+
+

देश युवाको, सत्ता वृद्धको

सुजन दाहाल सुजन दाहाल
२०७९ असार २० गते १५:३७

घरले जा जा र घाटले आईज आईज भनेका, आइरन गर्नुपर्ने गरी छाला चाउरी परेका, औसत आयु (६६.६ वर्ष, केन्द्रीय तथ्याङ्क विभाग) सकिएका, थरथर काँप्दै हिंड्ने, र्‍याल चुहाउने र बोनस जिन्दगी बिताइरहेका वृद्धहरूले राज्यसत्ता कब्जा गरेर हालीमुहाली गरेका छन् । सबै राजनैतिक दलको मूल नेतृत्व ७० वर्ष वा सोभन्दा माथिका छन् । दलको नै नेतृत्वकर्ता सत्ताको पनि नेतृत्वमा पुग्ने हुनाले वृद्ध शासकद्वारा सत्ता हडपिएको अवस्था छ ।

राजनैतिक नेतृत्वमा मात्र हैन संवैधानिक अंगहरू समेत रिटायर्ड कर्मचारीको आराम गर्ने थलो मात्र बनेको छ । देशका सबै राजनैतिक नियुक्ति गर्नुपर्ने विभिन्न निकायमा कानुनद्वारा वृद्ध भनिएकालाई नै नियुक्ति दिइएको छ । युवा नै युवाले भरिएको देशमा सक्षम र कुशल युवाहरूलाई विदेश खेदेर देशलाई नै वृद्धाश्रम बनाइएको छ ।

वृद्धहरूको कारण युवालाई सत्तामा पुग्न गाह्रो छ यद्यपि विश्वका कैयांै देशमा युवा सत्तामा पुगेका धेरै उदाहरण छन् । अष्ट्रियाका प्रधानमन्त्री सेवस्टियन कुर्ज ३६ वर्षका मात्र छन् । फ्रान्समा इम्यानुअल म्याक्रों सन् २०१७ मा राष्ट्रपति निर्वाचित हुँदा ४० वर्षका थिए ।

उत्तरकोरियाका नेता किम–जोङ–उन सत्ता सम्हाल्दा २८ वर्षका थिए । भुटानमा जिग्मे खेसर नाम्गेल वाङचुकलाई उनी २६ वर्षको हुँदा राजा जिग्मे सिंघे वाङचुकले राजगद्दी सुम्पेका थिए । कतारका अमिर तमीद विन हमाद अल थानीले ३३ वर्षको उमेरमै पद सम्हालेका थिए ।

फिनल्याण्डमा सान्ना मारिन ३६ वर्षकी हुँदा प्रधानमन्त्री बनिन् । जर्जियामा इराक्ली गारिबाश्भिली ३९ वर्षको उमेरमा प्रधानमन्त्री बने । न्युजिल्याण्डकी ज्याकिण्डा आर्डेन ४१ वर्षको उमेरमा प्रधानमन्त्री भएकी थिइन् । चिलीमा ३५ वर्षका गाब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

युवाले अवसर पाए भने गर्न नसक्ने केही छैन । तर नेपालका सबै मूलधारका पार्टीमा भएका युवाहरू आज्ञाकारी र आदेशको पालन गर्ने स्कुलिङमा छन् । उनीहरू आफ्नो बुद्धि, विवेक र क्षमताको प्रयोग गरेर वृद्ध नेतृत्व समक्ष टक्कर दिने आँट र हिम्मत गर्दैनन् ।

वृद्धहरूले ओगटेको कुर्सीलाई चुनौती दिन सकेनन् । केही दलमा तल्लो जेनेरेशन मध्यमस्तरीय नेतृत्वमा त आए तर उनीहरू पनि अन्य आम युवा जस्तै निरीह छन् । युवाले वृद्ध नेतृत्वसमक्ष ठूलो स्वरमा बोल्यो भने आफ्नो राजनैतिक भविष्य नै अन्धकारमा परिणत होला भन्ने डरले चुइँक्कसम्म बोल्दैनन् । बरु भजन गाएर भक्तिभावमा मात्र रमाउने गर्दछन् । सबै दलका युवा डर, त्रास र आशको ललिपपमा नै सीमित भएका छन् ।

मानिस बुढो हुनु प्राकृतिक कुरा हो । उमेर बढ्दै जाँदा कार्यक्षमता कमजोर हुँदै जान्छ । वृद्ध अवस्थामा शरीर कमजोर हुन थाल्छ । कार्य क्षमतामा ह्रास आउँछ भने काम गर्नका लागि जोस, जाँगर र हौसला कम हुन्छ ।

आँट र हिम्मतमा क्षय हुने भएकोले पनि वृद्ध उमेरका मानिसले देश चलाउन र बनाउन कठिन हुने विश्वास गरिन्छ । तर राजनैतिक नेतृत्वको विश्वभरि नै माथिल्लो उमेर हद नहुने हुनाले धेरै मुलुकमा वृद्ध नेतृत्व रहेको छ । हाम्रो छिमेकी देश भारतमा ७१ वर्षका नरेन्द्र मोदीले देश चलाइरहेका छन् । मलेसियाका महाथिर मोहम्मदले ९५ वर्षको उमेरसम्म शासन गरेकै हुन् । अमेरिकामा जो बाइडेन ७९ वर्षमा मुलुक चलाइरहेका छन् ।

वृद्धहरूले राज्य सत्ताको बागडोर सजिलै दिएनन् भने युवाले विद्रोह गर्न पनि पछि पर्नुहुँदैन । पुर्पुरोमा हात लगाएर सरापेर बस्ने भन्दा कठोर मिहिनेत र परिश्रम नगरी देश बन्दैन भन्ने बुझेर युवाले काम गर्नुपर्छ ।

विश्व राजनीतिमा क्रमशः वृद्ध शासकहरूलाई प्रतिस्थापन गर्दै युवाहरू सत्ताको बागडोरमा आइरहेका दृष्टान्त छन् । धेरै देशमा जनताले क्रमशः वृद्ध नेतृत्वलाई भन्दा युवा नेतृत्वलाई रुचाएको देखिन्छ ।

नेपालमा पनि भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ४० वर्ष मुनिका ४२ प्रतिशत जनप्रतिनिधि छनोट भएबाट पनि युवा नेतृत्वलाई मानिसहरूले रुचाएको देखिन्छ । र आउँदै गरेको प्रदेश र संघीय निर्वाचनमा पनि धेरै युवा निर्वाचित हुने झिनो आशा भने गर्न सकिन्छ ।

जोन कोलिन्सले भनेका छन्- ‘एज इज जस्ट अ नम्बर ।” यसर्थ उमेर बढ्दैमा मानिस बुढो नै भइहाल्ने त होइन तर उसमा सक्रियता, जोश, जागर, आँट र हिम्मत हुनुपर्दछ । नेपालको हावापानी, खानपिन, जेनेटिक लगायत अन्य विविध कारणले गर्दा ६० वर्ष भन्दा माथिका मानिसमा सक्रियताको कमी देखिन्छ । नेपालको कानुनले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा २ (क) मा “साठी वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ ।’

यद्यपि राजनीतिमा ‘नेभर रिटायर्ड’ भनिन्छ तर यो तिनै वृद्ध शासकहरूको बुझाइ हो जो कुर्सी छोड्न चाहँदैनन् । कुर्सीको नसा लागेपछि छोड्न गाह्रो हुँदोरहेछ । भरसक मरेर जाँदा पनि कुर्सी लिएर नै जान पाए हुन्थ्यो भन्ने प्रवृत्तिले गर्दा युवाको लागि सत्ता ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो भएको छ ।

वृद्धले देशको समृद्धि र विकासका लागि युवाहरूलाई मार्गदर्शन गर्ने र समय मिलाएर तीर्थ-व्रत गर्नुपर्ने उमेरमा एक चोक्टा मासुमा कुकुर लडे झैं सत्ताको लागि लुछाचुँडीमा नै जीवन आहुति गर्नाले युवाको मन कुँडिएको छ ।

चिन्ताले छाती पोलेको छ । यद्यपि मल्टी पार्टी व्यवस्था रहेको हाम्रो देशमा राजनैतिक दलहरूमा नै युवाले पहिला नेतृत्व हत्याउन सक्नुपर्छ । त्यसपछि मात्र सत्तामा पुग्न सहज हुन्छ । दलको नेतृत्व नै सत्तामा पुग्ने हुनाले युवाले त्यसतर्फ होमवर्क गर्नुपर्छ ।

असफल नेतृत्वको कारण मानिस निराश छन् । आउँदो चुनावबाट पनि शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली, माधवकुमार नेपाल आदि मध्ये नै प्रधानमन्त्री हुनेहुन् भन्ने निश्चितताले भोट नै नहाल्ने भन्नेसम्मको आवाज सुनिन्छन् । नेतृत्वप्रति आशा, भरोसा रहेन भने सबै कुरा सकिन्छ ।

राजनैतिक दलहरूका मूल नेतृत्वले एकपटक सोच्ने बेला आएको छ । युवा नेतृत्व विकास गर्दा आफ्नो भाग खोसेर खालान् भन्ने मनोवैज्ञानिक त्रासबाट मुक्त भएर युवा नेतृत्वलाई अगाडि ल्याउन आवश्यक छ ।

युवा नेतृत्वले पनि अनुयायी बन्ने, डराउने र वृद्ध नेतृत्वको भजन गाउनमा नै समय बर्बाद गर्नुहुँदैन । वृद्धहरूलाई सम्मान मात्र गर्ने हो चाकरी र चाप्लुसीमा मरिहत्ते गर्ने होइन भनेर देश र जनतालाई सम्झिएर अगाडि बढ्न जरूरी छ ।

राज्य सञ्चालन गर्ने वृद्ध शासकहरूको अकर्मण्यता, अदूरदर्शिता र अक्षमताका कारण लाखौं युवा आफ्नो परिवार, समाज र देश छोडेर अर्काको गुलामी गर्न बाध्य छन् । युवाको यो दुर्दशा वृद्ध नेतृत्वको कारण नै सिर्जना भएको हो ।

आज युवा आमाको काखमा लुटुपुटु गर्न पाएका छैनन् । धेरै केटाकेटीले आफ्ना बाबुआमा नचिन्ने अवस्था छ । परिवार खण्डित भएको छ । कैयौं युवा बेचिएका छन् । कति युवाहरूले नारकीय जीवन जिउन बाध्य छन् । देश गरिब भएर नै हामी नेपालीले दुःख पाएको हो ।

नेपाललाई प्रकृतिले नै सबैथोक दिएको छ । मात्र व्यवस्थापनको कमी छ । क्रान्ति गर्दा लठैत भए पनि हुन्छ तर देश विकासको लागि पढेलेखेको व्यक्ति नै चाहिन्छ । अहिलेको देशको मूल नेतृत्वको राजनैतिक परिवर्तनमा ठूलो योगदान छ तर देश विकास गर्ने कुरामा व्यवस्थापन गर्न सकेनन् ।

अहिलेको नेतृत्वबाट देश नबन्ने निश्चित छ । अब युवाहरूलाई ससम्मान नेतृत्वमा ल्याएर वृद्ध शासकहरू अभिभावकीय भूमिकामा मात्र रहनुपर्छ । वृद्धहरूले राज्य सत्ताको बागडोर सजिलै दिएनन् भने युवाले विद्रोह गर्न पनि पछि पर्नुहुँदैन । पुर्पुरोमा हात लगाएर सरापेर बस्ने भन्दा कठोर मिहिनेत र परिश्रम नगरी देश बन्दैन भन्ने बुझेर युवाहरूले काम गर्नुपर्छ ।

वृद्धहरूलाई सम्मान गर्नु युवाहरूको कर्तव्य हो । वृद्धहरू अभिभावक र जिउँदो इतिहास हुन् । वृद्ध नेतृत्वले आफू अभिभावकीय भूमिकामा बसेर युवालाई राजनीतिको बागडोर दिन ढिलो गर्नुहुँदैन । अब युवामा रहेको जोश र वृद्धहरूको अनुभवलाई एकठाउँमा जोडेर देशको समृद्धि र विकास गर्नुपर्छ ।

अब पनि कार्यकारी भूमिका युवालाई नदिने र अग्रज नेता वा व्यक्तिहरूले मार्गदर्शन गरेर काम नगर्ने हो भने देशमा श्रीलंकाको जस्तै संकट आइपर्न सक्छ । तसर्थ राजनैतिक नेतृत्वले आत्मबोध गरेर राज्यका सबै अंगमा समेत युवालाई अवसर दिई इमानदारपूर्वक लाग्ने हो भने आउँदो दश–बीस वर्षमा देशलाई विकसित र समुन्नत बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?