+
+

खानपानबाट नियन्त्रण गर्न सकिन्छ मधुमेह ?

डा. सुधाश्री अधिकारी डा. सुधाश्री अधिकारी
२०७९ साउन १६ गते १३:३१

अस्तव्यस्त जीवनशैली, अव्यवस्थित खानपिन र व्यस्त दिनचर्याले अहिले विश्वव्यापी रूपमा दीर्घरोगीहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ। नेपाल जस्ता विकासशील राष्ट्रहरू पनि त्यही चपेटामा परेका छन्। सन २००५ को तथ्यांक हेर्ने हो भने कुल ५ करोड ८० लाख मृत्युमध्ये ३ करोड ८० लाख जनसंख्याको मृत्युको कारण दीर्घरोग थिए। भनेको प्रत्येक १०० जना मध्ये ६० जनाको मृत्युको कारण विभिन्न किसिमका दीर्घरोग थिए। यिनै दीर्घरोगमध्येको एउटा रोग मधुमेहको बारेमा यहाँ चर्चा गरिन्छ ।

विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो भने सन् २०३० सम्म यो संख्या बढेर ३६ करोड ६० लाख पुग्ने अनुमान गरिएको छ। त्यसैगरी नेपालमा सन् २०२० को तथ्यांक हेर्ने हो भने मधुमेहबाट मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार थियो भने सन् २०३० मा १ करोड ३२ लाख ८ हजार पुग्ने अनुमान गरिएको छ। नेपालमा यस रोगबाट मृत्यु हुनेको दर विकसित राष्ट्रभन्दा बढी हुनुको मुख्य कारणमा स्वास्थ्य चेतनाको कमी, मधुमेह तथा अन्य दीर्घरोगहरू व्यवस्थापनमा खानपिनको महत्त्व नबुझ्नु, समयमै रोगको पहिचान नहुनु र उपचारमा सबैको पहुँच नहुनु हो।

मधुमेह भनेको के हो ?

रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ। हामीले खाएको खाना अर्थात् कार्बोहाइड्रेट ग्लुकोजमा (चिनी) परिणत हुन्छ र रगतमा पुग्दछ। त्यही ग्लुकोजलाई शरीरको कोषिकाहरूले शरीरका विभिन्न आवश्यक स्थानमा पुर्‍याउनका लागि पेन्क्रियाजबाट इन्सुलिन नामको हर्मोनको निष्कासन हुन्छ। यदि हाम्रो पेन्क्रियाजले इन्सुलिन भन्ने हर्मोन निष्कासन गर्न सकेन वा निष्कासन भएको हर्मोनले काम गर्न सकेन भने त्यो ग्लुकोज विभिन्न कोषिकामा पुग्न पाउँदैन र रगतमै जम्मा भएर बस्छ। यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै जाँदा प्रि-डायबेटिज हुँदै डायबेटिज (मधुमेह) हुने सम्भावना बढेर जान्छ। त्यसैले यसलाई समयमै पहिचान गरी सन्तुलनमा राख्न सकिएन भने यसले भयावह स्थिति निम्त्याउन सक्छ।

नेपालमा सन् २०२० को तथ्यांक हेर्ने हो भने मधुमेहबाट मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार थियो भने सन् २०३० मा १ करोड ३२ लाख ८ हजार पुग्ने अनुमान गरिएको छ।

मधुमेहका प्रकार

मधुमेह तीन प्रकारका हुन्छन्- टाइप-१, टाइप-२ र गर्भावस्थामा हुने मधुमेह। टाइप-१ मधुमेह
शरीरमा इन्सुलिनको कमीले गर्दा हुन जान्छ र यो सामान्यतया सानै उमेरदेखि देखापर्छ। यस्तो खालको मधुमेहमा हाम्रो शरीरको प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन अनि त्यसको सन्तुलनका लागि हामीले बाहिरबाट इन्सुलिन दिनुपर्ने हुन्छ अथवा इन्जेक्ट गर्नुपर्छ।

टाइप-२ मधुमेह हाम्रो अस्तव्यस्त जीवनशैली र गलत खानपानका कारण देखापर्छ। टाइप-२ मधुमेहमा पाचन ग्रन्थीले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन अथवा शरीर आफैंले उत्पादन गरेको इन्सुलिनको प्रयोग गर्न सक्दैन।

गर्भावस्थाको दौरान महिलामा देखिने मधुमेहलाई गर्भावस्थाको मधुमेह भनिन्छ। यसमा गर्भवती महिला आफू र आफ्नो गर्भको शिशुलाई आवश्यक इन्सुलिन पर्याप्त मात्रामा बनाउन असमर्थ हुन्छिन्। यो प्रकारको मधुमेह बच्चा जन्मेसँगै ठीक भएर जान्छ तर त्यो बेलामा हेलचेक्रयाइँ गरियो भने पछि गएर टाइप-२ मधुमेह देखिने सम्भावना बढेर जान्छ।

मधुमेहका लक्षण

साह्रै तिर्खा लाग्नु, थाकेको महसुस हुनु, बारम्बार पिसाब आउनु, आँखा धमिलो हुनु, वजन घट्दै जानु, घाउहरू ढिला निको हुनु, निरन्तर भोक लाग्नु, छाला चिलाउनु, संक्रमण हुनु, खुट्टा तथा हातहरूमा बोधोपन महसुस हुनु वा झम्झमाउनु जस्ता समस्या देखापरेका छन् भने मधुमेह लागेको हुन सक्छ।

त्यसैले समयमै नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्नो रगतको जाँच गराउनुपर्छ। तर अहिलेको अस्वस्थकर खानपिन र जीवनशैलीले गर्दा यी कुनै लक्षण विना पनि ३५ वर्षमाथिका मानिसमा मधुमेह देखापर्न थालेको छ। त्यसैले ३५ वर्ष पुगेपछि बेलाबेलामा आफ्नो रगतको परीक्षण गर्नु उचित हुन्छ जसले गर्दा रोगको समयमै पहिचान र यसलाई नियन्त्रणमा राख्न सजिलो हुन्छ।

यदि मधुमेहलाई बेवास्ता गरियो र औषधिको मात्र भर परेर आफ्नो दैनिकी र खानपिनमा परिवर्तन गरिएन भने यसले भविष्यमा अरु जटिल समस्या निम्त्याउँछ। मधुमेहलाई नियन्त्रणमा नराख्ने र आफ्नो आनीबानी परिवर्तन नगर्ने हो भने यसले भविष्यमा गएर हृदयघात, मस्तिष्कघात, मिर्गौला फेल हुने, आँखामा क्षति, क्यान्सर जस्ता भयानक रोगहरू निम्त्याउँदछ।

यदि मधुमेहलाई बेवास्ता गरियो र औषधिको मात्र भर परेर आफ्नो दैनिकी र खानपिनमा परिवर्तन गरिएन भने यसले भविष्यमा अरु जटिल समस्या निम्त्याउँछ।

मधुमेहमा खानाको भूमिका

विशेषगरी टाइप-२ मधुमेह हुनुमा खानपिन र जीवनशैलीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। खाद्यान्नहरूमा विषादीको अत्यधिक प्रयोग, वातावरणीय प्रदूषण, तनावपूर्ण तथा अस्वस्थकर जीवनशैली साथै प्रशोधित अन्न, बढी चिल्लो खाना, चिनीजन्य खाना, दुग्ध पदार्थको अत्यधिक सेवन, धेरै सुत्ने अनि शारीरिक मिहिनेत नगर्ने, मासुको अधिकतम उपभोग, मदिरा सेवन सँगसँगै विलासी जीवनशैली पनि मधुमेह लाग्नुका कारण हुन्।

अहिलेको आधुनिक युगको विकासक्रमसँगै आएका खान्की जस्तै चाउचाउ, बिस्कुट जस्ता मैदाबाट बनेका खानेकुरा तथा फास्टफुडहरूले पनि मधुमेहलाई बढावा दिने काम गरिरहेको छ। अर्कोतर्फ खानाको सन्तुलन मिलाएर सही खानाको छनोट गर्न जानियो भने मधुमेह लाग्नबाट बच्न सकिन्छ साथै लागिसकेको खण्डमा निर्मूल पार्न पनि सकिन्छ। ब्राउन राइस, विभिन्न प्रकारका रेसादार अन्न जस्तै कागुनो, चिनो, फापर, कोदो, मकै, उवा, ताजा र मौसमी तरकारी, फलफूल, विभिन्न किसिमका गेडागुडीहरूलाई मिलाएर खाने गरेमा मधुमेहलाई सन्तुलनमा राख्न सकिन्छ।

टाइप-२ मधुमेह दीर्घरोग नभइकन खानपिनको सन्तुलन मिलाउन नजानेर निम्तिने रोग हो। यदि हामीले खाइराखेको खानाले हाम्रो शरीरमा कस्तो असर गरिराखेको छ भनेर हाम्रो शरीरको स्वअध्ययन गर्न सकियो भने यो रोग लाग्नबाट बच्न सकिन्छ। रगतमा चिनीको मात्रा बढ्नुमा प्रषोधित खाना, मैदाबाट बनेका खानाका साथसाथै उच्च ग्ल्यासेमिक इन्डेक्स भएका खाना प्रमुख पर्दछन्।

हाम्रो यस सात्त्विक न्युट्रीफुडको अनुभवमा हामीहरूले मधुमेह लागेका बिरामीलाई तीन महिनामा डाइट थेरापी मार्फत विना औषधि मधुमेह मुक्त पार्न सकेका छौं। साथै लामो समयदेखि मधुमेहको औषधिको सेवन गरिरहेका व्यक्तिलाई औषधि सेवनबाट मुक्त गराउन सफल भएका छौं।

यस सात्त्विक न्युट्रीफुडमा मधुमेह तथा अन्य खानपिनसँग सम्बन्धित दीर्घरोगीहरूलाई कस्तो खाना, कुन समय र कति मात्रामा खाने भनेर परामर्श दिइन्छ। यसका साथसाथै हाम्रै रैथाने र विभिन्न भेगमा उत्पादन हुने रेसादार अन्न र सलाद तथा सागसब्जीको प्रयोग गरेर मधुमेह पूर्ण रूपमा नियन्त्रण गर्ने काम गरिन्छ। मधुमेह लागेका व्यक्ति र यसको जोखिममा रहेका व्यक्तिहरूले आफ्नो खानामा विशेष ध्यान दिन जरुरी छ र तल उल्लेखित खानाहरूलाई आफ्नो रोजाइमा राख्नुपर्दछ।

पोषणले भरिपूर्ण कम क्यालोरीयुक्त अन्न जस्तै फापर, कोदो, कागुनो, चिनो आदि।

न्यून ग्ल्याइसेमिक इन्डेक्स भएका खानेकुरा जस्तै सबै प्रकारका तरकारीहरू (आलु र सखरखण्ड बाहेक), फापर (३४.७), जौ (३१.३) र फलफूल।

राम्रो चिल्लो पदार्थहरूको प्रयोग। जस्तै आलस, भाङको गेडा, तिल, ओखर, नौनी, घ्यू तथा न्यून मात्रामा प्रशोधित नगरिएको खानेतेलको प्रयोग।

उच्च रेसादार र म्याग्नेसियम युक्त खाना। जस्तैः काजु, बदाम, फर्सीको बीउ, हरियो तरकारी आदि।

(लेखक पोषणविद् हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?