+
+

जोखिम कम भएको क्षेत्रतर्फ सर्दै बैंकिङ कर्जा 

बैंक तथा वित्तीय संस्थाले जोखिम भार बढाएको क्षेत्रको कर्जालाई जोखिम भार कम भएको क्षेत्रमा रुपान्तरण (स्वाप) गरेका छन् । यसले बैंकको कर्जा कम जोखिमयुक्त क्षेत्रतर्फ बढी लगानी हुन थालेको छ ।

विजय पराजुली विजय पराजुली
२०७९ साउन २ गते १२:५६

१ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जोखिम भार बढाएको क्षेत्रको कर्जालाई जोखिम भार कम भएको क्षेत्रमा रुपान्तरण (स्वाप) गरेका छन् । यसले बैंकको कर्जा कम जोखिमयुक्त क्षेत्रतर्फ बढी लगानी हुन थालेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव, अत्यधिक आयातले बाह्य क्षेत्रमा परेको दबावले गर्दा राष्ट्र बैंकले पूँजीगत लाभ, प्रयोजन नखुलेका तथा अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने नीति लिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट राष्ट्र बैंकले विभिन्न ५ वटा क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने बताएको थियो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ ।

मौद्रिक नीतिको सोही व्यवस्थाको आधारमा राष्ट्र बैंकले १८ फागुन २०७८ परिपत्र जारी गर्दै ट्रष्ट रिसिट/आयात कर्जा बाहेक सबैको अन्य चार वटा कर्जाको जोखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत पुर्‍याएको थियो । ट्रष्ट रिसिट/आयात कर्जाको भने १२० प्रतिशत पुर्‍याएको हो । बढाएको जोखिमभार २०७९ असार मसान्तबाट कार्यान्वयनमा जाने बताएको थियो ।

बढेको जोखिम भार कार्यान्वयनमा जाने समय नजिकिंदै जाँदा बैंक तथा वित्तीय संस्थाले उक्त क्षेत्रको कर्जा घटाउँदै अन्य कर्जामा स्वाप गरेर लगेका छन् । यता जोखिम भार यथावत रहको आवधिक कर्जा र डिमान्ड तथा अन्य चालु पूँजी कर्जा भने बढ्दै गएको छ ।

पुस २०७८ को तुलनामा जेठ २०७९ मा कुल कर्जा ५७ अर्ब ७९ करोड (१.२४) प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा आवधिक कर्जा १ खर्ब १८ अर्ब ३४ करोड (११.५४ प्रतिशत) र डिमाण्ड तथा अन्य चालु पूँजी कर्जा ६१ अर्ब ८९ करोड (६.३४ प्रतिशत)ले वृद्धि भएको छ ।

जोखिम भार वृद्धि भएको सबै कर्जा घटेको छ । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको अधिविकर्ष कर्जाको विवरण सार्वजनिक गरेको छैन । जोखिम भार बढेको उक्त कर्जा सहित कुल अधिविकर्ष (आृभरड्राफ्ट) कर्जा नै घटेको छ ।

पुस २०७८ को तुलनामा जेठ २०७९ ओभरड्राफ्ट कर्जा ५३ अर्ब ८२ करोड (७ प्रतिशत) ले घटेको छ । यस्तै ट्रष्ट रिसिट ÷आयात कर्जा ८१ अर्ब ४३ करोड (४६ प्रतिशत), मार्जिन प्रकृतिको कर्जा १२ अर्ब १२ करोड ( १२.१६ प्रतिशत), व्यक्तिगत हायर पर्चेज कर्जा ३ अर्ब ४० करोड (६.३६ प्रतिशत) र जग्गा प्लटिङ सम्बन्धी रियल स्टेट कर्जा १ अर्ब ८२ करोड (५.१४ प्रतिशत)ले घटेको छ । कुल रियल स्टेट कर्जा १३ अर्ब ४९ करोड (६.४२ प्रतिशत)ले वृद्धि हुँदा पनि जग्गा प्लटिङ सम्बन्धी रियल स्टेट कर्जा भने घटेको छ ।

जोखिम भार भएकोमा रुपान्तरण

बैंकले जोखिम भार वृद्धिपछि उक्त क्षेत्रको कर्जालाई आवाधिक कर्जामा रुपान्तरण गर्दा अवाधिक कर्जामा उल्लेख वृद्धि भएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । विशेष गरेर ५० व्यक्तिगत ओभरड्राफ्ट ५० लाखसम्म पाइनेमा जोखिम भार वृद्धिसँगै बैंकहरुलाई थप पूँजी चाहिने तथा ऋणीको कर्जाको ब्याजदर वृद्धि हुने भएपछि जोखिम भार कम भएको आवाधिक कर्जामा रुपान्तरण भएको दाहालको तर्क छ ।

यस्तै व्यापारीले पनि डिमान्ड तथा अन्य चालु पुँजी कर्जाको सिमा बढाउँदै जोखिम भार बढेको ट्रष्ट रिसिट/आयात कर्जा भने घटउँदै लगेको उनको तर्क छ । सरकारले आयातमा नै नियन्त्रण गर्ने नीति लिँदा पछिल्लो समय आयात घटेकोले पनि उक्त कर्जा घटेको उनी बताउँछन् ।

बैंकहरुले जोखिम भार बढेको कर्जाले गर्दा थप पूँजी कोष चाहिने भएकोले त्यसबाट बच्नको लागि जोखिम भार कम भएको कर्जाको रुपान्तरण गरेको उनले बताए । यसलाई बैंकहरुले बदमासी गरेको रुपमा बुझन् नहुने उनको तर्क छ ।

‘हिजो पनि र आज पनि ओभड्राफ्ट तथा आवाधिक दुवै कर्जा दिनसक्ने व्यवस्था छ,’ उनले भने, ‘मासिक रुपमा किस्ता तिर्ने भन्दा चाहिंदा बैंकाबाट पैसा नलिने र नचाहिँदा बैंकमा नै राख्ने गर्न सजिलो थियो त्यसले ओभरड्राफ्टमा आकर्षण थियो, अब जोखिम भार बढेपछि बैंकहरुलाई थप पूँजी नचाहिंदा त्यसमा निरुत्साहित भयो ।’

अब जोखिम भार बढी हुँदा ओभड्राफ्टमा आकर्षण घट्ने र आवाधिकमा बढ्ने उनले बताए । आवधिक कर्जा नियमित हुने र धितो पनि हुने भएकोले जोखिमको हिसाबले पनि राम्रो हुने उनको तर्क छ ।

ओरड्राफ्ट कर्जा चाहिँदा मात्रै प्रयोग गर्नु भन्नेको लागि सहज हुने तर अनिवार्य चाहिनको लागि त्यहि कर्जा घर, अथवा अन्य शीर्षकमा लिने उनले बताए । आवाधिक कर्जा हुँदा कर्जाको प्रयोजन पनि खुल्ने र त्यसको सदुपयोग पनि बढ्ने उनको भनाइ छ ।

‘धितो राखेर आम्दानीको स्रोत देखाएपछि सहज रुपमा ओभरड्राफ्ट पाइन्छ, आम्दानी र धितो एउटै हुँदा पनि ओभरड्राफ्टमा चाहिंदा झिक्न र नचाहिंदा बैंकमा राख्न सकिन्थ्यो । त्यो कर्जा सेयरमा पनि जानसक्छ, अरु प्रयोजनमा पनि जान सक्छ,’ उनले भन ।

‘५० लाखको ओभरड्राफ्टमा प्रयोजन हेर्ने गरिंदैन । अवाधिक भएपछि पटक–पटक झिक्ने र राख्ने तथा सेयर लगायतका क्षेत्रमा लगानी गर्न नपाइने हुँदा नियन्त्रण भएको उनले बताए ।

उनले आवधिक कर्जामा नियमीत किस्ता भुक्तानी गर्दा कर्जा नियमित हुने र यसले वित्तीय जोखिम कम गर्ने बताए । बैंकहरुमा पनि जोखिम भार कम हुाँद पूँजीको समस्या नहुने भएकोले कर्जा परिवर्तन गरेको हुनसक्ने उनी बताउँछन् ।

उनको भनाइमा राष्ट्र बैंक पनि सहमत देखिन्छ । प्रयोजन नखुलेको व्यक्तिगत ओभरड्राफ्टलाई आवाधिक कर्जामा रुपान्तरण गरेर वित्तीय क्षेत्रको जोखिम घटाउन रणनीति रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । यसले राष्ट्र बैंकको नीति सफल बन्ने अवस्थामा रहेको उनले बताए ।

‘ओभरड्राफ्ट कर्जा अनिश्चित प्रकृतिको हुन्छ, कर्जा भुक्तानी नगरी नवीकरण मात्रै गर्दा त्यसले कर्जाको जोखिम बढ्नसक्छ’ उनले भने, ‘ओभरड्राफ्टलाई आवाधिक कर्जामा लगेपछि त्यो निश्चित अवधिमा भुक्तानी गर्नुपर्छ ।’ त्यसैले यसलाई सैद्धान्तिक रुपमा कर्जा ट्र्याकमा जाँदै गरेको रुपमा बुझनुपर्ने उनको तर्क छ ।

यसले कर्जा भुक्तानी नियमित हुने र असुली भएपछिको कर्जा उत्पानशील क्षेत्रमा लैजान मद्धत पुग्ने उनले बताए । तर, ओभरड्राफ्ट कर्जाको भने चुक्ता अनिश्चित हुने र त्यसले जोखिम बढ्नुको साथै वित्तीय स्रोतको सहि सदुपयोग हुन नसक्ने उनले बताए ।

तर, राष्ट्र बैंककै अर्का एक अधिकारी भने ओभरड्राफ्ट कर्जालाई आवाधिक कर्जामा लैजाने बैंकको कामलाई राष्ट्र बैंकले सैद्धान्तिक रुपमा सकारात्मक मानेपनि उक्त नीतिको उदेश्य भने पुरा नहुने बताउँछन् । यसले वित्तीय क्षेत्रमा बेतिथि ल्याउनसक्ने भन्दै राष्ट्र बैंकले अनुगमन गरिरहेको उनले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?