने छैन ।

असारको पहिलोे सातासम्म काम सम्पन्न हुनेगरी निर्माण भइरहेका  इन्द्रचोक पुनर्निर्माण समितिका कोषाध्यक्ष मिरा महर्जनले जानकारी दिइन् । उक्त डबलीमा स्वेतःकाली, नरदेवी दि ट्याँखँः, गठु प्याँ खँः जस्ता ठाउँहरुबाट पुजारी, गुरुहरु जात्रामा नाच्ने गर्छन् ।

संघर्ष पछिको खुशी

इन्द्रचोकमा डबली नभएर जात्राका बेला पीच सडकमै दिप्याखः लगायत अन्य साँस्कृतिक गतिविधि सन्चालन हुने गरेको थियो । जसले गर्दा व्यापारी, पैदलयात्रु, सवारी चालकलाई समस्या हुने गरेको थियो । तर अहिले डबली निर्माण सुरु भइसकेपछि स्थानीयबासी, संस्कृतीप्रेमी खुशी हुन थालेको इन्द्रचोक पुनर्निर्माण समितिका संयोजक केयुर मान्सुर बताउँछन् । ‘अब डबली  भइसकेपछि यहाँ कसैले हस्तक्षेप गर्दैन । पीच हुँदा यो सडक त हो नि भनेर हस्तक्षेप हुने गर्थ्यो ।  अरु बेला सवारी साधन सञ्चालन भए पनि जात्राको बेला भने डबलीमा हस्तक्षेप हुँदैन,’ उनले भने ।

पुरातत्व अनुसन्धानकर्ता अमर डंगोलका अनुसार ९० सालअघि इन्द्रचोक र हालको विशाल बजारबीच ५७६ वर्गफिटको डबली थियो । २ फिट अग्लो डबलीको बिचमा मण्ड (मण्डप) थियो । तर अहिले सोही आकारको डबली निर्माण गर्न नसके पनि डबलीको अस्तित्व जोगाउन सफल भएको उनी बताउँछन् ।

इन्द्रचोकका स्थानीय बासिन्दा समेत रहेका बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ भन्छन्, ‘हामी इन्द्रचोक क्षेत्रलाई सांस्कृतिक रुपमा पुनर्निर्माण गर्ने अभियानमा छौं, अहिले सुरुवातमात्रै भएको छ । यो क्षेत्रमा विकासको क्रममा मासिएका सम्पदा फेरि ब्युँत्याएका छौं ।’

बग्गीको बाटो रोकिँदा भत्किएको थियो डबली

१९९० सालको महाभूकम्पमा घरहरु ढलेर वसन्तपुर दरबार क्षेत्रबाट टुँडिखेल निस्कने बग्गीको बाटो अवरुद्ध भयो ।

पुनर्निर्माणको क्रममा तत्कालीन श्री ३ जुद्धशमशेर राणाले वसन्तपुर र इन्द्रचोकबाट टुँडिखेल निस्कने बाटोलाई बग्गीमात्र हैन, मोटर नै गुड्ने गरी चौडा पार्न लगाए ।

फराकिलो नयाँ बाटोको टि–जक्सनमा श्री ३ महाराजको प्रतिमा राखेर ‘जुद्ध सडक’ नामाकरण गरियो । आमजनताले भने त्यसलाई ‘नयाँ सडक’ नामले प्रसिद्ध बनाए । अहिले ‘न्युरोड’ कहलाएको काठमाडौं महानगरको यो ‘हाई स्ट्रिट’को निर्माणकालमा थुप्रै सम्पदा नास गरिएको थियो ।

१९९० भदौमा किलागलमा जन्मिएका इन्द्र महर्जन जुद्ध शमशेरको हुकुमले नयाँ सडक बन्दा खास गरेर थुप्रै डबु (डबली) र सत्तल मासिएको बताउँछन्, जो लिच्छवीकालीन थिए ।

महाभूकम्पभन्दा ६ महिनाअघि जन्मिएका उनलाई यो कुरा कसरी थाहा भयो त ? यसको खास कारण छन् । पहिलो त नयाँ सडक बन्दा उनका मावलीहरुको उठिबास भएको थियो, जसले गर्दा त्यसबेलाको निजी र सार्वजनिक क्षतीबारे उनले वाल्यकालबाटै सुन्दै आए ।

कालान्तरमा उनी डबलीका देवी–दैत्य नर्तक, गुरु र सम्पदा संरक्षण अभियन्ता बने । इन्द्रजात्राको भोलिपल्ट दिप्याखः (देवीनाच) हुने गरेको इन्द्र चोकको लिच्छवीकालीन डबलीलाई पूर्व अवस्थामा फर्काउने प्रयासमा जुटे । ‘तत्कालीन राजा, पञ्च, दलीय नेता र प्रशासकहरुसँग अनेक पटक हारगुहार गर्दा पनि डबली ब्युँत्याउन सकिएन’, महर्जन भन्छन्, ‘जात्राको दिन एक दिन माग्दा पनि दिंदैनन् ।’

परम्पराअनुसार डबलीमा हुनपर्ने दिप्याखः बाध्यताबस सडकमै देखाउन थालेको उनले बताए । एकै पटक ७ वटा डबलीमा देखाइने दिप्याखःमा बासनादार फूलसहित ७ थरी बाजा र ७ वटा तालमा ७ देवी–देवताको नृत्य देखाइन्छ ।

इन्द्रचोकबाहेक बसन्तपुर, किलागल, नरदेवी, बाँङ्गेमुढा, जैसीदेवल र हनुमानढोको काल भैरव अगाडि दिप्याखः डबली छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?