+
+

पहिला अभिभावक सुध्रिने कि बालबालिका ?

आफूले भनेको मान्दा ज्ञानी भन्ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने अभिभावकले आफ्नो बालापना कहिल्यै याद गर्नुभएको छ ? छोराछोरी सुधार्ने हो भने पहिला अभिभावक सुध्रिनुपर्ने हुन्छ ।

रामकुमार थापा रामकुमार थापा
२०७९ असार २ गते १२:०७

छोराछोरीको गुनासो आमाबाबुलाई कति हो कति । बिहान ओछ्यानदेखि बेलुका त्यही ओछ्यानमा नसुतेसम्म बालबालिकाले कति नकारात्मक गाली खानुपर्छ, त्यो बालबालिकालाई मात्रै थाहा छ ।

आफ्नै छोराछोरीदेखि विरक्तिएका, दुःखी र चिन्तित भएका अभिभावक धेरै छन् । आफू सुध्रिएर होइन, बालबालिका सुधार्न आफ्नै छोराछोरीलाई गर्ने गालीको भेराइटी पनि धेरै छन् । एकपटक सोचौं त, हामीले एक दिनमा छोराछोरीलाई गर्ने व्यवहार कस्तो छ ? ती छोराछोरी तपाईंकै त हुन् नि ? छोराछोरीलाई असल र ज्ञानी बनाउने नाममा अभिभावकले गर्ने व्यवहारले उनीहरूलाई मनोवैज्ञानिक असर पारेको छ ।

हामीले बिहानैदेखि आफ्ना छोराछोरीलाई के भन्छौं ? ‘यसको त दिमाखै छैन’, ‘यसले गरेर खाँदैन’, ‘म मरेपछि खालास्’, ‘यस्तो सन्तान पाउनुभन्दा गर्भ नबसेको भए हुन्थ्यो’, ‘बच्चा नहुँदो हो त कति खुसी र आनन्द होला’ जस्ता कति धेरै नकारात्मक गाली गर्छौं । कलिलो मनस्थितिमा यति धेरै गालीले कस्तो असर पारेको होला ।

छोराछोरीलाई राम्रो बनाउने बहानामा हामीले गर्ने हरेक व्यवहार जायज छन् त ? एकपटक गम्भीर भएर सोचौं । हामी बच्चालाई उमेर अनुसार डर र धम्कीमा राख्न सिपालु छौं । सानो उमेरमा बालबालिकालाई भूत आउँछ, वनझाँक्री आउँछ, बाघ आउँछ, जोगी आउँछ, भुरा लैजाने मान्छे आउँछ भन्छौं । त्यति मात्रै हो र भात नखाए भूत आउँछ, बेस्सरी रोए पनि चोर आउँछ जस्ता कति कति नकारात्मक कुराहरू गर्छौं । हामीले यसरी नकारात्मक व्यवहार गरेर हुर्काएका बच्चाहरूले सकारात्मक व्यवहार गर्छन् भन्ने तपाईंलाई लाग्छ ?

बालबालिका खुल्ला आकाशका चरी जस्तै हुन् । उनीहरू आफूलाई स्वतन्त्र राख्न र हुन चाहन्छन् । छोराछोरीलाई असल बनाउने बहानामा अभिभावकहरूले अहिले गरेको व्यवहारले उनीहरूलाई थप प्रेसरमा राखेको देखिन्छ । पुरानो संस्कार अनुसार बालबालिका हुर्काउने अवस्था अहिले छैन ।

असल र ज्ञानी बनाउने हो भने आफ्ना छोराछोरीलाई राम्रो व्यवहार गर्नुपर्छ । हामीले जे रोप्छौं, त्यही फल्ने हो । बालबालिका अभिभावकका ऐना हुन् । हामीले गरेका व्यवहारहरू बालबालिकाले एक-एक नियालिरहेका हुन्छन् । अहिले अधिकांश अभिभावकलाई आफ्ना छोराछोरीको बढी चिन्ता भएको देखिन्छ ।

आफ्नो छोराछोरीको नकारात्मक व्यवहारले गर्दा अभिभावकहरूलाई पनि समस्या भइसकेको छ । तर पनि हामी आफ्ना नानीबाबुलाई कसरी हुर्काउने, बढाउने र पढाउने भन्ने ज्ञान नै छैन । सवारी साधन चलाउन न त लाइसेन्स आवश्यक पर्छ । हामी आफ्ना छोराछोरीको भविष्य निर्धारण गर्ने जस्तो काममा भने विना सीप हुर्काइरहेका छौं ।

समस्या बालबालिकामा होइन अभिभावकहरूमा हो । जन्मेदेखि नै हामीले गर्ने व्यवहारले बालबालिकाको मनस्थिति बनेको हुन्छ । उनीहरूलाई माया, हौसला, प्रेरणा, सहयोग र सद्भावको आवश्यकता छ । बालबालिका सुधार्ने होइन, उनीहरूको बानी-व्यवहार सुधार गर्ने हो ।

बालबालिकाको अगाडि तपाईं रोलमोडल बन्नुभयो भने उनीहरूको समस्या आफैं कम भएर जान्छ । अभिभावकहरूको तनाव सबै छोराछोरीले बेहोर्नुपर्ने हुन्छ । वास्तवमा बालबालिकाले आफ्नो कुरा बुझ्ने, माया गर्ने र हौसला दिने अभिभावक पाएका छैनन् । बालबालिकाको मनोभावना बुझ्ने अभिभावकहरूको खाँचो छ । आफूले भनेको मान्दा ज्ञानी भन्ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने अभिभावकले आफ्नो बालापन कहिल्यै याद गर्नुभएको छ ? छोराछोरी सुधार्ने हो भने पहिला अभिभावकहरू सुध्रिनुपर्ने हुन्छ । बालबालिकाले बढी मोबाइल चलायो भनेर गुनासो गर्ने हामी अभिभावकले कति समय चलाउछौं ? कसरी हेर्छौं, कुन समयमा हेर्छौं र के के हेर्छौं याद गर्नुहोस् त ?

तपाईंले मोबाइल हेर्ने समय घटाउनुभयो भने हाम्रा बालबालिकाको मोबाइल हेर्ने समय आफैं घट्छ । बालबालिकाको भावना बुझेर भन्दा पनि अभिभावकहरूको भावना अनुसार व्यवहार गर्ने गर्छौं । हामी तनावमा छौं, व्यस्त छौं, भविष्यको विषयमा प्रेसरमा छौं भन्दैमा साना बालबालिकालाई बढी दबावमा राख्नु राम्रो होइन । बालबालिका राम्रो बनाउने हो भने आजैदेखि राम्रा राम्रा व्यवहार र कुराहरू गर्दै जानुहोस् । सुरुवात गर्न अप्ठेरो हुन्छ तर आजैबाट एक एक वटा व्यवहारहरू सुधार गर्नुभयो भने एकदिन अवश्य राम्रो हुन्छ । एकैपटक सबै कुरा सुधार गर्न सकिंदैन तर स-सानो कुराहरूबाट परिवर्तन आजैबाट सुरु गरौं ।

बालबालिकालाई कसरी व्यवहार गर्ने ?

१. बालबालिकालाई स्वीकार गर्ने, पर्याप्त समय दिएर कुरा सुन्ने र रमाइलो गरेर उनीहरूको भावना अभिव्यक्त गर्ने वातावरण बनाउने ।

२. बालबालिकालाई परिवर्तन गर्न खोज्नुभन्दा वातावरणमा सुधार ल्याउन पहल गर्ने ।

३. बालबालिकाको अगाडि झुटो नबोल्ने, गराइ र भनाइमा अभिभावकहरूले अन्तर नराख्ने ।

४. बालबालिकको अगाडि अभिभावक झगडा गर्ने, रिसाउने जस्ता गतिविधि नगर्ने ।

५. बालबालिकालाई अनुशासन थोपर्नुको साटो अनुशासन स्वीकार गर्नको लागि प्रेरित गर्ने ।

६. आफ्ना बालबालिकाको असल साथी बन्ने कोसिस गर्ने र साथीको जस्तो व्यवहार गर्ने ।

७. तिमीलाई केही समस्या हुँदा म जहाँ भए पनि तिमीसँगै हुन्छु भनेर विश्वास दिलाउने ।

८. पढ्न, लेख्न र ज्ञानी हुँदा के हुन्छ राम्रोसँग बुझाउने । बालबालिकालाई महसुस गराउने ।

९. कुनै पनि कार्य गराउँदा स-सानो कामबाट सुरु गराउने । उनीहरूको बानी सुधार गर्नुपर्ने काम एकैपटक गर्नुहुँदैन । यो क्रमिक प्रक्रिया हो ।

१०. सामाजिक अन्तरक्रियाका सीपहरू सिकाउने । जस्तै- नमस्कार गर्ने, धन्यवाद भन्ने, अरूले धन्यवाद भन्दा मुसुक्क हाँस्ने, गल्ती गर्दा माफ गर्नुहोला भन्ने आदि ।

११. बालिबालिकाले प्रेरणा, हौसला, माया, सम्मान प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्ने । बालबालिकाले गर्न सक्ने कामहरू तिमी गर्न सक्छौ र तिमीसँग त्यो क्षमता छ भनेर सम्झाइरहने ।

१२. पढ अनि खेल भन्नुको साटो पहिला खेल अनि पढ भन्न सुरु गर्ने । अभिभावकहरूसँगै बसेर पढ्न र लेख्नमा सहजीकरण गर्ने ।

१३. आफ्नो बालबालिकाप्रतिको तीव्र अपेक्षा नराख्ने । उनीहरूको व्यवहारलाई स्वीकार गर्ने ।

(थापा धादिङको नीलकण्ठ नगरपालिकामा कार्यरत मनोसामाजिक परामर्शकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?