+
+
कभर स्टोरी :

सडक दुर्घटना : ८ वर्षमा १९ हजारको ज्यान गयो, ९६ हजार घाइते

पछिल्लो ८ वर्षमा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजार घाइते भएका छन् । माओवादी द्वन्द्व, २०७२ को भूकम्प अथवा कोभिड महामारी यीमध्ये कुनै एकमा ज्यान गुमाउने संख्याभन्दा यो अंक धेरै हो । तर, यो मानवीय क्षतिमा सरकार सामान्य छानबिनसम्म पनि गर्दैन ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ६ गते २०:१८
दुर्घटनामा घाइते ६ वर्षका अनिल बिक

६ साउन, काठमाडौं । तस्बिरको दृश्य ललितपुरको बीएण्डबी अस्पतालको सघन उपचार कक्ष (भेन्टिलेटर) को हो । ६ वर्षका अनिल बिकको पछिल्लो ५ दिनदेखि अस्पतालमा उपचार चलिरहेको छ । २१ असारमा रामेछापको सुनापती गाउँपालिका वडा नम्बर ५ बेलडाँडामा भएको बस दुर्घटनामा अनिल पनि परेका थिए ।

बुवाको काखमा बसेर कटौंजे गाउँबाट भकुण्डेस्थित मामाघर हिंडेका अनिल १७ दिनदेखि अस्पतालको बेडमा छन् । बसमा काखमा लिएका बुवा खड्कबहादुर बिकको दुर्घटनामा परी घटनास्थलमै निधन भयो । दुर्घटना लगत्तै गम्भीर अवस्थामा उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएका अनिलको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि ५ दिनअघि उनलाई बीएण्डबी रिफर गरिएको उनका आफन्त अनोज विश्वले बताए ।

अस्पतालमा कुरुवा बसेका अनोजका अनुसार अनिलको घरमा अस्वस्थ अवस्थाकी आमा र उनको काखमा ११ महिनाको भाइ छन् । ‘अंकलको दुर्घटनामा निधन भयो, आन्टीको भरोसा टुटेको छ । ६ वर्षको भाइ यता सघन उपचारमा छ’ विश्व भन्छन्, ‘राम्रोसँग बोल्न र पाको व्यवहारसमेत गर्न नसक्ने अंकलले दुःख गरेर जोडेको परिवार एउटा दुर्घटनाले क्षत–विक्षत हुँदा हामी सबै विक्षिप्त छौं ।’

खड्कबहादुरको अन्तिम संस्कार आफन्त मिलेर गरेका छन् । किरिया खर्च भनेर गाउँपालिकाले ३० हजार रुपैयाँ उपलब्ध गराएको थियो । केही दिनअघिसम्म होशमा रहेका अनिललाई बुवाको मृत्युबारे थाहा दिइएको थिएन । अस्पतालका अनुसार अनिलको स्वास्थ्य अवस्था जटिल तर स्थिर छ ।

२१ असार २०७९ मा रामेछापको डोग्माबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुवाहक बस बेलडाँडाबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी अनिलका बुवासहित १३ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

सुनापती गाउँपालिका ५ का वडाअध्यक्ष  चित्रबहादुर मानन्धरका अनुसार समथर बाटोमा भएको यो दुर्घटनाबारे अहिलेसम्म कुनै छानबिन र अनुसन्धान भएको छैन । ‘मृतकलाई पालिकाले किरिया खर्च भनेर ३० हजारका दरले रकम छुट्याइएको छ, घाइतेको बस समितिले उपचार गरिरहेको छ’ वडाअध्यक्ष मानन्धर भन्छन् ‘तत्काल उद्धार र राहत बाहेक थप कुनै अध्ययन अनुसन्धान र खोजी भएको थाहा छैन ।’

उनका अनुसार यसअघि पनि त्यो क्षेत्रमा ३ वटा साना दुर्घटना भएका थिए । अहिलेकै बस दुर्घटनामा पनि ब्रेकको पाइप फुटेको अवस्थामा चालकले प्लाष्टिकले बाँधेर बस गुडाएको पाइएको उनले बताए ।

गत फागुन २६ गते संखुवासभाको मादीबाट झापाको दमकका लागि गुडेको यात्रुबाहक बस मादी नगरपालिका वडा नम्बर ६ को सातघुम्तीमा दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा बसका चालकसहित १५ जनाको ज्यान गयो । मादी नगरपालिका ६ का वडाअध्यक्ष धननारायण तामाङका अनुसार यो दुर्घटना पनि पिच सडकको घुम्तीमा भएको थियो ।

संखुवासभामा दुर्घटना भएको बस

मालिक आफैंले चलाएको उक्त बसमा सबार ४ यात्रु गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते भएकाहरूको अहिले पनि उपचार भइरहेको छ । ‘दुर्घटना भएको जानकारी लगत्तै हामी उद्धारमा खटियौं, अवस्था भयावह थियो, बसमा भएका ७५ प्रतिशत मानिसले मृत्युवरण गरे’ धननारायण भन्छन्, ‘एउटा गाउँ नै रित्तियो, गाउँका हरेक परिवार अझै शोकमा छन् ।’

दुर्घटनापछि घाइतेलाई उपचारका लागि पठाउने र शव व्यवस्थापनको काम सकिएपछि सरकारका निकायले खासै चासो नदिएको उनले गुनासो गरे । ‘यति धेरै मानिसको मृत्यु भएको घटनामा केही दिनपछि एक जना ट्राफिक प्रहरी आएर घटनास्थल हेर्ने र विवरण लिएर गएको बाहेक थप जानकारी छैन’ धननारायण भन्छन्, ‘खै सडक दुर्घटनामा मर्नेको त मूल्य पनि नहुने रहेछ !’

सडक दुर्घटनाका यी प्रतिनिधि घटना अब कुनै गाउँ र ठाउँमा मात्रै सीमित नभई देशकै व्यथा भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् । दुर्घटनाले हरेक परिवारलाई विचलित अवस्थामा पुर्‍याएको भन्दै उनले भने ‘सडक सुरक्षाको पछिल्लो दुई वर्षको प्रारम्भिक वार्षिक तथ्याङ्कहरू झनै कहालीलाग्दो छ ।’

उनी थप्छन्, ‘अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछन् ।’

प्रहरी मुख्यालयमा प्राप्त विवरण अनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ । यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।

यसमा ३८ हजार ७४६ गम्भीर घाइते भए भने ९६ हजार ४२९ जना मानिस साधारण घाइते बनेका थिए । सडक दुर्घटनामा मानिसका अलावा ७१० पशुचौपाया मारिएका छन् भने २६८ पशुचौपाया घाइते भएका छन् । समग्र दुर्घटनाको मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ ।

मादक पदार्थदेखि मोबाइल फोनको प्रयोगसम्म 

सडक सुरक्षा अनुसन्धाता उप–प्राध्यापक भगवती सेढाईं पछिल्लो दुई वर्ष सडक दुर्घटना झनै बढेको बताउँछिन् । विगतको तुलनामा सडकमा हुने दुर्घटना दोब्बर बढेको भन्दै सेढाईं भन्छिन्, ‘प्रहरीले प्राप्त गर्ने तत्कालको तथ्याङ्क भन्दा अस्पतालमा ज्यान जानेको संख्या थप ४० प्रतिशतले बढ्ने अध्ययनमा देखिएको छ ।’

उनी भन्छिन्, ‘सडक सुरक्षामा काम गर्नेहरूले गरिरहेको अध्ययनमा अस्पतालमा उपचारका क्रममा हुने मृत्युले अहिलेकै तथ्याङ्कमा साढे ७ हजार मृतक थपिने अवस्था छ ।’ सेढाईंका अनुसार सडक दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही, सडक पूर्वाधारमा खेलाँची र र दुर्घटना न्यूनीकरणका लागि पहल र लगानी नगर्नु नै हो ।

नेपालमा भएका सडक दुर्घटनामा खासै कारण खोजिन्न र खोजिएका कारणमा पनि शंका छ । सरकारसँग भएको तथ्याङ्क अनुसार सबैभन्दा ठूलो दुर्घटनाको कारण चालकको लापरबाही देखिन्छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई दुर्घटनाको प्रकृति अनुसार विवरण हेर्दा तीन कारणले दुर्घटना बढी हुने गरेका छन् । पहिलो चालकको लापरबाही, दोस्रो सडक पूर्वाधार र तस्रो यान्त्रिक कारण हो ।

आव २०७८/७९ मा २४ हजार ५३७ वटा सडक दुर्घटना हुँदा चालकका कारण १४ हजार ५०२ वटा दुर्घटना भएका छन् । जसमा ११ हजार बढी दुर्घटना तीव्र गतिका छन् । यस्तै सवारी चालक चेकजाँच नगरिएको, चालक निदाएको, जथाभावी ढोका खोलेको, ट्राफिक नियम उल्लंघन गरेको, मादक पदार्थ सेवन गरेको, ओभरटेक गरेको र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेका कारण पनि दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीले मुख्यतः दुर्घटनाका कारणलाई ५ भागमा विभाजन गरेर व्याख्या गरेको छ । पहिलो चालकका कारण, दोस्रो सवारी साधनका कारण, तेस्रो यात्रुका कारण, चौथो सडकको पूर्वाधार र पाँचौं मौसमको कारण दुर्घटना हुने गरेका छन् ।

चालकका कारण हुने दुर्घटनामा नियम अवज्ञा, जथाभावी ढोका खुल्ला राख्नु, ओभरटेक, तीव्र गति, चालक निदाउनु, मादक पदार्थ सेवन गर्नु, मोबाइल चलाउनु हो । यस्तै सवारीका कारण हुने दुर्घटनामा यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् । कतिपय दुर्घटनाका कारण यात्रु स्वयम् छन् । जसमा उनीहरूले गर्ने व्यवहार मुख्यतः जिम्मेवार छ ।

जस्तै चढ्दा र ओर्लंदा ख्याल नगर्दा, झुण्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होश नपुर्‍याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडक लगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको छ ।

‘दैनिक ८ जनाले ज्यान गुमाउँछन्’

दुर्घटनाका विवरण केलाउँदा सबैभन्दा जोखिममा मोटरसाइकल र जीप तथा कार भ्यान देखिएका छन् । बितेको ८ वर्षमा नेपालभर ७२ हजार ७२६ वटा दुर्घटनामा मोटरसाइकल परेका छन् । यस्तै दोस्रो ठूलो जोखिममा कार र जीप छन् ।

यस अवधिमा ४२ हजार ७१७ वटा कार जीप दुर्घटनामा परेका छन् । बस र माइक्रो भन्दा बढी दुर्घटना गराउनेमा ट्रक र टिप्पर छन् । १७ हजार १५९ वटा ट्रक र टिप्पर दुर्घटना हुँदा बस दुर्घटनाको संख्या १५ हजार ९२१ मात्रै छ । यसमा पनि पछिल्लो ४ वर्षमा २२ सय ७२ वटा दुर्घटनामा टिप्पर संलग्न छ ।

पछिल्लो तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु र घाइते हुनेहरूमा पुरुषको संख्या उच्च छ । आठ वर्षको कुल मृतकको तथ्याङ्कमा १४ हजार ४६२ जना पुरुष र ३ हजार ६८ जना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक हजार ८२८ जना बालबालिकाको मृत्यु भएको छ । जसमा १२ सय १६ जना बालक र ६१२ जना बालिका छन् ।

यस्तै दुर्घटनामा गम्भीर, साधारण घाइते हुनेहरूमा पनि पुरुषको संख्या उच्च पाइन्छ । यस अवधिको दुर्घटनामा परेर गम्भीर घाइते बनेका ३८ हजार ७४६ जनामध्ये २७ हजार ४१५ जना पुरुष, ७ हजार २४८ महिला र ४ हजार ९० जना बालबालिका छन् । साधारण घाइते हुनेहरू कुल ९६ हजार ४२९ मध्ये ६५ हजार २०२ जना पुरुष छन् भने २२ हजार २८४ जना महिला । यस्तै ८ हजार ९४३ जना बालबालिका छन् ।

नेपालीले २०५० को दशकपछि लगातार ठूला र कहालीलाग्दा ३ वटा घटना भोगे । २०५१ सालमा सुरु भएको माओवादी हिंसात्मक विद्रोह, २०७२ सालको महाभूकम्प र २०६७ मा सुरु भएको कोभिड महामारी । तीनै घटनामा परी ज्यान गुमाउने संख्या क्रमशः १७ हजार, ८ हजार र ११ हजार हाराहारी थियो । तर, २०७० को दशकको ८ वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजारभन्दा बढी छ ।

दुर्घटनामा परेर जीवनचक्र नै बिग्रेकाहरूको संख्या लाखमा छ । तर, सरकारले यसका लागि ठोस कदम चालेको छैन । नेपालको दिगो विकास लक्ष्यले दुई वर्षभित्र नेपालले सडक दुर्घटनामा परी मृत्यु र घाइते हुनेको संख्या आधा घटाउने घोषणा गरेको दुई वर्षपछि दुर्घटना, मृतक र घाइतेको संख्या झनै बढेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले तीन वर्षअघि गरेकोे अध्ययनमा पनि सडक दुर्घटना न्यूनीकरणमा सरकारले खासै चासो नदिएको औंल्याएको थियो ।

गणेशकुमार पहाडी संयोजक रहेको उक्त उपसमितिले सडक दुर्घटनाका कारण दैनिक औसत ८ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सडक दुर्घटना न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने भन्दै उक्त प्रतिवेदनले सरकारलाई यान्त्रिक कारणबाट हुने दुर्घटना टार्न २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउन, चालकलाई यान्त्रिक ज्ञान र सीप सिकाउन, निश्चित समयमै सवारी साधनको मर्मतसम्भार गर्न, स्थानीय तहमै सवारी साधनको परीक्षण गर्ने व्यवस्था गर्न सुझाएको थियो ।

यस्तै सडक पूर्वाधार सुधार गर्न, स्पष्टसँग सडक संकेत राख्न, सडकमा उच्च मात्रामा दुर्घटना न्यूनीकरणका प्रविधि परिचालन गर्न, तत्काल उपचारका लागि राजमार्ग केन्द्रित दुर्घटनाको छिटो उपचार हुने अस्पताल खोल्न पनि सुझाएको थियो ।

उपसमितिले सवारी चालक अनुमतिपत्र वितरणमा पनि प्रश्न उठाउँदै यसलाई सुरक्षित बनाउन निर्देशन दिएको थियो । साथै सडक सुरक्षालाई विद्यालय तहदेखि नै सुधारका लागि सिकाइको रूपमा अघि बढाउन पनि उपसमितिले सुझाव दिएको थियो ।

सडक सुरक्षामा वार्षिक ६० करोड

सडक पूर्वाधार र सुरक्षाका लागि पहिलो चरणमा काम गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफैं सडक सुरक्षामा अपेक्षित सुधार नभएको स्वीकार गर्छ । सडक दुर्घटना कम गर्न र यसबाट हुने धनजनको क्षति रोक्न पर्याप्त र एकीकृत काम हुन नसकेको मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन् ।

सडक निर्माणमा एउटा भन्दा धेरै एजेन्सीले काम गर्नु, सुरक्षित सडक भन्दा पनि पहुँच विस्तार प्राथमिकतामा पर्नु र छरिएर बजेटको कार्यान्वयन हुनु प्रमुख कारण भएको उनको ठम्याइ छ । ‘हामीले ७६ जिल्लामा सडक पहुँच पुर्‍याएको साँचो हो । त्यसो त गाउँगाउँमा पनि सडक पहुँच पुर्‍याएका छौं’ सहसचिव नेपाल भन्छन्, ‘उक्त सडक कति सुरक्षित छन् हामी आफैंले आफैंलाई प्रश्न गर्न लायक छौं ?’

सुरक्षित सडक भन्दा पनि सडकको पहुँचमा जोड गरेपछि पनि दुर्घटना बढेको उनको भनाइ छ । राष्ट्रिय राजमार्ग र ठूला सडकमा सवारी सचेतनाका लागि मन्त्रालयसँग वार्षिक ६० करोड हाराहारी मात्रै बजेट भएको पनि उनले बताए ।

प्रदेश र स्थानीय तहबाट सडक सुरक्षाका लागि बजेट र काम हुने गरे पनि सरकारको तीन तहबीच यथेष्ट समन्वय नभएको उनले बताए । केन्द्र सरकारले अबका दिनमा भने पहुँचसँगै सुरक्षामा पनि काम गर्ने गरी योजना बनाइरहेको उनको दाबी छ । सडक सुरक्षाका लागि केही नभएको होइन; सरकार, दातृ निकाय र तल्ला तहका सरकारबाट क्षमता अनुसारको काम भइरहेको नेपालको दाबी छ ।

मन्त्रालयका पूर्व सडक सुरक्षाविज्ञ एवम् पूर्व ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक केशव अधिकारी सडक दुर्घटना बढ्नुको मुख्य तीन वटा कारण रहेको औंल्याउँछन् । पहिलो नेपालको यातायात नीति, दोस्रो सडक सुरक्षा जनचेतना अभाव र तेस्रो सवारी अनुमतिको खुकुलो व्यवस्था । दक्षिणएशियामा सवारी साधनको संख्या कम भएर पनि धेरै दुर्घटना हुने मुलुकको रूपमा नेपाल हुनुको प्रमुख कारण यही भएको अधिकारी बताउँछन् ।

‘कुन सडकमा कस्तो सवारी गुड्ने ? सडकमा हिंड्दा चालक, यात्रु वा सडक प्रयोगकर्ता बटुवाले कस्तो अनुशासन पालना गर्ने र कस्तो मान्छेले सवारी चालक अनुमति पत्र पाउने भन्ने कुरामा मनपरी भयो’ अधिकारी भन्छन्, ‘सडकमा यस्तो मनपरी हुनु र नीतिनिर्माताले दाताको लहलहैमा पाँचतारे होटलमा वातानुकूलित कोठामा बसेर नीति बनाइरहे न दुर्घटना रोकिन्छ न जनतालाई मृत्युबाट बचाउन सकिन्छ ।’

कभर स्टोरी
लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?