+
+

‘पानीघट्ट’ पढेपछि…

लक्ष्मीदेवी गौडेल लक्ष्मीदेवी गौडेल
२०७९ असार १८ गते १७:३१

नेपाली साहित्यमा परिचित नाम हो-सुरेश प्राञ्जली। अखबारी लेखनमा सुरेशलाई नपढेका मान्छे सायदै होलान्। २०५० को दशकको अन्तिमतिर पोखरामा हुने कविता कार्यक्रममा मेरो परिचय सुरेशसँग भएको थियो। म पनि कविता कार्यक्रममा सक्रिय थिएँ। संयोग नै मान्नुपर्छ म पढाइको सिलसिलामा काठमाडौं आएँ। सुरेश मभन्दा पहिले नै काठमाडौं आएका रहेछन्। यता आएपछि उनीसँग भौतिक भेट कम लेखनीमार्फत बढी हुन थाल्यो। तत्पश्चात् उनलाई मैले निरन्तर पढिरहेकी छु। साहित्यको कविता विधामा पनि सुरेश अब्बल छन्। तर पुस्तकाकारमा पहिलो प्रकाशित उपन्यास ‘तुइन’ ले उनको आख्यान कति सशक्त्त छ भन्ने प्रमाणित गरिसकेको छ। ‘तुइन’ मध्यपश्चिम कर्णालीको परिवेशमा बुनिएको कथा हो। युद्धले आक्रान्त परिवेशमा सर्वसाधारणले खेपेका दु:खको पहाडका कथा ‘तुइन’ले मिठो गरी प्रस्तुत गरेको छ। तत् समयको राजनीतिक, आर्थिक अवस्थाको चित्रण ‘तुइन’मा पाइन्छ।

 हालसालै प्रकाशित “पानीघट्ट” पश्चिमाञ्चलको पनि गण्डकी आसपासको परिवेशमा बुनिएको कथा हो। सुरेशको कथा बुनाइ परिपक्व मात्र छैन सरल पनि उत्तिकै छ। जो कोहीले सजिलै बुझ्न सक्ने भाषा छनोट गर्ने सुरेशको शिल्पको जति प्रशंसा गरे पनि कमी हुन्छ। भाषामा प्रयुक्त आञ्चलिकताले उपन्यासलाई सजीव बनाएको छ। सामान्य कथालाई अति हृदयस्पर्शी तरिकाले पस्कने कला जो–कोहीसँग हुन्न। जति कथा पढ्यो त्यति नै त्यसभित्रको पात्र म नै पो हुँ कि जस्तो भयो। जब कथाले हृदयको कुनालाई छुन्छ तब मात्र पाठकलाई यस्तो अनुभूति हुन्छ।

महिलालाई हाम्रो समाजमा बाँच्न सहज छैन। गरिबीले आक्रान्त समाजमा महिलाको स्थान र स्थिति सन्तोषजनक छैन। पूर्वीय दर्शनले महिलाको आदर्श र सम्मानजनक जीवनको परिकल्पना गर्छ। दर्शन र साहित्यमा जे जस्तो भए पनि वास्तविकता भिन्न छ।

समाजमा महिलाको स्थान दयनीय अवस्थामा छ। कुल र वंश अघि बढाउने, घरको रेखदेख गर्ने भूमिकामा उनीहरुलाई सीमित पारिएको छ। आमाको गर्भबाट नै एक छोरी कसरी अभिशप्त जीवन बाँच्छे भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ।

भ्रूण पहिचान गरेर छोरीको गर्भलाई तुहाउने काम हुन्छ। पहिले पहिले ज्योतिष र फलादेश हेरेर गर्भ तुहाइन्थ्यो। आजभोलि अल्ट्रासाउण्डको प्रविधिले हेरेर। कानुनले लिङ्ग पहिचान गरेर गर्भ तुहाउने कामलाई भ्रूण हत्या भनी अपराध मानेको छ। तर बेपर्वाह रुपमा हुने यस्ता कामले महिलाको ज्यान र सक्रिय जीवन नै जोखिममा पारेको पाइन्छ।

कथालाई वियोगान्त बनाएका कथाकारले लैङ्गिक र जातीय विभेदको भुमरीमा नायिकाको जीवनका विभिन्न आयामलाई पस्केका छन्। लाहुरेले बाँचे पनि पाल्छ मरे पनि पाल्छ भनेर नायिकालाई परतन्त्री र परनिर्भर बनाएका छन्

प्रविधि फेरियो तर छोरीले बाँच्ने समाज फेरिएको छैन। २०४० को दशकमा छोरी बाँच्ने समाज र २०८० को दशकको सँघारमा पुग्दा समाजमा केही परिवर्तन त देखिएका छन् तर छोरी र छोरा भनेर गरिने लैङ्गिक विभेदमा तात्विक फरक अझै अनुभूत गर्न सकिएको छैन। यो तितो यथार्थ हामीमाझ छ। यही कथालाई सुन्दर तरिकाले बुनिएको छ ‘पानीघट्ट’मा।

कथाकी नायिका जुनमायामा विद्रोही चेत छ तर उ त्यसलाई व्यवहारमा उतार्न सक्दिनँ। अझै पनि परिवारको इज्जत, कुलको मर्यादा राख्ने घोषित, अघोषित जिम्मा महिलालाई छ। सो अभिभारा निर्वहन गर्दा आफ्ना इच्छा र आकाङ्क्षाको बलि दिनुपर्ने अवस्था छ। छोरीलाई कसै छुट छैन। मानौं छोरी त सहनका लागि, अरुलाई रिझाउनका लागि जन्मिएका हुन्। आफ्नो बारेमा सोच्नेसम्मको छुट पनि छोरीलाई छैन। ‘

सबै मिलेर मेरा रहर र सपनाको गला निमोठ्नुभयो। हुन त छोरीको रहर पनि के रहर ? छोरीका सपना पनि के सपना ? छोराले देखेको भए पो सपनाको भाउ हुँदो हो। मेरा आँखाले देखेका सपना आँशुसितै बगे।”

समाजमा चेतनाको स्तर मापन गर्ने साधन शिक्षा हो। आजभोलि शिक्षित जनसङ्ख्या बढेको छ। तर मान्छेको पुरातनवादी सोचमा द्रुत गतिको परिवर्तन देखिन्न। छोरा नभए स्वर्गको ढोका खोलिन्न भन्ने सोचमा व्यापक परिवर्तन आएको छैन। देशको दूरदराजका गाउँघरमा मात्र होइन शहरका गल्ली–गल्लीमा लैङ्गिक विभेदका पोका बोकेका सज्जनहरु छ्यापछ्याप्ती भेटिन्छन्।

छोरा जन्माउन नसकेको निहुँमा छोरीहरु प्रताडित हुने क्रममा कमी देखिएको छैन। छोरीहरु मात्र छन् भने घर गाउँतिर छोरा छैनन् भनेर छड्के हानिन्छ। बोलेर मात्र होइन सामाजिक सञ्जालमा लेखेर नै निकै विभेदपूर्ण अभिव्यक्त्ति पोस्ट्याएर मै हुँ भन्ने पनि यहीं देखिन्छन्। यद्यपि नेपालको कानुनले सबै खालका लैङ्गिक, जातीय र अन्य खालका विभेदलाई दण्डनीय भनेर उद्घोष गरेको छ। व्यवहारमा सो कायम भएको अझै पनि देख्न पाइएको छैन।

एकै घरभित्र छोरा र छोरीलाई गरिने व्यवहार फरक छ। छोरालाई जहाँ जता जान पनि बन्धन हुन्न त्यही ठाउँमा छोरीलाई निर्धक्क भएर पठाउने परिवेश छैन। मन हुँदाहँदै पनि खुम्चिएर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर थुप्रै चुनौती सामना गरेर बाहिर निस्किहाले पनि आफ्नो क्षमता अनुसारको उचित स्थान पाउने सम्भावना पनि निकै कम छ।

उपन्यासले लैङ्गिक विभेदको समस्याको उठान गरेको छ। बाहुन जाति भन्दा गुरुङहरु उदार छन्। गुरुङ मात्र होइन जनजाति समूहमा महिलाप्रतिको विभेद तुलनात्मक रुपमा कम छ अन्य जातिहरुमा भन्दा। जसरी समस्याको उठान भएको छ त्यसको समाधानको बाटो भने उपन्यासले दिन सकेको छैन।

जुनमायाले विद्रोह गरेर रनेसँग पहिले नै बिहे गर्न सक्दिनँ। पछि दिलको पुकार सुनेर रनेसँग जाने आँट गर्छे। तर उसलाई त्यहाँ पनि सहर्ष स्वीकार गरिंदैन। लैङ्गिक मात्र होइन जातीय विभेदको चपेटामा पनि महिला नै पिल्सिनु परेको छ। बल्ल बल्ल स्वीकारिएकी उसले खुसीका पलहरु दिलको मान्छेसँग साट्न नपाउँदै विछोडको पीडा खेप्नुपर्छ।

कथालाई वियोगान्त बनाएका कथाकारले लैङ्गिक र जातीय विभेदको भुमरीमा नायिकाको जीवनका विभिन्न आयामलाई पस्केका छन्। लाहुरेले बाँचे पनि पाल्छ मरे पनि पाल्छ भनेर नायिकालाई परतन्त्री र परनिर्भर बनाएका छन्।

विद्रोही चेत भएकी नायिकालाई कमजोर बनाउनु कथाको कमजोर पक्ष हो। यसका अलावा प्रयोग गरिएका गुरुङ वाक्यहरुको अर्थ पछाडि दिइएको छ। तर त्यसको अर्थ सोही पृष्ठको फुटनोटमा दिएको भए अझै सान्दर्भिक हुन्थ्यो कि ?

२०औं शताब्दीको मध्यतिर विकास भएको उत्तरआधुनिकतावादी समीक्षाको महत्वपूर्ण अंश हुन् पाठकहरु। पुस्तक लेखेर लेखकले जब त्यसलाई पाठकका हातमा दिन्छ लेखकको निजत्व त्यसमा रहन्न भन्ने मान्यता उत्तर आधुनिकतावादी सिद्धान्तले प्रस्तुत गर्यो।

‘डेथ अफ अथर’ लेखेर रोनान्ड बर्थले यस अवधारणालाई मलजल गरे। ज्याक्स डेरिडले ‘विनिर्माण’वादको अवधारणा प्रतिपादन गरे। स्यामुल ब्याकेट र अन्य लेखकहरुले ‘मेटाफिक्सन’मा जोड दिई पूर्ववत् स्थापित मान्यतालाई ‘डिकन्स्ट्रक्ट’ अर्थात् विनिर्माण गरे।

लेखिएका साहित्य मात्र होइन कला र संगीतमा पनि यसको गहिरो प्रभाव पर्यो। हुन त म समीक्षक होइन। यद्यपि पढेका पुस्तकका बारेमा केही लेख्ने हुटहुटीले लेखिरहेकी छु।

साहित्यको विद्यार्थीका नाताले मलाई उत्तरआधुनिक समालोचना सिद्धान्तको कुनै कृति पाठकको हात लागेपछि पाठकले जे अर्थ्याउँछ त्यो नै त्यसको अर्थ हो भन्ने सार सान्दर्भिक लाग्छ।

पाठकको हातमा परेपछि लेखकको निजत्व त्यहाँ रहन्न। वास्तवमा सत्य पनि सापेक्ष हुन्छ। कृतिले बोकेको अर्थ पनि सार्वभौम हुन सक्दैन। लेखकले कुन परिवेशमा के सोचेर लेखेको हुन्छ पाठकको विचार, जीवन भोगाइ, उसले बाँचेको भूगोल र परिवेशले उक्त कथाको अर्थ नितान्त फरक हुनसक्छ।

मैले आजको परिवेशमा अर्थ्याएको अर्थ अर्को परिवेशमा गलत सावित हुनसक्छ। एउटा व्यक्तिको सन्दर्भमा त यस्तो हुन्छ भने ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ हुन्छ नै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?