+
+
‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनालसँग संवाद :

‘सम्बन्धको कथामा धेरै रमाउँछु’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १८:५१
निर्देशक दीपेन्द्र के खनाल । फाइल तस्वीर

२ असार, काठमाडौं । ‘द युगदेखि युगसम्म’ निर्देशन गर्दै फिल्म करिअर थालेका दीपेन्द्र के खनाल मर्मस्पर्शी फिल्मका कारण परिचित छन् । पशुपति प्रसाद, धनपति, आमाजस्ता समीक्षकले रुचाएका र बक्स अफिसमा हिट फिल्म निर्देशन गरेका खनाल भुईंमान्छे र संवेदनालाई कथ्यको केन्द्रमा राख्छन् ।

उनी निर्देशित पछिल्लो फिल्म ‘चिसो मान्छे’ त्यही संवेदनाको कथा हो । वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक नेपालीको शवलाई बाकसमा लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको कथालाई ‘चिसो मान्छे’मा पेश गरिएको छ । यो फिल्म शुक्रबारदेखि नेपाल र अमेरिकामा प्रदर्शन हुँदैछ । प्रस्तुत छ निर्देशक खनालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संवाद :

चिसो मान्छे’को सम्भावित समीक्षा र बक्स अफिस प्रस्तुतिलाई लिएर कत्तिको आशावादी हुनुहुन्छ ?

आशावादी नै छु । मेरा फिल्म जहिले पनि ‘वर्ड अफ माउथ’ले नै चलेको उदाहरण छ । बक्स अफिस आँकडा अहिल्यै त भन्न सक्दिनँ, तर सुरुमा फिल्म मन पर्नुपर्‍यो भन्ने मेरो मान्यता छ । फिल्म राम्रो बनाएको छु । दर्शक तथा समीक्षकलाई मन पर्छ भन्नेमा आशावादी छु ।

तपाईंलाई आफूले निर्देशन गरेका अघिल्ला फिल्ममध्ये ‘चिसो मान्छे’ कति उत्कृष्ट लाग्छ ?

फिल्म नै त दाँज्न मिल्दैन । सबै फिल्मको आ-आफ्नो विशेषता हुन्छ । निर्देशकको रुपमा ‘ग्रोथ’ देखिनुपर्छ चाहिं भन्छु । चिसो मान्छेसम्म आइपुग्दा पक्कै पनि मैले अघिल्ला फिल्मभन्दा आफूलाई परिपक्व भएको महसुस गरेको छु । यसमा निर्देशकको ग्रोथ देखिन्छ ।

चिसो मान्छे’मा तपाईंको ग्रोथ कस्तो देखिएको छ ?

ग्रोथ भनेको त समग्र फिल्ममै देखिनुपर्‍यो । फिल्म निर्देशकीय अभिव्यक्तिको माध्यम भएकाले ग्रोथ त देखिनुपर्‍यो । यसकारण सबै कुरामा परिपक्वता छ जस्तो लागेको छ ।

प्रायः फिल्ममा निर्देशकको सोच दोहोरिरहेको देखिन्छ । ‘चिसो मान्छे’मा निर्देशकीय ‘रिपिटेसन’ कस्तो छ वा छैन ?

निर्देशक दीपेन्द्र के खनाल । फाइल तस्वीर

रिपिटेसन केही पनि छैन । म जहिले पनि फरक किसिमको कथावस्तुमा फिल्म बनाउन मन पराउँछु । एउटा बनाउने बित्तिकै दुरुस्तै त्यही बनाउँदिनँ । यो फिल्म त बिल्कुलै फरक छ जस्तो लाग्छ । ट्रेलरमा हेरेर कथा भन्ने शैलीबारे जुन किसिमको अनुमान लगाइरहनुभएको छ । त्यो पक्कै पनि छैन । धेरै फरक छ ।

गम्भीर र कलात्मक फिल्म भन्ने बित्तिकै के ‘मिनिमिलास्टिक’ अभिनय गर्न जरुरी छ ?

यो कुरा फिल्मको मेकिङ शैली कस्तो छ भन्नेमा निर्भर हुन्छ । कुन लक्षित दर्शकलाई फिल्म देखाउँछु भनेर निर्देशकले यो शैलीलाई पछ्याएको हुन्छ । यसमा मेलोड्रामा टाइपको चाहिं छैन, अलिकति मेलोड्रामा थियो । यसमा अभिनय संरचना मेलोड्रामा भन्दा तल छ ।

भनिन्छ, निर्देशकीय अनुभवले पनि फिल्म निर्माणमा भूमिका खेल्छ । तपाईंले कसरी सुदुरपश्चिमलाई बुझ्नुभयो ?

भाषा संस्कृतिको हिसाबमा त एउटै देश भएकाले पनि थाहा भइहाल्छ । त्यो मुख्य कुरा बिग्रेला र गल्ती होला भनेर सुरुदेखि नै मैले सुदूरपश्चिमको भाषा संस्कृतिमा राम्रो दख्खल भएको मान्छेलाई टिम बनाएर काम गरेको थिएँ ।

संवादको कुरामा पनि मैले नेपालीमा लेखेको डायलगलाई त्यहाँको भाषामा दख्खल राख्ने व्यक्तिबाट गराएको छु । कलाकारलाई पनि तिनैबाट भाषिक प्रशिक्षण गराएको छु । वर्कसप पनि गाउँमै पुगेर र त्यहींकै मान्छेबाट गराएको छु । सुटिङभर नै त्यहाँकै मान्छे मैले राखेको छु । मिस्टेक होला भनेर म सतर्क भएको हुँ ।

चिसो मान्छे’मा तपाईंको ‘एसोसियसन फ्याक्टर’ के छ ?

त्यो त सम्बन्धको कथा नै हो । सम्बन्धको कथामा म एकदमै रमाउँछु र जीवनमरणको विषयमा एकदमै रमाउँछु म । मलाई सबैभन्दा छुने पार्ट भनेकै सम्बन्धको कथा हो । सम्बन्धमा म सेन्सेटिभ छु । सम्बन्धका साना कुराले मलाई टच गर्छ । चिसो मान्छेमा पनि यात्रामा बन्ने सम्बन्ध र सम्बन्धको कुरा नै आउँछन् ।

‘चिसो मान्छे’को कथा पनि वैदेशिक रोजगारीसँग जोडिएको छ । माइग्रेसन र वैदेशिक रोजगारीलाई तपाईंले कसरी बुझ्नुभएको छ ?

वैदेशिक रोजगारीका सुखद् र दुःखद् दुवै पक्ष छन् । सुखद् पक्ष के छ भने रेमिट्यान्स पनि आएको छ र देशलाई पनि फाइदा भएकै छ । रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ । दुःखद् पक्ष चाहिं त्यो सँगसँगै सम्बन्ध बिग्रिएका छन् र छुटेका छन् । सम्बन्ध चिसिएका छन् । तिनै चिसिएको सम्बन्धको कथा चिसो मान्छे हो । जो मान्छे त्यहाँ होमिएका छन्, उनीहरु टाढिने पनि उति नै छन् । टाढिनेमध्ये धेरैका कुरा चिसो मान्छेमा आउँछ ।

नेपालमा कस्ता मान्छे चिसा हुँदा रहेछन् ? फिल्मको ‘रिसर्च’को क्रममा तपाईंले कस्ता ताता र चिसा मान्छे पाउनुभयो ?

पहिलो लकडाउन खुल्ने बित्तिकै र सेकेन्ड लकडाउनबीचको कथाको सेटिङ यसमा छ । त्यतिबेला हामी सबै चिसो भएका थियौं । त्यतिबेला समाज नै चिसो थियो । हामी आफू बाँच्नुपर्छ भनेर मान्छेसँगै डराउने भएका थियौं । परिवारमा कसैलाई कोरोना लाग्यो भनेर बडो अन्योलको स्थिति थियो । त्यतिबेलाको चिसो समाजको अलिकति विम्बलाई फिल्ममा समेट्ने प्रयास गरेको छु । म कहिले चिसो र कहिले तातो हुन्छु होला, त्यो त मलाई परिस्थितिले बनाउँछ ।

यो फिल्ममा ‘रिस्क फ्याक्टर’ केही छन् ?

आर्ट हाउसमा आधारित, पात्र र कन्टेन्टमा आधारित फिल्मको जोखिम भनेकै सबैभन्दा पहिले दर्शकलाई फिल्म मन पर्नुपर्छ । अरु उपाय नै छैन यसको । फिल्म चल्ने अरु कारणभन्दा वर्ड अफ माउथ नै बलियो हुनुपर्छ । दर्शकलाई फिल्म चलेन भने चल्ने गुञ्जायस नै हुँदैन । यसले गर्दा सबैभन्दा ठूलो रिस्क फ्याक्टर भनेको त्यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?