+
+

जनक शिक्षाको कार्यक्षमतामाथि सांसदहरुको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते २०:४५
जनक शिक्षा सामग्री केन्द्रमा पुस्तक तयार गरिँदै ।

७ जेठ, काठमाडौं । शैक्षिक सत्र सुरु भएको महिना दिन बढी हुँदा पनि धेरै बालबालिकाको हातमा पुस्तक पुग्न सकेको छैन ।

पुस्तक समयमा प्रकाशन तथा वितरण नगरेको भन्दै सांसदहरुले जनक शिक्षा सामग्री केन्द्रको कार्यक्षमता माथि प्रश्न उठाएका छन् । उनीहरुले केन्द्रको संस्थागत संरचना बदल्न माग गरेका थिए ।

संसदीय समितिका सदस्य योगेश भट्टराईले यहि गतिमा पुस्तक प्रकाशन हुँदा सबै विद्यार्थीले पुस्तक पाउन अझै दुई महिना लाग्ने र त्यो पुस्तकको औचित्य हुन्छ कि हुँदैन भनेर सोच्नुपर्ने बताए । जनक शिक्षाको अयोग्यताको कारण बालबालिकामा असर पर्न नदिन संस्थागत पुनर्संरचना हुनुपर्ने बताए । उनले भने ‘अर्को वर्ष विद्यार्थी भर्ना भएर फर्कदा विद्यार्थीको हात हातमा किताब दिनको लागि संस्थागत पुनर्संरचना हुनुपर्छ ।’ भट्टराईले संघीय शिक्षा ऐन नआउँदा विभिन्न समस्या भइरहेकोले तत्काल ल्याउनुपर्ने बताए ।

समिति सदस्य सरिता न्यौपानेले असारमा सडक कालोपत्रे गरे जस्तै विद्यार्थी कक्षाकोठामा पुगेपछि पुस्तक प्रकाशन गर्ने काम भइरहेको बताइन् । ‘असारमा सडक पीच गरे जस्तै विद्यार्थी पढ्न थालेपछि किताब छाप्ने काम भइरहेको छ । समयमा बालबालिकाको हातमा पुस्तक नपुग्दा बालबालिकाले के सिक्छन् ?’ उनले प्रश्न गरिन् ।

अधिकांश जिल्लाका बालबालिकाले पुस्तक नपाएको जानकारीमा आएको भन्दै समिति सदस्य अञ्जना विशंखेले के कारणले ढिलाइ भएका पत्ता लगाएर अर्को वर्ष समस्या नहुनेगरी मन्त्रालयले काम गर्नुपर्ने बताइन् ।

संसदीय समितिकी सभापति जयपुरी घर्तीले यसअघि एक महिनाभित्र पाठ्यपुस्तक पु¥याउन दिएको निर्देशन अनुसार काम नभएकोमा ध्यानकर्षण गराएकी थिइन् ।

संघीय शिक्षा ऐन नआउँदा भद्रगोलको अवस्था भइरहेकोले छिटो ल्याउन निर्देशन दिइन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले पुस्तक समयमा बालबालिकाको हातमा नपुग्दा चिन्तित भएको बताए । उनले पटक पटक बैठक बसेर जनक शिक्षालाई जिम्मेवारी दिइएको तर समयमा कागज आपूर्ति नहुँदा र मतपत्र छपाइको कारण केहि ढिला भएको बताए । उनले भने, ‘लिखित प्रतिबद्धता गरेर जिम्मेवारी दिएका हौं । कागज अभावको कारण आपूर्ति ढिलाई र मतपत्रले केही प्रभाव पारेकै हो यद्धपि कार्यक्षमताको विषयमा समिक्षा गर्छौं ।’

मन्त्री पौडेलले शिक्षा ऐन चाँडो ल्याउनका लागि आफू लागि परेको भन्दै शिक्षा मन्त्रालयले काम सकेर ऐनको काम अब अन्य मन्त्रालयमा पुगेको बताए । अहिले ऐन अर्थ, कानुन मन्त्रालयमा अड्केको उनले बताए ।

केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाका अनुसार करिब पाँच लाख पुस्तक छाप्न बाँकी छ । शैक्षिक सत्र सुरु भएको एक महिना भन्दा बढी हुँदा कतै पुग्ने र कतै नपुग्ने अवस्थाले शैक्षिक गुणस्तरमा समेत असर पर्ने कुरा सांसदहरुले उठाएका थिए ।

२१ औं शताब्दी अनुसार जानुपर्छ

चौतर्फी रुपमा पुस्तक नपुगेको आलोचना हुँदै गर्दा केही शिक्षाविद्हरु भने किताब जरुरी नभएको बताउँछन् । प्रविधिसँग पढाइलाई जोडेर लानुपर्ने उनीहरुको तर्क छ । पुस्तक छैन भनेर कक्षा कोठामा प्रवेश नगर्ने शिक्षकहरुलाई सहयोग पुग्ने गरी किताब पुगेन भनेर बहाना दिन नहुने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् ।

दश वर्षदेखि एउटै किताब पढाउँदै आएको शिक्षकलाई किताब नभएको अवस्थामा कसरी पढाउने भनेर जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ । विश्व कागज रहित हुँदै गईरहेको बेला हाम्रा शिक्षक चाहिं किताब छैन भनेर कक्षामा नै नजाने परिस्थिति हुन नहुने बताउँछन् ।

कोभिडको बेलामा शिक्षक सकृय र सिर्जनशील हुँदा पहुँचमा भएका बालबालिकालाई डिजिटलाइज गर्ने र नभएकालाई पनि पहुँचमा पुर्‍याउनको लागि काम गरेको जिकिर गर्छन् । उनी भन्छन् ‘हामीले हिजोलाई हेरेर त्यसैगरी जाने होइन, हिजोको बाटो हेरेर नयाँबाटोमा जानुपर्छ ।’

किताब पढ्ने मात्रै रिडिङ ह्याबिट होइन, जहाँ पनि र जे पनि पढ्न सकिन्छ भनेर अगाडी बढ्नुपर्ने उनको तर्क छ । २१ औं शताब्दीको कुरा, ग्लोबलाइजसनको कुरा गरिरहँदा पढ्नको लागि किताब नै पढ्नुपर्छ भन्ने कुरा अमिल्दो हुने उनको भनाइ छ ।

‘अब प्रविधि प्रयोग गरेर पढाउनको लागि शिक्षकहरुलाई ल्यापटप बिना विद्यालय नआउनुस भन्नुपर्छ । जसरी खेताला आउँदा कोदालो आफै बोक्नुपर्छ । जहाँ ल्यापटपबाट पढाउनको लागि सम्भव छैन त्यहाँ कोदालो कै माध्यमबाट पढाउनुपर्छ’, उनी भन्छन्, ‘पहुँच छैन भनेर पछाडी फर्किने कि अगाडी जाने भन्ने निर्क्योल गर्ने दिशातर्फ लाग्छौं ।’

उनका अनुसार उदाहरण दिँदै यसको पात केको लागि काम लाग्छ ? हाँगा के काम लाग्छ ? बोक्रा के काम लाग्छ ? फल के काम लाग्छ भनेर पढाउँदा बालबालिका रुखबारे जानकारी पनि हुन्छे, पढाइ पनि हुन्छ र विज्ञता पनि हुन्छ ।त्यसलाई लगेर पाठमा कसरी जोड्ने भन्ने खालको सरकारले काम गर्नुपर्ने कोइराला बताउँछन् । यो तरिकाले गयौं भने २१ औं शताब्दीले खोजेको जस्तो शिक्षा हुने उनको जिकिर छ ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन साहले बालबालिकाको लागि विद्यालयमा नै लकर बनाउने घोषणा गरे । मेयर शाहले बालबालिकाले होमवर्क गर्नको लागि कपी मात्रै लाने किसिमको बनाउने बताउँदै आएका छन् । मेयर शाहले भनेको जस्तो बनाउन सकिने कोइराला बताउँछन् । त्यसको लागि प्रत्येक विद्यालयमा अनिवार्य पुस्तकालय उक्त पुस्तकालयमा किताब सेट र वाइफाइको व्यवस्था गरे केटाकेटीलाई किताब बोकेर ओहोदोहोर गर्नुनपर्ने बताउँछन् । शिक्षकलाई शसत्तीकरण गर्ने हो भने यसरी जान सम्भव भएको उनी दावी गर्छन् । कोइराला भन्छन्, ‘विद्यार्थीलाई आवश्यक परेको किताब त्यहाँबाट लिनसक्छौं भनेर दिँदा लाईब्रेरीमा पढ्ने बानीको विकास पनि हुने र अभिभावकलाई खर्च बच्छ ।’

अर्का शिक्षावीद् प्रा.डा.मनप्रसाद वाग्ले शैक्षिक सत्र सुरु हुनु भन्दा पन्ध्र दिन अगाडी विद्यार्थीले पाठ्यपुस्तक पाउनुपर्नेमा शैक्षिक सत्र शुरु भएको महिना दिनभन्दा बढी हुँदा पनि बालबालिकाले नपाउनु भनेको सरकारको कमजोरी रहेको बताउँछन् । पुस्तक बाहेक अरु माध्यामबाट पनि शिक्षा दिन सकिन्छ भनेर बुद्धि भरिदिनुपर्ने उनको भनाइ छ । भन्छन् ‘पाठ्यपुस्तक पुग्नुपर्थ्यो पुगेन, तर पुस्तक पुगेन भनेर अरु माध्यामबाट पनि शिक्षा दिन सकिन्छ भनेर शिक्षकलार्ई बुद्धि हुनुपर्ने हो त्यो छैन । शिक्षकलाई अब पाठ्यपुस्तक नहुँदा पनि पढाउन लगाउनुपर्छ ।’

अन्य देशका विद्यालयहरु प्रविधि मार्फत स्थानीय र अन्र्तराष्ट्रिय विषय जोडेर अध्यापन गराउन थालेको बेला नेपालमा भने परम्परागत शैलीमा किताबमा सिमित भएर अध्यापनलाई नै जोड गर्न नहुने बताउँछन् । न्युजिल्यान्ड, फिनल्यान्ड स्क्यान्डिनेभियन राष्ट्रहरुमा पाठ्यक्रम नभएर शिक्षकलाई उद्धेश्य दिईने र शिक्षकले यो उद्देश्य पूरा गर्नुपर्छ कुन किताब, कुन सन्दर्भ सामग्री लिने अथवा गतिविधि गराउनेसँग मतलब राख्दैन तर सरकारले दिएको उद्देश्य लागू हुनुपर्छ भनेर दिने गरेको र नेपालमा पनि त्यसरी जान सकिने बताए । उनले भने, ‘त्यसरी जान सकिन्छ तर नेपालका शिक्षकहरुले विद्यार्थीको लागि लेखिएको किताब पढेर विद्यार्थीलाई पढाउँछन् । त्यसले शिक्षास्तर कसरी माथि जान्छ । शिक्षकले विद्यार्थी भन्दा माथिल्लो तहको सामग्री पढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?