+
+
विचार :

नेपालको ६ दशक लामो अन्तर्राष्ट्रिय कूटनीतिलाई नियाल्दा

विगत ६ दशकको देशको कूटनैतिक जीवनलाई हेर्दा कता–कता वृद्धि र विकासको प्राकृतिक नियमलाई पनि लत्याए झैं लाग्छ । कुपोषित मात्रै नभई वृद्धि हुनै बिर्सिए जस्तो देखिन्छ ।

हीरा विश्वकर्मा हीरा विश्वकर्मा
२०७९ असार ७ गते ९:३६
Photo Credit : ड्डMohamed Hassan by Pixabay

म अहिले जीवनको ६०औं दशकमा हिंडिरहेको छु । पञ्चायतकालमा जन्मिएँ र जीवनको उत्तरार्द्ध गणतन्त्रमा बिताउँदैछु । एउटा देशको जीवनमा यो ६ दशक लामो नहुन सक्छ तर एउटा व्यक्तिको जिन्दगीमा यो लामो अवधि हो ।

पञ्चायतलाई स्थापनादेखि अन्त्यसम्म भोगें भने गणतन्त्र मैले कति भोग्छु थाहा छैन । जसरी प्रकृति गतिशील छ, परिवर्तन र विकास अवश्यम्भावी छ, त्यस्तै देशको जीवन पनि त्यस्तै हुन्छ र हुनुपर्छ । तर जब म आफ्नै जीवनका भोगाइ र देशको जीवनलाई हेर्छु, त्यहाँ भविष्यप्रतिको आशा कम निराशा धेरै देखिन्छ ।

एउटा कुपोषित बालकको वृद्धि पोषितको भन्दा कम त हुन्छ, तर वृद्धि त भइरहन्छ नै । त्यस्तै देशको वृद्धि, विकास र परिवर्तन पनि हुन्छ र हुनुपर्छ । तर विगत ६ दशकको देशको कूटनैतिक जीवनलाई हेर्दा कता कता वृद्धि र विकासको प्राकृतिक नियमलाई पनि लत्याए झैं लाग्छ । कुपोषित मात्रै नभई वृद्धि हुनै बिर्सिए जस्तो देखिन्छ ।

नेपालको विगत २५० वर्षको इतिहासलाई हेर्दा पृथ्वीनारायणको एकीकरणपछिको दरबारको कलहको कारणले गर्दा राणा शासनको स्थापना भयो, यसले १०४ वर्ष पूरै शासन गर्‍यो । देश भनेको राणा परिवारको लुटिखाने एउटा परिपञ्च मात्रै भयो । रणोद्दीपको पालामा आउँदासम्म देशको सम्पत्ति बाहिर लगिएको थिएन, तर त्यसलाई तोड्दै वीरशमशेरले बाहिर लैजान सुरु गरे । यो अभ्यास पद्मशमशेरको पालासम्म निरन्तर चलिरह्यो । जुद्धशमशेर सत्ताच्युत हुँदा उनले सम्पत्ति हात्तीमा लदाएर लगेका थिए भनिन्छ ।

२००७ सालमा राणाशासन ढलेर प्रजातन्त्र आयो, तर १० वर्षसम्म अहिलेको जस्तो सत्ता राजनीति छ त्यस्तै भयो । देशले कुनै आर्थिक गति लिन सकेन । आफ्नो करिब पौने दुईवर्षे कार्यकालमा बीपीले केही गर्न खोजेको देखिन्छ तर उनलाई महत्वाकांक्षी राजा महेन्द्रले कु गरेर हटाए ।

यसरी कु गरेर हटाए पनि उनले विरासतमा आर्थिक रूपमा समृद्ध नेपाल पाएका थिएनन् ।

हीरा विश्वकर्मा

नेपाल कतिसम्म जर्जर थियो भन्ने कुरा थाहा पाउन एउटा पुरानो प्रसंग कोट्याउनुपर्छ । एकजना राई थरका एसपीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्- ‘राजा महेन्द्रले आफ्नो परिवार तथा देश चलाउन ज्योति समूहका मणिहर्ष ज्योतिसँग ६० लाख रुपैयाँ ऋण लिएका थिए ।’

अतः यस्तो आर्थिक अवस्थामा रहेको देश बनाउन चाहिने स्रोतसाधन जुटाउनु राज्य संचालकलाई फलामको चिउरा चपाउनु सरह थियो ।

कुनै पनि देश अस्तित्वमा आएर आधुनिक राज्य बनेपछि त्यसको दुइटा लक्ष्य हुन्छ– आफ्नो देशको सीमा रक्षा गर्नु र जनताको अधिकतम हितमा काम गर्नु । यो दुवै काम गर्नको लागि पंचायत र राजा महेन्द्रको सामु ठूलो चुनौती थियो । किनभने हामी दुइटा विशाल छिमेकी राष्ट्रको बीचमा छौं । ती दुवै छिमेकी देशहरूले एकअर्कासँग मित्रवत् व्यवहार होइन, पटकपटक युद्ध लडेका थिए ।

यी दुई देशको राजनैतिक व्यवस्था पटक्कै मिल्दैन । यस्तोमा दुइटा छिमेकी देशलाई सन्तुलनमा राख्नु कति कठिन भयो होला ? २००७ सालको प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म हामीलाई हाम्रा दक्षिण छिमेकले प्रत्यक्ष वा अप्रत्यक्ष सघाएको कुरा जगजाहेर छ । त्यसको हामीले राजनैतिक तथा सार्वभौम सत्ताको चर्को मूल्य चुक्ता गर्नुपर्‍यो । २०२७ सालसम्म चीनसँग सीमा जोडिएका २७ वटा नाकाहरूमा भारतीय फौज राखिएको थियो ।

प्रजातन्त्रको सुरुको केही वर्षसम्म दक्षिण छिमेकका प्रतिनिधि हाम्रो क्याबिनेटमा बस्थे । यसरी २७ वटा नाकाहरूमा रहेको विदेशी फौजलाई यत्तिकै हटाउनु सजिलो थिएन । कुन कुन जुक्ति लगाएर त्यसलाई हटाइयो, त्यो इतिहास अध्ययनको गतिलो विषय बन्न सक्छ । ती नाकामध्ये कालापानी लिपुलेकको नाकाबाट राजा महेन्द्रले हटाउन सकेनन्, त्यसको नतिजा हामीले अहिलेसम्म भोगिरहेका छौं ।

त्यतिबेला अमेरिका र रूसबीचमा शीतयुद्ध उत्कर्षमा थियो । दुवै पक्ष आफ्नो राजनीतिक तथा वैचारिक प्रभाव फैलाउन अत्यधिक क्रियाशील थिए । न्यूरोडको मुटुमा अमेरिकन लाइब्रेरीले ‘स्वतन्त्र विश्व’ भन्ने पत्रिका प्रकाशन गर्थ्यो ।

त्यस्तै, पुतलीसडकमा सोभियत संघको रूसी सांस्कृतिक केन्द्र थियो । यो पंक्तिकार आफ्नो विद्यार्थी जीवनमा सोभियत राजदूतले सिधा प्रदान गरेको राजनैतिक प्रशिक्षणमा अन्य विद्यार्थीसहित सम्मिलित भएको थियो । उक्त प्रशिक्षणमा उनले आफ्नो धेरै समय चीनलाई गाली गर्नमा बिताएका थिए । वामपन्थीबीच चिनियाँ प्रभाव भए पनि उनीहरूले चिनियाँ सांस्कृतिक क्रान्तिलाई अत्यन्त गलत भनेका थिए ।

नेपालको विकास गर्ने पैसा, प्रविधि र जनशक्ति नेपालसँग पटक्कै थिएन । एउटा सामान्य पुल समेत कुनै विदेशी दातृ समूहले बनाइदिनुपर्थ्यो  ।

त्यसको उदाहरणको रूपमा थापाथली र कुपण्डोल जोड्ने पुललाई लिन सकिन्छ । एकातर्फ अमेरिका र रूस, अर्कोतर्फ भारत र चीनको बीचमा शत्रुवत् व्यवहार भएको समय थियो त्यो । तर पनि यी चारैवटा शक्तिलाई नेपालको विकासमा कसरी प्रयोग भएको थियो र त्यसको अन्तर्यमा कुन खालको कूटनीति थियो भन्ने बुझ्नु जरूरी हुन्छ ।

हो, हामी आर्थिक, सांस्कृतिक तथा भौगोलिक हिसाबले पनि दक्षिणसँग नजिक छौं । र, पनि उत्तरी छिमेकी मात्रै नभई सात समुद्रपारि भएका ती शक्ति राष्ट्रहरूले नेपाललाई कसरी सघाउन पुगे ?

मेरो जानकारीमा आए अनुसार हेटौंडा काठमाडौं रोपवे, धनगढी डडेल्धुराको बाटो, त्रिभुवन विश्वविद्यालयको सिनास र सेडाको भवन, अहिलेको स्वास्थ्य मन्त्रालय तथा कृषि विकास बैंक यी सबै मित्रराष्ट्र अमेरिकाले बनाइदिएको हो । त्यसपछि अमेरिकाले नेपालको पूर्वाधार विकासमा ठूलो लगानी गरेको थिएन ।

तत्कालीन सोभियत संघले पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि ढल्केवर खण्ड, कृषि औजार कारखाना, वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना बनाइदिएको हो । चीनको कुरा गर्दा ऊ आफैं विकासको लागि संघर्षशील रहँदारहँदै पनि पृथ्वी राजमार्ग, गोरखा–नारायणघाट राजमार्ग, काठमाडौंको चक्रपथ, हेटौंडा कपडा उद्योग, काठमाडौं–भक्तपुर ट्रली बस, बाँसबारी छाला उद्योग, भृकुटी कागज कारखाना लगायत दर्जनौं सहयोग गरेको थियो ।
त्यसमा भारत पनि पछि परेको थिएन ।

महेन्द्र राजमार्गको धेरै खण्ड, सुनौली पोखरा राजमार्ग, त्रिभुवन राजपथ लगायत धेरै ठाउँमा औद्योगिक क्षेत्र, वीर अस्पताल उसले बनाइदिएको हो । सहयोग गर्ने क्रममा बेलायतले बुटवल–नारायणगढ र धरान–धनकुटाको बाटो बनाइदियो । जापानले कुलेखानी, उदयपुर सिमेन्ट उद्योग लगायत पनि बनाइदिएको हो । यी विकास कार्यमा यत्रो सहयोग परिचालन गर्न के चानचुने कूटनीतिले सम्भव भयो होला ? त्यो पनि कसैको घोषित रूपमा पक्ष नलिइकन ?

अहिले गणतन्त्रकालको कूटनीति यस्तो लाग्छ कि हामी इतिहासबाट केही सिक्दैनौं । उत्तरको छिमेकी देश जति शक्तिशाली र विकसित हुँदैछ, उसलाई कमजोर पार्न पश्चिमा शक्तिहरू त्यत्तिकै लागि परिरहेका छन् । उसको सबैभन्दा संवेदनशील क्षेत्र भनेको तिब्बत हो र नेपालले एक चीन नीतिमा आफ्नो प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको छ । तर, त्यसलाई व्यवहारमा कायम गर्ने संवेदनशीलता खै ?

हो, पछिल्लो चरणमा अहिले नेपाललाई सबैभन्दा बढी द्विपक्षीय आर्थिक सहायता गर्ने मुलुक संयुक्त राज्य अमेरिका भएको छ तर यसको मतलब हामीले हाम्रो सुरक्षा संवेदनशीलतालाई बिर्सन मिल्छ ?

शीतयुद्ध उत्कर्षमा पुगेको बेला निरंकुश भनिएको शासन व्यवस्थामा समेत कूटनीतिलाई विकासका पूर्वाधार निर्माणमा समेत परिचालन गरिएको पाइन्छ । अहिले त अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका एकसेएक विद्वान्हरू देशभित्र छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान क्रियाशील छ । सशक्त मिडिया छ, यस्तोमा पनि सफल कूटनीति संचालन गर्न नसकेर कुनै एउटा सात समुद्रपारिको शक्ति राष्ट्रसँग सम्बन्धमा आवश्यक संवेदनशीलता अवलम्बन गर्न नसक्नु देश र जनताको हितमा पक्कै छैन । त्यसलाई गणतान्त्रिक नेपालका शासकहरूले गम्भीर रूपमा लिन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?