+
+

खोजी इमानदार कर्मचारी र शालीन नेताको

सार्वजनिक बसभित्रको आक्रोश केवल आक्रोश होइन धेरै भोगाइको, पीडाको साझा पहाड हो । इमानदार कर्मचारी, शालीन नेताको छवि कहिले बन्ला ?

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०७९ साउन ५ गते ११:०७

गत मंसिरमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिंदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्ऽ लिङ्देनले भनेका थिए- ‘सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, यो अवस्थालाई ठिक लगाउने कसले ? राजनीतिले हो ? फेरि राजनीति पनि ठिक छैन । बिगि्रएको राजनीतिलाई कसले ठिक लगाउने ? नेताले ? तर अहिले नेताप्रति जनताको विश्वास गुमेको छ ।’

लिङ्देनको व्याख्यात्मक टिप्पणीसहितको भनाइ थियो, ‘हाम्रो गाउँतिर कार्यक्रम हुन्छ, नेतालाई बोलाइन्छ, आयोजक गएर जनतालाई बोलाउन जान्छन्, म कसको नाम लिऊँ ? मेरो नाउँ लिउँ कि ? अरूको ? भो कसैको नाम नलिऊँ । गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दा आजकालको नेता आएछ भनेर जनताले सोध्दैनन्, कुन चाहिं चोर आएछ भन्छन् ।’

उनको यो भनाइसँगै मञ्चमा उपस्थित दर्शकहरूले हो हो भन्दै ठूलै स्वरमा हुटिङ गरे । त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डको बोल्ने पालो आयो । प्रचण्डले लिङ्देनको भनाइ ठाडै अस्वीकार गरे, अस्वीकार मात्रै गरेनन् आफूहरू चोर नभएको स्पष्टीकरण नै दिए । प्रचण्डले उपस्थित जनमानसलाई एकै सासमा सोध्न भ्याए, हामी के चोर हौं त ? ठूलो स्वरमा होहो को हुटिङ प्रष्टै सुनिन्थ्यो । तर प्रचण्डले थप व्याख्यात्मक टिप्पणीसहित लिङ्देनको भनाइमा असहमति जनाएनन् मात्रै हामी चोर होइनौं भनेर फेरि जोगिन खोजे ।

यो नेताको कुरा भयो, अब जनताको कुरा गरौं ।

म एक कर्मचारी हुँ, म हरेक दिन सार्वजनिक बस चढेर कार्यालय आऊजाऊ गर्छु । काठमाडौंको जामले भनेको बेलामा कहीं पुगिंदैन यो शाश्वत सत्य जस्तै भइसक्यो । समयमा हाजिर लगाउनैका लागि भए पनि निर्धारित समय भन्दा आधा घण्टा थप समय छुट्याएर हिंड्नुपर्छ । प्रायःजसो बेलुका अफिसबाट घर र्फकने बेलामा हरेक किसिमका सेवाग्राहीका भोगाइको पाठशाला बन्छ सार्वजनिक बस । एकदिन दुईदिन होइन प्रायः हरेक दिनजसो ।

कोही न कोही पात्र राजनीतिक दल र कर्मचारीको व्यवहारबाट आजित भएका, गुनासाका चाङ बोकेर सार्वजनिक बस चढ्छन् । उनीहरूका गुनासा बसमा सुनुवाइ हुँदैनन् भन्ने कुरा थाहा छ तर पनि मन शान्त पार्नकै लागि भए पनि आफ्ना पीडा, भोगाइ, दुःखका पोया एकपछि अर्को गरी भुक्तभोगीहरू फुकाउँछन् ।

केही दिन अघिको एउटा घटना अहिले पनि दिमागमा फनफनी घुमिरहेेको छ । हातका स-साना काला झोला, हरेकको हातमा एकदुई थान फाइल, पहेंला ठूला खाम समाएका, थकित अनुहार भएका पाँच सातजना व्यक्तिहरू एकैचोटि बसमा चढे । उनीहरू सरकारी काम र नेताका व्यवहारबाट यति आजित भएका देखिन्थे, सुनिन्थे कि अगाडि भेट्यो भने एक सासमै निलौंला जसरी आक्रोश पोखिरहेका थिए । उनीहरू एक प्रतिशत पनि सरकारी कामबाट सन्तुष्ट देखिएका थिएनन् ।

उनीहरूमध्ये अधिकांशको समस्या यातायात, मालपोत, राहदानीसँग सम्बन्धित देखिन्थे । मेरो सिटकै छेउमा एकजना महिला बसेकी थिइन्, पल्लो साइडमा दुई जना पुरुष । उनीहरू जग्गा हालसाविकको लागि मालपोतमा गएका रहेछन् भन्ने बोलीबाटै प्रष्टै हुन्थ्यो । ‘त्यो कालो चश्मा लाउने कर्मचारी थियो नि त्यो एकदम फटाहा छ, खाली काम अल्झाउने, मान्छेलाई झुलाउने मात्रै गर्छ । उसको छेउको कुर्सीमा बस्ने अर्को थियो नि त्यो झन् फटाहा हो । नापीको मान्छे लिएर एकचोटि हालसाविक गर्न गयो हजार बिन्ती गरेर बल्लतल्ल । के के मिलेन भन्यो, चिया, खाजा खुवाइवरी पठाएँ । अब त काम होला भनेको फेरि जाँदा त चालिस हजार चाहिन्छ पो भन्छ ? सरकारले तलब दिएको छ त ती फटाहाहरूलाई, जति भए पनि नपुग्ने कस्तो असत्ती कर्मचारी छिछि … यस्ता असत्तीलाई त कोरोनाले नै लैजाने रै’नछ । मेरो छोरालाई त मरे पनि सरकारी कर्मचारी बनाउन्न ।’

बरु खाडीमा जाओस्, दुनियाँलाई झुलाएर केको जागिरे बन्नु ? कस्ता असत्ती कर्मचारी ? कामचोरहरू कुनै काम बेलामा गर्न सक्दैनन्, चाँडै अफिस गयो कर्मचारी आएका हुँदैनन्, एकैछिनपछि गयो उनीहरूलाई चिया र खाजा खाने बेला हुने । हामी तातो घाममा मरुन्जेल लाइनमा बसेको देखी-देखी सरक्क उठेर खाजा खाने टाइम भयो भनेर हिंड्ने कस्ता लाजै नभएका कर्मचारी ? कम्तिमा लाइनमा उभिएकाको काम सिध्याएर गए हुन्थ्यो नि ! एक घण्टा ठ्याम्मै लाउँछन् खाजा खान, कस्तो खाजा खान्छन् एक घण्टासम्म ? हाम्रै करबाट तलबभत्ता खाएर हामीलाई नै झुलाउने भातमाराहरू … !’

ती महिलाले सकेसम्म कर्मचारीलाई सत्तोसराप गरिन् ।

यी कुराहरू सुनिरहँदा केही दिनअघि मात्रै नेपाल सरकारका एक जना उपसचिवले भनेको कुरा दिमागमा घुमिरहृयो । उनले भनेका थिए- सिंहदरबार त मलाई मुर्दाहरूको बस्तीजस्तो लाग्छ । स्थायी सरकार मानिएका कर्मचारीको दैनिकी नेताको जी-हजुरीमा बितेपछि जनतामा कस्तो सन्देश जान्छ ? नेताका खुट्टामा तेल लगाउन जाने हुतिहारा कर्मचारीतन्त्र भएपछि प्रतिफल कस्तो आउँछ ?

अर्का अवकाश पाएका उपसचिव प्रेम सञ्जेलले त खुलेआम कर्मचारीतन्त्रका विकृतिको बारेमा भण्डाफोर गरिरहेका कुराहरू मानसपटलमा घुमिरहे ।

ती महिलाको कुरा सकिएपछि छेउकै अर्को सिटमा बसेका पुरुष बोल्न थाले ।

‘एउटा ब्लू बुक रिन्यु गर्न कति महाभारत हो ? यी चोरहरूले कहिल्यै समयमा काम गर्दैनन् ।

कर्मचारी जति चोर नेताका झोले भएपछि समयमा कसरी काम हुन्छ ? दलेहरूले पैसा खाँदै सेटिङमा अरूको काम धमाधम गराउँछन्, लाइनमा बस्नेको कहिल्यै पालै आउँदैन । गाडीको लाइसेन्स दिन एक वर्षमा पनि भ्याउँदैनन्, त्यत्रा कर्मचारी के कामको लागि पाल्छ हो सरकारले ? कर्मचारी पैसाविना एक पाइला नचल्ने, नेता सबै चोरैचोर कसरी समयमा काम हुन्छ ? भाइको एउटा मोटरसाइकल नामसारी गर्नधरी नेताको पावर लगाउनुपर्‍यो । त्यो चोरले पनि लास्टमा धोका दियो, कर्मचारीसँग सेटिङमा होला के गथ्र्यो काम ? कर्मचारी सबै घुस्याहा, नेता सबै चोरैचोर अनि हामी जनता यिनीहरूका गोटी … ? अब कतारको भिसा आओस् न मात्रै टाप कस्ने हो ।

चोर नेताका झोले कार्यकर्ता बन्न सकिन्न, घुस्याहा कर्मचारीजस्तो धन्दा गर्न पनि सकिन्न, केही गर्न नसक्नेको नेपालमा पहुँच छैन अर्का व्यक्ति बोले । अलि अघि बढेपछि नापी शाखाका अर्का पीडितको पालो आयो, ‘आज यहाँबाट हो भन्छ नाप्छ भोलि के मिलेन भन्छ । फेरि यति पैसा चाहिन्छ भन्छ । आज नमिलेको कुरा भोलि पैसा खुवाएपछि कसरी मिल्छ ? यी नापीवालाले जग्गा नाप्छन् कि पैसा नाप्छन् ? बुझिसाध्य छैन । कतिसम्म लुट्न सकेका यी चोरहरूले ? अझै यिनै चोरहरूको बर्सेनि तलब बढाउने नकचरो सरकार … ! सरकार नि के भन्नु खै, यी चोरहरूले मिल्ने भए देशै बेचेर खान्थे ?’ आक्रोश एकपछि अर्को बढिरहन्छन् । बाटोमा लामो जाम देखिन्छ । यात्रु ओराल्ने स्थान नभए पनि जाम भएको मौकामा सहचालकको इशारामा खुसुक्क यात्रु र्झछन्, अलि अघि पुगेपछि ट्राफिकले चिट काट्छन्, फेरि चालक र सहचालकको तारोमा ट्राफिक प्रहरी पर्छन् । ‘यी चोरहरू चिट काट्नेलाई काट्दैनन्, जाममा मान्छे झार्दा एक हजारको चिट काट्छन् । हाम्रो दिनभरिको कमाइ जान्छ, यी सबै चोरैचोर हुन्, झाडीमा लुकीलुकी चिट काट्छन् । चोर नेताका, डनहरूका गाडी बीच बाटोमा पार्किङ गर्दा पनि केही गर्न सक्दैनन् । कति कमिशन आउँछ होला त्यही भएर बाटो ढुकेरै चिट काट्छन् ।’

आफ्नो भोगाइ अनुसारका आक्रोश पोखिन्छन्, एकदिन होइन हरेक दिनजसो यो क्रम धेरैथोरै दोहोरिरहन्छ ।

भगवानको मन्दिर निर्माणमा अनियमिमता गर्ने, घाट बनाउँदासमेत अनियमितता गर्नेहरूबाट ठूलो सुधारको अपेक्षा त गर्न सकिंदैन तर, बोराको एउटा आलुले सिंगो बोरा कुहाउँछ भनिन्छ । यी र यस्ता पटाक्षेपहरू पनि त्यसकै द्योतक हुन्

गुनासाहरू सकिएका हुँदैनन्, सानो काम गराउनु पर्‍यो भने पनि यिनै चोर नेताको पाउ मोल्नुपर्छ । बच्चाको जन्मदर्ताको लागि वडा सचिवकोमा दशपटक धाउनु पर्‍यो । चिनजानको छ, समयमा काम गर्ला भनेर चुनाव जिताएको त्यो चोर पनि उस्तै, सधैं अल्झाउने मात्रै … ।’

कुनै कर्मचारीको त अनुहार पनि हेर्न मन लाग्दैन तर फेरि तिनै फटाहा, घुस्याहा कर्मचारीको अघिपछि जानुपर्छ, चाकडी गर्नैपर्छ । यी कर्मचारीेको पारा देख्दा त यमराजलाई पनि भोलि आइज भन्न बेर लगाउँदैनन् जस्तो लाग्छ । जुन कार्यालयमा जाऊ काम अड्काउने मात्रै भेटिन्छन् ।’

त्यसै त सामूहिक आक्रोश गुन्जिन्छ । सार्वजनिक गाडीमा उभिने ठाउँ पनि मुस्किलले पाइन्छ, यात्रु कोच्चिएर उभिएका हुन्छ ।

त्यही भीडबाट अर्का यात्रुले थप्छन्, ‘यी चोरहरूले गतिला सार्वजनिक बसको व्यवस्था त गर्न सक्दैनन् गफ फेरि सिंगापुर र के के जाति बनाउने रे ? सिटमा बसेर यात्रा गर्ने दिन कहिले आउला ? सकसले उभिएकाहरू हो त नि भन्दै सही थापिरहेका हुन्छन् ।’

एकजना श्रम कार्यालयबाट आएका रहेछन् । उनले भने, ‘सबै कर्मचारी फटाहा हुँदैनन् है साथी हो, श्रम कार्यालयमा अहिले बिचौलियाको उठिवास भएछ । सबै काम अनलाइनबाट हुने रहेछ, उतिखेरै मेरो काम भयो, त्यहाँ लाइनको झन्झट छैन ।’

उनको कुरा सकिन नपाउँदै अर्का व्यक्ति बोले- ‘तपाईंको सोर्सफोर्स दह्रोथ्यो होला बेलैमा काम भयो, हामी जाऊँ त हप्तौं झुलाउँछन् … ।’ राम्रो भएको कुरा सुनाउँदा पनि आम नागरिक पत्याउने अवस्थामा छैनन् ।

हरेक दिन पोखिने यी र यस्ता आक्रोशले सधैं मन अशान्त बनाउँछ, सबै नेता चोरै होलान् त ? कति सादगी नेता पनि त छन् यो समाजमा तर खराबको बहुमतमा यस्ता नेताको पहिचान हराएको छ ।

राजनीतिलाई पेशा बनाउनेहरूले यो सामाजिक काम हो भन्ने परिभाषा नै बदलिदिए । कति सरकारी कर्मचारीलाई दैनिकी चलाउन गाह्रो छ, सबै कर्मचारी फटाहा, घुस्याहा पक्कै छैनन् तर खराबको दलदलमा सबै कर्मचारी दुर्गन्धित भएका छन् । आखिर यो अवस्था सृजना भयो कसरी ? यो अवस्थाको समापन होला कसरी ? कि सधैंभरि चोर नेता र फटाहा कर्मचारी मात्रै भनिरहने हो ?

सार्वजनिक बसभित्रको आक्रोश केवल आक्रोश होइन धेरै भोगाइको, पीडाको साझा पहाड हो । इमानदार कर्मचारी, शालीन नेताको छवि कहिले बन्ला ? अझ कतिपय यात्रुले त मान्छेको अनुहार हेरेर काम गर्छन् कर्मचारीसम्म भन्न भ्याए ।

‘चिल्ला कारमा जानेहरूलाई ‘हजुर सर म्याम’ भन्दै चिप्लो दल्ने उतिखेरै काम गर्दिने । सार्वजनिक बसमा उभिएर, कोचिएर धुलै, मैलै, पसिनै पसिना भएर काम लिएर जानेहरूलाई माग्ने मान्छेलाई जस्तो व्यवहार गर्छन् । औकात हेरेर काम गर्छन् भातमाराहरू !’ आक्रोश थप चुलिन्छ ।

एकजना महिला बोलिन्, ‘ए भाइ चिल्ला गाडीमा हिंड्नेको माथिसम्म पहुँच हुन्छ । सबैकुरा पहिल्यै मिलाएका हुन्छन्, कर्मचारी भनेका इशारामा चल्ने त हुन् नि, हाम्रो यो कोठा र त्यो कोठा धाउँदैमा दिन जान्छ तर काम हुँदैन । एउटा नेता भनाउँदो चुनावमा यो गर्छु त्यो गर्छु मलाई भोट दिनुस् भन्दै भोट माग्न आ’थ्यो, सबै चोरहरूलाई पाँच वर्ष हेरिसक्यौं, जुन चोर आए पनि खल्ती भर्ने मात्रै हुन् भनेको सवाल जवाफ नगरिकन गयो ।’

यी आक्रोश हरेक दिन सुन्दा जनतामा कति पीडा छ भन्ने कुरा खोतल्न अन्यत्र जानु पर्दैन । गाडीवालाले ठाउँको ठाउँ यात्रु ठगेका छन्, १८ रुपैयाँ भाडा लिनुपर्नेमा २० लिन्छन्, फिर्ता माग्दा चानचुन छैन रे ! पसलमा साहुजीले ठगेका छन् । पाइलै पिच्छे एउटै सामानको फरकफरक मूल्य हुन्छ । बच्चा र वृद्धहरूलाई खुवाउने अमृत मानिएको दूध, घिउ तताउँदा प्लाष्टिक बन्छ तर जवाफदेही कोही बन्दैन ।

भगवानको मन्दिर निर्माणमा अनियमिमता गर्ने, घाट बनाउँदासमेत अनियमितता गर्नेहरूबाट ठूलो सुधारको अपेक्षा त गर्न सकिंदैन तर, बोराको एउटा आलुले सिंगो बोरा कुहाउँछ भनिन्छ । यी र यस्ता पटाक्षेपहरू पनि त्यसकै द्योतक हुन् ।

यो अवस्थाको अन्त्य कसरी गर्ने ? अस्पतालमा सोर्स, मन्दिरमा सोर्सफोर्स लगाउनुपर्छ भने अन्य स्थानको हालत कस्तो होला ? यो परिपाटीको अन्त्य कहिले गर्ने ? कसरी गर्ने ? अन्त्यमा म दोधारमा परें । लिङ्देनले नेतालाई चोर भन्छन् भन्ने कुरा सही हो कि प्रचण्डले हामी चोर होइनौं भन्ने कुरा ? या त सिंहदरबार मुर्दाहरूको बस्ती हो भन्ने कुरा सहजै स्वीकार गरौं ? अन्त्यमा यति भन्न सक्छु सबै नेता चोर छैनन् र हुँदैनन् । अनि सबै कर्मचारी फटाहा हुँदैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?