+
+

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ

दिपेश शाही दिपेश शाही
२०७९ साउन १ गते २२:५१

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने खबर आएको भन्दै उनले ‘टेन्सन छैन’ भन्दै आफ्नो टेन्सन व्यक्त गरे । ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ मोदीसँग भेट हुन नसक्नुको विषयमा अनभिज्ञता प्रकट गर्दै प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’

यसले के देखाउँछ भने प्रचण्डलाई भारत जानुअघि मोदीसँग भेट हुने आश्वासन दिइएको थियो । तर प्रचण्डले भनेजस्तै ‘लास्ट आवरमा’ मात्रै भेट हुन नसक्ने जानकारी दिइयो । विश्वस्त स्रोतका अनुसार पनि प्रचण्डलाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए ।

किनकी प्रचण्डले त्यस्तो बेला भारत भ्रमणमा जानु परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन । त्यसमाथि आम चुनावको पूवार्धमा भारत भ्रमण गर्दा राजनीतिक रुपमा जाने सन्देश पनि त्यस्तै थियो ।

भारतीय पक्षले भेट गराउने आश्वासन दिएपछि उनी हतारमै भएपनि भ्रमण गर्न तयार भए । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पनि उनले मोदीसँग भेट हुने विश्वास व्यक्त गरेका थिए ।

शनिबार विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेट गरे । आइतबार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, जसको निम्तोमा उनी भारत गएका थिए, उनीसँग भेट्दासम्म पनि प्रचण्डलाई मोदीसँग भेट गर्ने आश्वासन दिइएको थियो । मोदीलाई भेट्न जान भन्दै हतार गरेर भाजपा कार्यालयबाट आफू बसेको होटल हिँडेपछि भने उनलाई भेट नहुने जानकारी गराइएको थियो ।

मोदीले नभेट्नुको कारणबारे अनुमान गर्दै उनले ‘बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने’ बताए । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने अनुमान उनले सुनाए । तर, मोदीसँग भेट नहुनुको खास कारण के हो भन्ने उनलाई पनि थाहा छैन । स्वदेश फर्किएपछि उनले विमानस्थलमा भनेका छन्, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’

किन भेटेनन्, थाहा छैन

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ हुन्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो दलको निम्तोमा आएका प्रचण्डलाई अन्तिम समयमा नभेटेर सन्देश दिएका छन् ।

प्रचण्ड र भारतको सम्बन्ध सँधै उतार चढावपूर्ण रहँदै आएको छ । दश वर्ष लामो सशस्त्र संघर्षपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नेकपा एमाले र माओवादी मिलेर बनेको एकीकृत पार्टी नेकपाको सरकार हुँदाका बखतको भारत र प्रचण्डको सम्बन्धमा कयौं आरोह अवरोह देखिएका छन् ।

पछिल्लो समय नेकपामा विवाद चर्किरहेका बेला भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि प्रचण्डले पनि विरोध गरेका थिए । त्यसयता भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘कर्नर’मा पार्ने प्रयास गरेको गरेको चर्चा हुने गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका प्रचण्डले भारत लगायतका देशको समर्थन खोजेका थिए । भारतीय पक्षले भने प्रचण्डसँग दूरी कायम राखिरह्यो ।

तर अहिले नेपालको राजनीतिमा माओवादी केन्द्र र त्यसका अध्यक्षका हैसियतमा प्रचण्ड ‘निर्णायक’ जस्तै बनेपछि भने भारतीय संस्थापन पक्षले दुरी घटाउन चाहेको माओवादी नेताहरु स्वीकार गर्छन् । त्यही कारण भाजपाको अध्यक्षले नै निम्तो दिएर प्रचण्डलाई भारत भ्रमण गरायो । तर आफ्नै दलका अध्यक्षले बोलाएका नेपालका पूर्व प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले अन्तिम समयमा आएर नभेट्नुले भने भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘इन्गेज’ मात्र गराइराख्न खोेजेको हो कि भन्ने प्रश्न जन्माएको जानकारहरु बताउँछन् ।

‘प्रधानमन्त्री हुँदै झै महत्व दिए’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने मोदीले नभेटे पनि आफ्नो सम्मानमा कुनै कमी नगरेको बताएका छन् । यसमा प्रचण्ड आफैं पनि यति दंग देखिए कि उनले त्रिभुवन विमानस्थलमा झरेपछि पुगेदेखि फर्किने बेलासम्मका घटनाक्रमको फेहरिस्त प्रस्तुत गरे । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका साथै भारतीय विदेशमन्त्री एस जयसंकरसँग पनि खुलेर कुराकानी भएको उनले सुनाए ।

२०७२ मा संविधान जारी गर्ने क्रममा मोदीका विशेष दूत बसेर आएका जयशंकरले दलहरुलाई संविधान रोक्न भनेका थिए । त्यसबेला भएको भेट सकारात्मक नभएकाले ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको भन्दै प्रचण्डले भनेका छन्, ‘उहाँसँग पनि निकै सकारात्मक कुराकानी भयो ।’ उनले आफूसँग भएको भेटका विषयमा विदेशमन्त्री जयशंकर ट्वीट गरेको विषय समेत सुनाए ।

भारतीय जनता पार्टीको मुख्यालयमा भव्य स्वागत गरिएको, त्यहाँ मोदी र भाजपा अध्यक्ष जेपी नड्डासँगै आफ्नो तस्वीर सहितको बोर्ड राखिएको उनले बताए । उनले भनेका छन्, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गर्यो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन ।’

प्रचण्डका अनुसार भारतीय नेताहरुसँग भएको भेटमा उनले उनले सन् १९५० को सन्धी र सीमा सम्बन्धी समस्या हल गर्नका लागि जोड दिएका थिए ।

विदेशमन्त्री र विदेश सचिबसँग भएको भेटमा दुई देशका प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझेर सार्वजनिक गर्नुपर्ने र दुई देशका बीचमा रहेका अन्य तमाम मुद्दालाई छलफल गरेर टुंग्याउनुपर्ने बताए । अरु मुद्दामा छलफल नभएको भन्दै उनले भने, ‘यत्रो वर्ष संगत गरेर पनि मलाई चिन्नु भएको छैन भने अलग्गै कुरा हो । मैले जति भनेँ त्यो भन्दा न बढी भएको छ न कम ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?